वि.सं. २०५५ तिरको त्यो समय । पृथ्वीचोकको बसपार्क छेउछाउ युवाहरुको एउटा झुन्ड जम्मा हुन्थ्यो । चियागफको विषय हुन्थ्यो फुटबल । त्यसताका पोखरामा फुटबलकै लागि भनेर राम्रा क्लबहरु नै थिएनन् । न त जग बसेको थियो फुटबल संस्कृति कै । न राजधानी बाहिर अन्तर्राष्ट्रिय क्लब समावेश भएको स्तरीय फुटबल प्रतियोगिता नै आयोजना भएको थियो । त्यही जुझारु फुटबलप्रेमी युवाहरुको संयुक्त स्वरुप बन्यो, सहारा क्लब । विक्रम थकालीको कप्तानीमा सहारा क्लबले २०५५ मा नै क्षेत्रीय स्तरको रारा कप खेलिसकेको थियो ।
यहीँ नतिजाबाट उत्साहित भएका युवाको जमाताले पछि २०५५ साल भाद्र ३१ गते सहारा क्लबको विधिवत गठन गरेका थिए । क्लबका संस्थापक अध्यक्ष थिए वसन्त थकाली । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मुख्य मन्त्र सबै सदस्यहरुले जपेका थिए । अनि बिस्तारै अंकुराउन थाल्यो उनीहरुले कोरेको फुटबल सपना ।
फुटबलसँगै विभिन्न सामाजिक कार्यहरुमा सहाराको सुरुवातबाटै अग्रसरता थियो । भैलो खेलेर उठेको रकमको केही अंश बस टिकट काउन्टर बनाउन होस् वा बसपार्कको स्तरोन्नतिमा, सहारा लागिपरेको थियो । पृथ्वी बसपार्क एरियासँग यति सानिध्यता बस्यो कि व्यवस्थित सार्वजनिक शौचालय बसपार्क छेवैमा बनाउन क्बल सफल भयो । विस्तारै सबैको मन सहाराले जित्दै थियो । अनि मिल्न थालेको थिया,े सबैबाट अपार साथ अनि हौसला ।
यता क्लबले २०५७ मा कास्कीस्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको थियो । खेलाडीहरु पनि फुटबलमा एकदमै सौखिन । उस्तै जोसिँला अनि फुटबलमा समर्पित । २०५८ सालमा सहारा सहिद स्मारक लिग ए डिभिजनको छनोट खेल्न काठमाडौं जादाँको स्मरणीय क्षण पूर्व अध्यक्ष विक्रम थकाली यसरी सम्झन्छन्, ‘लिग छनोटको एक खेलमा हामीले ठूलो अन्तरले जितेका थियौं । पछि चारैतिरबाट दबाब आयो, यसरी सहारालाई सिधै लिग खेल्न दिनु हुन्न भनेर । अखिल नेपाल फुटबल संघ एन्फालेसमेत हामीलाई पोखरा नै फर्कन सुझाव दिएको थियो । बरु काठमाडौं आएयताको खर्च पनि फिर्ता गरिदिएका थिए । हामीलाई नैराश्य र खल्लोपन महसुस भएको थियो ।’
यही घटना नै सहारा क्लबको लागि एउटा टर्निङ पोइन्ट बनेको थियो । अझ भनौं उर्जा मिल्यो । अनि बन्यो आफैंले गोल्डकप आयोजना गर्ने सपना । त्यो पनि अन्तर्राष्ट्रिय स्तरको । नभन्दै २०५८ सालमा सहाराले विदेशी क्लबको समेत सहभागिता रहेको क्याराभान गोल्डकप आयोजना ग¥यो । हुन पनि भव्य सफलता मिल्यो आयोजकलाई । खेलको सेमिफाइनलमा भएको घटना सबैले अझै सम्झन्छन् । सेमिफाइनमा थिए सहारा क्लब पोखरा र नेपाल पुलिस क्लब । प्रतिस्पर्धा यति दमदार बन्यो कि टाइबे्रकरमा पनि बराबर भएपछि टसद्धारा जितको निर्णय गरिएको थियो ।
