आपतविपद पर्दा, कुनै रोग लाग्दा वा अप्ठ्यारो परिस्थिति आइपर्दा मान्छेले भगवानलाई सम्झन्छ । आफ्नो अनुकुलताका लागि अनेकौं प्रतिकुलताहरुसंग कुस्ती खेल्दै थाकेको मान्छे कसैको सहयोग पाउन सकेन भने निराश बन्छ, हतोत्साही हुन्छ । रोग लाग्दा उपचार गर्ने पैसा नभएका, आफ्नै ठाउँमा केही काम गर्छु भन्ने चाहना भएका तर, लगानी गर्ने सामथ्र्य नभएका, प्राकृतिक विपद्मा परेर असहाय भएका व्यक्तिहरुले भगवानलाई पुकार्दा पनि सहयोग पाएनन् भने मान्छेभित्र मान्छेकै खोजी गर्छन् । मान्छेकै उपकारका लागि जन्मिएको एउटा मनकारी मान्छे खोज्न थाल्दछन् । त्यतिबेला उनीहरुले म्याग्दीमा एउटा यस्तो मान्छे पाउँछन्, जसले कुनै सर्त नराखिकन निश्वार्थ भावले उनीहरुलाई सहयोग गर्छ । मान्छेकै लागि जन्मिएको त्यस्तो एउटा मनकारी मान्छेको नाम हो ः राजेश शाक्य ।
व्यापारिक रुपमा सबल र सम्पन्न घरमा जन्मिएका शाक्यले दुःख के हो ? अभाव र पीडा कस्तो हुन्छ ? त्यो त आँफूले अनुभव गर्न परेन । तर, समाजमा बिरामी हुँदा उपचार गर्ने पैसा नभएका, खाने खर्च नभएर एक छाकको भरमा ज्यालामजदुरी गर्ने गरेका, सीप र क्षमता हुँदाहुँदै पनि लगानीको अभावमा खुम्चिएर झण्डै झण्डै कुलतमा फसेका युवाहरुलाई देखेपछि उनको मनमा बुद्धत्वको उदय भयो । अनि उनले जहाँ–जहाँ दुःखी, गरिब, असहाय, पीडित र लगानीको अभावमा आफ्नो सीपलाई दबाउन बाध्य युवाहरु देखे त्यहाँ व्यक्तिगत रुपमा सहयोग गर्न थाले । यसरी उनको सामाजिक र परोपकारी क्षेत्रमा प्रवेश भयो ।
भनिन्छ– ‘धन हुनेको मन हुँदैन, मन हुनेको धन ।’ तर राजेश शाक्य यो भनाईको अपवादमा पर्छन् । उनीसंग पुख्र्यौली र स्वआर्जित गरी प्रशस्तै धन त छ नै, त्यो धनभन्दा पनि धेरै सहयोगी र आत्मिय मन छ उनको । त्यसैले उनको परिचय नै मनकारी राजेश शाक्य बनेको छ । उनले मानिसहरुलाई दुःखबाट भाग्न होइन, संघर्ष गर्न सिकाउँछन् । पलायन हुन होइन, जरा फिजाउन सिकाउँछन् । माग्न होइन दिनसक्ने बन्न सघाउँछन् ।
राजेश शाक्य मूलतः व्यापारी हुन् । उनको पृष्ठभूमि व्यापार नै हो । बेनीबजारको संगम चोकमा विशाल घर र सोही घरमा पिएल डिपार्टमेन्टल स्टोर र भिभा पाउरोटी कारखाना छ उनको । आमा लक्ष्मीकुमारी र बुबा पुण्य बहादुरका नवौं सन्तानका रुपमा जन्मिएका ४० वर्षिय शाक्य म्याग्दीका पर्यटन अभियन्ता पनि हुन् । व्यापार व्यवसायमार्फत सम्पन्नताको शिखरमा पुग्दै गरेका शाक्य आँफू एक्लै माथि पुगेर हुँदैन, तलकालाई पनि हात र साथ दिएर संगै लैजानु पर्छ भन्ने मान्यता राख्छन् । प्रकृतिले पनि उनको शारीरिक र आत्मिक बनोटमा गज्जबको फ्यूजन गरेको छ । झर्लक्क हेर्दा गम्भीर भावमुद्रामा देखिने शाक्यको मन कोमल र स्वभाव गज्जबकै रसिक छ । पसलमा बस्दाबाहेक अन्य समयमा उनी व्यापारीजस्ता लाग्दै लाग्दैनन् । उनको आम्दानीको मुख्य स्रोत व्यापार नै हो तर, दिन जन्मेका राजेशले लिने पेसालाई भने गौण बनाएका छन् । पवित्र कालीगण्डकी र म्याग्दी नदीको निश्चल जलप्रवाहझैं उनी समाजसेवा र परोपकारी क्षेत्रमा बगेका छन् सलललल…।
