बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फरक परिस्थितिले देखाएका संकेतहरु

फरक परिस्थितिले देखाएका संकेतहरु


  • Dhorpatan News
  • असोज १५ २०७७, बिहिबार

चैत ११ गतेबाट सुरु भएको उकुसमुकुस उस्तै छ । कोभिड–१९ संक्रमणले निम्त्याएको परिस्थिति, लकडाउन, निषेधाज्ञा अनि फेरिएको दैनिकीबीच बितेका ६ महिनाले नेपालीलाई मात्रै नभएर सिंगो विश्वलाई नै नयाँ अनुभव दिलाएको छ । मृत्युसँग पौँठेजोरी खेल्न सजिलो हुँदैन । मृत्युजस्तो शाश्वत सत्य तर भयावह यथार्त्बाट मान्छे सधैँ भागिरहेको हुन्छ । मात्र सन्त र आत्मवोध भएकाहरु मात्रै मृत्युलाई सहर्ष स्वीकार्छन् । आम मान्छे मृत्युबाट सधैँ भयवित हुन्छ । उपचार नै नभएको भाइरसले ल्याएको मृत्यु सन्त्रासले जनजीवन अस्तव्यस्त बनाउँदा मानशिक रुपले पनि मान्छे सन्त्रस्त्र रह्यो । नसोचिएको परिस्थितिको सामना गर्दा उसको मनमा यसअघि कहिल्यै नआएका भावनाहरु आइदिए, समस्याको नयाँ डिस्कोर्स सुरु भयो । लयवद्ध जीवन विश्रृंखल बन्यो । मान्छे घरमै थुनिए । विद्यार्थीहरु स्कूल कलेज जानबाट वञ्चित भए । मान्छेको रोजगार गुम्यो । घरमै बसेर काम गर्ने बाध्यता आयो । दिनभर पसिना बगाएर साँझ चुल्हो बाल्नेहरुको चुल्हो चिसो बन्न पुग्यो । यो उपक्रम अहिले पनि उस्तै छ । भोककै कारण मृत्युवरण गर्नुपर्ने डरलाग्दो परिस्थिति सृजना भयो । रोग र भोकले आक्रान्त मान्छेहरुको आँशु पुछ्ने दायित्वबाट राज्य विमुख हुँदा सहयोगी मनहरु सडकमा निस्के । टुँडिखेलमा निःशुल्क खाना खुवाउने उपक्रम यस्तै मनकारी मान्छेहरुको कारण सम्भव भइरहेको छ । मानवता जगाउने, नयाँ परिस्थितिको सामना गर्ने हिम्मत बढाउने र नयाँ कोणबाट जीवनको परिभाषा खोज्ने परिस्थिति कोभिड महामारीले नै जुटाइदियो । अर्कोतर्फ, भएका व्यापार÷व्यवसाय बन्द हुँदा मानिसहरुलाई बाँच्नकै निम्ति नयाँ अवसरहरुको खोजी गर्न पनि कोरोना कहर सहायक बन्यो ।स्टार्टअप व्यवसायहरुमा नयाँ पहलका थालनी भए । बैंकिङदेखि किनमेलको लागि डिजिटल प्लेटफर्म प्रयोग ह्वात्तै बढ्यो ।
जीवन एउटै लयमा हिँडेको भए, यतिधेरै कुराहरु सम्भव हुने थिएन । कम्तिमा मान्छेले नयाँ परिस्थिति सामना गर्नको लागि नयाँ कोणबाट सोच्ने थिएन । कोरोना कहरसँगै मानिसको सोच्ने क्षमतामा अद्भूत वृृद्धि भएको छ । राज्यले प्रवाह गर्ने सेवाप्रतिको असन्तुष्टि,मानवीय सेवामा लाग्नेहरुको बढोत्तरी, एउटै विषयलाई पनि फरक कोणबाट हेर्ने दृृष्टिकोण विकास गराउन लकडाउनले विशेष योगदान दिएको छ । मानिसमा उत्पन्न भएको निराशा, आक्रो र कुण्ठा अनि आपराधिक भावनाको पक्ष पनि यहाँ जोडिएकै छ । समग्रमा खराब समयले खराब र असल दुबै विचार सृजनामा सघाएको छ । सामाजिक सञ्जाल र मञ्चहरुमा यो बेला विभिन्न खाले विचारहरु आएका छन् विचार मन्थनमा नयाँ पुस्ता जुटेको छ । यस्तै त हो नि, चलिहाल्छ भन्ने जमातभन्दा पर सुधारका पक्षपातिहरुले सक्रियता बढाएका छन् । युवाहरुले राजनीतिदेखि सामाजिक विकृतिविरुद्ध हस्तक्षेपकारी भूमिका निभाउन थालेका छन् । कोरोना कालखण्ड नहुँदो हो र मानिस फुर्सदिला नहुँदा हुन् त सायदै यस्तो जागरण सम्भव थियो । अहिले युवामा देखिएको यो जागरण सुस्ताएन भने यसले समाजको सकारात्मक परिवर्तनमा ठूलो योगदान दिने आशा गर्न सकिन्छ । समय अनुकूल छैन । भुँइमान्छेहरु संकटमा छन्, राज्यको प्रभावकारितामाथि प्रश्न उठिरहेकै छ । तर, बादलमा भएको चाँदीको घेराजस्तै यो समयमा देखिएको आक्रोश, चेतना र हुटहुटीले परिवर्तनको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->