त्यसको एक वर्षपछि अर्थात २०५९ सालबाट आहा रारा गोल्ड कप सुरु भयो । प्रतिष्ठित उद्योग हिमश्री फुड्स प्रालिका प्रमुख थिए सूयबहादुर केसी । फुटबलका सौखिन थिए केसी । सहाराको चौतर्फी कार्यहरु नजरअन्दाज गरेर नै १० वर्षसम्म आहा गोल्डकपको मुख्य प्रायोजकको सम्झौता भएको थियो । अनि सुरु भयो आहा गोल्डकप ।
आहा गोल्डकपको संस्करण सुरु भएसँगै चर्चा चलेको अर्को विषय थियो, यसको गीत । ‘स्वागतम् स्वागतम् सहाराको स्वागतम्, आहा गोल्डकपमा, आहा गोल्डकपमा’, । यसलाई कोरेका थिए पोखरालाई पत्रकारिताको कर्मभूमि बनाएर लामो समय बिताएका पत्रकार आरजु विष्ट सल्यानीले । आहा रारा गोल्डकपको सिजनमा यो गीत हरेकले गुनगुनाइरहे । अझै पनि गुनगुनाइ रहन्छन् । अधिकांश खेलप्रेमीको मोबाइलका रिङब्याकटोन यहीँ गीत बन्यो, एफएम र टेलिभिजनमा यही गीत गुन्जिरह्यो । कुनै चाडपर्व वा उत्सव नै आएको भान हुन्थ्यो सबैलाई । लाग्छ, आहा रारा गोल्डकपलाई आम जनमानसको मन मस्तिष्कमा पु¥याउन यस गीतले अहम् भूमिका खेलेको थियो ।
त्यसै वर्ष २०५९ मा नेपालकै इतिहासमा मोफसलमा नै पहिलो पल्ट सहारा क्लबद्धारा फुटबल खेलाडी अनुबन्धन गरिएको थियो । सानो रकममा नै किन नहोस्, खेलाडीले व्यावसायिक रुपमा आफ्नो करियर फुटबल बनाउन सक्छन् भन्ने ज्वालन्त उदाहरण थियो यो ।
पmुटबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई सक्षम खेलाडी उत्पादन पनि गर्ने सपना थियो सहाराको । त्यसताका पोखराका बिरलै खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन्थे । त्यसैले २०५८ मै सहारा एकेडेमीको अवधारणा सुरु भएको थियो ।
पहिलो ब्याचमा घरबाटै आउने जाने गरी २० जनालाई फुटबल प्रशिक्षण सुरु भयो । त्यही पहिलो ब्याचमा थिए, नेपालका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ । अनिल लगायत कैयौं फुटबल खेलाडीलगायत दक्ष कोचहरु हालसम्म जन्माइसकेको छ सहाराले । लाग्छ नेपालकै खेलकुद क्षेत्रको उर्वर भूमि हो सहाराको आँगन ।
प्रशिक्षण नियमित हुन एकदमै कठिन थियो त्यस समय । नहोस् पनि कसरी ? अलग अलग विद्यालयमा पढ्ने भएकाले अभ्यासको लागि न समय नमिल्थ्यो न टिम ओर्क नै । त्यसैले नयाँ सोच पलायो, बच्चालाई क्लबले आफ्नै छात्रबासमा राख्ने । एउटै विद्यालयमा पढाउने र सँगै अभ्यास गराउने । अनि २०६१ सालमा सुरु भयो सहाराको आफ्नै होस्टेल । १२ जिल्लाका २४ जना बच्चाहरु थिए सुरुवातको ब्याचमा ।
त्यसताका पनि एन्फाले सक्षम अनि आर्थिक सम्पन्न भएका खेलाडीहरुलाई मात्र तान्थे तर सहाराको भने फरक थियो मिसन । उनीहरुको प्राथमिकतामा पर्थे, अभिभावक गुमाएका र आर्थिक अवस्था कमजोर भएका बालकहरु । फुटबलको प्रशिक्षण, गाँस बाँस लगायत पढाउने जिम्मा सबै क्लबकै व्यहोरेका थिए ।
