बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेल सुधारको थालनी होस्

जेल सुधारको थालनी होस्


  • Dhorpatan News
  • असोज २५ २०७७, आइतबार

भनिन्छ, ‘जेलका पर्खालहरु कानूनका इँटले र वेश्याको घरको गारो धर्मका इँटहरुले बनेको हुन्छ ।’
कारागार कानूनबाटै सृजित संरचना हो,कारागार । अपराधीहरुलाई दण्ड दिने, प्रायश्चितको मार्गमा लगाउँदै समाजमै पुनस्र्थापित गराउने काम कारागारमै हुन्छ । खुंखार अपराधीलाई नेल र हत्कडीसहित बाहिरी संसारबाट अलग्याउने जेललाई पछिल्लो समय सुधारगृहको रुपमा हेर्न थालिएको छ । त्यहाँ पुगेपछि सद्वुद्धि पलाउँछ, अपराधीले अपराधवोध गर्छ भन्ने मान्यतासँगै कारागारलाई सुधारगृह मानिएको हो । भगवान कृष्ण पनि जेलमै जन्मे, जेलमै उत्कृष्ट साहित्य सृजनाहरु गरिए । जेलबाटै गरिएका आह्वानहरुले विभिन्न क्रान्ति सम्भव भए अनि जेलले विचारलाई थुन्न सक्दैन भन्नेजस्ता उक्ति पनि जेलसँग जोडिन्छन् । हो, एकटुक्रा आकाश र थोरै रोशनीबाट जीवन र जगत बुझ्नेहरुलाई पनि जेलमा कोचिन्छ । अपराधीलाई पनि त्यहीँ ठिमु¥याइँन्छ । यो उपक्रम अहिले पनि जारी छ । जेललाई सुधारगृह भनिए पनि व्यवहारमा भने त्यसको हालत अहिले पनि कल्पना गरिएको नर्कजस्तै रहेको छ ।
वास्तविकता खोज्न टाढा जानु पर्दैन । नेपालकै कारागार हेरे पुग्छ । अपराधीदेखि राजनीतिक आस्थाका बन्दीहरु रहेको जेल साँच्चिकै साँघुरो छ । ४२० जना अट्ने क्षमता भएको कास्की कारागारमा ७३ जना महिला, ५ जना आश्रित बालबालिका र ८५० जना पुरुष गरि ९२८ जनालाई कोचिएको छ । यात्रुबसमा एकैछिन कोचाकोच हुँदा त सकस हुन्छ भने जेलमा यत्तिका धेरै मान्छेहरु कसरी बसे होलान् ? सहजै कल्पना गर्न सकिन्छ । अवस्था कास्कीको मात्रै हैन, बागलुङ र देशभरकै उस्तै छ । बागलुङ कारागारमा पनि अहिले ५० जना क्षमता भएकोमा १३१ जना कैदीबन्दी रहेका छन् । जेलमा २ जना आश्रित बालबालिका छन् । बागलुङमा महिला बन्दीको लागि सहज भए पनि पुरुषहरु समस्यामा छन् । देशभरका कारागारमा पालो कुरेर सुत्नुपर्ने बाध्यता छ । भनेको बेला शौच गर्ने सुविधाबाट उनीहरु बञ्चित छन् । जेलभित्रै चल्ने गुण्डागर्दी, भाइनाइकेहरुको मनोमानीबाट निम्छराहरु कति चेपुवामा छन् भन्ने त परको कुरा भयो , सामान्य रुपले बाँच्न पाउने अधिकार पनि कैदीबन्दीबाट छिनिएको अवस्था छ ।

जेल कस्तो बनाउने भन्नेबारे विभिन्न समयमा चर्चा–परिचर्चा नहुने पनि हैन । अनुगमन पनि गरिन्छ । तर, त्यो फरक संसारको सुधारबारेका गफहरु पानीको फोकाजस्तै उठ्छन् र हराउँछन् । जेलको सुधार कि त कागज कि गफमा सीमित हुन्छ । अहिले कोरोना कहरले सबै क्षेत्रलाई गाँजेको छ । सकसपूर्ण जीवन बाँचेका कैदीबन्दीमा संक्रमण फैलियो भने त्यो भयावह हुन्छ भन्ने आंकलन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले हालै जेलहरुको निरीक्षण गरेको छ । जेलहरु संक्रमणको खतरामा रहेको औंल्याएको छ । हो, जेलमा कथंकदाचित कोरोना फैलिए रोक्ने उपाय छैन । किनकि, जेलमा सुधारगृहको वातावरण हैन कि भेँडाबाख्रा कोचेजस्तो मान्छे कोचिएको छ । संक्रमणले खतराको घण्टी बजाइरहँदा जेलमा भएको अत्यधिक भीडको व्यवस्थापनबारे पनि सोच्नुपर्ने भएको छ । नेपालको संविधानले अपराध गरेकाहरुलाई सुध्रन र बाँच्न पाउने अधिकार ग्यारेण्टी गरेको छ । जेल जीवनलाई जति नारकीय बनायो, व्यक्ति सही बाटोमा आउने सम्भावना उति नै टाढिने गर्छ । यो सत्य लामो समय जेलजीवन बिताएका राजनीतिक नेताहरुले पनि बुझेका छन् । जेलको अव्यवस्थाबारे उनीहरुले सम्झने हो भने पनि त्यहाँ सुधारका कदम चाल्न सकिन्छ । जेललाई वास्तविक सुधारगृहमा रुपान्तरण गर्न सकिन्छ । त्यहाँ रहेका आश्रित बालबालिकाको भविष्य सुन्दर बनाउन सकिन्छ । कोरोना कहरको बेला जेलको दुर्गतिबारे ध्यान दिइयोस् । जेल सुधारको थालनी होस् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->