बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा : लोग्‍नेको प्रेम !

कथा : लोग्‍नेको प्रेम !


  • प्रेमनारायण भुषाल
  • कार्तिक २२ २०७७, शनिबार

“पहिले त डर लागेको थियो । छोरो जोगी बन्‍ने हो कि भन्‍ने चिन्ताले कति सतायो-सतायो ! सहरमै केटीसँग लहसिएको छ, रखौटी लुकाएर राखेको छ, अनि केके-केके कुरा पारिदिए कानमा । कति कुरा जुराउन सकेका हुन् असत्तीहरू ! कुलघरान सबै मिल्ने राम्रा कुटुम्बसँग घरबार जोडिने निश्चित भएपछि छोराको हैन मेरो आफ्नै बिहे पो हुन लागेको हो कि जस्तो लाग्‍न थालेको छ !”

यसरी बोल्दै गर्दा ६० वर्षीया वृद्धाका अनुहारमा लाली चढ्न थालेको भान हुन्छ । “बिहे पनि भोग्‍नेलाई त के रमाइलो भन्‍नु र ! १४ नटेक्दै अन्माइदिइहाले बाआमाले । लाजले आँखा उठाएर हेर्न सकेको होइन उहाँलाई । देवर र उहाँको चेहरा उस्तै देखेपछि झुक्किन्छु कि भनेर बल्ल लुकेर ठम्याएकी हुँ, उहाँको कान ओल्तिरको कालो कोठी ।”
कुरा गर्दै जाँदा उमेर खाइसकेकी वृद्धामा पनि लज्जा अनुभूति भएछ क्यारे, अनुहार रातोपिरो देखिन थाल्यो ।
आगन्तुकहरूलाई स्वागत गर्दै भलाकुसारी गरिरहेका गोपीलाल पनि निकै उमङ्‌गित देखिन्थे । सन्चो-बिसन्चो सोध्नुभन्दा कुलघरानकी कन्यासँग लगनगाँठो जोड्ने कुरा सुनाउनै हतारिएको देखिन्थे उनी ! आफूले जीवनभर दुःखकष्ट गरेर एमएसम्म पढाएको छोरोले बुढेसकालमा सुख देला भन्‍ने कत्रो अभिलाषा थियो उनको । तर कहिले सहरमै हराउने, त कहिले ‘रखौटी लुकाएर राखेको छ, अझ घरज्वाइँ नै बस्यो रे’ भन्‍ने खबरले कैयन्‌पटक मनमुटु छियाछिया भइसकेको थियो !
घरमा बिहेको कुरा गर्नासाथ अर्कैतिर मोडिने गणेशको व्यवहारले यो आशंकालाई झन् बलियो बनाएको थियो । “म बिहे गरेर एउटी नारीको जीवन बर्बाद पार्न चाहन्‍नँ,” आमाले ढिपी गर्दा गणेशले भनेको थियो । २०औँ पटक खाना खाँदा मौका छोपेर “बिहे गरेर महिलाको जीवन कसरी बर्बाद हुन्छ बाबु ?” भनेर सोध्दा आमाले एक दिन जवाफ पाएकी होइनन् । बिहे गरेर महिलाको जीवन बर्बाद हुने छोराको कथनको रहस्य बुझ्‍न नसक्दा कैयौँ रात उनले अनिँदै बिताइन्, बिचरी !

“दुई साताअघि त हो, घाँस काट्न गएकी छिमेकी कञ्‍चनकी आमा बिचरी ! ऐया भन्‍न नपाएरै प्राण छाडिन् । कुट्मेराको टुप्पामै पुगेर घाँस फहराउन के थालेकी थिइन् यमराजको दृष्टि पुगेछ । भनौँ उनको पिठो पुगेछ । टेकेको हाँगोभन्दा पहिला बडेमानको चट्टानमा बजारिन पुगिन् । छोरा नभए पनि छोरीबाट सन्तान जन्मे पनि पुम् नामको नरकबाट मुक्ति मिल्छ भनेर गरुणपुराण बाच्‍ने पण्डितले भनेदेखि हरेक रात सपनामा त्यही नरकको ढोकामा पुगेजस्तो लाग्दथ्यो मलाई त ।”

