पोखरा, १३ फागुन– पञ्चायत कालखण्डमा साहित्यकारहरु पारिजात, भूपी सेरचन, रमेश विकल,मञ्जुलहरुले लाभको पद पाएनन् । प्रगतिवादी धारका यी कविहरु सत्ताविरुद्ध आगो ओकल्थे । लाभको पदसँग सृजनाको मूल्य चुकाउन उनीहरु तयार थिएनन् । त्यसो त, साहित्य आफैमा प्रगतिशील र पुरातनवादी हुने हैन ।
राजनीतिज्ञहरु ‘भजनमण्डली’ रुचाउँछन् । हिजो दरबार पञ्चहरुले ‘प्रशस्ति’ लेखाउँथे । स्वर्गीय क्षेत्रप्रताप अधिकारीले त्यही मेसोमा ‘चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिइन्’ लेखेका थिए । स्वर्गीय माधवप्रसाद घिमिरेदेखि धर्मराज थापासमेत दरबारपरस्तको आरोपबाट मुक्त रहेनन् । कारण एउटै थियो, उनीहरुले पाएका लाभका पदहरु !
साहित्यकार कुनै वादका पिछलग्गु हुँदैनन् । उनीहरुसँग समयचेत हुन्छ, अग्रगामी विचार हुन्छ । वर्तमानको लागि मात्र हैन र हुँदैन साहित्य । त्यसले ‘जहाँ नपहुँचे रवि, त्यहाँ पहुँचे कवि’ भनिन्छ । तर, सत्ताले त्यस्तो भन्दो रहेनछ । ऊ युगद्रष्टा र फरक विचार राख्नेहरुप्रति असहिष्णु बन्दो रहेछ । पोखरा महानगरले गठन गरेको पोखरा प्रज्ञा प्रतिष्ठानमा भएको मनोनयनले त्यही कुरा पुष्टि गरेको छ । महानगरले अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ जारी ग¥यो । साहित्य, भाषा, कला र वाङ्गमयको सेवा गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गर्नु नाजायज थिएन । प्रतिष्ठानको लागि ५० लाख बजेट विनियोजन गरियो ।
प्रतिष्ठानको कुलपतिदेखि प्राज्ञ छान्न समिति गठन भयो । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिको विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए । समितिले ११ जनाको नाम प्राज्ञको रुपमा सिफारिस ग¥यो । स्थानीय तहमा विपक्षी दलको परिकल्पना गरिएको छैन । तर, सिफारिस समितिले सत्ता निकटबाहेकका साहित्यकार पनि पोखरामा छन् भन्ने तथ्य भुसुक्कै बिर्सियो । सिफारिसमा परेका अधिकांश तत्कालीन एमालेको जनवर्गीय संगठनमा आवद्ध तथा वामपन्थी विचारधाराका शुभेच्छुक थिए । सिफारिस गरिएकामध्ये मंगलबार ८ जना प्रतिष्ठानमा नियुक्त भएका छन् । संरक्षक तथा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले तीमध्येबाट पदमराज ढकाललाई कुलपतिमा नियुक्त गरे । उनी राष्ट्रिय जनसांस्कृतिक मञ्च आवद्ध साहित्यकार हुन् । प्रतिष्ठानको उपकुपति खाली छ । प्राज्ञहरुको रुपमा जीवन दाहाल, कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, मिलन शेरचन, सरास्वति श्रेष्ठ र दिलिप गायक नियुक्त भएका छन् । दिलिप स्वर्गीय गायक धनबहादुरका छोरा हुन् । यसअघि पिताको नाम सिफारिस भएको ठाउँमा सहमतिमै छोरालाई राखिएको हो । बाँकी २ सदस्य पछि नियुक्त गरिने महानगरले जनाएको छ । प्रतिष्ठानमा दुई जना कार्यपालिका सदस्य रहने व्यवस्था रहेको छ । ‘यहाँ आएका सबै आफ्नो क्षेत्रका योग्य व्यक्ति नै हुनुहुन्छ तर यो संस्थालाई अझ बृहत्तर बनाउन सकिन्थ्यो भन्ने कुरा हो’, एक साहित्यकारले भने,‘५० लाख बजेट भएको साहित्यसँग सम्बन्धित संस्थामा त यस्तो छ भने ठूलो लाभको पदमा के होला ? बाँकी त, उहाँहरुले प्रशस्ति गाउनुहुन्छ कि काम गर्नुहुन्छ भन्नेमा निर्भर पर्छ ।’





