बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षा सुधार्न २० वर्ष लाग्छ, सुरुवात अहिलेबाट गर्दैछौं: अध्यक्ष जोकलाल बुढा

शिक्षा सुधार्न २० वर्ष लाग्छ, सुरुवात अहिलेबाट गर्दैछौं: अध्यक्ष जोकलाल बुढा


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७७, बुधबार

भौगोलिक हिसाबले जिल्लाको तमानखोला गाउँपालिका दुर्गम मानिन्छ । गण्डकी प्रदेशअन्र्तगत बागलुङका दश स्थानीय तहमध्येको एक तमानखोला गाउँपालिका साविकका तीन गाविसहरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ । स्थानीय सरकार गठनपछि तमानको चौतर्फी विकासका लागि धेरै प्रयासहरु भैरहेका छन् । शिक्षा क्षेत्रमा तमानखोला अझैपनि धेरै पछाडि छ । भौतिक पूर्वाधार, शिक्षक दरवन्दी र विद्यार्थी संख्या कमजोर भएका कारण यहाँको शिक्षाक्षेत्र सोचेको जस्तो उन्नती हुन सकेको छैन् । अहिले पनि तमानखोलाले शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि ठुलो लगानी गरिरहेको छभने शिक्षक दरबन्दी कम रहेका कारण निजी स्रोतका शिक्षकहरुको परिचलानमार्फत यहाँ शिक्षालाई सवल बनाउन प्रयासहरु भैरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएका कतिपय कानुनी अधिकारहरु जिल्लाका अन्य स्थानीय तहले प्रयोगमा ल्याउन नसकेको अवस्थामा तमानखोलाले भने केही अधिकारहरु प्रयोगको प्रयास थालेको छ । कानुनी प्रबन्ध भएको आफ्नै पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक निर्माण गरेर कक्षा सञ्चालनको तयारी गाउँपालिकाले थालेको छ । झण्डै एक वर्ष समय लगाएर बनाईएको पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट लागु हुँदैछ । पाठ्यक्रमको तयारी, पाठ्यपुस्तक, कक्षा सञ्चालन र त्यसका विधिका विषयमा ढोरपाटनकर्मी तारानाथ आचार्यले गाउँपालिका अध्यक्ष जोकलाल बुढासँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ गाउँपालिका अध्यक्ष बुढासँग गरिएको कुराकानीको सम्पादित अंश ।

तमानको विकासका लागि के के काम भैरहेका छन् ?
– हामी निर्वाचित भएर आएको चार वर्ष समय पुग्नै लागेको छ । धेरै समस्याहरुका बाबजुद तमानमा धेरै कामहरु गरिरहेका छौं । मोटामोटी गाउँपालिकाभित्र रहेका नागरिकहरुको आधारभुत आवश्यकता जस्तो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा काम गर्ने प्रयास गरिरहेका छौं । समग्रमा न्युनतम राज्यबाट पाउने सेवा र सुविधा उपलव्ध गराउने प्रयत्नमा लागेका छौं ।

यहाँहरु यो चार वर्षमा पूर्वाधारमा मात्रै केन्द्रित हुनुभयो नि । अझै भन्ने हो भने सडकमा मात्रै ध्यान केन्द्रित भयो भन्ने छ ?
– समग्र तमानखोलाको समस्या भनेको हामी अशिक्षा, गरिबी र विपन्नताबाट गुज्रीरहेका छौं । अर्को हाम्रो भौगोलिक विकटता समस्याको रुपमा रहेको छ । छरिएर रहेको बस्ती समस्या हो । हामीले पहिलो वर्षदेखि नै कार्यपालिका बैठकबाटै तमानबासीलाई शिक्षित, सबल र सक्षम नागरिक बनाउने संकल्प गरेका थियौं । हामीले सोही अनुसार शिक्षा क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ । त्यसकारण पनि अरु आधारभुत विकासभन्दा पनि हामीले त्यहाँका नागरिकको क्षमता विकासलाई प्रथामिकता दिएर काम गरिरहेका छौं । उनीहरुको शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर हामीले काम गरिरहेका छौं ।

