कोरोनाले नागरिकहरुको जीवन कष्टकर मात्रै बनेको छैन, अवस्था त्रासदीपूर्ण रहेको छ । कोरोनाबाट दिनहुँ नागरिकको ज्यान जाँदा र उपचार नपाउने अवस्था आउँदा सरकार निरीह देखिएको छ । सरकारको लापरवाहीपूर्ण व्यवहारले जनता आजित भएका छन् । असमयमै संसद अधिवेशन अन्त्य भएकाले जनताका आवाज त्यहाँ उठाउने अवसर पनि छैन । सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीभित्रको कचिगँलोले सिंगो सरकारका गतिविधि प्रभावित भएको सत्तापक्षका नेताहरुले नै स्वीकारेका छन् । तर, सरकारलाई झक्झक्याउने काम कहिँकतैबाट हुन सकेको छैन । सरकारको भूमिकामाथि प्रश्न उठाउने प्रतिपक्ष मौन छ । साना दलहरुले सरकारको विरोध गर्दै सचेत गराए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । जनता रोग र भोक दुबैले ग्रस्त हुँदा उनीहरुको साथमा कोही पनि देखिएका छैनन् । भोट दिएर जिताएका प्रतिनिधि, नागरिक समाज,गैरसरकारी संस्था सबै नागरिकका समस्याप्रति मौनता साँधेर बसेका छन् । यसले गर्दा सरकारमाथि दवाव कम भएको छ ।
लोकतन्त्रमा जिम्मेवार सत्ता र प्रतिपक्षको कल्पना गरिएको हुन्छ । जनमत पाएको पार्टीले सरकार चलाउँछ । आफूले चुनावमा गरेका प्रतिवद्धता व्यवहारमा कार्यान्वनय गर्दै जनतालाई सुखको अनुभूति दिलाउनु सत्तापक्षको कर्तव्य हो भने जिम्मेवार प्रतिपक्षको काम सरकारलाई सचेत गराउनु हो । सरकार कोभिड–१९ को व्यवस्थापनमा कमजोर हुँदा प्रतिपक्षले अर्थपूर्ण मौनता साँधिदिएको छ । सरकारका गल्ती र कमजोरी औंल्याउँदै सचेत गराउने जिम्मेवारीबाट प्रमूख प्रतिपक्षी कांग्रेस च्यूत भएको छ । लाग्छ, कांग्रेसलाई जनताप्रतिको कुनै दायित्व नै छैन । ऊ मस्त निद्रामा परेपछि सत्तापक्षलाई आफूखुसी गर्न र सच्चिनुपर्ने बाध्यता पनि हटेको छ । कांग्रेसले यो बेला जनताको आवाज मुखरित गर्नुपथ्र्यो । जनताका दुःखबारे सरकारलाई सचेत गराउँदै उसलाई जनपक्षीय निर्णय गर्न बाध्य बनाउनुपथ्र्यो । त्यो कामप्रति कांग्रेसको ध्यान नै छैन । कांग्रेस स्वयं आन्तरिक किचलोबाट मुक्त छैन । सदन बोलाउन दवाव दिने, कोभिडविरुद्धको अभियानमा सरकारलाई तताउने जिम्मेवारीबाट कांग्रेस भाग्दा सास्ती जनतालाई भएको छ ।
सरकार र प्रतिपक्ष दुबै असफलजस्तो देखिँदा नागरिक समाज पनि मौन नै छ । यसअघि प्रतिक्रिया जनाउने र आवश्यक परे सरकारलाई दवाव दिन पनि पछि नपर्ने नागरिक समाज आफै विभाजित मनिस्थितिमा देखिएको छ । नागरिक समाजका अगुवा भनाउँदाहरु कोही सरकारको पक्षपोषणमा त कोही विपक्षमा उभिएका छन् । उनीहरुले नागरिक आफ्नो नामको अगाडि नागरिक अगुवाको फुर्को त जोडेका छन् तर दायित्व निभाएका छैनन् । नागरिकको पक्षमै नहुने व्यक्ति नागरिक अगुवा हुनै सक्दैन । नागरिकको दुःखमा मौनता साँध्नु अनि भाग खाने ठाउँमा अघि सर्ने रोगले नागरिक समाज ग्रस्त छ । संकट गहिरिहँदो छ । सरकार बेलगाम घोडा भएको छ भने प्रतिपक्षले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन । यस्तो अवस्थामा कम्तिमा नागरिक समाज जाग्नुपर्छ । देखेको कुरा बोल्नुपर्छ । सरकारलाई झक्झक्याउँदै नागरिकका आवाजलाई मुखरित गर्नुपर्छ । समयले नागरिक समाजबाट यो अपेक्षा गरेको छ । नागरिक समाज जनअपेक्षा अनुसार अघि बढ्नुपर्छ । खै नागरिक समाज ? भन्ने प्रश्नको उत्तर अब नागरिक अगुवा भनाउँदाले दिनुपर्ने भएको छ ।

