विश्व अहिले कोभिड–१९ महामारीलाई जित्ने युद्धमा छ । सन २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ (SARS-COV2) ले लगाउने रोगलाई कोरोना भाइरस डिजिज २०१९ अर्थात् कोभिड–१९ नाम दिइएको हो । यो रोगले सबैमा स्वास्थ्य चेतनाको स्तर वृद्धि गरेको छ । विश्व स्वाथ्य संगठनले सन २०२० मार्च ११ मा कोभिड–१९ लाई महामारी घोषणा गरेको थियो । पछिल्लोसमय अभाव र व्यवस्थापन कमजोरीसँगै नेपाल र भारतका हामीहरु कोभिड–१९ सँग लडाइँ लडिरहेका छौँ । गतसाल २०७६ माघ ७ मा नेपालभित्र पहिलोपटक संक्रमण पुष्टि भएको थियो । त्यसपछिको समय निकै डर, त्रास अनि सावधानीका बीचमै बितेको छ । ।
११ चैत २०७६ मा नेपालमा कोभिड–१९ संक्रमण रोक्नका लागि पहिलोपटक लकडाउन भयो । योसँगै नेपालीको जीवनमा एक अलग अनुभवले ढोका खुला ग¥यो । दैनिक ज्याला मजदुरीले भरिने पेटमा भोकले तर्साएको परिदृश्य देखियो । विशेष प्रयोजन तथा प्रयोजन बिना नै चलिरहने कयांैको कदमले बन्द घरभित्रका प्रत्येक भागको राम्रोसँग अवलोकन गर्ने मौका पाए । भोक र आर्थिक आवश्यकताले तड्पिरहेका समूहलाई केही राहतका पोकाले जिउने थोरै आशा दियो तर उत्साह दिएन । यस्तैमा आर्थिक व्यवस्थापनको असफलताले आत्महत्या रोजेका, जागिर गुमेर पैदल नै स्वदेश फर्केने, देशभित्र पनि हिमाल, पहाड, तराइको पैदलै यात्रा तय गर्नेहरुको दुःख अनि मृत्युको घटनाले मनस्थितिलाई शान्त बनाइराख्न सकेन । स्कुल कलेजको पठनपाठन रोकियो । अनलाइन शिक्षाको अवधारणा शुल्क उठाउने माध्यम बन्यो । तर, हाम्रो शैक्षिक व्यवस्था वार्षिक परीक्षा गराउन असफल रह्यो । जसको प्रतिफल विद्यार्थीहरु १ वर्ष पूर्णरुपमा पछि प¥यौँ । यो क्रम जारी छ । हामीले अझै कति शैक्षिक सत्र व्यवस्थापकीय कमजोरीले गुमाउछौँ, त्यसको अहिलेनै अड्कल गरिहाल्ने अवस्था छैन ।
जसोतसो कहीँ मृत्यु, कहीँ उपचार अनि संक्रमणमुक्त हुनेका खबरसँगै हामीले २०७७ साउन ८ सम्मको समय कटायाँै । त्यसपछि जीवनले बिस्तारै लय समात्न थाल्यो । स्थिति थोरै सहज मात्र भएको थियो, संक्रमण निर्मुल भएको थिएन । कोभिड–१९ सँगका केही अप्ठ्यारा महिनाहरु पछि सामान्य हुन लागेका दिनचर्यामा अर्को दुईवटा अभ्यास थपिएका छन् । जस्मा हात धुने र मास्क लगाउने पर्छन् । लकडाउन हुँदासम्म घर भित्र रहँदा यो अभ्यासले खासै महत्व लिन नसके पनि अन्य व्यक्तिसँगको भेटमा नितान्त आवश्यक कुरा भए । घर बाहिर जाने, काममा फर्कने क्रम बढेसँगै महामारी सकियो भनेर आफ्नो स्वास्थ्यमाथि लापरबाहीको गजबको मजाक गर्ने जमर्को अझैपनि सबैबाट भैरहेको छ । माक्स र साबुन किन्नसम्म नसक्ने आर्थिक अवस्थाको समूहबाट भएका असावधानीमागि प्रश्न गर्नुपूर्व हामीले कम्तीमा एकपटक सोच्नुपर्ने हुन्छ नै !
