नेपाल सरकारले कात्तिक २६ गते निर्णय गरेर नयाँ स्वास्थ्य मापदण्ड लागू गरेको छ । कोरोना संक्रमण र त्यसबाट बच्नकालागि उक्त निर्णय र मापदण्ड बनाइएको हो । उक्त मापदण्ड जिल्ला तहमा आइपुग्न १२ दिन लाग्यो । सरकारी संयन्त्र र परंपरागत सूचना प्रणालीले मन्त्रालयको पत्र जिल्ला तहमा आइपुग्न यति धेरै समय लाग्नु लज्जास्पद हो । अझैपनि हामी सूचना प्रवाह र सूचना प्रविधिमा कति पछाडि रहेछौं भन्ने एउटा उदाहरण हो । यो विधि छिटो सुधार हुनुपर्ने आवस्यकता देखिन्छ ।
कुरा सूचना समयमा नआएको एकातर्फ छ, तर यो निर्णय किन र कसरी भयो भन्ने कुरा महत्वपूर्ण छ । किनकी गत चैतदेखि कात्तिक मसान्त सम्म आइपुग्दा नेपालमा २ लाखबढी कोरोना संक्रमित पुगिसकेका छन् । उनीहरु मध्ये अधिकांसले १० देखि ४० दिन सम्मपनि आइसोलेसनमा बस्दै आएका थिए । लामो समयसम्म आइसोलेसन बस्नेमा मजदुर र सामान्य नागरिकहरु परेका छन् । नेता र ठूलो ओहदामा बसेकाहरु होम आइसोलेसनमा बसेका छन् । उनीहरुले आफ्नो घरबाटै गर्ने काम पनि गरेका छन् । कतिपयले आफ्नै नीजि सवारी प्रयोग गरेर काममा पनि लागेको देखिन्छ ।
सर्वसाधारण जनतालाई भने न त घरमा बस्ने छुट छ । नत उनीहरुलाई काम गरेर खाने छुट नै छ । बरु उल्टै उनीहरुको घरछेउमा जाने वा बिभेद गरिएको छ । त्यस्तै दैनिक ज्यालामदजुरी गरेर खानुपर्नेहरुलाई यो बेला सकसपूर्ण भएको छ । केही समय अघि बागलुङ अस्पतालमा काम गर्न आएका १७ जना मजदुरले पनि यस्तो नियती भोगेका थिए । यो नियतीमा उनीहरु खान नपाएर कैयौदिन बस्नुपरेको थियो । संक्रमण भएर आइसोलेसनमा बस्दा देखि निको भएर पनि घर जाने अबस्था समेत नपाएका उनीहरुको घरको अबस्था, परिवार पाल्ने जिम्मा लिएकाहरुको नियतीलाइ हेरेर पनि कुनै नयाँ निर्णयमा पुग्नै पथ्र्यो ।
नयाँ निर्णयले लक्षण नदेखिएको अबस्था भएमा १४ दिनपछि कामकाजमा निस्कन पाउने व्यवस्था गरेको छ । ढीलै आएको भएपनि यो निर्णयले लक्षण नदेखिएका कोरोना संक्रमितबाट १४ दिनपछि एकअर्कामा सर्दैन भन्ने स्पष्ट सन्देश दिएको छ । यो सन्देश थाहा पाउन लामो समय लागेको देखिन्छ । बिदेशमा पनि १४ दिनपछि परीक्षण नै नगरी डिस्चार्ज गर्ने चलन रहेको अबस्थामा नेपालमा लामो समय सम्म आइसोलेसनमा राखेर तनाब दिइएको पनि धेरैको मत छ । अहिले आएको निर्णले के सन्देश दिएको छ भने कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बस्नुपर्छ । तर १४ दिन सम्म लक्षण देखिएन भने स्वतह उक्त मानिस कामकाजमा निस्कन पाउँछ । सामाजिक रुपमा उनीहरुलाई बिभेद गर्न पाइदैन । अहिले त नेपालका अधिकांस समाजमा संक्रमणबाट मुक्त भएको महिनौ सम्म पनि सामाजिक बिभेद सहने अबस्था छ । त्यसैले अबका दिनमा लागू भएको नयाँ मापदण्डबाट सिकेर नेपालको अर्थव्यवस्था चलायमान बनाउने तयारी गर्नुपर्छ । संकुचित भावना र बिभेद हटाउने, तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्ने र व्यवसाय संचालन गर्दा खस्केको अर्थतन्त्र छिटै सुधार हुनेछ । बिद्यालय वा भीडभाड हुने स्थानलाई भने सचेततापूर्वक दुइ समूह बनाएर वा सामाजिक दुरी कायम गरेर संचालन गर्दा बढी सहज हुने देखिन्छ ।

