जंगबहादुर राणाबाट भएको बेलायतको राजकीय भ्रमण, त्यसपछिका राजाहरूको काशीबास अनि बुढापाकाहरूको चारधाम यात्रालाई सम्झने हो भने नेपालको पर्यटन उद्योग आधुनिक विश्वको पुरानोमध्येको एक हो । हिजो मिनपचासको जाडो छल्न राजाहरू पोखरा र मधेस झर्थे । उनीहरूको भ्रमण राजकीय हुन्थ्यो ।
जनतालाई घुम्ने फुर्सद कहाँ थियो र ? धार्मिक यात्रामा निस्कनेहरू सकेसम्म आफन्तकहाँ रात बिताउँथे । आफन्त नहुनेहरू पाटीपौवामा रात गुजार्थे, सातुसामलले काम चलाउँथे । एक हिसाबले फुर्सद हुँदा ‘पाहुना लाग्ने’ संस्कृति पर्यटनकै पुरातन रूप थियो ।
विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको इतिहास करिब एक सय ८१ वर्ष लामो मानिन्छ । नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदयपछि घुम्न सुरु भएको मानिन्छ । सन् १९५० मा मौरिस हर्जोकले अन्नपूर्ण र १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेसँगै पर्यटकीय गन्तव्यका रूपमा नेपाल विश्वमा चिनिन थाल्यो ।
विभिन्न कालखण्डमा आरोह–अवरोह पार गर्दै नेपालको पर्यटनले बामे सर्दै अगाडि बढ्यो । विशेषतः साहसिक पर्यटनको हबका रूपमा नेपाल प्रसिद्ध थियो । धेरैपछि मात्र नेपालमा ग्रामीण पर्यटनको सुरुवात भयोे । ग्रामीण पर्यटनको एउटा प्रोडक्ट हो, होमस्टे अर्थात् घरबास । आफ्नै घरमा पाहुनालाई पारिवारिक वातावरणमा बस्ने व्यवस्था मात्र हुँदैन, सँगै अर्गानिक खानपिन, स्थानीय रीतिरिवाज अनि संस्कृतिमा रमाउन सक्छन्, पर्यटकहरू । अझ, आफ्नै घरको परिवारको सदस्यका रूपमा पाहुनालाई सत्कार, स्वागत र आतिथ्यता नै होमस्टको विशेषता मानिन्छ ।
करिब २४ वर्षपहिला २०५४ सालतिर नेपालमा होमस्टे सुरुवात भएको थियो । यसका सुरुवातकर्ता हुन् स्याङ्जा सिरुबारीका स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ । ग्रामीण पर्यटनको इतिहासमा उनको नाम सुनौलो अक्षरले लेखिएको छ । स्याङ्जाको सिरुबारीमा जन्मेका उनी भारतीय सेनाबाट ०३५ सालमा रिडायर्ड भएका थिए । भर्तीमा हुँदाताका उनले २०२५ सालमै सिरुबारीलाई पहिलो पर्यटन गाउँ बनाउने सपना बुनेका थिए ।
स्विजरल्यान्डजस्तो पहाडैपहाड भएको देशमा फस्टाएको ग्रामीण पर्यटनबारे उनले कतै किताबमा पढेका थिए । नेपालमा पनि सम्भव हुने त्यहीबेला अनुमान लगाए । अनकन्टार ठाउँमा रहेको सिरुबारीलाई पर्यटकीय गन्तव्य बनाउने सपना अरूलाई सुनाउँदा उनी हाँसोका पात्र बन्थे, तर उनले हार मानेनन् । थाकेनन् उनी । बरु निरन्तर लागिरहे । पूर्वसांसदसमेत रहेका उनले वि.सं. २०४८ बाट सिरुबारीको पूर्वाधार विकासमा जोड दिन थाले । बेँसीसम्म सडक ल्याए । गाउँमा ढुंगाले छापेको सिढी मात्र बनाएनन्, गाउँलेहरूलाई एकताको सूत्रमा बाँध्ने पुल पनि बनाए । र, अन्त्यमा उनको सपनाले २०५४ मा साकार रूप लियो र सिरुबारी नेपालकै पहिलो होमस्टेको रूपमा सुरुवातमा आयो ।
बिस्तारै गुरुङले सिरुबारीमा रोपेको होमस्टेको बिउ नेपालभर फैलिन थाल्यो । त्यसको करिब दुई वर्षपछि प्रेम घलेको अग्रसरतामा लमजुङको घलेगाउँमा होमस्टे सुरु भयो । प्रकृति, संस्कृति र इतिहासको त्रिवेणीधाम हो, घलेगाउँ । सार्क स्मार्ट भिलेजको उपमा पाएको घलेगाउँ आफैँमा अन्य होमस्टेका लागि एक पाठशाला बनेको छ । यसरी बिस्तारै धेरै गाउँहरूले सिक्दै र बुझ्दै आफ्नो गाउँठाउँमा होमस्टे सुरुवात गर्न थाले ।
