‘तिमी पारी त्यो गाउँमा चुलबुल चुलबुल गर्दै हिँडी राखेकी
म वारी यो गाउँमा आँखा तर्दै तिम्लाईनै हेरी राखेको
नशा लागिसकेछ व्यथा बनिसकेछ माया बसी सकेछ…’
पोखराबाट स्थापित ब्याण्ड कन्दराको यो गीत नसुन्ने कमै होलान् । अहिले ४० को वरपर रहेकाहरुदेखि बूढाबूढी अनि भर्खरका लोर्केहरुको रोजाइमा पर्छ यो गीत । लोकप्रिया कन्दराले सांगीतिक यात्राको क्रममा ब्याण्डले थुप्रै चुनौती पार गरेको छ। कन्दरासँगै जोडिने दुई पात्र हुन्–सुनिल थापा र विवेक श्रेष्ठ। यदि दुईमध्ये कुनै एकको कमी भएको भए ब्याण्डको स्थापना सायद नै हुन्थ्यो होला ।
‘तिमी पारी‘.’ गीत सुनिलले करेसाबारीमा रचेका थिए । त्यतिबेला उनको परिवार तेस्रापट्टी कल्पना फिल्म हल नजिकै बस्थ्यो । उनीहरुको होटल थियो । हल नजिकै भएकाले पनि थापालाई संगीतमा लाग्न प्रेरित ग¥यो । सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने थापा हलमा चल्ने फिल्मबाट प्रभावित थिए । फिल्मको कथाभन्दा गीतमा उनको ध्यान जान्थ्यो ।
फिल्मको ‘बे्रक टाइम’ मा हिन्दी चलचित्रका पुराना गीतहरु बज्थे । थापाको ध्यान त्यही गीतमा पथ्र्यो । गीत सुनेर होटलमा टेबल बजाउँथे । बजाउने सामग्रीको अभावमा उनले यसो गरेका हुन् । उनको बाध्यबादन बजाउने यात्राको सुरुवात नै टेबल, बिजुलीको खम्बाबाट भयो । पछि मात्रै उनले ड्रमसेट बजाउन थाले ।
त्यतिबेला पैसाको अभाव थियो । समाजले पनि संगीतलाई अहिलेजस्तो स्वीकारेको अवस्था थिएन । परिवारको हप्काइ खाँदै थापा संगीतमा लागे । भनिन्छ नि‘जब मनले ठान्छ तब अरु कसैको केही लाग्दैन’, त्यस्तै भयो थापाको जिन्दगीमा पनि ।
२०३२ साल कार्तिक ९ गते बुबा पदमबहादुर थापा क्षेत्री र आमा मायादेवी थापा क्षेत्रीको कोखबाट जन्मेका सुनिलको वास्तविक ठेगाना तित्याङ—७ बाग्लुङ हो । उनको जन्म पोखरानै भयो । त्यसैले सानैदेखि पोखरामै हुर्के, बढे र पढे । कम बोल्ने स्वभावका सुनिल अहिले मात्रै होइनन पहिलेदेखि नै हुन् । बाल्यकालमा सुुनिल चञ्चले भन्दापनि शालीन स्वभावका थिए ।
कक्षा ४ पढदादेखिनै सुनिल गीत लेख्थे । त्यतिबेला उनको गीतमा मार्मिकता भेटिन्थ्यो । कारण थियो परिवार । बुबा रक्सी पिउने । बुबाआमाको दैनिक जसो झगडाले उनी आजित हुन्थे । पीडाको साथी बन्थ्यो,आफ्नै शब्द । बजाउन उनले पछि मात्रै सुरु गरे। कक्षा ७ पढदा सुनिलले स्कुलका बेन्चडेस्क बजाउँथे। साथीहरुको तारिफ मिलेपछि उनले बजाउने कलालाई निरन्तरता दिँदै गए ।
साथीहरु सँग मिलेर ‘पिस ह्याङकी क्लब’ को स्थापना गरे । उनको संगीत यात्राको सुरुवाती औपचारिक शिक्षा जस्तो बन्यो, क्लब । क्लबले नाटक प्रदर्शनदेखि सांगीतिक सांस्कृतिक कार्यक्रमको आयोजना गथ्र्यो । सुनिल ड्रम बजाउने गर्थे । त्यति बेलासम्म कन्दराको स्थापना भइसकेको थिएन । दिनरात नभनी सुनिल लगायतको टीमले क्लबलाई माथि उठायो । पोखरासँगै पोखरा बाहिरबाट क्लबलाई कार्यक्रमको अफर आउन थाले । उनीहरुको टोली कार्यक्रमका लागि जहाँ पनि पुग्ने गथ्र्यो ।
