बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नौमतीमा रम्छन् मगर समुदाय

नौमतीमा रम्छन् मगर समुदाय


  • तारानाथ आचार्य
  • बैशाख १८ २०७८, शनिबार

बागलुङ, १८ वैशाख– जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्य बहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याईनभ्याई छ । विवाह, व्रतबन्ध, चौरासी पुजा जस्ता धार्मिक कार्यमा बाजा बजाउन पुनको समुह दक्षिण बागलुङका सबै गाउँ पुगेको छ ।
कोरोना महामारीका बीच भैरहेका धार्मिक कार्यमा बाजा बजाउन पुग्ने दमेक नौमती बाजा समुहले नौमती बाजाको संरक्षण मात्रै गरेको छैन युवाहरुको लागि राम्रो अम्दानीको स्रोत समेत बनेको छ । दमेकका मगर समुदायहरु लोपोन्मुख नौमती बाजा संरक्षण गर्न दश वर्ष पहिलेदेखि सक्रिय छन् ।
पहिलेको पुस्ताले थालेको नौमती बाजाको संरक्षणलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको समुहका संयोजक सुवास कार्कीले बताए । दश जनाको समुहमा अधिकांश मगर समुदायका युवाको सहभागिता छभने केही क्षेत्री समुदायका युवाहरु समेत सहभागि छन् । ‘पहिले बुवा हजुरबुवाहरुले बाजा बजाउन थाल्नुभएको हो, यो हाम्रो पुर्खौली पेशा भने होईन’ कार्कीले भने ‘अहिले युवाहरुले सबै सिके, युवाहरु नै बाजा बजाउन हिँड्छन् ।’
परियार समुदायको पुख्र्यौली पेशा नौमती बाजा बजाउने भएपनि पछिल्लो समय विस्थापित हन थालेपछि कला संस्कृतिको संरक्षण गर्न मगर समुदायका सदस्यहरुको सक्रियतामा नौमती बाजाको संरक्षणमा जुटेका हुन् । उनीहरुले परियार समुदायका सदस्यबाट धेरै पहिला बाजा बजाउन सिकेका थिए । ‘कहिँकतै विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु हुँदा माग ठुलो छ’, कार्कीले भने ‘ठाउँ अनुसारको पारिश्रमिक लिन्छौं, सिजनमा युवाहरुको आम्दानी राम्रो हुन्छ ।’
दमेकका सबै मगर समुदायले नौमती बाजा समुहलाई सहयोग गरेपनि अहिले भने १५ जना मात्रै समुहमा आवद्ध छन् । आफ्नै सवारीमा उनीहरु जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्लामा समेत पुग्ने गरेका छन् । नौमती बाजामध्ये सनई, नर्सिङगा र ढलाकी बनाउन अन्यको तुलनामा कठिन हुने गरेको उनीहरुको अनुभव छ । समुहका लागि बाजा भने स्थानीय कृष्ण छन्तयालले व्यक्तिगत लगानीमा खरिद गरेका हुन् । करिव १ लाख ५० हजारको लागतमा नौमती बाजा खरिद गरेर छन्यालले समुहलाई दिएका छन् ।
बाजा बजाउँदा आउने पारिश्रमिक समुहका सदस्यहरुले बाँडेर लिने गरेका छन् । ‘हामी स्वस्फुर्त लागेका हौं, कसैको साथ सहयोग पाईएको छैन’ पुनले भन्छन् ‘सिप भएपछि आम्दानीको स्रोत हुँदोरहेछ ।’ पहिले पहिले मगर बाजाभन्दा अध्यारो मुख बनाउनेहरुले पछिल्लो समय आँफुहरुको खोजी गर्ने गरेको अनुभव उनीहरुसँग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->