गण्डकी प्रदेश आफैँमा भौगोलिक विविधताले भरिपूर्ण प्रदेश । हिमालदेखि तराईसम्म फैलिएको यस प्रदेशका ११ जिल्लामा हालसम्म ३ सयको हाराहारीमा होमस्टे दर्ता भएका छन् । ९१ जातजाति बसोबास गर्दै आएको यस प्रदेश संस्कृति, रीतिरिवाज, भेषभूषा अनि भाषामा धरोहर मानिन्छ । जुन होमस्टे विकास र प्रवद्र्धनका लागि एउटा सबल पक्ष मान्न सकिन्छ ।
सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी राष्ट्रका पर्यटन भ्रमण वर्ष र २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्षका रूपमा गण्डकी प्रदेशले घोषणा पनि गरेको थियो । त्यहीअनुरूप प्रदेश सरकारले आर्थिक वर्ष २०१८÷१९ मा ३०० होमस्टेका लागि प्रतिहोमस्टेलाई १०÷१० लाखको अनुदान दिने योजनाअनुरूप ३० करोडको बजेट विनियोजना पनि गरेको थियो । त्यो रकम होमस्टे सञ्चालन र प्रवद्र्धनका साथै पर्यटन सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन निर्माणका लागि प्रयोग गर्न पाउने भनिएको थियो । यता बिनायोजना यति ठूलो रकम अनुदान स्वरूप दिन लागेको भन्दै होटेल व्यवसायी संघले विरोधसमेत जनाएको थियो ।
……
होमस्टेको वर्तमान अवस्था
गण्डकी प्रदेशले होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि २०७५ ल्यायो । होमस्टे सञ्चालनका लागि आवश्यक आधारभूत मापदण्ड, होमस्टे दर्ता प्रक्रिया र पाहुनाका लागि दिनुपर्ने सुविधाहरूबारे राम्रोसँग समावेश मात्र गरेको छैन, सँगै होमस्टेलाई तीन श्रेणीमा वर्गीकरण पनि गरेको पनि छ ।
‘क’ वर्गको स्तरमा सूचीकृत हुन वार्षिक १ हजार ८ सय पाहुना बास, ७५% स्थानीय उत्पादनको प्रयोगका साथै सामाजिक उत्तरदायित्वको क्षेत्रमा २५ हजार लगानी गर्नुपर्नेछ । यस्तै ‘ख’ वर्गको स्तरमा सूचीकृत हुन वार्षिक १००० पाहुनाको घरबास, ५०% स्थानीय उत्पादनको प्रयोगका साथै सामाजिक क्षेत्रमा १० हजार लगानी गर्नुपर्नेछ । यता ‘ग’ वर्गका लागि वार्षिक ५ सय पाहुनाहरूलाई घरबास, ३०% स्थानीय उत्पादनको प्रयोग र सामाजिक क्षेत्रमा ५ हजारको लगानी गर्नुपर्नेछ ।
सरकारले यसरी मापदण्ड निर्धारण गरेता पनि यसको पूर्ण रूपमा पालना गर्ने होमस्टेको संख्या धेरै न्यून नै छ । सरकारले होमस्टेको परिमाणलाई मात्र जोड दिँदा यसको परिणामलाई ख्याल नगरेको धेरैको गुनासो पनि छ । जुन केही हदसम्म यर्थाथ पनि हो ।
गाउँघर सुनसान छन् । छोराछोरी शिक्षाका लागि सहर अनि युवाहरू कमाइका लागि विदेश । छन् त केवल बालबच्चा, महिला अनि बुढाबुढी । पाहुना सत्कार, खाना पकाउनेदेखि बिदाइसम्म महिला र बुढाबुढी मात्र हुन्छन् । सबै होमस्टेहरूको खानाको मेनु उही रहेको गुनासो पनि पाहुनाबाट सुनिन्छ । पाहुना आउने थाहा पाएसँगै हतारहतार बजारबाट तरकारी, मासु अनि चामल बोकेर पाहुनासँगै गाउँ उक्लने धेरै होमस्टे सञ्चालकहरूको यथार्थता कायमै छ । न स्थानीय परिकारलाई नै ब्रान्डिङ गर्न सकेका छन् न स्थानीय नाचगान, भेषभूषा नै पाहुनासामु पस्कन सकेको छ । बसाइँसराइँ बढ्दो छ । रित्तिएका छन् गाउँहरू । उराठलाग्दो गाउँलाई न गाउँलेहरूले ब्युताउँन सकेका छन् न त कुनै पहल नै भएको छ ।