“सञ्‍चै हुनुहुन्छ आमा ?” भनेर सालडाँडे कान्छाले सोध्दा चालै नपाएकी बुढीआमा बेलाबेलामा एकोहोरिन थालेको पनि दुई वर्ष पुगेछ । कहिलेकाहीँ उनी अलि असामान्य व्यवहार देखाउँथिन् । बिचरी स्कुल हिँडेकी माझारे जेठाकी छोरीलाई पँधेरामा भेट्दा “अब कति माइतमै बस्छ्यौ ? मलाई पनि दुःख छ, घरै आऊ भो”  पो भनिछन् ! अविवाहित केटीलाई त्यस्तो भनेपछि त गाउँमा बबालै मच्चिएको थियो । सालडाँडे कान्छो पर पुगेपछि बल्ल उनको मुख खुल्यो । तर अर्थ न बर्थको कुरा कसले बुझोस् ।

उसले पनि केही वास्ता गरेन र अघि बढ्यो । तर बुढी आमा भन्दै थिइन् “पोहोर साल दसैँमासमेत घर नआई सहरमै बसेपछि भने छोराले बिहे गरिसकेछ भन्‍ने निर्क्योलमा पुगेकी थिएँ ।”

‘हुने हुनामी कसैले टार्न सक्दैन । आफ्नै जातकी ल्याएको भए मर्द हो ल्यायो भन्‍न हुन्थ्यो । केही दिन गाउँलेले कुरा काटे के बिग्रन्थ्यो र । टाकुरा पण्डित बाजेका छोराले पनि त अर्कै जातकी बिहे गरे नि । सुरुमा मेरा लागि छोरो मर्‍यो, म जुठोमा परेको छु, मलाई नढोग् भन्‍ने पण्डित बाले दुई महिनापछि बुहारीले लगाइदिएको औँठी मुलुकलाई देखाउँदै हिँडे । आखिर गरेपछि सबै कुरा पच्‍ने त रहेछ, नगरुन्जेल त रहेछ डराउँदै बस्‍ने ! जीवन बिताउने छोराबुहारीले नै हो ।’ गम्दै समय-समयमा मुटु दह्रो पार्थिन् उनी ।

एकपटक त उनले छोरालाई पनि भनेकी थिइन्, “हेर छोरा ! तँ नै पढेलेखेको छस्, जातपात नमिलेको भए पनि केही हुन्‍न । तेरा बा दुईचार दिन बाउँठिने त हुन् । केही हुन्‍न, बुहारी लिएर आइज । तैँले सोचविचार गरेर आफ्नै मर्जीले जस्तो मनलाग्छ त्यस्तै गर् । तर बिहे त गर है बाबु !”

“तपाईंले त्यस्तो भनेर भएन आमा ! मलाई अप्ठ्यारो छ ।” भन्‍नेबाहेक एक शब्द खसेन गणेशका मुखबाट ।

वर्षौंसम्म छोराका अस्पष्ट व्यवहार र उत्तरले भुट्भुटिएकी वृद्धा आज दङ्‍ग छिन् । नहुन् पनि किन, आफ्नै बालसखाकी छोरीसँग छोराको बिहे हुँदै छ । खास नाम बाटुली भए पनि सधैँ बाटे बाटे भनेर बोलाउने सिँगाने साथी सम्धिनी बन्दै छिन् । यो काम पाँच वर्षअघि भएको भए पिरलोले आधा ज्यान त हुन्‍नथ्यो नि । कतिखेर पश्‍चात्तापको  कुहिरोले उनका आँखा धिरमिर पारिदिन्थ्यो । तर आज ती सब पीडा घामको रापमा परेका असिनाजस्तै मानसपटलबाट एक-एक गरी बिलाउँदै गएका छन् ।

भव्य रूपमा बिहे सम्पन्‍न भयो । गाउँका युवाहरूले नाचगान गरेर बिहेको रौनक बढाइदिएकाले सानैमा गाउँ छाडेको गणेश साथीहरूबिनाको एक्लो रहेछ भन्‍ने कसैलाई भान हुन सकेन । “तिमी बुहारी होइनौ छोरी हौ । मेरी छोरी र साथीकी छोरीमा के अन्तर !” बुहारी भित्र्याउँदै गर्दा गणेशकी आमाले भनेकी थिइन् ।

