संस्कृतमा एउटा श्लोक छ । श्लोकमा भनिएको छ–
अपूज्या यत्र पूज्यन्ते
पूज्यानामवमानता ।
त्रीणि तत्र प्रवर्तन्ते
दुर्भिक्षं मरणम भयम् ।
यसको अर्थ हुन्छ,‘जहाँ अपूज्य व्यक्ति पुजिन्छन् र पूज्य व्यक्तिहरुको अपमान हुन्छ, त्यहाँ अनिकाल, मृत्यु र डर यी ३ कुरा उत्पन्न हुन्छन् । नेपालको सन्दर्भमा अहिले पनि सदियौं अघि लेखिएको स्लोक असान्दर्भिक बनेको छैन । किनकि, यहाँ जसलाई पुजिएको छ÷ जोबाट बढी आशा गरिएको छ, उनीहरु नै कालान्तरमा पतित् बनेका छन् । उनीहरुबाटै विश्वासघात भएको छ । र, उनीहरुकै कारण समस्याहरु सृजना भएका छन् । नेपालको राजनीतिमा त झन यो प्रष्टैसँग देखिन थालेको छ ।
पृथ्वीनारायण शाहको पालादेखिको नेपाली इतिहास हेर्दा यहाँ थोरै मात्रले आफूलाई पुजिने ल्याकतमा उभ्याएका छन् । राणा शासनको समग्र कालखण्डमा सुधारका कार्यक्रमले तत्कालीन शासकबाट आलोचित बने पनि देव समसेरले त्यो ल्याकत राखिदिए । सती प्रथा उन्मूलन अनि त्रिचन्द्र कलेजको स्थापनाबाट चन्द्र समसेरले आफूसँग अलिकति पुज्नैपर्ने गुण रहेको प्रमाणित गरेकै हुन् । राजाहरु सबैलाई देवता नै मानिए पनि तीमध्ये केही मात्र अहिले पनि पुजनीय भइरहेका छन् । जनता आफैले भोट दिएर पूज्य बनाएकाहरुमध्ये हालसम्म केहीले मात्र आफू सही भएको प्रमाणित गरेका छन् । ती पनि लामो कालखण्ड सत्तामा बस्न नपाएका र बस्ने अवसर नै नपाएका छन् । उदाहरणको लागि प्रधानमन्त्रीको रुपमा विपी कोइराला र मनोमोहन अधिकारी लामो समय सत्तामा बस्न पाएनन् । अपजसबाट मुक्त नभए पनि सादगीका कारण कृष्णप्रसाद भट्टराई र सुशील कोइराला आँखाबाट गिरेनन् । मदन भण्डारीजस्ता लोकप्रिय नेता चाहिँ सत्ताको परीक्षणमा नै परेनन् । यसबाहेक जनताको तर्फबाट सर्वोच्च पदमा पुगेकाहरुले कार्यकाल औषत नै रह्यो । सरकारी स्रोत, साधन र शक्ति उपयोगमा अब्बल सावित भए पनि पूज्य हुन उनीहरु असमर्थ भए÷ बनाइए । इतिहासले सबैलाई पूज्य बनाउँदैन । जनताबाट अनुमोदित हुनुपर्ने ठाउँमा त्यस्तो अवसर पटक–पटक दोहोरिँदैन । जनताको आँखाबाट गिरेपछि पुनः त्यो ठाउँमा पुग्न असाध्यै गाह्रो हुन्छ र धेरै हदसम्म असम्भव नै हुन्छ । सम्भव त, त्यतिबेला हुन्छ, जब ऊप्रति आम नागरिकको भरोसा रहन्छ । सत्तामा हुँदा त्यो व्यक्तिले जनतालाई डर, भोक र रोगबाट मुक्त गरेको हुन्छ । जनतालाई आश्वस्त पार्न नसक्ने शासकले आफूलाई जति राम्रो सम्झे पनि त्यो जनअनुमोदित हुन सक्दैन । भला, शक्तिको अगाडि आलोचनाका स्वरहरु सुनिँदैनन् । सत्तामा हुनेहरुले आलोचनाबाट सिक्नुपर्छ । आलोचनाबाट सिक्नेहरु पूज्य हुने बाटोमा लाग्छन् तर आलोचनालाई निषेध गर्नेहरु कालान्तरमा सबैभन्दा अलोकप्रिय हुन्छन् । नीति स्लोकमा भनिएका यी विषयलाई बुझ्ने र समयमै आफूलाई पूज्य बनाउने ठाउँमा चाहिँ अहिले प्रधानमन्त्रीको रुपमा केपी ओली नै छन् ।
पार्टीभित्र र बाहिरबाट अनि जनस्तरबाटै आलोचनाका स्वरहरु चर्को हुँदै जाँदा उनले त्यसमा षड्यन्त्र मात्रै देखेका छन् । लाग्छ,ओलीले आलोचनालाई आफू पूज्य बन्न समयले प्रदान गरेको अवसरको रुपमा बुझेकै छैनन् । आफू सही र पुजनीय हो भन्ने प्रमाणित गर्ने अवसर बिस्तारै प्रधानमन्त्रीको रुपमा ओलीले फुस्काउँदै छन् । व्यक्तिको रुपमा उनले अवसर गुमाउनु एउटा कुरा तर यसले जनतालाई कति प्रभावित गरेको छ भन्ने कुरा उनले नबुझेको वा बुझ्न नदिइएकोजस्तो देखिएको छ । अहम्ले देशको समस्याको नै गाँठो नै यहीँनेर कस्सिएको छ । गाँठो कस्ने कि फुकाउने ? त्यो पनि प्रधानमन्त्रीकै हातमा छ ।