सुनिल बाराही स्कुलमा अध्ययन गर्दैगर्दा क्लबको स्थापना भएको थियो । विस्तारै कल्बका सदस्यहरुमा फाटो आयो । सुनिलले क्लब छाडे । पछि बुद्ध गुभाजुको टोलीमा आबद्ध भए । कक्षा ८ मा पढदै गर्दा उनको भेट विवेक श्रेष्ठसँग भयो । विवेक स्कुलमा चञ्चले स्वभावका थिए । कक्षा कोठाको दोस्रो बेन्चमा सुनिल बस्थे भने अन्तिम बेन्चतिर विवेक । उनीहरुको कुराकानी कमै हुन्थ्यो । विवेक पहिलेदेखिनै गुनगुनाउने स्वभावका थिए । एकदिन विवेकले गाउँदै गरेको आवाज सुनिलको कानमा प¥यो । त्यसपछि सुनिल विवेकसँग नजिक हुने प्रयास गरे । संगीतका कारण उनीहरुको भेट भयो । सुनिल टेबल बजाउँथे विवेक गीत गाउँथे ।
‘लेखेपछि जुरेपछि कसैको केही लाग्दैन’, भने जस्तो सुनिल विवेक एकै ठाउँमा आबद्ध भएर काम गर्न थाले । ‘चण्चले कान्छी‘’ एल्बमको रेकर्डिङको कामहरु चलिरहेको थियो । गायक बुद्ध गुबाजु थिए । रेकर्ड भएपछि आफैले सुन्दा ब्याण्डका मेम्बरलाई चित्त बुझेन । बुद्ध रक गीत गाउँथे । उनलाई लोकपप ‘म्याच’ गर्थेन । त्यसपछि लोकपप गीतमा विवेकको इन्ट्री भयो । ‘चन्चले कान्छी‘’ का सबै गीत विवेकले गाए । एल्बममा ब्याण्डको नाम राखियो कन्दरा । चन्चले कान्छीमा ८ वटा गीत समावेश गरिएको थियो । सबै गीतलाई रुचाइयो । नेपालका गाउँ शहर देखि कुना कन्दरासम्म गीत घन्किन थाले । चन्चले कान्छी २०५१ सालमा रिलिज भएको थियो ।
लोक शैलीका गीत भएकाले ब्याण्डको नाम पनि टिपिकल राखिएको सुनिलले बताए। ‘कन्दरा नाम जन्मेपछि मात्रै चन्चले कान्छी एल्बम आएको हो’,उनले भने । त्यसपछि कन्दराले ‘डाँडापारी‘’ २०५३ मा ल्यायो । उक्त एल्बमले कन्दरालाई शिखरमै पु¥याएको सुनिल सम्झन्छन् । कन्दराको चर्चासँगै गीतसंगीत पनि एकपछि अर्को चर्चामा आउन थाले । २०५५ सालमा कन्दराले ‘हङकङ पोखरा’ सार्वजनिक ग¥यो । सो गीतलाई रुचाउनेको जमात बाक्लै थियो । कन्दराका सबै गीतमा सुनिल थापाको संगीत हुन्थ्यो । अहिले पनि उनले नै संगीत भर्छन् ।
२०६१÷०६२ मा कन्दराको ‘वर्षौँपछि’ र त्यसपछि भेडीगोठमा लगायतका एल्बम बजारमा आए । लोकपपशैलीमा कन्दराले पाँच वटा एल्बमको पार गर्दै यहाँसम्म आइपुगेको छ । बीचमा स्थापित भएका धेरै ब्याण्डहरु टुक्रिने फुट्ने क्रम भइराखे तर कन्दरा अझै स्थिर छ । कन्दराको लामो यात्रामा साथीहरुको विश्वास आफूले पाएको सुनिल बताउँछन् । सुनिल कन्दराका मेरुदण्ड हुन् भन्दा फरक नपर्ला । यो कुरामा गायक विवेक श्रेष्ठसमेत सहमत छन् । सुनिल कन्दराको खम्बा भएको उनले यसअघि विभिन्न सञ्चारमाध्यममा कुराकानी गर्ने क्रममा बताएका छन् । सुनिलको शालिनता, अनुशासन र लगावले कन्दरा कन्दरा भएको उल्लेख गरिन्छ ।