०००

“सहरमा बसेकाले होला । बिस्तारै सबै ठीक हुन्छ । पहिले पहिले हामीसँग पनि त्यसै गर्थ्यौं । बिहे भन्यो कि अर्कोतिर लागिहाल्थ्यो । कस्तो केटीजस्तो, आफैं भगाएर ल्याउनुपर्ने मर्द पनि जवानीमा लजाउने भनेर कतिपटक मैले पनि भनेकी थिएँ उसलाई ।”

“मलाई वास्ता नै गर्नुहुन्‍न, राति कोठामा पनि म एकातिर उहाँ अर्कोतिर फर्केर सुत्ने हो । अरू कसलाई भन्नु । मेरी त आमा भने पनि सासू भने पनि तपाईं नै भएकाले बिन्ती बिसाएकी हुँ” भन्दै बिहेको ८-९ महिनापछि बुहारीले गुनासो गर्दा सम्झाइरहेकी थिइन् सासू ।

“ऊ पेट पनि त देखिन थाल्यो नि । दुई-तीन महिनादेखि वाकवाकी पनि बढेको छ । आफ्नो ख्याल गर है । मेरो नाति स्वस्थ जन्मनुपर्छ । मेरो छोराले माया गरेन, वास्ता गर्दैन भन्थ्यौ क्यारे ! घाम झैँ छर्लङ्‍ग पारेर दुनियाँलाई देखाइदियो नि, मायाको चिनो ।” सासूले ठट्यौलो पाराले जिस्क्याउँदा पनि रमिलाको अनुहारमा कुनै परिवर्तन देखिएन ।

“तल्लो गराको पानी माथिल्लो गरामा आउन्‍न भन्थे तर मेरो छोराले हामी बुढाबुढीलाई बिर्सेको छैन । बुहारीलाई कस्ता राम्रा गहना ल्याइदिएछ यसपालि । सुनले त छपक्कै पारिदिएको छ । आफूले बेलामा पाइएन अहिले उमेरले दिन्‍न ।” आमाको कुरा सुनेपछि गणेशले सुनको हार आमाका हातमा राखिदिँदै भनेको थियो : “तपार्इंलाई पनि छ आमा । बट्टा झिक्दा पहिला उनको आयो र…”

“ए कस्तो बाठो र मायालु छ मेरो छोरो । अब डाँडानेर पुगेको घामजस्तै भएकी म बुढीलाई किन चाहियो र हार । ढाकाको टोपीमा गयँलाको फूल ! लौ छोरी ! तिमी नै लगाऊ । तिमीहरू हाँसीखुसी बस्यौ भने हामी बुढाबुढीलाई अरू केही चाहिँदैन । आखिर सन्तोषभन्दा ठूलो के रैछ र ?” आमाका कुराले छोराबुहारी दुवैलाई भावुक बनाएको प्रतीत हुन्थ्यो ।

००० 

अप्रेसन गर्नुपर्ने हो कि भनेर सबै तयारी गरेका थियौँ । सकभर अस्पताल जान नपरोस् भनेर देउरालीमा फूल पनि चढाएका थियौँ । सुत्केरी गराउन त अस्पताल नै राम्रो हुन्थ्यो । तर सँगै कोरोना आयो भने अर्को आपत् । यस्तै बेला लोग्‍ने पनि घरमा छैनन् । काठमाडौंबाट आउन नचाहेका हुन् कि साँच्चिकै लकडाउनले लक भएका हुन् । रमिलाले संशय छ भन्थिन् ।

“अलि अप्ठ्यारो होलाजस्तो भयो । एकपटक अस्पताल त जानैपर्ने भयो ।” गाउँका सिएम्ए कान्तुरामले भनेपछि ढिलो गर्ने कुरा भएन । बल्लतल्ल जिल्लाको अस्पतालमा पुर्‍याइयो । तर परमेश्वरको सुदृष्टि नै परेछ, लामो व्यथा नै नलागी बच्चो जन्मियो ।

