कहाँ छौ तिमी ?
म जहाँ छु त्यहाँ तिमी छैनौ
तिमी जहाँ छौ त्यहाँ म पनि
देखिन्न होला सायद ।
म अलि एकान्त मै छु
सायद झट्ट भेटिन्न म अहिले
तिमिलाई थाहा छ नि
हिजो आज कोरोनाले
संसार एकैचोटी हल्लायो
सारा जीवन क्षतविक्षत वनायो
पैसा र शक्तिको आडमा
डकार्नेहरुलाई पनि तर्सायो,
उद्योग धन्दा कलकारखानाहरु
चल्न दिएन
धेरैलाई रोजगारीमा जान दिएन
विपन्नताको चुलोमा
आगो वल्न दिएन
हामीलाई पनि एक्लै हिड्ने वनायो
अलग अलग जिउने वनायो
अरु त छोड तिमी विरामी हुँदा
मलाई भेट्न जान दिएन
अस्पतालको वेडवाट
आफन्तको याचना गरेको वेला
मलाई भेट्न जान दिएन,
अस्पतालको झ्यालवाट
टुलुटुलु हेर्दै आफन्तको
प्रतिक्षा गरेको वेला
मलाई भेट्न जान दिएन,
तिम्रो याद थाम्नका खाँतिर
वनाएको आफ्नै मनको बाँध
भत्किनै लाग्दा पनि
मलाई भेट्न जान दिएन
ओखतीमुलो लैजान दिएन
पीडाले जलेको तिम्रो
मन छाम्न दिएन
अविरल वगेका आँसुका ढिक्का
थाम्न दिएन
आँसुले लुछुप्प भिजेको
तिम्रो प्रेमिल अनुहार
सुमसुम्याउन दिएन,
वस्तिका अँफन्तसंग
भेटघाट गर्न दिएन
दशैको वेला मान्यवरको
अँशिर्वाद थाप्न दिएन
तर्साउनसम्म तर्सायो
कुन जुनीको पापले हो कुन्नि
दुनियालाई
मुखै छोपेर हिड्ने वनायो
धन्य रहेछौ कान तिमी
तिमी नै नभएको भए
दुनियाको मुख कसरी
छोपिन्थ्यो होला
अनि कोरोना कहरवाट
कसरी जोगिन्थ्यो होला
तिमिलाई नमोनम
ययतिवेला
कैयौ आफन्तहरु परलोक गए
तिनको मलामी जान दिएन
उनका नातेदारलाई
अन्तिम ईच्छा सोध्न दिएन
धर्म संस्कार अनुसारको
कर्म गर्न दिएन
छोराछोरीलाई मुख हेर्न दिएन
नजिकमा वसेर रुन दिएन
आफ्नै जन्मदाताको
मृत शरीर छुन दिएन
आफन्तहरु जम्मा भएर
शवयात्रा चलाउन दिएन
मृत्यु संस्कार अनुसार
चितामा राखेर जलाउन दिएन
तर केही छैन
कोरोनाको कहरसम्म
फेरिपनि
म जहाँ छु त्यही रमाउला
तिमी जहाँ छौ त्यही रमाउ
समाउ कलम
र लेख कोरोना मुक्तिका सन्देशहरु
स्वास्थ्य, सुरक्षाकर्मीप्रति
सम्मानजनक शव्दहरु लेख
उनीहरुलाईर अँँट सहास देउ
आत्मवल वढाउ
आँफु सुरक्षित वस
विना काम बाहिर नजाउ
मेरो यादले सताएछ भने
आँफैभित्र हुर्केको यादरुपि
रुखको डालीडालीमा तिमी छौ
भनेर शव्दमाला लेख
विगतका रमाईला र अविस्मरणिय
क्षणहरुको संगालो लेख
जीवनका भोगाईलाई
सिर्जनाको फुल वनाऊ,
कोरोनाको समयलाई
सिर्जनाको मुल वनाउ,
तिमिलाई याद छ नि
वितेका ती कैयौ रमाईला
क्षणहरुमा रमाउदा
आँफैलाई विर्सेका पलहरुलाई
जिन्दगिको गोरटोमा लेख
वाल्यकालमा धुलो खेलाउदा र
हाँस्दै खेल्दै स्कुल जाँदाका
रमाईला क्षणहरु लेख,
घाँस दाउरा वन जंगल गर्दाका
यादगार संझनाहरु लेख
मेलापात गर्दा र
वस्तुभाउ चराउदाका
अवस्मरणीय यादहरु लेख
गोधुली साँझका यात्रामा
उकाली ओराली गर्दा
उनेका सपनाहरु लेख,
जुनेली रातमा रोपेका
पिरतिका फुलहरु लेख
विगत भोगाईका रमाईला
क्षणहरु सम्झ अनि त्यहीवेला
मन मस्तिष्कमा चित्राकिंत
रंगिन पानाहरु पल्टाउ त
हो त्यहि भेटिन्छु म ।
१६ कार्त्तिक २०७७, बागलुङ