महत्वकांक्षी सपना – सहारा एकेडेमी
जति सुविधा बढ्दै गयो, त्यति नै नयाँ समस्याहरु थपिदै गए । हुन पनि समस्या नै नयाँ सोच र खोजको जननी न हो । सबै परिबन्ध मिलिसक्दा फेरि अर्को समस्या खडकियो, प्रशिक्षणका लागि आफ्नै मैदान । पोखरा रंगशालामा विविध कार्यक्रमहरु भइराख्ने भएकाले प्रशिक्षण नियमित हुन सकेको थिएन । अनि सुरु भयो, आफ्नै मैदानको खोजी ।
क्लबले पोखराका कुन कुना चहारेनन् । अन्तिममा बन्यो दोबिल्लामा २६ रोपनी जग्गा किन्ने निर्णय । समय थियो २०६३ सालको । यसलाई धेरैले सहारा क्लबले ‘महत्वाकांक्षी सपना’ बोकेका भन्थे । तर सपना वास्तवमै यर्थाथमा परिणत भयो ।
एकेडेमीका लागि जग्गा खरिद गर्दाको रमाइलो किस्सा भूतपूर्व अध्यक्ष विक्रम थकाली यसरी सम्झन्छन्, ‘एक जना व्यक्तिको जग्गा थियो ४८ रोपनीको । हामीलाई जग्गा पनि मन परेको थियो । तर क्लबलाई चाहिएको जम्मा २६ रोपनी । सबै एकमुष्ट किने सस्तोमा जग्गा पाउने थियो तर क्लबसँग त्यस समय पर्याप्त बजेट कहाँ थियो र ? अनि एउटा जुक्ति फुरेको थियो । बाँकी जग्गा क्लबकै पदाधिकारीहरुले संयुक्त रुपमा किन्ने । बाटो पु¥याउनका लागि त्यो बाँकी जग्गा पनि प्रयोग भएको थियो । जुझारु र मनकारी पदाधिकारीहरु नभएको भए आज सहारा एकेडेमीको सपना सायद सपनामै सीमित हुन्थ्यो होला ।
तीन वर्षमा अर्थात २०६९ मा नभन्दै तयार भयो एकेडेमीको आफ्नै भवन, मैदान अनि प्याराफिट । गोल्डकपबाट उठेको रकम अनि विभिन्न संघसंस्था अनि व्यक्तिहरुको सहयोगमा एकेडेमीको सपना साकार भयो । अनि उद्घाटन भयो २०७० सालमा ।
अहिले सहारा क्लबको आफ्नै सुविधा सम्पन्न एकेडेमी छ । ३० जना बालकहरुको क्षमता रहेको एकेडेमीमा हाल २४ जना बालकहरु छन् । मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका बालकहरु एउटै छानामुनि छन् । उनीहरुलाई फुटबल प्रशिक्षण मात्र हैन, सँगै शिक्षा, खानपान र बस्नको व्यवस्था पनि स्वयं एकेडेमीले गर्दै आएको छ । हाल करिब २ करोडको अक्ष्यकोष नै एकेडेमीको नाममा खडा भएको छ । फुटबलमा सक्षम नभएका बालकहरुलाई विभिन्न व्यवहारिक र व्यवसायिक सिप र तालिमको समेत एकेडेमीले व्यवस्था गर्दछ । हरेक बालक आफै आत्मनिर्भर बन्न सकुन् भन्ने एकेडेमीको मुख्य लक्ष्य ।
सहारा र हिमश्री फुड्सको सम्बन्ध
देश द्धन्दले गस्त थियो । हिमश्री फुड्स प्रोडक्टका सबै उद्योगहरु बन्द थिए । गाउँगाउँमा चाउचाउ पु¥याउन प्रतिबन्ध थियो । व्यापार चौपट थियो । तर पनि २०५९ मा हिमश्री फुड्सले सहारासँग मुख्य प्रायोजकको १० वर्षे सम्झौता गरेको थियो । २०६९ मा सकिएको सम्झौता फेरि नवीकरण गरेको थियो अर्को दश वर्षका लागि ।
