बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा : उनको मने

कथा : उनको मने


  • लक्ष्मी प्रसाद देवकोटा
  • मंसिर १ २०७७, सोमबार

पण्डित स्थिरदेवको घरमा कल्कीफूलको निदाउरी बोट तलतिर झुकेर फेदमा कोइरालाको पात खान लागेको बोकेलाई हेरिरहेछ सानु, राजु र जुनु, चिन्टे र फिस्टेसँग वरिपरि घेरा लागेका छन् । सबैभन्दा शूरो हुनाले चिन्टेले बोकेको पुच्छर तान्दछ र आफ्नो बहादुरीको रमाइलो प्रदर्शनी देखाइरहेछ । सानुले तोते बोलीमा ‘म्याँ म्याँ’ गर्दछ । बोकेले बराबर फर्केर प्रत्युत्तर दिन्छ । पूजाकोठाबाट सुटुक्क ल्याएको सिन्दूर राजुले ‘पूजा, पूजा’ भन्दै छर्दछिन् । जुनुले जुनेलोको पात चुँडेर ‘मने ! मने !!’ भन्दछिन् । बोकेले एकबाजी उनको आँखामा हेर्दछ र पात टिपेर चपाउन लाग्दछ । जुनु हात उठाउँदै उफ्रन्छिन् र ‘मनेले खायो बाबै, कति मीठोसँग चपायो’ भन्दछिन् । फिस्टे उनको जकलसा बाह्रमासे गुलाबको कोपिला चुँड्न तयार हुन्छ, जुनुले उसको हात तानेर हप्काउँछिन्, “यति राम्रो फूलको कोपिला चुँड्न हुन्छ ? पाप लाग्दैन ?”
बोकेले जुनेलोको पातको स्वाद लिइसकेपछि लम्कँदै ‘म्याँ म्याँ’ गर्दछ । जुनु सानुतिर फर्केर भन्दछिन्, “बाबु हेर, ऊ बोकेले आमा आमा ! भन्यो होकि ! आमा पर गए तिमी आमा आमा आमा ! भनेर रुन्छौ कि रुँदैनौ ?”
सानु – “लुन्छु ! मनेको आमा छ त ?”
जुनु – “किन छैन त ? मनेलाई पराइले ल्याएको हो ।”
सुन – “किन ?”
जुनु – “कुन्नि किन ?”
विचरी जुनुले महाष्टमीको लाल चेहरा अझसम्म देखेकी थिइनन् । बिचरी नाजोर सुकुमारी हुनाले बर्सेनि दसैँमा बिरामी भएकी थिइन्, जिभ्रोले कोमल हृदयलाई छकाइसकेको थियो ।पहेँलो बास्सामा पोको पारेको पुस्तान पुरानो चण्डीको पुस्तक काखीमा च्यापेका झुस्स दाढी फुलेका, ठाडा जुँघा भएका, मुजा परेको मैलो झोलिँदो सुरुवाल लगाएका, चाँदीको टाँकवाल कोटमाथि भागलपुरी पछ्यौरा तेर्सो चढाएका पुरोहित पण्डितबाजे, वाग्मतीको ताजा बालुवा झल्काउँदै भित्र आए । उनका मुखमा कडा रेखाहरू गढेका थिए । केही समयको हातले केही स्वभावले खिचेजस्ता नोकर्नी ग्वाँजाले गोबरले लिपेको आँगनमा लम्बे लबेदा र धुवाँसे धोतीका पहिरनमा, भित्र पसेर, बोहोताका सरजाम पहिले तह लगाए । भुन्भुनाउँदो स्वरमा राता रेखीहरू घुमाउन, चोसा पार्न थाले । त्यो देखेर सबै केटाकेटीहरू दौडँदै हेर्न आइपुगे । जुनु मात्र बोकाको आङ कन्याउँदै थिइन् । बोके सन्चो मानेर कोइरालाको स्वादमा र मुनाको कन्याइमा, दुनियाँ आनन्दमय छ भन्ने भावले पुच्छर हल्लाउँथ्यो !
