पोखरा महानगरपालिकाले गठनगर्ने नगरस्तरीय प्रज्ञा प्रतिष्ठानकालागि विभिन्न नामहरु सिफारिस भएका छन् । सिफारिस समितिले दिएका नामहरु कला, साहित्य, संगीत क्षेत्रबाटै गएका हुन् । यद्यपि, पात्र सिफारिस राजनीतिक आस्थाको आधारमा गरिएकाले नामहरुले समाजको एउटा विचार धाराको मात्रै प्रतिनिधित्व गरेको प्रष्ट देखिएको छ । पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीको बुहमत छ । अहिले सिफारिस गरिएका व्यक्तिहरु त्यही बहुमतलाई सघाउनेहरु छन् । उनीहरु मध्ये केही त नेकपाको जनवर्गीय संगठनको नेतृत्व तहमै छन् । नाम सिफारिस हुँदा फरक विचारलाई निषेध गरिएको छ । प्रज्ञा प्रतिष्ठान लाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको छ । यसले गर्दा कला, साहित्य, गीत–संगीतको उत्थान गर्ने उदेश्य बोकेको संस्थाको गरीमा नै तल झरेको छ । प्रज्ञा प्रतिष्ठान वर्गीय बन्ने निश्चित भएको छ ।
नेपाली समाज बहुभाषिक, बहुसांस्कतिक मात्रै हैन बहुविचार युक्त रहेको कसैबाट छिपेको छैन । अस्तित्वमा रहेका राजनीतिक दलहरु तथा ती दलमा आस्था राख्ने व्यक्तिहरुबाटै समाज बनेको छ । नेकपा बाहेकका विचार राख्ने साहित्यकार, कलाकारहरु पनि यहाँ रहेकै छन् । उनीहरुको सृजनाको पनि मूल्य छ । उनीहरुलाई पनि समाजले स्वीकारेको छ । अमुक वादको पक्षपोषण नगर्ने ठूलो साहित्यकारको जमात पनि यहीँ छ । तर, दुर्भाग्य ! सिफारिसबाटै प्रज्ञा प्रतिष्ठानमा ती विचार हरुलाई निषेध गरिएको छ । जसले गर्दा यो प्रज्ञा प्रतिष्ठान प्राज्ञहरुको नभएर कार्यकर्ताको बनेको छ । प्राज्ञ छान्ने मापदण्डबाटै राजनीतिक दलको क्लव बनेको प्रज्ञा प्रतिष्ठानले आफ्नौ औचित्य गुमाएको छ ।
साहित्य राजनीतिबाट माथि हुन्छ । अपितु, राजनीतिबाट कला, साहित्य र सृजना अछुतो रहन सक्दैन । वादमा बाँधिएर लेखिएको साहित्य त्यही वादको लागिमात्र काम आउँछ । अरुको लागि त्यसको महत्व रहँदैन । साहित्यकार, कलाकार र संगीतकारहरु सर्जक हुन् । उनीहरु वादमा बाँधिएर हैन कि सृजनशीलताले बाँचेका हुन्छन् । सृजनशीलता अमुक वादका हिमायती सँग मात्र हुन्छ भन्नु गलत हो । यही गलत काम पोखरा महानगरले गरेको छ । ५० लाख बजेट छुट्याइएको प्रतिष्ठान अब जागिर खुवाउने थलो बनेको छ । यो निर्लज्जताको पराकाष्ठा हो । यसले प्रज्ञा प्रतिष्ठान र प्राज्ञ शब्दको नै अव मूल्यन गरेको छ । पछिल्लो समय स्थानीय निकायहरुले विभिन्न खालका नियुक्ति दिने संस्थाहरु गठनगर्ने होडबाजी गरेका छन् । ती संस्थाहरु विभिन्न उदेश्यका लागि गठनगर्ने भनिए पनि कार्यकर्ता भर्ती गर्ने मुल उदेश्यबाट निर्देशित रहँदै आएको छ । यसले एकातिर राज्यकोषको दोहन बढेको छभने अर्कोतिर समाजलाई नै विभक्त गराउने काम भएको छ । यस्ता अविवेकी निर्णयहरुलाई कुनै कोणबाट पनि सही मान्न सकिँदैन । बहुमतको बलमा गरिने अविवेकी निर्णयले कसैको भलो गर्दैन । पोखरा महानगरले यो सत्यलाई बुझ्नु पर्छ । महानगरका मेयरले सिफारिस भएका नामहरुमा पुनर्विचार गर्दै प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउने काम गर्नुपर्छ । नत्र भने मेयरले गलत निर्णय गरेको कलङ्कको भार कालान्तरसम्म बोक्नु पर्नेछ ।