यिनै समाजसेवी, परोपकारी र मनकारी शाक्यको पहलमा स्थापना भएको छ म्याग्दीमा ओमकुमारी शान्ति कोष नामक परोपकारी संस्था । यही संस्थामार्फत उनले सबैभन्दा ठूलो सेवा गरिरहेका छन् म्याग्देलीहरुलाई । उनी यस संस्थाका अध्यक्ष छन् । यही संस्थामार्फत म्याग्दीका २ सय जना दुःखी, गरिब, असहाय र विभिन्न रोगबाट ग्रसित बिरामीहरुको उपचार भएको छ । कैयौंले नयाँ जीवन पाएका छन् । २०७१ सालमा स्थापना भएको यस कोषमा अहिले १ करोड रुपैयाँ धनराशी संचित भएको छ । शाक्य यसलाई बढाएर २ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न कम्मर कसेर लागेका छन् । यस अभियानमा उनलाई देश विदेशमा रहेका म्याग्देलीहरुले पनि गज्जबले साथ दिएका छन् । म्याग्दीमा जन्मेर परदेशमा कर्मथलो बनाएका म्याग्देलीको गर्विलो संस्था बन्न पुगेको छ– ओमकुमारी शान्ति कोष । संस्थाको मूलमन्त्र नै ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने रहेको छ ।
कोषको जन्म एउटा अत्यन्त दःखदायी मनछुने घटनाबाट भएको थियो । २०७१ सालमा बोनम्यारो रोगबाट ग्रसित एक १८ वर्षिया युवतीको उपचारका लागि देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट सहयोग उठाइयो । उपचारका लागि आवश्यक पर्ने रकमभन्दा तीन गुणा बढी रकम जम्मा भयो । ओमकुमारी पुन नाम गरेकी ती युवतीको उपचारकै क्रममा मृत्यु भयो । उनको उपचारबाट बचेको १३ लाख रुपैयाँबाट कोष स्थापना गरियो । कोषको खातामा अहिले एक करोड रुपैयाँ बचत छ । ‘स्वदेश तथा विदेशका शुभेच्छुकहरूले थप एक करोड रुपयाँ सहयोग गर्ने बचनबद्धता दिएका छन्’, शाक्यले भने, ‘हामी कोषमा दुई करोडभन्दा बढी रकम जम्मा गर्छौं । र, ब्याजबाट गरिबको उपचार गर्दै जानेछौं ।’
शाक्यको साथले कैयौं युवाका सपना फक्रिय : भविष्य चम्कियो
बेनीका युवा पुस्ताका लागि राजेश शाक्य रोलमोडल नै बनेका छन् । म्याग्दीका विभिन्न गाउँहरुबाट आएर सदरमुकाम बेनीमा बस्ने २० जनाभन्दा बढी युवाहरुको सपना अहिले शाक्यकै सहयोगबाट फक्रिएको छ । उनीहरुको भविष्य चम्किएको छ । उनले सन्दिप खत्री, लोकेश पुन, नरेश श्रेष्ठ, सचिन चौधरी, हरि गिरी, विरन राना, दुर्गा बुढा, नन्द पाइजा, डकबहादुर रोकाजस्ता युवाको जीवनमा आशाको दियो जगाएका छन् । उनीहरूलाई आवश्यकताअनुसार तन, मन र धन सहयोग गरेकाले ती आफ्नो खुट्टामा आफैं उभिन सफल भैसके । उनीहरु अहिले बेनीका अगुवा युवा र सफल व्यक्ति बनिसकेका छन् ।
शाक्यको एउटा अचम्मैको बानी छ । अभावमा परेका व्यक्तिलाई खुला मनले सहयोग गर्ने शाक्यले कहिल्यै म भन्दैनन् । सधैं हामी भनेर बहुवचन प्रयोग गर्ने उनले भने ‘हामीले सुमार्ग देखाइदिने मात्र हो, गरिखाने त आफैंले हो’, शाक्य प्रस्ट छन्, ‘हामीले कतै भनेर हुन्छ भने किन नभनिदिने ? हामीले सानो सहयोग गर्दा कसैको ठूलो काम बन्छ भने किन सहयोग नगर्ने ?’