लक्षणकी बुहारी भएको घर सधैँ उज्यालो हुन्छ भन्छन्, हो रहेछ आखिर । अस्पतालमा कुरुवा बस्‍न गएकी सुन्तलीकी बुहारीले आफ्नो नातिको जन्मका बारेमा बताउँदा गोपीलालका दम्पती दङ्‍ग परेका थिए ।

“मेरा छोरालाई जे पायो त्यही भन्‍ने त्यो पाजी सोमेका छोराले । आएर हेरे हुन्छ नि, बिहे गरेर आफ्नै श्रीमतीबाट छोरो जन्मायो कि जन्माएन भन्‍ने !” वर्षौंसम्मको मूकतालाई भङ्‍ग गर्दै कड्किएका थिए गोपीलाल । “नपुंसक र के-के अरे खुब जाँच्दै हिँड्ने भएको । अधोमति अधोगति भन्थे, हो रहेछ । अहिले बाउबाजेले जोडेको सारा सम्पत्ति उसैले उडाउँदै छ । गाउँमा धेरै बसेन, वर्षमा एकदुई चोटि मात्र घर टप्किन्छ भनेर हाम्रो छोरालाई नानाभाती…”, गोपीलालले थप्‍न भ्याए ।

“अनुहार त काटीकुटी बाबुकै ल्याएको रहेछ ।” न्वारानको सबै काम सकेर सूर्यदर्शन गराउने बेला काखमा लिँदै गोपीलालले भनेका थिए । “निधार र कान तपाईंकाजस्ता भए पनि चिउँडो त मेरो जस्तै रहेछ । नाक र ओठ त काटीकुटी गणेशकै ।” गोपीलालसँग श्रीमतीले प्रतिस्पर्धा गर्न खोजेजस्तै देखिन्थ्यो ।

“अब भित्र गएर पूर्णपात्र, पूर्णाहुति र दक्षिणा सङ्‍कल्प गरौँ । अनि खुट्टा कस्काजस्ता, नङ कस्काजस्ता जाँच्‍नुहोला । न्वारानमा बाबुचाहिँ त जसरी भए नि आएको भए हुने । आजकलका केटाहरू, केमा हो केमा व्यस्त !” भन्दै पण्डितले थपे, “नरेले बिरामी बालाई च्याप्‍न लाग्यो, दशदान गर्नुपर्‍यो, छिटो आउनुस् भनेको छ । तिमी बुढाबुढीले छोराछोरी हुर्काएर पनि यो नातिको पिउसोलाई आजसम्म नदेखेको अनौठो जीवजस्तै मानेर ओल्टाइपल्टाइ गर्न लाग्यौ ।” पण्डितले आवाज चकिएपछि बल्ल बुढा झस्किए र नाति पत्नीलाई दिँदै “अब के गर्ने रे गुरु” भनी सोध्‍न लागे ।

०००

फोनका कुराले घरमा अनेक आशङ्‍का थपियो ! ‘चोरी डकैतीजस्तै फौजदारी अभियोगमा पक्राउ पर्‍यो कि त ! सहरतिर आजकल जुवाडे र मापसे गर्नेलाई पनि परिवारको जिम्मा लगाउने चलन छ । यस्तै केही पर्‍यो होला । आत्तिनु पर्दैन ।
एकाघरको बाबु गएर पनि नहुने भन्‍ने फेरि के रहेछ । यसको भने पत्तो पाउन सकिनँ । नयाँ मुलुकी फौजदारी संहितामा पनि त्यस्तो केही लेखेको छैन ।’ मानौँ न्यायाधीशको अन्तिम फैसला सुन्‍नझैँ व्यग्र भएका परिवारका सदस्यहरूले घेरिएका खडानन्द लेखनदासले आशङ्‍का तोड्ने कसरत गर्दै थिए ।

