दशैंको मैजारो भएको छ । तिहारसहितका चाडबाड आउँदै छन् । चैतमै नेपाल भित्रिएको कोरोना कहर ज्यूँकात्यूँ छ । दशैंको छेकोमा प्रमुख सहरहरुमा कोरोना झन फैलियो । संक्रमित बढ्दा ज्यान जानेको संख्या पनि बढ्न पुग्यो । संक्रमण समुदायमा फैलिँदो क्रममा रहेको छ । दशैं सकिएपछि पुनः मानिसहरुको चहलपहल र आवागमन बढ्न थालेको छ । आवागमन बढ्दा संक्रमण बढ्ने खतरा झन् बढेको छ । यो खतरालाई कसरी निम्ट्याउने भन्नेमा चाहिँ सरकारको खासै ध्यान पुग्न सकेको छैन ।
नेपालमा कोरोना संक्रमणलाई सुरुमा सामान्य रुपमै लिइयो । प्रधानमन्त्रीदेखि मन्त्री र सरकारी अधिकारीहरुले कोरोना भाइरस केही पनि हैन र सामान्य उपचारले निको हुन्छ भन्ने सन्देश प्रवाहित गरे । सिंहदरबारमा कोरोना पस्दासम्म पनि सरकारको होस खुलेन । संक्रमितको उपचारको लागि आवश्यक पर्ने भेण्टिलेटर, आइसीयू लगायतका संरचना निर्माणमा चरम ढिलासुस्ती गरियो । सरकार मोवाइलमा स्वास्थ्य सम्बन्धी सूचना बजाएपछि आफ्नो दायित्व पूरा भएको ठान्यो । सम्भावित जोखिमको मूल्याङ्कन र तयारीमा चुक्यो । यो उदासिनता अहिले महङ्गो परेको छ । अस्पतालहरुमा बेड र आइसीयू अनि भेण्टिलेटरको अभाव खट्किएको छ । पहुँच हुनेहरुको लागि सहजै आइसीयू र भेण्टिलेटर प्राप्त भए पनि सर्वसाधारणहरु भने सो सेवाबाट वञ्चित भएकाछन् । निजी अस्पतालहरुले मोटो रकम धरौटी राखेपछि मात्रै बिरामी भर्ना लिन थालेका छन् । सामान्य ज्वरो आएका व्यक्तिले पनि उपचार नपाउने अवस्था सिर्जना भएको छ । महामारी एक हिसाबले गरीबको लागि झन भयानक दुदर्शा बनेको छ ।
पछिल्लो समय निजी क्षेत्रबाट पनि पीसीआर परीक्षण थालिएको छ । जति परीक्षण बढेको छ, संक्रमण त्यति नै बढी देखिएको छ । सुरुमा क्वारेण्टिन र आइसोलेसनको व्यवस्थापन गरेका स्थानीयतहहरु यतिबेला थाकिसकेका छन् । स्थानीय तहहरु थाक्दा संक्रमितहरुको टे«सिङ र उनीहरुसँग सम्पर्कमा रहेकाहरुको पहिचान हुन सकेको छैन । परिस्थिति जटिल बन्दा सरकार भने लापरवाही देखिएको छ । सरकारमाा भएका व्यक्तिहरु राजनीतिक खिचातानी मै अल्झिएका छन् । आफ्नो उपचार आफै गर भन्ने उर्दी जारी गरेर आलोच्य भएको सरकारलाई आलोचनाको डर छैन । सत्तारुढ नेपाल कम्युुिनष्ट पार्टी (नेकपा) भित्र देखिएको बिग्रह मिलाउन मै प्रधानमन्त्री व्यस्तहुँदा जनता चेपुवामा परेका छन् । संकट गहिरिएको छ । गहिरिँदो संकटबाट पार पाउन परीक्षणसँगै उपचारको दायरा बढाउनुपर्ने देखिएको छ ।् दुर्भाग्य ! त्यतातिर सरकार र स्वास्थ्य मन्त्रालयले ध्यानदिन सकेको छैन । सरकारले निरीहता हैन जे गरे पनिहुन्छ भन्ने दम्भ देखाएको छ । सरकार जवादेही नहुँदा जनता आफै सचेत बन्नुको विकल्प देखिएको छैन । सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार नभएकैले नागरिकहरुले संयमता अपनाउनु पर्ने भएको छ । तर, ज्यान जोगाउँदै गर्दा सरकारका गलत कदमहरुको हिसाब राख्दै खवरदारी गर्नेतर्फ पनि नागरिकले सोच्नुपर्ने भएको छ ।