न त गोल्डकप द्धन्दकालमा रोकियो, न त दश महिने नाकाबन्दीमा । निरन्तरता पाएको थियो कोरोनाले ग्रस्त भएको २०७६ सालमा पनि । विभिन्न कठिन परिस्थितिका बाबजुट पनि सहारा र हिमश्री फुड्सको सम्बन्ध डकमकिएन । बरु झन् मजबुत बन्यो सम्बन्ध । नेपालकै इतिहासमा कुनै पनि प्रतियोगिता आयोजनाका लागि यति लामो मुख्य प्रायोजन नै गर्ने कम्पनी बिरलै भेटिन्छन् । यस्तो स्वच्छ सम्बन्ध नितान्त सबैका लागि प्रेरणाका स्रोत बन्न सक्छ ।
ब्रान्ड अफ गण्डकी
सहाराले यही चैतमा १९ औं गोल्डकप आयोजना गर्दै छ । यति लामो समय निरन्तर प्रतियोगिता हुनु आफैंमा अर्को उपलब्धी पनि हो । भैँसी चर्ने र आहल बनाएर पौडी खेल्थे २०५८ सालताका रंगाशालामा । न थियो प्याराफिट, न डेसिङ रुम नै । अहिले हजारौं दर्शक एकैपटक फुटबलको मजा लिन सक्ने प्याराफिट बनेको छ । उस्तै स्तरोन्नति छ पूर्वाधारहरुको । यसमा कहीँ न कहीँ सहारा र आहा रारा गोल्डकपको योगदान छ नै । प्रत्यक्ष वा अप्रत्यक्ष ।
पोहोर साल कोरोना कहरका कारणले नयाँ रंगशालाको मज्जा न खेलाडीले लिन पाए न दर्शकले । यसपालि आयोजक पोहोरभन्दा भव्य हुनेमा विश्वस्त छ । कोरोना महामारी अझै व्याप्त भएको अहिलेको समय कुनै पनि स्वास्थ्य सुरक्षाका कदमहरु नचुकाउन आयोजक लागिपरेका छन् । यस मानेमा पनि यस पल्टको गोल्डकप विशेष छ कि कोरोनाले आक्रान्त पारेको विगत एक वर्षपछि नेपालमै हुन लागेको ठूलो प्रतियोगिता नै यहीँ हो । त्यसैले आयोजक उत्साहजनक देखिन्छ ।
सहारा क्लब र आहा रारा गोलडकप त ब्रान्ड नै बनिसकेको छ नेपालमा । यसको उचाई यति चुलिएको छ कि यसलाई निरन्तर दिन अब हम्मेहम्मे पर्न सक्छ । पोखरा त के गण्डकी प्रदेशमै, फुटबल त के खेलकुदकै इतिहासमा एउटा माइलस्टोन बनेको छ सहारा र गोल्डकप । अझ धेरै फड्को मार्न सकून् दुवैले ।
१९ औं वर्षको वयस्क भइसकेको सहारालाई भने अब थप जिम्मेवारी थपिएको छ । पहिलो प्रतियोगिताबाट नै निरन्तर अन्तराष्ट्रिय टिमहरुलाई समावेश गरी आयोजना गरिएको प्रतियोगितामा फरक टेस्ट खोज्न थालेकका छन् अब दर्शकहरु । कम्तीमा सार्कस्तरीय टिमहरुलाई वार्षिक प्रतियोगितामा समावेश गराउन सक्नुपर्छ । यति मात्र गर्न सक्ने हो भने पोखरामा खेल पर्यटनको राम्रो अवसर देखिन्छ । त्यसका लागि क्लबले राम्रै होमओर्क गर्नैपर्छ । न त अब पूर्वाधारको अभाव न दर्शकको अभाव भनेर आयोजक उम्कन मिल्दैन । पक्कै आगामी वर्षहरुमा विशेष स्वाद पस्कन सकुन्, सहारा क्लबले । शताब्दी संस्करण निरन्तर पाइरहुन् आहा रारा गोल्ड कपले ।
अनगिन्ती शुभकामना सबैलाई !