राज्यस्तरमा उच्चपदाधिकारीले जनस्वास्थ्य माथि गरेका अस्वभाविक क्रियाकलाप र भ्रष्टाचार सबैलाइ कठस्त छन् । आफूलाई सभ्य, शिक्षित अनि असल आचरण अवलम्बन गर्न योग्य करार गर्ने नागरिकले गरेका महामारी नियन्त्रणका केही उत्कृष्ट पाटाहरु हुँदाहुँदै पनि आफ्ना कमजोरी नदेख्ने र पानीमुनि पनि ओभानो छु भन्ने दम्भ पाल्ने व्यक्तिले गर्र्दा अहिलेको दोस्रो लहरको परिस्थिति झन गम्भीर बन्दै गएको छ । लकडाउन गरेका/नगरेका अन्य राष्ट्रहरुमा हामीले दोस्रो लहर सामना गर्दापनि माक्स प्रयोगमा अनिवार्यता, भौतिक दूरीलाई कायम राख्ने नीति नियमहरु कडाइका साथ लागु गरिएका छन् तर, ज्ञान हँुदाहँुदै पनि हामी सजगता अपनाउनमा धेरै चुक्यौ । आफूले गरेका गल्ती नदेखेर सरकारलाई मात्र आलोचना गर्ने, सरकारले खाना पकाइदियोस्, चपाइदिओस् अनि मेरो मुखमा राखिदियोस् भन्ने भावना राखेका धेरै व्यक्तिको जमातलाई हालको अभाव र अवस्थाको श्रेय दिन नछुटाएको नै राम्रो होला । पहिलो चरणमै स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार,डेराबाट निकाल्ने, बाटो बन्द गरिदिने, संक्रमितलाई अपराधीको दृष्टिकोण राख्ने, अपहेलना गर्ने जस्ता कयौं घटनाको सिलसिला लकडाउन अवधिभर र अझैसम्म रोकिएका छैनन् । मैले मेरो संक्रमणबारे खुलासा गरेँ भने मेरो विवाह हुनेछैन भन्नेसम्मको मानसिकता हामीले संक्रमितमा विकास गर्न खोज्यौँ । संक्रमणको बेला स्वास्थ्य सामग्रीमा कालोबजारी र कृतिम अभाव सिर्जना गर्दा, आफूलाई कोभिड हुँदैन भन्ने घमण्ड पाल्दा के हामीले आफ्नो सामाजिक कर्तव्य र नैतिकतामा गर्व गर्ने ठाउँ बाँकी राख्यौ र ?
अहिले सार्स कोभ–२ भाइरसको संरचना बदलिएको छ । दिनहुँ जस्तो नयाँ रुपहरु पाइरहेको अवस्था छ । अहिले म्युटेन्ट भेरियन्टमा B.1.1.7 कोड पाएको युके भेरियन्ट अनि B.1.617.2 कोड पाएको इण्डियन भेरियन्ट नेपाल र भारतमा बढी पाइएका छन् भने अन्य भेरियन्ट पनि देखिरहेको छन । साथै नयाँ भेरियन्ट सबै उमेर समूहमा उत्तिकै संक्रामक रहेको र पहिलेको भन्दा सिकिस्त बनाउन सक्ने क्षमता रहेको विज्ञहरुले सुझाएका छन् । भाइरसले आफ्नो संरचना बदलिसक्यो तर बिडम्बना हाम्रो आफ्नो र समाजप्रतिको स्वास्थ्य जिम्मेवारीमा परिवर्तन ल्याउन सकेका छैनौँ । हामीले गरेका ख्यालठट्टामा मुख्यतः हात धुने समय र विधिको प्रयोग नगर्नु, साबुनबाहेक पानीले मात्र हात पखालिदिनु, मास्क नलगाउने, लगाउनेहरुले सामान किन्दा, मान्छे भेट्दा÷ बोल्दा माक्सलाई हातमा, घाँटीमा अनि मुखलार्ई मात्र छोप्ने गरी लगाउने जस्ता काम आउँछन् । वर्ष २०७६/०७७ र २०७७/०७८ मा चलिरहेको अवस्थामा धेरै अन्तर छ । अस्पताल पुग्नुपर्ने अवस्थाका बिरामीको संख्यामा उल्लेखनीय वृद्धिसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको आवश्यकता पर्ने बिमारीको संख्या पनि बढ्दै छ । मृत्यु हुनेको आँकडाले पनि दिनहुँ नयाँ किर्तिमान राख्दै छ । यो अवस्थामा अन्य जटिल रोगका बिरामीले उपचार पाउन सकेका छैनन् । डायलाइसिस गर्नुपर्ने बिरामी पनि सेवाबाट बञ्चित छन् । अन्य बिरामीको अवस्था पनि दयनीय छ । शल्यक्रियाका लागि लाइनमा रहेको बिरामी रोग बोकेर बाँच्न अभिषप्त छ ।
