यतिबेला बाढीपहिरोले पु¥याएको क्षतिको पीडाले विछिप्त छ ढोरपाटन । आफन्त गुमेको पीडा, घरबास मासिएको चिन्ता र छानो अनि मानोको अभावले ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङ शोकमग्न छ । प्रायः भदौ लागेपछि ठुलो बाढीपहिरोको क्षति हुँदैन, स–साना पहिरोमात्रै जान्छन् भन्ने पौराणिक किबदन्तीहरु पाईन्छन् । तर यस पटकको भदौ महिना बागलुङ जिल्लाकै लागि अभिासप बन्यो । भदौमा मात्रै बागलुङमा प्राकृतिक विपत्तिका कारण ४० जनाले ज्यान गुमाए । १६ अझै बेपत्ता छन् । ढोरपाटनमा भदौ १७ गते राती १ बजे देउरालीबाट खसेको पहिरो र त्यसले सिर्जना गरेको बाढीले १ सय ३० घरपरिवार विस्थापित भएका छन् । यो सानो संख्या होईन । पहिरो खस्नु र बाढी सिर्जना हुनुको कारणबारे अझै खोजी भएकै छैन । बाढीपहिरोको मुहानमा नत सरोकारवाला पुग्न सकेका छन् नत सर्वसाधारण नै । कसैले पनि बाढी किन र कसरी आयो, यतिका धेरै क्षतिको पूर्वानुमान किन गर्न सकिएन भन्ने विषयमा स्पष्ट बोल्न सक्ने अवस्था छैन । बाढीपहिरोले धेरै क्षति भएको छ । मानविय क्षति मात्रै होईन अन्य पूर्वाधारको क्षति पनि धेरै छ ।
बाढीपहिरोमा बेपत्ता भएकाहरुको खोजीमा प्रहरी, सेना र सशस्त्र प्रहरीले खटिरहेको छ । सामाजिक दायित्व बोध गर्दै बेपत्ताको खोजीमा लागेका स्थानीयको मेहेनतलाई पनि नजरअन्दाज गर्न मिल्दैन । बाढी पहिरोमा ज्यान गुमाउनको पीडा त एकातर्फ छँदैछ अर्कोतर्फ ज्यान बचेकाहरुको दैनिकी निकै दर्दनाक छ । सडक क्षतविक्षछ छ, पानी, बिजुली केही छैन । घर भएको ठाउँमा बाढीले बगर बनाएको छ । यी र यस्तै समस्याले अहिले बाढी प्रभावितहरु थप पीडामा छन् । आकाशको बाटो हेलीमा आउनेहरुले ल्याएको एकदुई छाक टार्ने खाद्यान्न र त्रिपालबाहेक अझैपनि वास्तविक प्रभावित सामु राहत पुग्न नसकेको समाचारहरु सार्वजनिक हुनु दुखद कुरा हो । राहत सामग्री वा नगद नभएर होईन, सडकको कारण देखाउँदै पालिका मुकाममा थुपारिएको राहत पीडितसम्म पु¥याउन नसकेका कारण समस्या हो ।
अहिले ढोरपाटनका पीडितले राहत नपाएको यथार्थ विषय सामाजिक सञ्जाल, सञ्चारमाध्याम र विभिन्न स्रोतहुँदै प्रदेश सभासम्म पुगेको छ । गण्डकी प्रदेश सभामा प्रतिपक्षी दलले राहत मुकाममा थुपारेर नराख्न गरेको आग्रह, ढोरपाटन क्षेत्रका अगुवाहरुले सामाजिक सञ्जालमार्फत गरेको अपिलले त्यहाँको अवस्था प्रष्ट देखिन्छ । दाता र मनकारीले जम्मा गरेको राहत र स्थानीय, प्रदेश तथा संघ सरकारले प्रतिवद्धता गरेको राहत सामग्री पीडित सामु पु¥याउनु पहिलो अवश्यकता हो । सडक नभए अन्य कुनै मार्गको खोजी गरेरै भएपनि पीडितलाई राहत पु¥याउनु पर्छ । निर्वाचनको समयमा आकाशमा घुम्ने हेलीहरु यो बेला प्रयोग गरियोस् । वास्तविक पीडितको पहिचान र सर्वसाधारणको तहबाट संकलन भैरहेको राहतलाई उनीहरुको सामु पु¥याएर पारदर्शिता देखाउनु स्थानीय सरकारको दायित्व हो । विपत्को सामना र त्यसपछिका संघर्ष एक्लैले गरेर हुँदै । अन्य समयमा तेरो–मेरो भनेर विभाजित हुने राजनीतिक दलहरुको सक्रियता र उपस्थिती पनि यो बेला कमजोर देखियो । राजनीतिक दल, समाजसेवी, सरकारी तथा गैह्र सरकारी संस्थाले भावना बाँड्ने होईन काम देखाउने समय हो यो । घर बनाउन तत्काल नसकिएला तर पीडितको छाक टार्न र घामपानी ओत्न सक्ने व्यवस्था गर्न सकिन्छ । सम्बन्धित निकायको तत्कालै ध्यान जान जरुरी छ ।

