सु्शासन, स्थायित्व र समृद्धिको नारासहित सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टी अन्ततः आफै अस्थिर बनेको छ । एकीकरण प्रक्रिया नटुंगिँदै नेकपा दुई गुटमा विभाजित भएको छ । चुनावमा दिइएको स्थायित्वको नारा केवल देखाउने दाँत रहेछ भन्ने विभाजनले प्रमाणित गरिदिएको छ । दुई गुटमा विभाजित नेकपाका नेताहरुलाई आफ्नो वैधानिकता पुष्टि गर्ने ध्याउन्नमा छन् । प्रचण्ड–माधव नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री ओली पक्षधरको केन्द्रीय कमिटीमा सदस्य थपिएको छ भने थपिएका सबै केन्द्रीय सदस्यहरुलाई प्रशिक्षणमा राखेर नयाँ रणनीति तय गरिएको छ । प्रचण्ड–नेपाल समूह सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुन्छ भन्ने आशा पालेर बसेको छ भनेसूर्य चुनाव चिन्ह आफ्नो भागमा पार्न ओली समूह लागिरहेको छ । कानूनी रुपले निश्चय पनि एउटा समूहले वैधानिकता पाउने छ । तर, उनीहरुको प्रस्तति हेर्दा आधिकारिक निकायले गरेको निर्णयमा यी दलले चित्त बुझाउलान् भन्नेमा चाहिँ शंका नै रहेको छ । दुबै समूह सामु अहिले फुटको औचित्य पुष्टि गर्नुपर्ने बाध्यता पनि छ । एकले अर्कालाई दोषारोपण गर्दै दुबै समूहका नेताहरु अर्काको कारणले नै पार्टी फुटेको प्रमाणित गर्न खोजिरहेका छन् । तर, दुबै समूहको कुरा सुनेका जनताले उनीहरुको कुरा पत्याएका छैनन् । उनीहरुको क्रियाकलापले नेताहरु देशको हैन आफ्नो हित र स्वार्थ केन्द्रीत हुन्छन् भन्ने प्रमाणित पनि गरिदिएको छ ।
शासक अविवेकी भयो भने, देश डुब्छ । अहिले नेपालमा यही भनाई चरितार्थ भएको छ । जनताको दुहाई दिँदै सत्तामा पुग्ने दलका नेताहरु व्यक्ति केन्द्रीत, अहंकारी र अविवेकी हुँदाको दुःखद परिणाम भोग्न जनता अभिषप्त भएका छन् । दम्भले विनास निम्त्याउँछ । प्रधानमन्त्री केपी ओलीले संविधानको मर्म र भावना विपरित संसद भंग गरेर दम्भी र सनकी चरित्र प्रदर्शन गरेका छन् । सुशासन तथा समृद्धिका मामिलामा कुनै गतिलो काम गर्न नसकेका ओली सत्तामा पुगेपछि साँच्चिकै जनताबाटै टाढिएका थिए । जनताका आंकाक्षाहरुलाई नजरअन्दाज गर्दै आफ्नो गुट बनाउने, त्यो गुटले गरेका गलत क्रियाकलापलाई आँखा चिम्लने अनि कतिपय अवस्थामा ढाकछोप गर्ने उनको चरित्र वास्तवमै जनप्रिय थिएन । राष्ट्रवादी छविका कारण जनताले उनलाई पत्याइदिएका थिए । आफ्नै प्रतिवद्धता बिर्सँदा पनि जनताले सहेकै थिए । तर, ओलीले त्यसको लाभ लिन खोजेनन् । आफ्नो सानो त्यागबाट देशले ठूलो कुरा पाउन सक्छ भन्ने मूल कुरा नै प्रधानमन्त्री ओलीले बिर्सिदिए । सुझावलाई उनले आलोचना ठाने । आफूबाहेक अरु सबै खराब छन् भन्ने सोचले उनी झन दम्भी बनिदिए । म नै राज्य हुँ भन्ने सोच उनमा पलायो र अन्ततः त्यही सोचका कारण उनले आफैले बनाएको संविधानको प्रावधान बिर्सेर सदन विघटन गरिदिए । त्यसो त, नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले पनि जनतालाई हैन, आफैलाई केन्द्रमा राखिरहे । भागबण्डा मिल्दासम्म उनीहरुले पनि विधि र प्रक्रियाको कुरा उठाएनन् । जब भागबण्डा मिलेन, दम्भसहित दरार उत्पन्न भयो । अन्ततः यसले पार्टी नै विभाजित गरायो ।

