कोरोना संत्रमितको संख्या बढ्दै गर्दा अस्पतालहरुमा बेड अभाव हुन थालेको छ । बेड अभावकै कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको सभासदहरुले नै बताएका छन् । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जनताहरु बेड अभावमा भकाभक मर्दा पनि मौन रहेको आरोप लगाएका छन् । मुख्यमन्त्री कोरोना कहरबाट जनतालाई जोगाउन असफल रहेको र अनावश्यक काममा अल्झेको उनको भनाई छ । हो, गण्डकीमा आइसीयू र भेण्टिलेटरको पनि अभाव छ । हरेक जिल्ला अस्पतालमा आइसीयू बनाउने भन्दै रकम निकासा गरिए पनि बागलुङबाहेक अन्यत्र आइसीयू छैन । भएका बेडहरु बिरामीले भरिएका छन् । मुख्यमन्त्री पार्टीभित्रको समीकरण र जोडघटाउमा व्यस्त देखिएका छन् । जनता मरिरहँदा उनी उद्घाटन, भाषण गर्दै हिँडिरहेका छन् । सत्तारुढ दलका नेताबाटै आलोचित हुँदा पनि उनले आफ्नो धुन छाडेका छैनन् । सभासद दीपक कोइराला आफै कोरोना संक्रमणमा परेका छन् । आफै संक्रमित भएपछि उनले अस्पताल अनि स्वास्थ्य क्षेत्रको अस्तव्यस्ततालाई नजिकबाट बुझ्ने मौका पाए । बेड अभावले छट्पटिएका नागरिकको वेदना सुने ।सभासद दीपकको अभिव्यक्ति आग्रह वा पूर्वाग्रहको उपज हुँदै होइन । उनले सत्य कुरा बोलेका छन् । जनताले उपचार नपाएर मनुुपर्ने अवस्थाको अन्त्यको माग गरेका छन् ।
काठमाडौं बाहिर पहिलोपटक गण्डकीमै कोरोना संक्रमण देखिएको थियो । चैत १५ गते बागलुङमा संक्रमण पुष्टि हुँदा गण्डकी सरकारले साँच्चिकै सक्रियता देखाएको थियो । बागलुङ अस्पतालमा आइसीयू जडान, प्रदेशमा पीसीआर मेसिन खरिद तथा आइसोलेसन निर्माण गर्दा जनताले सरकारप्रति भरोसा जगाएका थिए । तर, यो सक्रियता लामो समय टिक्न सकेन । आफूलाई कोरोना नियन्त्रणमा एक नम्बर भएको घोषणा गर्ने प्रदेश सरकार त्यसपछि भने घोषणामै सीमित रह्यो । अन्य प्रदेशहरुले आफूलाई व्यवस्थापनमा अब्बल साबित् गर्दा गण्डकीमा बिरामीले बेड नपाउने अवस्था सृजना भयो । हुनेखानेहरुले संकटमा पनि बेड पाउलान्, उनीहरु निजी अस्पतालमा भर्ना होलान् र ज्यान बचाउलान् तर गरीबले के गर्ने ? उनीहरु उपचार नपाएर भौँतारिनु परेको छ । संक्रमितहरु होम आइसोलेसनमा कष्टकर जीवन गुजारिरहेका छन् । कतिपयको त होम आइसोलेसनमै मृत्यु भएको छ । यो गम्भीर अवस्थाप्रति सरकारले भने मौनता साँधेको छ । सरकारको यो लापरवाहीको जति आलोचना गरे पनि थोरै हुन्छ । संकटको बेला नजिकको सरकारले जनताको पीर–मर्का सुन्नुपर्छ । उनीहरुलाई संकटबाट मुक्त बनाउन सक्नुपर्छ । यो गफ गर्ने हैन काम गर्ने बेला हो । सरकारप्रति जनताले भरोसा नगर्दा प्रादेशिक संरचनाकै अस्तित्वमाथि प्रश्नचिन्ह आउँछ भन्ने कुरा मनन गरिनुपर्छ । संकट अझ गहिरिँदो छ । कोरोना समुदायस्तरमा फैलिएको छ । बिरामीको संख्या बढिरहेको छ । बढ्दो जोखिमबाट जनता जोगाउने र कम्तिमा उपचार पाउने व्यवस्था गर्र्नेतर्फ सरकारले ध्यान दिनैपर्ने भएको छ । आफूमाथि लागेको असक्षमताको दाग कामबाटै मेटाउन सकिन्छ भन्ने मुख्यमन्त्री र मन्त्रीहरु बुझ्नै पर्ने भएको छ ।

