केही दिनअघि बुटबलको सडकमा ‘राजा आऊ,देश बचाऊ’ भन्ने नारा लाग्यो । सहभागितामा विविधता रहेको त्यस्तै जुलुस बुधबार पोखरा र जनकपुरमा पनि निकालियो । राष्ट्रवादीको नाममा निकालिएको ¥यालीको व्यवस्थापन शिवसेना नेपालले घोषित रुपमा गरेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्ता सो जुलुसमा उत्साहपूर्ण रुपले सहभागिता जनाएका थिए । भीडमा सबै मान्छे आस्थाले सहभागी हुँदैन । केही व्यक्तिहरु विभिन्न प्रलोभनमा परेर भने केही आस्थाले नै त्यस्ता ¥यालीमा आउँछन् । पोखरासहित देशभर निस्केका ¥याली हेर्दा त्यो प्रष्ट पनि हुन्छ । तर, राजनीतिक दलहरुले चुनावताका गर्ने भनेको पनि यही हो । भीड जम्मा गर्न साम, दाम, दण्ड,भेद सबै प्रयोग गरिन्छ । राजावादीहरुले पनि गरे ।
सरकार र राजनीतिक दलहरुप्रति व्यापक निराशा व्यक्त भएको बेला राजावादी सल्बलाउनु अन्यथा हैन । उनीहरु उचित मौकाको पर्खाइमा भएको बुझ्न गाह्रो पनि छैन । अग्रगामी सोच भएकाहरुले काम गर्न नसक्दा सल्बलाउने भनेकै दक्षिणपन्थीहरु हुन् । संसारभरका उदाहरणले संकटको बेला वैकल्पिक भनिने शक्तिहरुभन्दा दक्षिणपन्थीहरुसँगे जनता लोभिन्छन् । यसमा अन्यथा मान्नुपर्ने कुनै कारण छैन । राजावादीहरुको ¥यालीमा देखिएको विविधतायुक्त सहभागिताले उनीहरुले शक्ति आर्जन गर्दै गएको प्रष्ट हुन्छ । र, यो शक्ति आर्जन गर्नुमा अहिलेको सत्ता र आफूलाई परिवर्तनको हिमायती भन्नेहरुकै दोष रहेको छ । जनता परिवर्तन चाहन्थे । तानाशाही व्यवस्था उनीहरुलाई मञ्जुर थिएन । एकातिर माओवादी सशस्त्र द्धन्द्ध अनि अर्कोतर्फ राजाको हुकुमी शासनको बेला जनताले गणतन्त्रवादीहरुलाई साथ दिए । गणतन्त्रबाटै आफ्नो सपना पूरा हुने अपेक्षा राखे । २०६२÷०६३ को आन्दोलन त्यसको परिणाम थियो । जनता सडकमा आउँदा राजतन्त्र ढल्यो । राजतन्त्र ढलेपछि जनताले आफ्नै बीचबाट सत्तामा पुगेकाहरुबाट सुशासन र समृद्धिको आशा गरे । राजनीतिक दलहरुले जनताको त्यो अपेक्षा पूरा गर्न सकेनन् । गणतन्त्र प्राप्तिपछिका वर्षहरुमा नेताहरु मोटाए, राज्यकोषको दुरुपयोग गरे अनि जनताका साना अपेक्षाहरुतर्फ पनि ध्यान दिन सकेनन् । जसले गर्दा जनता निराश बन्न पुगे । जनता निराश भएको मौकालाई राजावादीले उपयोग गरे÷गर्दैछन् । यो लोकतन्त्र र लोकतन्त्रका हिमायती भन्ने राजनीतिक दलहरुको लागि चुनौति हो । देशका तत्काल राजतन्त्र फर्कने सम्भावना कम छ । तर, यो शुभ संकेत चाहिँ पक्कै होइन । राजतन्त्र ढलेको १४ वर्षको अवधिमा शासन गरेकाहरुको अकर्मन्यताले गर्दा अहिलेको परिस्थिति उत्पन्न भएको हो । हिजो राजतन्त्र हुँदा फाइदा लिएकाहरु संगठित हुनु एउटा कुरा तर जनता नै पुरानो व्यवस्था पो ठीक रहेछ भन्ने मानशिकतामा पुग्नु फरक कुरा हो । धेरै राजा हुनुभन्दा एउटै राजा हुनु ठीक भन्ने मानशिकता विकास हुनुमा अहिले सत्ता वा बाहिर रहेका नेता र उनीहरुको क्रियाकलाप नै जिम्मेवार छ । स्थिति बिग्रिसकेको छैन । नेताहरुले बुद्धि पु¥याएनन् भने आफै सर्वेसर्वा हुँ भन्ने सोचे भने र राजतन्त्रजस्तो साझा शत्रु देखाएर भागबण्डामा रमाए भने कुनैदिन जनताले दक्षिणपन्थीलाई साथ नदेलान् भन्न सकिँदैन । अतः राजनीतिक दलहरुले कोरोना कहरको बीच सडकमा निस्केको भीडलाई नजरअन्दाज गर्न हुँदैन । आफूले यो बीचमा कति र कहाँ गल्ती गरेँ भन्ने मनन गर्नुपर्छ । सत्ता सर्वोपरि हो भन्ने भ्रमबाट मुक्त हुँदै जनपक्षीय हुने बाटोमा लाग्नुपर्छ ।