तर, सबैको कहानी भने उस्तै छैन । केही उदाहरणीय होमस्टेहरू पनि यही प्रदेशमै छन् । त्यसमध्ये एक हो ताङतिङ होमस्टे । ‘प्रायः होमस्टेले आफ्नै करेसाबारीमा तरकारी उब्जाउँछन् र बेँसीमा धान फलाउँछन् । सामूहिक रूपमा फूल बगैँचा बनाएर एक त पाहुना स्वागत सत्कारमा प्रयोग गर्छन् त बाँकी बेचेर आम्दानी पनि गर्छौँ । हरतरिकाले आत्मनिर्भरताको बाटो हामी रोज्छौँ,’ ताङतिङ होमस्टेका अध्यक्ष पसमाया गुरुङ भन्छिन्, ‘ताङतिङ होमस्टेको विशेषता भनेकै अर्गानिक खाना र आत्मीय आतिथ्यता हो । अझ पाहुनालाई फर्कंदा कोसेली स्वरूप केही न केही पोको पारिदिने गर्छौं ।’
अबको होमस्टेको बाटो :
गण्डकी प्रदेश ग्रामीण पर्यटनको प्रचूर सम्भावना बोकेको प्रदेश हो । प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधता भएको प्रदेश हो, गण्डकी । ११ जिल्लामा ९१ जातजाति बसोबास गर्दै आएका मानिसहरूको फरक रहनसहन, भाषा अनि संस्कृतिको विविधता पाइन्छ । सबै विविधतालाई मध्यनजर गरी होमस्टेको प्रवद्र्धन अझ सम्भव देखिन्छ । यता, संख्यागत रूपमा होमस्टेहरू बढाउनुसँगै यसको स्तरलाई पनि सँगै उकास्नुपर्छ । होमस्टे र होटलबीचको भिन्नता होमस्टे सञ्चालकले थाहा पाउन जरुरत छ । हरेक ठाउँ विशेषको स्थानीय प्रोडक्टलाई ब्रान्डिङ गर्न अतिआवश्यक छ । त्यहाँका प्राकृतिक, धार्मिक र ऐतिहासिक गन्तव्यहरूको खोज, अध्ययन र प्रवद्र्धनलाई प्राथमिकता साथ अगाडि बढाउनुपर्छ ।
यता केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारबीचको तादम्यता अतिआवश्यक देखिन्छ । तीन तहको सरकारको दूरी कम नभएसम्म र आपसी तालमेल नमिलेसम्म पर्यटनले गति लिन सक्दैन । सबै अधिकारहरू केन्द्रीय सरकारले हडप्दा यता प्रादेशिक र स्थानीय सरकारले निश्चित लक्ष्यहरू हासिल गर्न सकेका छैनन् ।
सफा, सुलभ र सरल हुनुपर्छ होमस्टे । सरकारले निर्धारण गरेको होमस्टेको मापदण्डअनुरूप होमस्टे सञ्चालनमा ल्याउनुपर्छ । होमस्टे सशक्तीकरण, क्षमता अभिवृद्धि र पूर्वाधार विकासलाई बढी प्राथमिकता दिनुपर्छ । यातायात, सञ्चार अनि खानेपानीको राम्रो व्यवस्था त हुनुपर्छ नै, सँगै पाहुनाको आतिथ्यता, सत्कार र स्वागतका लागि होमस्टे सञ्चालनले राम्रो ध्यान दिन नितान्त जरुरत छ ।
प्रदेश सरकारले सन् २०२२ मा २२ लाख पर्यटक प्रदेशमा भित्र्याउने महत्वाकांक्षासहित अघि बढेको थियो । निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएसँगै पर्यटकको आगमनमा वृद्धि हुनेमा कुनै दुईमत छैन । यता, कोरोना कहरले थला परेको नेपालकै पर्यटक उकास्न आन्तरिक पर्यटनको ठूलो भूमिका रहनेछ ।
अवस्था सामान्य भइहाले पनि अन्तर्राष्ट्रिय पर्यटकहरूको केही वर्षसम्म आगमन हुने सम्भावना कम नै देखिन्छ । कोरोना कहरमा निश्चित परिधिमा गुम्सिएर बस्न बाध्य भएकाहरू मानिसहरू नयाँ गन्तव्यमा पुग्न आतुर छन् । त्यसैले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने यो सुनौलो अवसर सावित हुन सक्छ । यसमा सबैको ध्यान जाओस् ।