विचरा जीव ! दुवै मिनेटपछिको कुरा तँलाई याद हुँदो हो त ! ईश्वरले तँलाई अज्ञानको आनन्द दिएको छ । तेरो निर्दोष नजरले अलिकति अगाडि हेर्न सके तेरा हरएक शरीरका टुकडामा खुकुरीको थुम्काइँ र चुलेसीका धार साथसाथै निष्ठुरताको बत्तीस दन्तको थिचाइ चुम्ने थिए । हुनुभन्दा ‘हुन्छ कि !’ को त्रास कडा छ ! हामी अगाडिको बाटो हेरेर कुडिन्छौँ । तँलाई अगाडि सुनसान छ, पछाडि दूध चुसेर उफ्रेको मिर्मिर छ । भाग्यको किताबमा भोलिको पाना पल्टाउन नसके पनि ! अन्दाजी होसले हाम्रो दिलको फूल सिकुडिन्छ । अघि र पछि हेर्न सक्नु हामीमाथिको सराप पनि हो, वरदान पनि हो ।
लुरूकान्त भन्ने ठिङ्गरो सिपाहीले छिँडीबाट यौटा खियाले सिँगारिएको काट्ने खुकुरी ल्यायो । दाहिने हातले खुकुरी बढाएर, बायाँ हातले दाहिने कुना छोएर, खुकुरीलाई ‘जयन्ती’ भनी श्रद्धापूर्वक ढोगेर, सादर पुरोहित बाजेलाई टक्रायो । बकुलचुच्चे नाक, कुना चाउरी परेको आँखा, साँझको नरमाइलो पहेँलो घामको जस्तो चेहरा, पुट्ट भुँडी र च्याङ्ग्रे कपाल, पित्तल टाँके जिनको चिथरा, कोट र निधारमा कुमारीको पर्सादले उसको तस्बिर मनमा अलिकति आउला । उसको खुकुरी भुत्ते थियो ।
अलिकति जीवनको रस बाँकी रहेका चिसा दाउरालाई त्यसले हातको सिन्दूर, अक्षता र फूलको शृंगारको सौभाग्य पाइरहेछ । धारिलो चिज हुनाले, जीर्णावस्थैमा पनि धार बाँकी परेको हुनाले आज जमेछ । सिकारको चैतन्यमा शोभायमान भएर बुट्टादार आसनमा जमेको छ ।
खड्गपूजा सिद्धियो । लुरूकान्त लामखुट्टे पयर ठोकेर कल्कीफूलको बोटमनि पुग्यो । जुनुले बोकेलाई अँगालो हालेकी थिइन् । बोके पनि साह्रै सानो शैशवावस्थामा थियो । चुम्बकका नियमविरुद्ध, यसमा समानको आकर्षण थियो कि ? ती दुवै एकै फूलबारीका खेलाडीजस्ता थिए । क्षणभर प्रेमको आकस्मिक बाढमा अङ्कमाल गर्न गएका तरङ्गजस्ता थिए ।

लुरूकान्तलाई देखेर बोके चटपटायो । स्वाभाविक भीरुताले होला या अदृश्यले प्रेरित भएर भन्न सकिन्न ।
लुरूकान्त – “छोडनुहोस् नानी ! बोके लैजाऊँ ।”
जुनु – “कहाँ लैजाने ?”
लुरूकान्त – “पूजा गर्न ।”
जुनुले सुमसुम्याएर छाडिदिइन् । बोकेलाई पूजा गर्ने कुराले उनका आँखामा अनौठा चमक प्रादुर्भाव भयो । बोकेको पूजा कति रमाइलो होला ? यसमा पनि देउता रहेछन् ?
