पोखरा, २१ फागुन– इसापूर्व ४९० मा ग्रिकले युद्ध जित्यो । जीतको खबर सुनाउन फिडेपिड्स नामक सिपाई २६ माइल दौडेर दरबार पुगे । राजालाई जीतको खबर सुनाउँदै गर्दा धपेडीमा परेका फिडेपिड्सको सास गयो । जीतको खबर सुनाउने उनै सिपाहीको सम्झनामा ग्रिकमा वर्षेनी दौड आयोजना हुन थाल्यो । इसापूर्व ५७० मा सो दौडले ‘म्याराथन’को रुप लियो । समयक्रममा म्याराथन बदलियो । सन् १९०८ को लण्डन ओलम्पिकमा यो प्रतियोगिताले पहिलोपटक औपचारिक प्रवेश पायो । १८९६ मा आधुनिक ओलोम्पिकको सुरुवात भएसँगै अहिले विश्वका ८ सयभन्दा बढी ठाउँहरुमा म्याराथन आयोजना गरिन्छ ।
त्यसो त, सन् १९९३ मे २९ ( २०१० जेठ १२ गते ) मा तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथा चढेको खबर लण्डन पु¥याउन पनि भरियालाई त्यसरी नै दौडाइएको थियो । भनिन्छ, रानी एलिजाबेथको राज्याभिषेकको उपहार स्वरुप समाचार पठाउन भरियाहरुले खालीखुट्टा ‘म्याराथन’ दौडेका थिए । भ्रमण दलमा रहेका ‘द टाइम्स’का संवाददाताले काठमाडौंस्थित बेलायती दूताबासलाई कोडमार्फत् पठाएको समाचार जेठ २० गते रानीको राज्यभिषेकमा ‘उपहार’ दिइएको थियो ।
नेपालमा पनि म्याराथन आयोजना गरिन्छ र तीमध्येको एक हो, पोखिरा म्याराथन । ‘पोखरा म्याराथन’ दौड मात्र हैन, पर्यटन प्रवद्र्धनको माध्यम पनि हो । १५ औं संस्करणसम्म आइपुग्दा पनि यसले नेपालको चौघेरा काट्न सकेको छैन ।अर्थात् यो प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । यद्यपि, पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन एसोसिएसन (एआइएम) जोड्ने भरपुर प्रयास चाहिँ भइरहेको छ । ‘स्न २०२४ सम्म पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल सुरु भएको छ’, आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले भने,‘पोखरा म्याराथनमा एकदिन अन्तर्राष्ट्रिय खेलाडीसहित सम्पूर्ण पोखरेली दौडिने छन् ।’
यसो भनिरहँदा चुनौतिका चाङ भएको पनि उनले स्वीकारे । धावकहरु सवारी साधनहरु छल्दै र धुँवा खाँदै दौडन बाध्य हुनु नै मुख्य समस्या भएको उनको भनाई छ । यही फागुन १ गते पोखरामा सम्पन्न ४२.१४९ किलोमिटरको पुरुष २१ किलोमिटर महिला हाप म्याराथन हुँदा पनि सडक खाली नभएको उनले सम्झिए ।
विश्वका चर्चित लन्डन, हङकङलगायतका म्याराथनमा सहरले उत्सव मनाउँछ । सडकहरु खाली गरिन्छ । मानिसहरु धावकको स्वागतमा सडकमै ओर्लन्छन् तर पोखरामा त्यस्तो छैन । सहभागिता त परको कुरा गाडी गुडिरहेको सडकमा खेलाडीले ज्यान जोगाउनै मुस्किल हुन्छ ।
‘हामीकहाँ सचेतनाको अभाव छ, अझै पोखराले म्याराथनलाई हाम्रो भन्न सकेको छैन’, अध्यक्ष गुरुङले थपे,‘तर, केही नभएको पनि पक्कै हैन ।’आफ्नै भेषभुषामा सजिएका जातजातिहरुले यसपटक खेलाडीलाई स्वागत गरेको बताउँदै उनले हिमाल ,ताल अनि धार्मिक थलो भएको पोखरा साँच्चिकै म्याराथनका लागि उत्कृष्ट ठाउँ भएको बताए । नागरिक स्तरबाटै सहयोग हुने हो भने लन्डन म्याराथनभन्दा पोखरा म्याराथन उत्कृष्ट हुने उनले जिकिर गरे ।
अगाडि बढ्दै म्याराथन
भुतपूर्व खेलाडी मञ्चले फागुन २२ गते महिला तथा पुरुष ह्विलचियर र दृष्टिविहीन दौडको समेत आयोजना गर्दैछ । पोखरा रंगशालामा हुने दौड प्रतियोगितामा ह्विलचियरतर्फ १५ जनाले सहभागिता जनाउने पक्का भएको छ । दृष्टिविहीतर्फ भने १२ जना महिला र ३३ जना पुरुषले सहभागि हुँदैछन् । कोभिड–१९ को महामारीको कारण १५ औँ पोखरा म्याराथन फागुन १ गते सम्पन्न गरिएपनि अन्य दौड प्रतियोगितालाई भने छुट्टाछुट्टै आयोजना गरिएको हो । प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फका विजेताले समान ७–७ हजार, दोस्रो हुनेले ५–५ तथा तेस्रो हुनेले ३–३ हजार रुपैयाँ नगद र मेडल पाउने छन् । मञ्चले चैत्र १४ गते १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता गर्दैछ । दौड जित्नेले महिला तथा पुरुष दुबैले समान १५–१५ हजार र दोस्रो हुनेले १०–१० तथा तेस्रोले ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । वैशाख ४ गते छात्र÷छात्रा ५ किमी दौड पनि आयोजना हुँदैछ । विजेताले १०–१० हजार दोस्रो हुनेले ७–७ तथा तेस्रोले ४–४ हजार रुपैयाँ पाउने छन् । यस्तै ४ गते नै रनफर फनसँगै १५ औँ सफल म्याराथनको समापन गरिने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए । म्याराथनलाई पोखरेली मञ्च युकेले ५ लाख ३० हजार रुपैयाँ सघाएको छ । बिहीबार पोखरेली मञ्च युकेका कोषाध्यक्ष कमल गुरुङले सो रकम हस्तान्तरण गरे ।




