गतवर्ष सार्वजनिक भएको ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसम्बन्धी ल्यानसेट कमिसनको विश्वव्यापी प्रतिवेदन’ले नेपालमा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ मा झरेको ,५ वर्षभन्दा मुनिको बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ३९ प्रतिशत भएको तथ्य सार्वजनिक गरेको थियो । त्यसैगरि मातृ मृत्युदरप्रति एक लाख जीवित जन्ममा २ सय ३९ रहेको प्रतिवेदनले जनाएको थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले राष्ट्रिय रुपमा गण्डकीको अवस्था राम्रो भएको जनाएको छ । तर, सुधार गर्नुृपर्ने कुराहरु धेरै भएको पनि प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनले स्वास्थ्य सेवामा पहुँच बढाउन तथा गुणस्तरीय सेवामा जोड दिएको थियो । हो, नेपालमा स्वास्थ्य सेवाको पहुँच नै न्यून रहेको छ । खासगरी दूरदराजका गाउँहरुमा अहिले पनि सामान्य उपचार नपाएर मानिसले ज्यान गुमाउने गरेका छन् । त्यही प्रतिवेदनलाई आधार मान्ने हो भने पनि नेपालमा न्यून गुणस्तरीय स्वास्थ्यसेवाबाट वर्षेनी ४६ हजार जनाको मृत्यु हुने गरेको छ । एकातिर न्यून गुणस्तरीय सेवा र अर्कोतिर पहुँचको अभाव ! यसले मातृ–शिशुको स्वास्थ्यमा गम्भीर धक्का पु¥याउँदै आएको छ । यद्यपि, सामान्य सुधार र प्रयासले यी समस्या घटाउन महत्वपूर्ण भूमिका खेल्दो रहेछ भन्ने पनि अहिले प्रमाणित भएको छ ।
यसको उदाहरण हो, बागलुङका गाउँगाउँमा खुलेका बर्थिङ सेण्टर र सुत्केरी प्रतीक्षा घरहरु । बर्थिङ सेण्टरपछि अहिले संचालनमा आएका सुत्केरी प्रतीक्षा घरहरु सुत्केरी हुनुअघि र पछि बस्नका लागि बनाइका हुन् । जहाँ सुत्केरी हुनुअघि नै परिवारका सदस्यसहित गएर बस्न पाइन्छ । नजिकै स्वास्थ्य संस्था भएकाले सुत्केरी हुनेबेला सेवा दिइन्छ । थप सेवा दिनुपरे एम्बुलेन्स वा ‘एयर लिफ्टिङ’ उपलब्ध हुन्छ । खासमाा सुत्केरी प्रतीक्षा घरमा आफन्त बस्न पाउँछन् । आफन्त बस्न पाएपछि सुत्केरी गराउनकै लागि सहर झर्न र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यताबाट गाउँलेहरु मुक्त भएका छन् । चौबीसै घण्टा स्वास्थ्यकर्मीको निगरानी पाउनु यो घरको विशेषता हो । गैरसकारी संस्था र गाउँपालिकाको सहयोगमा बनेका भवनहरु मातृशिशु मृत्युदर घटाउन अत्यन्त उपयोगी सावित भएका छन् । सेवा सहज भएपछि प्रतीक्षा घरमा बसेर बर्थिङ सेण्टरमा बच्चा जन्माउनेहरु बढेका छन् ।
असल कर्मको अगाडि संख्या गौण बन्छ । सुत्केरी प्रतीक्षा कक्षमा बस्नेहरु बढ्नु भनेको स्वभाविक रुपले महिलाहरुको स्वास्थ्य संस्थामा पहुँच बढ्नु हो । स्वास्थ्य संस्थामा पहुँच बढ्दा मातृशिशु मृत्युदर घटाउन ठूलो मद्दत मिल्छ । गाउँगाउँमा खुलेका यस्ता प्रतीक्षा घरहरुलाई राज्यले विशेष महत्व दिँदै देशका सबैजसो क्षेत्रमा विस्तार गर्नुपर्छ । कुनै गैरसरकारी संस्थाको सहयोग आउँदा विकासे परियोजना चलाउने र सहयोग बन्द हुँदा परियोजना बन्द गर्ने परिपाटीको कम्तिमा अन्त्य हुनुपर्छ । अहिले स्थानीय तहमा जनप्रतिनिधिहरु छन् । स्थानीय तहले आफ्ना नागरिकलाई स्वस्थ राख्न र मातृशिशु स्वास्थ्य सुधारको लागि आफ्नै लगानीमा पनि धेरै कुरा गर्न सक्छन् । अतः बागलुङको सिको सबैले गर्नुपर्छ । आमा र बच्चाको ज्यान बचाउने अभियान देशव्यापी बन्नुपर्छ ।