लुरूकान्तले बोके डोर्‍याएर लगे । जुनु पछि लागिन् । बोकेले बराबर पछाडि फर्केर उनीतिर भन्थ्यो ‘म्या ! म्याँ !!’ के भनेको होला ? मागेको हो कि ? आमा खोजेको होक कि ? रोएको हो कि ? बोके किन बोल्न सक्दैन ? के के भन्दो हो ? किन हातले पनि टेकेर हिँडेको होला ? अचानक जुनुलाई अपर्झटमा के विचार आयो ? उनी पनि चार हातखुट्टाले टेकेर बोकेको पछि लागिन् । यसो गरे के हुँदो रहेछ भन्ने विचार आयो होला ! बालकको रहस्यमय हृदय बुझिनसक्नु छ, कहिले त उनीहरू गजबै गर्छन् । गजबै हुन्छन् ।
बोकेको सिङ भर्खर टुसाउन लागेको थियो, चिल्लो रौँ थियो ।
पण्डित स्थिरदेव जजमानको पूजा सिद्ध्याएर आए । कोबिटाका मयलपोस, काँधमा रातो दुसला, घाँटीनिर लाल भोटोको किनार, निधारमा अक्षतादार टीका, डम्बरकुमारीको टोपी र बनारसी काइदाको धोतीले उनी बनारसतिर भागेर पढी विद्या कमाएका पण्डित स्पष्ट मालूम हुन्थे । उनको आर्यको चेहरा र बदनमा दृढता थियो ।
पुरोहित बाजेको हातमा चण्डीका केही खियौटे पत्रहरू थिए । किराले पनि त्यसमाथि दसैँ मनाएका हुनाले अक्षरमाथि बुट्टा परेको थियो । अक्षरमाथि पनि कीट साहित्यका अनौठा अक्षर थपिएका थिए । पुरोहित बाजेलाई चण्डी कण्ठस्त थियो,  ओकल्नु मात्र पर्दथ्यो, हातमा पत्र लिनु उनको आडम्बर थियो । वाचक खुब चलेको भान पर्दथ्यो । हाम्रो दृश्य आरूबारीमा छ ।
बोकेको पूजा चल्यो । सिङका आँकुरामा सिन्दूर, अक्षता, फूल परे, खुर धोइए, अम्बा र केराको नैवेद्यलाई मात्र उसले देखेको थियो । मीठो मानेर चपायो । अम्बा गुडायो । लुरूकान्तले टिपेर हातले खुवायो । लुरूकान्तको हात चाट्दै विचरा बोकेले सन्तोष र कृतज्ञताको ध्वनिले कलिलो गला बजायो । पण्डितजीले कानमा मन्त्र सुनाउनुभयो । तर विचराले बुझेर, ईश्वरको इच्छामा शिर निहुराउन जानेन । उसको आँगमाथि पानी छर्कियो । बिहानको जाडोमा मानिसमा पनि काँढा उम्रने, तर रौँले गर्दा उसलाई एकैछिन चिसो लागेन । तब काँढा बिझे दुख्ने र चिसो लागे सिरिङ्ग हुने छाला हुनाले, बोको पर्सन थाल्यो । तैपनि नैवेद्य सुँघ्दै छ खोज्दै छ, हेर्दै छ जीवनको व्यञ्जनमा, संसारको भौतिक भोजनमा, अन्त्यकालसम्म सबै प्राणीको नजर घुम्दै रहन्छ ।
लुरूकान्तले खुकुरी उठाएर लियो । वज्रअगाडिको झल्का त्यही पुरानो खुकुरीले पनि, उज्यालिँदो घाममा देखायो । विचरा बोकेले त्यसलाई अनौठो नैवेद्य सम्झेर एकैछिन हेरेर चाट्न मन गरेको होला । लामो दाउराको अचानोमाथि उसको घाँटी सुमसुम्याएर तानियो । डँडालोमा थोर्के बूढाले कन्याइदियो । शस्त्र उठाएर दुई हातको जोडले लुरूकान्तले गर्धनमाथि बजायो तर औलोले बढेको फियोमाथि कुइनाले धक्का लागेर बीचैमा रन्थनिएको हुनाले ‘म्याक्’ आवाज आयो । गर्धन छुट्टिएन । तब बोकेले वेदनाको आकस्मिक शब्द निसास्सिँदै करायो । खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, “नकाट नि ! नकाट !! मेरो मनेलाई ।” ती कुमारीको मुखबाट निस्केको आवाजले शिलाको हृदयलाई पगाल्थ्यो । प्रतिध्वनि भएको भए आकाशवाणी सम्झिने थियो । जुनुका आँखा आँशु भरिएका थिए । बालकपनले पहिले संसार देखेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->