तत्कालीन समयको सांगीतिक क्षेत्र र अहिलेको सांगीतिक क्षेत्रमा सुनिल निरन्तरताको अभाव भएको पाउँछन् । भन्छन्,‘हामी सँगीतमा प्रवेश गर्दा जुन खालको डेडिकेशन थियो, त्यो अहिले छैन । पहिला हामी महिनाँैसम्म अभ्यास गथ्र्यौँ । गीतसंगीतसम्बन्धी पीर चिन्ता लाग्थ्यो । त्यतिखेर प्रकृतिबाट समेत संगीतमा लाग्न प्रेरित बनिन्थ्यो । अहिले त्यस्तो प्राकृतिक अवस्था पाउन गाह्रो छ । पोखरामा खाली ठाउँ छैन । प्रकृतिको सुगन्ध लिँदै कम्पोजिसन गर्न गाह्रो छ । अहिलेका कलाकारमा डेडिकेशन छैन । क्षणिक समयमा चर्चा हुने हुटहुटी छ । लगाव, साधनाको कमीले सांगीतिक क्षेत्रनै धरापमा पर्ने स्थितिको सिर्जना भएको छ। गीतसँगीतमा मौलिकतालाई बिर्सिएका छौं ।’
सुनिलका अनुसार अहिले मान्छे प्रकृतिसँग टाढा हुँदै गएका छन् । मान्छेले जराबाट आएको हो, त्यो चिजलाई बिर्सिएर माथि पलाएका कुराहरुमा लाग्दा समस्या आएको र कालजयी गीत नजन्मेको उनको जिकिर छ ।
सुनिल पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हुन् । उनले हालसम्म भारत, हङकङ, कतार, कोरिया, अष्ट्रेलिया, जापान, अमेरिका, दुबई, आबुदाबीलगायतका देशहरुमा साँगीतिक भ्रमण गरेका छन् । डाँडापारी(२०५३÷०५४),हङकङ पोखरा(२०५५÷०५६),बर्सौँपछि (२०६३),भेंडी गोठैमा(२०७३) लगायतका गीत कन्दराका लागि सुनिलले सिर्जना गरेका हुन् ।यस्तै गीतकार स्वर्गीय वसन्ती लालचनका एल्बम सपनाको गाउँ(२०६२) र सुनिता गुरुङको एल्बम प्रणाम (२०७०) मा सुनिलले काम गरेका छन् । बालगीत ‘बाल बगैंचा’ एल्बममा समेत उनको सिर्जनालाई सुन्न सकिन्छ ।
पोखरा म्युजिक अवार्ड २०६१ मा उत्कृष्ट संगीतकार, २०५४ सालमा प्रथम हिट्स एफएम अवार्ड, २०६४ मा प्रथम अन्नपूर्ण म्युजिक अवार्डमा उत्कृष्ट गीतको अवार्ड, सम्पदा सांगीतिक अवार्ड २०६५, संगीत प्रतिभा सम्मान २०६५, सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७१,मेलोडी अवार्डलगायतका संगीत सम्मानबाट सुनिल सम्मानित भइसकेका छन् ।
लामो समयसम्म सुनिल पोखराको ओपन हाउसमा आबद्ध भई काम गरे । गोरखा बोर्डिङ स्कुल दिप हाइट, पोखरा पब्लिक स्कुल चाउथे, श्री विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कूललगायतका शैक्षिक संस्थाहरुमासमेत उनको आवद्धता छ ।
संगीतबाट नै सुनिलको जोडी जुर्यो। दार्जलिङमा उनले सम्बन्ध गास्न पुगे। उसो त नेपाली गीतसंगीतको क्षेत्रमा दार्जिलिङको इतिहासले अर्थ राख्छ । गायिका अजुदा थापासँग सुनिलको प्रेम विवाह भयो । सुनिल अजुदाको एक छोरा एक छोरी छन् ।
सानो अनि सुखी परिवार संगीतमै रमाइरहेको छ । सुनिल नयाँ पिँढीलाई संगीतमा बुझेर आउन सुझाउँछन् । अहिले संगीतमा बाच्न सक्ने आधार प्रसस्तै छन् । हावादारीमा आउनभन्दा केही संगीत शिक्षा लिएर आउन उनको आग्रह छ ।
मोफसलको कलाकार र केन्द्रीय कलाकारमा हुने राष्ट्रिय कलाकारको विवादका विषयमा सुनिल भन्छन्,‘कलाकार कलाकार हो। यसमा मोफसल र केन्द्रिय भनेर भिन्नता गर्नुहुँदैन । काठमाडौंमा फुलेको फूल गुलाब हुने,मोफसलमा फुलेको त्यही फूल धतुरो हुन्छ र ? त्यहाँ फुलेको गुलाबमा सुगन्ध हुने मोफसलमा फुलेको गुलाबमा दुर्गन्ध हुन्छ र ? पोखराबाट धेरै कलाकारले आफुलाई नेपाली गीतसंगीतको क्षेत्रमा अब्बल रुपमा स्थापित गराएका छन्।त्यसैले कलाकारमा सिण्डीकेट लगाउनु हुँदैन ।’





