बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदुषण घटाउन सन्तुलित विकास

प्रदुषण घटाउन सन्तुलित विकास


  • Dhorpatan News
  • पुष २३ २०७७, बिहिबार

मध्य पुसमा पोखराको सराङकोटमा नेपाली साहित्य सम्मेलन सम्पन्न भयो ।साहित्य सम्मेलनमा जलवायू परिवर्तनले पारेका असरहरुबारे पनि परिचर्चा गरियो । परिचर्चा कार्यक्रममा हिमालमा हिउँ नपरेकोदेखि मौषम बदलिँदा मान्छेको दैनिकी नै बदलिएको निष्कर्ष निकालियो । वातावरण यसरी नै बिग्रँदै जाने हो भने आउने पुस्ताले स्वच्छ हावा नपाउने, प्राकृकित संकट आउने तथा हिमालमा हिउँ नदेखिने बताइयो । हो, जलवायू परिवर्तनको सबैभन्दा ठूलो असर नेपालमा परेको छ । कार्वन उत्सर्जनले निम्त्याएको भयावह संकट सबैभन्दा पहिला हिमालमा देखिन थालेको छ । केही वर्षयताकै परिदृष्य हेर्ने हो भने कुसमयमा पानी पर्ने, बाढी आउने तथा पानी पर्ने ऋतुमा पानी नै नपर्ने हुन थालेको छ । पहिला हिउँदै झरी पर्ने पुस–माघमा न त पानी परेको छ, न त हिमालमा हिउँ नै झरेको छ । वातावरणमा देखिएको यो परिवर्तनले गर्दा हुनुपर्नेभन्दा नहुनुपर्ने कुराहरु धेरै भएका छन् । वातावरण बिग्रनु नेपालको दोष हैन । विकसित राष्ट्रहरुले बढी प्रदुषण गर्दा त्यसको प्रत्यक्ष मार नेपाल र विशेषगरी हिमालमा परेको छ । नेपाल भारत र चीनजस्ता औद्योगिक राष्ट्रहरुको बीचमा छ । दुबै देशले अत्यधिक कार्वन उत्पादन गरिरहेका छन् । त्यो कालो धुँवाले ओजन सतहमा असर पु¥याउन थालेको छ । वातावरण विनास विश्वव्यापी समस्या भए पनि यसले विकशितभन्दा अविकशित र हाम्रोजस्तो देशलाई बढी असर पु¥याएको छ । यही परिदृष्यमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदुषितमध्येको सहरमा दर्ज भएको छ । काठमाडौंको दुषित हावाले जनस्वास्थ्यमा सोझै असर पर्ने भन्दै चिकित्सकहरुले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गर्नुपरेको छ ।
नेपालको राजनीति दुषित भएकोमा कुनै शंका छैन । राजनीति दुषित बनाएका हाम्रा राजनीतिज्ञहरुले नै हुन् । राजनीतिमा फैलिएको प्रदुषणको मारमा देश हुनु भनेको जनताले दुःख पाउनु हो । समृद्धिको यात्रामा अवरोध आउनु हो । समृद्धिको यात्रामा अवरोध आइरहेको बेला सहरहरु नै विश्वकै प्रदुषित बन्नु भनेको जनस्वास्थ्य पनि बिग्रनु हो । प्रदुषित हावाले सबैभन्दा बढी फोक्सोलाई नै हान्छ । फोक्सोलाई आक्रमण गरेपछि उत्पन्न हुने रोगको निदान गर्न कठीन हुन्छ । काठमाडौंलाई प्रदुषित बनाउनुमा नेताहरुकै हात छ । नेपालको केन्द्रीकृत शासन प्रणालीले सुन्दर र स्वस्थ काठमाडौं खाल्डोलाई शक्ति एवं अवसरको केन्द्र बनाइदियो । शक्ति र अवसरको केन्द्र काठमाडौं बन्दा स्वभाविक रुपले त्यहाँ बस्न चाहने मान्छेहरु बढे । काठमाडौंको मलिलो फाँट कंक्रिटको जंगलमा परिणत भयो । अवसरहरुको विकेन्द्रीकरण गरेको भए, अन्यत्रबाट सेवा प्रवाह गर्ने व्यवस्था गरेको भए काठमाडौंको जनसंख्या न त यसरी बढ्थ्यो न त त्यहाँ प्रदुषणको पारो नै उकालो लाग्थ्यो । तर, दुर्भाग्य त्यसो हुन सकेन । देश संघीयतामा गए पनि काठमाडौंले शक्ति बाँडफाँडमा अझै अनुदारता देखाएको छ । यसले गर्दा काठमाडौंप्रतिको आकर्षण र जानैपर्ने बाध्यता घटेको छैन । काठमाडौंजस्तो रोग अन्य सहरहरुमा पनि देखिन चाहिँ थालेको छ । जबसम्म सन्तुलित र समानुपातिक विकास हुँदैन, तबसम्म यो समस्या रहिरहन्छ । वायू प्रदुषण घटाउन तत्काल प्रदुषण मापनलाई प्रभावकारी बनाउँदै घटाउने उपाय अवलम्बन गर्नु एकातिर छ भने असन्तुलित विकासलाई सन्तुलित बनाउनैपर्ने आवश्यकता छ । यसो गर्न सकेमात्र कुनै एकठाउँ साह्रै प्रदुषित हुनबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->