यहाँहरु नयाँ शैक्षिकसत्रबाट आफ्नै पाठ्यक्रम लागु गर्ने भन्ने खबरहरु बाहिरीएका छन् । यहाँहरुले लागु गर्न खोजेको पाठ्यक्रम कस्तो हो ?
– नागरिकको शिक्षा महत्वपूर्ण पक्ष हो । एउटा देशमा जन्मिएपछि त्यो देशले नागरिकलाई शिक्षित बनाउनु राज्यको दायित्व हो । अहिलेको सन्दर्भमा हेर्नुपर्दा नेपालमा शिक्षा पनि कस्तो खालको छभने शिक्षा आर्जन गरेपछि त्यसबाट हामीले के गर्न सक्छौं भन्ने हो । हाम्रो शिक्षाले हाम्रो जीविका चल्नु पर्छ । शिक्षा व्यवहारिक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले शिक्षा र जीवनको विषयलाई लिएर कहिल्यै क्याल्कुलेसन गरेनौं । हामीले लिएको शिक्षाले हाम्रो जीवन पद्धतीमा परिवर्तन ल्याउनुपर्छ भन्ने हो । त्यसकारण हामीले तमानखोला गाउँपालिकाका २१ वटा सामुदायीक विद्यालय र २ संस्थागत विद्यालयका लागि नेपालको कानुन, स्थानीय सरकार सञ्चालन ऐन र तमानखोला गाउँपालिकाको शिक्षा ऐनले व्यवस्था गरेको अधिकारलाई प्रयोग गरेर तमानकै विषयमा अध्ययन गराउनका लागि आफ्नै पाठ्यक्रम निर्माणको काम गरिरहेका छौं । मेरो गाउँपालिका भन्ने विषयमा पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा छ । हामीले तयार गरेको पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिपछि विद्यालयहरुमा लागु गर्छौं । आउँदो शैक्षिक सत्रबाट हामीले यसलाई लागु गर्ने तयारीमा छौं ।

पाठ्यक्रममा के कस्ता विषयहरु समेटिएका छन् ? विषयवस्तुका हिसाबले यहाँले भनेको जस्तो जीवन उपयोगी बन्ला त पाठ्क्रम ?
– यो पाठ्यक्रममा तमानखोला गाउँपालिकाका समग्र विषयहरु समेटिएको छ । भौगोलिक अवस्था, कला संस्कृति र परम्परा, प्राकृतिक स्रोत, हिजोका जातजातीको जनजीवन, पर्यटन, कृषि, पशुपालनलगायत हामिले तमानमा हिजो जीविकाका लागि प्रयोगमा ल्याएका विषयदेखि मानव सभ्यताका विविध महत्वपूर्ण पाटोहरु पाठ्यक्रममा समाबेश भएका छन् । हामीले गरेका क्रियाकलाप र गतिविधि पनि यो पाठ्यक्रममा समाबेश गरेर शिक्षाको रुपमा आर्जन गर्ने वातावरण बनाउँदैछौं ।

के हामीले बुझ्न सक्छौं कि अब किम्वदन्तीहरु पाठ्यपुस्तकमा पढ्न पाउँछौ ?
– पक्कै पनि मैले अघि पनि उल्लेख गरिसकेको छु, नागरिकले हाम्रो गाउँपालिकाभित्र रहँदा जीवनयापनका लागि विभिन्न खालका गतिबिधिहरु गरेको अवस्था छ । त्योभित्र परम्परा, संस्कृतिका कुरा र आर्थिक उन्नतीका लागि भैरहेका गतिबिधिका कुरा छन् । तर त्यसलाई हामीले शिक्षाको रुपमा आर्जन गर्न सकेनौं । तमानमा तामाखानी छ भन्ने सुनेका छौं । तामाखानी हिजो हाम्रा पुर्खाले उत्खनन् गरेको अवस्था थियो । कारणबस बन्द भयो । हिजो तामा उत्खनन् भएको भनेर सोही हिसाबले परम्परागत ढंगबाट तामाको उत्खनन् सम्भव छैन् तर हिजो गरेका हिसाबले प्रविधिको प्रयोग गरेर आयआर्जनको माध्याम बनाउन सक्छौं भन्ने कुरा सिकाउन जरुरी छ । हिजो विद्युत थिएन्, प्रविधि थिएन् । आगो, धागो र औजारले उत्खनन् गरेको कुरा हामीले शिक्षाको रुपमा आर्जन गर्दै अहिलेको प्रविधिको प्रयोग गर्ने कुरा महत्वपूर्ण कुरा हो भन्ने लाग्छ । त्यसकै लागि हामी सिकाईको माध्याम बनाउँदैछौं ।
अर्को कुरा पशुपलान, कृषि हाम्रो शान हो । तर हामी परम्परागत शैलीमा चलिरहेकाले जीविका चलाउन कठिन भैरहेको छ । लागत अनुसारको आम्दानी भैरहेको छैन । अब पहिलेका कुरालाई सिकाई बनाएर नयाँ विधिको प्रयोग गरेर आयमुलक बनाउने हाम्रो योजना हो । हिजोको परम्परा पनि सिकाउनु छ । हिजो फलाम निकालेर झोलुङ्गे पुल बनाए पुर्खाले आज त्यसैको अनुशरण गर्दै ठुला ठुला पुल बनेका छन् । बास्तवमा हामीले त्यो विधिलाई औपचारिक शिक्षाको रुपमा ग्रहण गरेर त्यसलाई प्रयोग गर्न सक्थ्यौं । त्यसैका लागि हामीले प्रयास गरिरहेका छौं ।