पर्यटनका अभियन्ता, दुःखी गरिबका सहारा
समुद्री सतहदेखि चार हजार मिटर उचाइको धौलागिरि सेन्चुरी पदमार्गका प्रर्वतक शाक्य म्याग्दीको पर्यटन अभियन्ता पनि हुन् । व्यवसाय, पर्यटन र परोपकारी काममध्ये कसलाई बढी प्राथमिकता दिनुहुन्छ भन्ने प्रश्नमा शाक्य भन्छन् ‘व्यवसायमा परिवारको पूर्ण सहयोग छ, व्यवसायमा १२ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघमार्फत अघि बढिरहेका छौं । ओमकुमारी शान्ति कोषमार्फत हामी दुःखी, गरिब र असहायहरुको सहयोगमा जुटिरहेका छौं शाक्यले भने । शान्ति कोषमार्फत आजसम्म भए गरेका कामहरुबाट सन्तुष्ट रहेका शाक्यले अझ धेरै गर्न बाँकी रहेको प्रष्ट्याए । सकेसम्म गर्ने हो, यति नै गर्ने भन्ने कुनै मापदण्ड छैन उनले भने । व्यापारिक घरानाको मान्छेले के–का लागि गर्नुहुन्छ यी सबै काम ? भन्ने प्रश्नमा उनले भने ‘आत्म सन्तुष्टी, पारिवारिक विरासतको संरक्षण र मानवीय धर्मका लागि ।
शाक्यको जीवनप्रतिको दृष्टिकोण
जन्मनु र मर्नु जीवनको अकाट्य नियम नै हो । खाने, लाउने, घरपरिवार चलाउने, सन्तानका लागि धनसम्पत्ति कमाउने र शिक्षादिक्षा दिने यी काम गृहस्थी जीवनका कर्तव्यपरक कामहरु हुन् । त्यसका साथसाथै एक सचेत व्यक्तिका लागि सामाजिक र देशप्रतिको दायित्व पनि उत्तिकै हुन्छ । शाक्य त्यहिं दायित्व निर्वाहका लागि सामाजिक क्षेत्रमा खटिरहेका छन् । ‘मान्छे भएर जन्मिएपछि मान्छेकै लागि केही गर्न सकिएन भने मान्छे भएको के अर्थ रहन्छ र ? सक्ने मान्छेले आफ्नो लागि आँफै गर्छ, नसक्नेका लागि हामीले केही गर्नुपर्छ, यो हो शाक्यको जीवनप्रतिको दृष्टिकोण ।
विगत ७ वर्षदेखि शाक्य यहीं बाटोमा निरन्तर रुपमा लागिरहेका छन् । ‘प्रिय मानिससंग विछोड हुँदा दुःख लाग्छ, अप्रिय मानिससंग मिलन हुँदा दुःख लाग्छ, भन्छन् शाक्य । जीवनलाई वक्र रेखाबाट होइन सरल रेखाबाट बुझ्न सुझाउँछन् उनी । जीवन जटिल त्यतिखेर हुन्छ, जतिखेर मानिसले आफ्नो सोचाइलाई जटिल बनाउँछ, शाक्यको अनुभवले यही भन्छ । जीवनप्रति सधैं सकारात्मक दृष्टिकोण राख्नु पर्ने र सरल बन्नु पर्ने उनको व्यक्तित्वबाट पाइने शिक्षा यही भएको उनलाई नजिकबाट चिन्नेहरुले बताउँछन् ।
सामाजिक संघ संस्थामा शाक्य
शाक्य बेनीका एक दर्जन बढि संघ संस्थासंग जोडिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका शाक्य जुन संस्थामा पनि जिल्लाको समृद्धि र सामाजिक दायित्वका विषयमा छलफल चलाउँछन् । योजना बनाउँछन् र कार्यान्वयनका लागि सरोकारवालाहरुलाई झक्झक्याउँछन् । उनले जिल्लाको समृद्धि पर्यटनमा नै देखेका छन् । त्यसैले परोपकारी कामबाट फुर्सद हुँदा उनी पर्यटन विकासबारे नै सोच्न थाल्छन् । आफ्नो निजी खर्चमा उनले जिल्लाका सरोकारवाला र पत्रकारहरुलाई बेला बेलामा म्याग्दीका विभिन्न पर्यटकीय स्थलहरुमा घुमाउँछन् । त्यहाँका सम्भावनाका बारेमा सुनाउँछन् ।
उनको योजना म्याग्दीलाई पर्यटकीय र परोपकारी क्षेत्रको नमूना जिल्ला बनाउने रहेको छ । पर्यटकीय जिल्ला बनाउन सरकारको नीति, सरोकारवालाहरुको लगन र जिल्लाका सम्पदाहरुको समन्वयात्मक सम्बन्धको आवश्यकता पर्ने भएपनि व्यक्तिगत क्षेत्रबाट पनि टेवा पुर्याउन सकिन्छ भन्ने उनको मान्यता छ । त्यसैले उनले आफ्नो तर्फबाट एउटा योजना बनाएका छन् । शाक्यका भतिजा दिल अष्ट्रेलियामा होटल म्यानेजमेण्ट पढ्दैछन् । पढाइ सकेर फर्केपछि बेनीमा स्टार होटल खोल्न चाहन्छन् उनी । ‘हाम्रो बेनीमा सामान्य होटल मात्र छन्’, उनले भने, ‘यहाँ स्टार लेभलका पाहुनाको लागि होटलको खाँचो छ ।’ लाहुरेहरुको कमाइबाट विकासका खुट्किला चढ्दै गरेको म्याग्दीको अर्थतन्त्रलाई पर्यटनसंग मिलाउन सकियो भने जिल्लाको समृद्धिलाई टाढा देख्दैनन् शाक्य ।
–ध्रुबसागर शर्मा/म्याग्दी