“पाँच महिनाकी सुत्केरीलाई बस चढाएर कसरी पठाउने ? त्यसमाथि एक साताअघि मात्रै माइतबाट सुत्केरी बसेर फर्केकी । अनि यो पिउसोलाई लैजाने कि यहीँ छोड्ने ?” समस्याले परिवारका सबै सदस्यलाई किंकर्तव्यविमूढ बनाएको थियो ।
“हेरचाह गर्नलाई त म गरुँला, तर मेरा लाम्टा चुसाएर केही आउने होइन ।” बुढी फतफताउन थालिन् ।

“जाऊ बुहारी सुत अब । भोलि बिहानै तिमी र म जाऔँला । बच्चालाई छाडेर के गर्ने ? लिएरै जान पर्‍यो । चार घडी रात छँदै निस्कनुपर्ला । अब जे पर्छ त्यहीँ टर्ला, त्यत्तिकै टाउको फोरेर पनि केही हुने होइन क्यारे ।” गोपीलालले घरसभा विसर्जन गरेपछि लेखनदास आफ्ना घरतिर लागे । बुहारी बच्चालाई लिएर ओसारीको खोपीमा गइन् । बूढाबूढीले मूलढोकामा गजबार लगाए ।

“मलाई माफ गर नानु ! आखिर तिम्रो काख पनि खाली छैन । मानिसहरू १६-१७ वर्षमै विधवा भएर पनि निःसन्तान जुनी बिताउँछन् । तिमीलाई त यस्तो राम्रो छोरो छ । चाँडै नै यो ठूलो हुनेछ । अब तिम्रो साथी यही छोरो हो ।” कहिल्यै मनका कुरा नगर्ने लोग्‍नेले आँसु पुछिदिँदै मायालु भावमा अन्तिम बिदाइको याचना गर्न थाल्दा रमिलाको मनले मानेन, घुँक्कघुँक्क गर्दै रुन लागिन् ।

“नरोऊ न मन कठोर पार”, केश सुम्सुम्याउँदै गणेशले भन्यो । “म सहरमा हुर्कें ।” कलेटी परेका गाला र झुत्रे शरीर भएकी अधबैँसे महिलालाई देखाउँदै भन्यो “यिनीसँग मायाप्रेम बस्यो । बा-आमाको मन राखिदिन तिमीसँग बिहे गरेको थिएँ । सधैँ दुइटा डुङ्‍गामा खुट्टा राखेर हिँड्न सकिँदो रहेनछ ।”

गणेशका कुरा सुन्‍नासाथ काखको बच्चालाई यत्तिकै भुइँमा थचारेर झुत्रीमाथि जाइलागेकी थिइन् रमिला । भर्खरसम्म मीठा कुरा गर्ने गणेश निकै कठोर देखिएको थियो, तर पनि रमिलाका हात गणेशमाथि जाइलाग्‍न सकेका थिएनन् । यस्तो बेलामा गणेशले दुवैलाई मिलाउलाभन्दा त झन् झुत्रीकै पक्ष लिएर उसले रमिलाको गालामा चड्कन लगाइदियो । रमिलालाई कताकता प्यारालाइसिस भएजस्तो महसुस भयो । गणेश र झुत्री मिलेर हात खुट्टा समातेर झ्याइँकुटी पारी घरबाहिर ल्याउँदा पनि उनले केही गर्न सकिनन् । हातखुट्टा अठ्याइएका भए पनि मुखबाट आवाज निकालेर गुहार माग्‍न त सक्थिन् तर त्यसो गर्न पनि सकिनन् उनले । सडकको डिलबाट डरलाग्दो छाँगोतिर हुत्याउनै लाग्दा रमिला झसङ्‍ग भइन् । पसिनाले सर्वाङ्‍ग भिजेको रहेछ ।

बच्चाको एउटा हातले देब्रे स्तनको मुन्टो अठ्याइरहेको र अर्को हात आफ्नै काखीमुनि च्यापिएको रहेछ । तुरुन्तै बत्ती बालेर बच्चालाई मुसारमुसुर पारिन् । सिरानीमुनिको घडी निकालेर हेरिन् । रातको २ बजेको रहेछ । बच्चा च्याँच्याँ गर्न लाग्यो । काखमा राखेर दूध चुसाउँदै गम्‍न थालिन्, “पहिलेदेखि नै शङ्‍का थियो, मेरो लोग्‍ने मसँग कहिल्यै लोग्‍नेजस्तो भएन ।

