शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीको चिनारी :  मोहोरको खेती

म्याग्दीको चिनारी :  मोहोरको खेती

प्राकृतिक स्रोतसँग जोडिन सकेन विप्रेषण, अनुत्पादक काममा नै बढी लगानी


  • ध्रुवसागर शर्मा
  • भाद्र २७ २०७७, शनिबार

हिमाली जिल्ला म्याग्दीका जनताको जीवनस्तर सुधार गर्नमा सरकारी बजेटभन्दा विप्रेषणको रकम नै बढी खर्च हुने गरेकोे छ ।
म्याग्दीको समृद्धिका आधारहरू राज्यको नीति, योजना र विकाससँग सम्बन्धित भए पनि समृद्धिको जग भने रेमिट्यान्सको सही सदुपयोग र यहाँ रहेका प्राकृतिक स्रोतहरूको प्रयोग नै भएको पाइएको छ ।
वार्षिक ४ अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दी जिल्ला वैदेशिक रोजगारीबाट धानिएकाले ‘लाहुरेको जिल्ला’ भनेर उपमा दिइन्छ ।
वैदेशिक रोजागर, जलविद्युत्, पर्यटन, जडीबुटी, खनिज, पशुपालन र कृषि यी सातवटा स्रोतहरूलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने जिल्लाको कायापलट हुन सक्ने प्रशस्त आधारहरू रहेको म्याग्दीका राजनीतिक दलका नेताहरू र उद्योगी व्यवसायीहरू एकमत छन् ।
करिब ४ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने म्याग्दीमा त्यो पैसालाई यहाँ रहेका प्राकृतिक स्रोतहरूको उपयोग गर्ने उद्यममा लगानी गर्ने हो भने १० वर्षमा नै म्याग्दी हरेक क्षेत्रमा समृद्ध बन्न सक्ने उनीहरूको भनाइ रहेको छ । अहिलेसम्म वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स जिल्लाबाहिर घरघडेरी जोड्ने र जिल्लाभित्र अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको छ ।
सदरमुकाम बेनीमा अवस्थित गरिमा विकास बैंकको बेनी शाखामा मात्रै वार्षिक ३५ करोडभन्दा बढी रेमिट्यान्स भित्रिने शाखा प्रमुख कमल ढुंगानाले बताए । त्यसैगरी नेपाल बैंक लिमिटेड म्याग्दी शाखाबाट गत आर्थिक वर्षमा ६२ लाख रुपैयाँ विप्रेषण वितरण भएको बैंकका शाखा प्रमुख मोहन पौडेलले जानकारी दिए ।
त्यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड म्याग्दीले गत आर्थिक वर्षमा मात्रै ३ करोड २५ लाख बढी रेमिट्यान्स वितरण भएको शाखा प्रमुख लक्ष्मण शर्माले बताए । म्याग्दीमा रहेका तीन दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरूमा यही अनुपातमा नै विप्रेषण भित्रिने र वितरण हुने गरेको छ ।
‘करिब ५ वर्षसम्म म्याग्देली युवाहरूले विदेशमा कमाएर पठाएको पैसालाई अन्यत्र लगानी नगरी जिल्लाभित्रका प्राकृतिक स्रोतहरूको (पर्यटनका पूर्वाधार, जलविद्युत्, खानी सञ्चालन, पशुपालन, कृषि र जडीबुटी) क्षेत्रमा लगानी गरी त्यसबाट व्यावसायिक लाभ लिन सक्ने वातावरण सरकारले बनाउन सक्यो भने १० वर्षमा म्याग्दी समृद्ध जिल्ला बन्छ,’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले भने ।
समृद्ध र उज्यालो म्याग्दीको भविष्य यहाँ रहेका जलविद्युत् आयोजनाहरूको भविष्यसँग जोडिएको छ । ‘कालीगण्डकी, म्याग्दी, रघुगंगालगायतका नदीहरूबाट म्याग्दीमा २२ सय मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने भए पनि राज्यको नीतिगत व्यवस्था झन्झिटिलो हुनुका साथै लगानीमैत्री वातावरण बन्न नसक्दा समस्या उत्पन्न भएको श्रेष्ठको गुनासो छ ।
………..