कत्तिको सजिलो छ आफ्नै पाठ्यक्रमलाई कार्यान्वयन गर्ने कुरा । चुनौतीका त चाङ छन् भन्छन् नि ?
– हामीले पाठ्यक्रम तयार गर्ने चरणमा त छौं तर अहिले भनेका जती सबै बिषय एकैपटक पढाउने भन्ने होईन । यसका पनि चरणहरु छन् । हामीले सिक्दै र जुध्दै जाने वातावरण बनाउँछौं । शिक्षा क्षेत्र सुधार गर्न १५ देखि २० वर्ष लाग्छ । हामीले अहिले सुन्यबाट सुरुवात गर्दैछौं । हामीले सोँचेको जस्तो शिक्षा दिनका लागि सुरुवात अहिले हुन्छ । २० वर्षपछि आउने उपलव्धीका लागि त्यहि अनुसारको पूर्वाधार र जनशक्ति तयार हुनेमा हामी विश्वस्त छौं । सोही अनुसार लाग्छौं । हाम्रा शिक्षकहरुनै त्यो पाठ्यक्रम पढाउन सक्छन् । प्रयोगात्मक अभ्यास पनि सोही अनुसार हुनेछ ।

संघमा शिक्षा ऐन तयार भैनसकेको अवस्थामा कानुनी अड्चन कसरी टार्नुहुन्छ ?
– हामीले पाठ्यक्रम विकास बोर्डसँग समन्वय गरेर नै काम गरिरहेका छौं । संघीय सरकारले शिक्षा नीति कस्तो बनाउने भनेर समिति बनायो । प्रतिवेदन तयार भएको छ । तर त्यो प्रतिवेदन सदनमा पेश भएको छैन् । यो अवस्थामा हामीले कुरेर बस्न सकेनौं । शिक्षा क्षेत्रको सुधार गर्ने हाम्रो पनि दायित्व हो । त्यसैले केही समस्या आउलान तर हाम्रो कदम पछि हट्ने छैनन् ।

बसाईसराईका कारण विद्यालय खाली हुँदैछन् । तपाईंहरु शिक्षा सुधार भनेर लाग्नुभएको छ । कसरी सम्भव होला सोचेको जस्तो परिवर्तन ?
– बसाईसराईको हिसाबले सामुदायीक विद्यालयहरु कम विद्यार्थी संख्यामा चलिरहेका छन् । सामुदायीक विद्यालयको गुणस्तर र भौगोलिक हिसाबले पनि नजिकै सर्ने प्रचलन बढेको छ । हामी त स्थानीय सरकार हौं । जानेहरुलाई रोक्नु त छँदैछ भएकालाई शैक्षिक वातावरण निर्माण गरेर पठनपाठन गराउनु पनि हाम्रो दायित्व हो । हामीले बसाईसराई रोक्नकै लागि पूर्वाधारमा धेरै सुधार गरेका छौं । गुणस्तर सुधारमा विशेष ध्यान दिएका छौं ।

पूर्वाधार बनाउने तर विद्यालय खाली हुने वातावरण कम गर्न के प्रयास भए ?
– त्यसको लागि त हामीले राज्यले दिने सुविधा सहज तरिकाले गाउँमा पु¥याउँदै छौं । एक घण्टाको दुरीमा स्वास्थ्य संस्था, विद्यालय पु¥याएका छौं । संचार, खानेपानी, विद्युत पु¥याउने काम भैरहेको छ । कृषि र पशुपालनमा पनि हामीले अनुदान दिएर आयमुलक क्षेत्रमा जोड्ने प्रयास भैरहेको छ ।

तमानमा शिक्षा क्षेत्रमा गर्व गर्न लायक के काम गर्नुभयो ?
– मैले अघिनै भनिसकेँ परिणाम आउन समय लाग्छ । २० वर्ष कटेपछि मात्रै परिणाम देखिन्छ । पूर्वाधारमा सुधार गर्दै गुणस्तरमा सुधारको प्रयास थालेका छौं । शिक्षामा नयाँपन दिने प्रयास छ । यो नै शिक्षामा हामीले ल्याउने उपलव्धी हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->