मानसिक तुष्टि त दिएन दिएन । यसैलाई जन्माउनु रहेछ र जनावरले झैँ शारीरिक सम्पर्क राख्यो । त्यतिखेर पनि मुढो शरीरमात्र टाँसिएको थियो मसँग । मनबिनाको कठपुतला ! अहिलेको कुरा पनि के सपना भन्‍नु । विपनाजस्तो छ । मलाई माया गरेर मुसारेको मात्र सपना हो कि अरु त उसको सधैँको स्वभाव त हो नि । ‘तँ त भाग्यमानी रैछस् । पढेलेखेको मेरै साथीको छोरोलाई लोग्‍ने पाइस्’ भन्थिन् आमाले । मेरो फुटेको भाग्य रहेछ । यो अनाथ बबुरो नभएको भए जान्‍नथेँ सहरसहर । मरिदिन्थेँ । अब यसका लागि पनि बाँचिदिनुपर्छ मैले । भोलि फेरि केके सुन्‍न र देख्‍न पर्ने हो । आखिर मलाई घर न घाटकी बनाउने भए, किन बिहेको नाटक गरेको होला ? सोच्दै यत्तिकै टोलाइरहिन् रमिला ।

०००

“शुक्रतारा उदाइसक्यो । बुहारी अझै उठिन । जाऊ गएर उठाइहाल ।” गोपीलाल कपडा लगाएर तयार भइसक्दा पनि बुहारीको केही चालचुल नपाएपछि उनले श्रीमतीलाई भने ।

“उसलाई पनि चिन्ता लागेहोलान् । बिचरा मैजस्तै छे । मनमा कुरा खेलाउँदै रातभर बसिहोली ।” बुढीले जवाफ फर्काइन् ।
“अब त साँच्चै ढिलो हुन्छ ।”

“हुन्छ म गएर बोलाउँछु । सुतेकी भए पनि उठाउनु पर्‍यो । यति ढिलो त कहिल्यै गर्दिनथी । सखारै उठ्ने गर्थी । बिरामी पो परी कि !” गनगन गर्दै बुढी ओसारीतिर लागिन् ।

भोलिपल्टै फर्कने गरी ससुरा-बुहारी सहर जान भनेर निस्के । गाउँलेले थाहा नपाऊन् भनेर उनीहरू नियमित नम्बरको बस आउने बेलाभन्दा अगाडि नै मालवाहक ट्रकमा चढेर सहरतिर लागे ।

दिउँसो ४ बजे कलंकी अन्डरपार्कनेर उत्रिएपछि माइक्रो चढेर आरएनएसी पुगे । लेखनदासले दिएको चिर्कटो हेरेर नयाँ सडक गेट पत्ता लगाएपछि चिर्कटोकै नक्सा हेर्दै ५ बजे हनुमानढोका अड्‍डामा हाजिर भए ।

“खासै तपाईंहरूलाई बोलाउनुपर्ने नै त त्यस्तो केही थिएन ।” ‘ए ती गेलाई लिएर आओ’ नजिकै उभिएका जवानलाई आदेश दिँदै कुममा ताराहरू लगाएको प्रहरीले भन्यो : “यस्ता घटनाहरू त सहरमा भइनै रहन्छन् । हामी समात्छौं अनि केही दिनपछि छोडिदिन्छौं, तर…”, गणेशतिर देखाउँदै भन्यो, “यसले गाउँमा बिहे गरेको अनि बच्चा पनि जन्माएको छ भनेको भएर तपाईंलाई बोलाएको हो ।”

राति सपनामा देखिएजस्तै आफ्नै सौतासँग झगडा गर्नुपर्ने हो कि भन्‍ने आशङ्‍का मनमा पालेकी रमिलाले भित्रबाट ल्याउँदै गरेका पतिसँगसँगै आएको मानिसलाई हेरिन् । आफ्नो पतिजस्तै लक्का जवान लोग्‍नेमान्छे देखेपछि उनी ढुक्क भइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->