नेपालमा विप्रेषणको इतिहास
नेपालमा आर्थिक चिन्तन वैदिक कालदेखि नै भएको हो । कौटिल्यको अर्थशास्त्रमा पनि नेपालको उत्पादन र नेपाली व्यवसायीका बारेमा उल्लेख गरिएको छ । वस्तु विनिमय प्रणालीमा केही निश्चित कठिनाइहरू देखापरेपछि जब मुद्रा विनिमयको सुरुवात भयो त्यतिवेलादेखि नै ढिकुटी, धर्म भकारी, हुुन्डीजस्ता अनौपचारिक माध्यमहरूबाट विप्रेषणको कारोबार हुँदै आएको पाइन्छ । ढिकुटी, हुन्डीमार्फत हुने कारोबार अवैधानिक मानिए तापनि यस्ता प्रचलन नेपालमा लुकीछिपी अझै कायमै रहेका बाग्लुङको मालिका माध्यमिक विद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक हरिप्रसाद शर्माले बताए ।
शर्माले भने ‘सन् १३१० मा कलाकार अरनिको आफ्नो अद्वितीय कला प्रस्तुत गर्न चीनको स्वशासित क्षेत्र तिब्बतमा ८० भन्दा बढी कालिगढ लिएर प्रवासिएको तथ्यले वैदेशिक रोजगारको नेपाली परम्परा प्राचीनकालदेखि नै थियो’ भन्ने प्रमाणित हुन्छ ।
प्राध्यापक शर्माका अनुसार मध्यकाल र शाहकालीन इतिहासमा नेपाली अर्थतन्त्र स्वदेशउन्मुख र आत्मनिर्भरता केन्द्रित थियो । आधुनिककालमा जब राजनीतिक अस्थिरताले जरा गाड्दै गयो र राणाशासनको उदय भयो । त्यसपछि वैदेशिक रोजगारको औपचारिक प्रारम्भ भएको हो । सन् १८१६ को सुगौली सन्धिपछि ब्रिटिस इन्डियाले नेपालमा भर्तीकेन्द्र स्थापना गरी नेपाली युवालाई भर्ना गर्न थालेपछि औपचारिक रूपमा नेपालीहरू भारततिर वैदेशिक रोजगारीका लागि प्रवासिन थाले । जुन आज पनि उत्तिकै प्रचलनमा छ । त्यसैले सुगौली सन्धि नेपालको इतिहासमा निकै महत्वपूर्ण मानिन्छ । यो एकातिर राष्ट्रको सार्वभौमिकतासँग जोडिएको छ भने अर्कोतिर बहुसंख्यक नेपालीको रोजीरोटी र जनजीविकासँग पनि जोडिएको छ ।
प्राचीनकालमा चीनसँग जोडिएको रोजगारको सम्बन्ध कालान्तरमा कसरी भारतकेन्द्रित हुन पुग्यो भन्ने प्रश्न हरेक चेतनशील मस्तिष्कमा उब्जिनु अस्वाभाविक नहोला । तर पनि नेपालको भारतसँग खुला सिमाना, ऐतिहासिक सामाजिक सम्बन्ध, समान रीतिरिवाज, आर्थिक सामीप्यताजस्ता कारणले नेपालीहरू भारततिर नै प्रवासिएको हुन सक्ने सजिलै आकलन गर्न सकिन्छ । म्याग्दीमा पनि कहिलेदेखि बिदेसिने परम्पराको सुरुवात भयो भन्ने यकिन तथ्याङ्क नभए पनि सन् १८८० को दशकतिरबाट भोट, बर्मा हुँदै विदेशतिरको यात्रा सुरु भएको अनुमान गरिन्छ ।
……
अनुत्पादक काममा नै बढी लगानी
जिल्लामा ठूलो मात्रामा विप्रेषणको रकम भित्रिने गौरवको विषय हो । तर, त्यसबाट दीर्घकालीन विकास र समृद्धिका कामहरू भने हुन सकेका छैनन् । नेपाल बैंक लिमिटेड म्याग्दी शाखाका प्रमुख मोहन पौडेलका अनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको अधिकांश हिस्सा घर–घडेरी र मनोरञ्जनको क्षेत्रमा नै खर्च हुने गरेको पाइएको छ ।
शाखा प्रमुख पौडेलका अनुसार विप्रेषणको ठूलो हिस्सा खाडी मुलुकमा गएका म्याग्देली दाजुभाइहरूबाट आउने गरेको छ । तर, त्यो रकम उत्पादनमुखी क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा नै बढी खर्च हुने गरेको छ ।
……
प्राकृतिक स्रोतसँग जोडिन सकेन विप्रेषण
समृद्ध म्याग्दीको पहिलो आधार रेमिट्यान्स भए पनि यो अस्थायी भएकाले यसलाई प्राकृतिक स्रोतसँग जोडेर दीर्घकालीन आम्दानीको स्रोत बनाउन सकिन्छ । तर, अहिलेसम्म त्यतातिर कसैले सोच्न नसकेको सरोकारवालाहरूले बताएका छन् ।
२२ सय मेगावाट विद्युत् उत्पादनको स्रोत रहेका म्याग्दीका खोला तथा नदीहरू लगानीको प्रतीक्षामा रहेका छन् । म्याग्दीको विकास र समृद्धिको ढोका मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर निर्माणले तीव्रता पाएसँगै म्याग्दीमा उज्यालो भविष्यको आशा गर्नेहरू बढेर गएका छन् ।