सम्पूर्ण अस्पताललाई कोभिड अस्पताल बनाउँदापनि अस्पतालमा शैया र अक्सिजनसम्म पाउने अवस्था छैन । पहुँच र पैसाको आधारमा जीवन बचाउन सक्छु भन्ने अर्को एक वरिष्ठ समूहलाई पनि अहिले शक्तिले साथ दिएको छैन । हवाई उद्धार गरी राजधानी जानसक्ने अवस्था सिर्जना गर्ने र राजधानीमा उपचार पाउँछु भन्ने अवस्था अहिले छैन । त्यसैले हाम्रो स्वास्थ्य व्यवस्थाले धान्न नसकेको संक्रमण भारलाई कम गर्न सहयोग गरौँ । संक्रमण फैलने माध्यम आफू नबनौं, समस्या अनेक छन् तर सर्तकता शुन्यझँै छ । टेलिभिजन, सामाजिक सञ्जाल आदिमा कोभिडको समाचारमा आत्तिने तर सहरी क्षेत्रमा घरभित्रै पनि, ग्रामीण क्षेत्रमा घर बाहिर छिमेकमा रहँदा हामीले हाम्रा आचरण बदल्नु आवश्यक छ । अरुको घरमा पुगेपछि मास्क खोल्ने, हात नधुने, सामान्य शिष्टाचार पुगेन भने या उनीहरुले सामाजिक दूरी राख्न प्रयास गरे भने त्यो परिवारका बारेमा अनेक कुरा गर्ने, मान प्रतिष्ठामा आँच आउने अनेक शब्द प्रयोग गरिने अर्को अशिक्षित कदमले गर्दा सामाजिक प्रतिष्ठाको डरले पनि स्वास्थ्यका मापदण्ड पूरा गर्न नसकेको अवस्था छ । यसमा विशेष ध्यान दिनुपर्ने छ ।
सामाजिक सञ्जालमा फैलने अनेक भ्रम तथा नकरात्मक सोचको प्रभावले मानसिक रुपमा हामीमध्ये धेरैजना कोभिड–१९ सँग लड्न नसक्ने भैसकेका छौँ । सामाजिक सञ्जालमा लगभग सबैको पहुँच छ तर उचित प्रयोग भने शंकास्पद छ । कोभिडसम्बन्धी मृत्यु र अभावसम्बन्धी समाचार प्राथमिकतामा साझा गरिन्छ तर भैरहेका अभाव व्यवस्थानका प्रयासलाई अनि कोभिड पछिको शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्ने प्रयासलाई मान्यता नै दिइँदैन । जसले गर्दा संक्रमितको मनोबल खस्ने, अवहेलनाको डरले संक्रमण भएको कुरा नखुलाउने, सम्भव भएसम्म आफ्नो पेशामा संलग्न हुनेक्रम बढ्दो छ । जसको प्रतिफल नयाँ संक्रमित र मृत्यु दरले प्रष्ट्याएको छ । मान्छे बाहिर जस्तो देखिन्छ, मनस्थिति उस्तै नहुन सक्छ । अतः भ्रम र डर फैलाउनुअघि विचार गरौं । लकडाउन अवधिमा मनोवल उच्च राख्न, आफूलाई व्यस्त र तनावरहीत बनाउन गरिएका गतिविधिहरुलाई आलोचना हैन कि प्रोत्साहित गरौँ । सकिँदैन कम्तिमा आलोचना नगरौँ । सुझाव अनि सन्देश र उत्पे्ररणालाई सहजै नजरअन्दाज नगरौँ । भाइरस फैलन सक्ने निश्चित क्रियाकलाप जस्तो कि लकडाउनमा विहेभोज,पूजा इत्यादिको निमन्त्रणा गर्नु, स्वीकार्नुपूर्व अनि बधाई आदानप्रदान गर्ने समयमा यी आलोचकहरुको विवेकमा अवश्य पनि ताल्चा लागेको हुुनुपर्छ भन्ने सोचौं । आफूले केही गर्न सक्दैनौँ भने अरुको राम्रो काममा खेदो खन्ने काम बन्द गरौं । आफ्ना अनेक उल्लेखनीय मुर्खतापछि सरकार कमजोर रह्यो भनेर अनियन्त्रित महामारीका लागि सरकारलाई सम्पूर्ण रुपमा दोषारोपण गर्न पाइँदैन है ! सचेत बनौं, स्वस्थ रहौं, संयम बनौ, आफ्ना आचरण र सोचलाई समयमै परिवर्तन गरौं । नत्र प्रत्येक दिन थपिने मृतक संख्यामा यस्ता कयौँ मुर्खता, अज्ञानता र लाचारीपनाले साथ दिइरहेको हुनेछ ।
(शर्मा मेडिकल ल्याबोरेटरी टेक्नोलोजी स्नातक तहकी विद्यार्थी हुन् । )