भारतसँग सिमाना जोडिएको सुनौलीदेखि हिमाली जिल्ला मुस्ताङ हुँदै तिब्बती नाका कोरला जोड्ने कालीगण्डकी करिडोरको निर्माण भइसकेको छ । यसले भारत–भोट (तिब्बत)को प्रमुख व्यापारिक नाका मानिएको बेनीबजारको भविष्य पुनः चम्किलो बन्न सक्ने आशामा स्थानीय व्यापारी, व्यवसायीहरू आशामा रहेका छन् ।
वार्षिक ५० हजार बढी विदेशी पर्यटकहरू भित्रिने म्याग्दीमा समृद्धिको भरपर्दो आयस्रोत पर्यटन व्यवसाय रहेकोमा दुईमत छैन । तर, पर्यटकका लागि आवश्यक पूर्वाधारहरूको कमी भने यस क्षेत्रको मुख्य चुनौती रहेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
‘म्याग्दी जिल्लामा वार्षिक १ लाखसम्म पर्यटकहरू आउन सक्ने स्थान र सम्पदाहरू छन्,’ पर्यटन व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले भने– ‘तर, व्यवस्थित सडक, पदमार्ग, सूचना र सञ्चारको सहज पहुँच, सबै ठाउँमा स्तरीय र अनुकूलयुक्त होटेल तथा रेस्टुरेन्ट, आधुनिक सूचना केन्द्र, स्वास्थ्यजस्ता पूर्वाधारहरूको अभावले गर्दा समस्या उत्पन्न भएको छ ।’
पछिल्लो एक अध्ययनको तथ्यांकअनुसार पर्यटकमार्फत म्याग्दीमा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । यसमा राज्यबाट पाउने रोयल्टी समावेश गरिएको छैन । त्यसैगरी जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू गलेश्वर, मालिका, खोप्रा, पौलस्त्य पुलह क्षेत्र, रिखारजस्ता दर्जनौँ स्थलहरू प्रचार–प्रसार र आवश्यक भौतिक पूर्वाधारका अभावमा अझैसम्म पनि ओझेलमा परेका छन् ।
गलेश्वर क्षेत्रबाहेक अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरूका बारेमा कसैको पनि चासो गएको पाइएको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सक्ने, प्राकृतिक रूपले पनि अत्यन्तै सुन्दर ती ठाउँहरू पनि समृद्धि म्याग्दीका लागि अत्यन्तै सहयोगी हुन सक्ने कुरालाई बिर्सनु हुँदैन । त्यसबाहेक जिल्लाभित्रका एकदर्जन तातोपानी कुण्डले जिल्लालाई सबैभन्दा बढी पहिचान दिलाएका छन् । ती कुण्डहरूको समुचित व्यवस्थापका साथ अझै प्रचार–प्रसार हुन आवश्यक छ ।
त्यसैगरी उद्यमशीलताको नारा अब बजारमा मात्रै लगाउने होइन, गाउँगाउँसम्म उद्यमी उत्पादन गर्ने ठोस योजनासहित अघि बढ्न आवश्यक देखिएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका खानी सञ्चालनका लागि सम्बन्धित पक्षले पहल गर्दै आवश्यक लगानी र उपकरणहरूको व्यवस्था गर्न सक्नुपर्दछ । ओखरबोटको तामाखानी, रुम र खिवाङको स्लेट खानी, शिलाजित, यार्सागुम्बालगायतका अन्य जडीबुटीहरूको उत्खनन तथा संकलनमा सहज नीति र व्यवस्थाको आवश्यकता देखिएको छ ।
रेमिट्यान्स, जलविद्युत्, पर्यटन र खनिजपछि समृद्ध म्याग्दीको प्रमुख स्रोत भनेको कृषि र पशुपालन हो । कृषिमा पनि म्याग्दी अब्बल छ । बर्सेनी करिब १२ करोड रुपैयाँ सुन्तला मात्र बिक्री गरेर यहाँका कृषकले आयआर्जन गर्दछन् ।
त्यसैगरी तरकारी र फलफूलबाट पनि वार्षिक १ अर्बभन्दा बढी यहाँका किसानले आम्दानी गर्ने गरेका जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । कृषिपछि पशुपालन पनि म्याग्देलीको प्रमुख आयआर्जनको माध्यम बनेको छ ।
पछिल्लो समय कुखरा, बाख्रापालनसँगै व्यावसायिक दुग्ध उत्पादनका लागि गाई, भैँसी पाल्ने कृषकहरूको संख्या बढ्दो छ । म्याग्दीको समृद्धिसँग सरोकार राख्ने यी सबै क्षेत्रको सही रूपमा प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने समृद्ध म्याग्दीका लागि धेरै समय कुर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->