शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नयाँ बाटोपछि मेटिएको पाइला !

नयाँ बाटोपछि मेटिएको पाइला !


  • संजय रेग्मी
  • भाद्र १ २०७८, मंगलबार

पर्वत / सुका पैसा तिरेपछि एक कप चिया पाइने, होटेल व्यवसायीले पनि दिनभरमा ३ सय रुपैयाँ पार्न सके भने के के नै ठूलो कुरा भएको अनुभूति । बिहान ३ बजेबाट राति १० बजेसम्म सडकभरि मान्छेको चहलपहल ।
जिल्लामा जाने प्रमुख जिल्ला अधिकारी, गाउँका साहु र हुनेखानेहरू घोडामा सवार । मजदुरी गरेर परिवार पाल्नेहरूको पिठ्यूँमा डोकोभरिको सामान । डोको बोकेर हिँड्दा हिँड्दै रात परे त्यही डोको बिसाएको ठाउँमै सुत्ने, कोही छिटो पुगेकाहरू ठाँटीमा र खल्तीमा केही पैसा भएकाहरूको होटलमा बास ।

यो अवस्था आजको भने होइन । करिब ५० वर्षअघि पर्वतको फलेवास नगरपालिका१ कार्कीनेटाको वास्तविकता हो यो । जति बेला पर्वतमा कुनै पनि सडकहरू खनिएका थिएनन् । रुपन्देहीको बुटवलबाट स्याङ्जाको सेती दोभान हुँदै सामानहरु आयात गरिन्थ्यो । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा दैनिक उपभोग्य देखि निर्माण सामग्रीहरू पु¥याउनको लागि प्रयोग हुने मुख्य नाका नै पर्वतको कार्कीनेटा रहेको त्यतीबेलाका जानकारहरू बताउँछन् ।
अहिले सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी लक्ष्मी कुमारी खत्री उमेरले ८६ वर्ष पुगिन। त्यो बेलाको कार्कीनेटाको इतिहास जानेकी उनी पनि एक हुन्। २०२७ सालतिर उनले कार्कीनेटामै होटेल व्यवसायसमेत गरेकी थिइन् । त्यो बेलाको व्यापार र सुविधालाई भोगेकी उनले अहिलेको ‘आधुनिक’ पर्वतलाई विश्वासै गर्न सक्दिनन् ।

‘त्यो बेलाको कुरा सुनाउने हो भने अहिलेका नयाँ जन्मेकालाई पत्याउनै कठिन हुन्छ। एक रुपैयाँ भयो भने त टन्न खान पाइन्थ्यो। लगाउने लुगा हुँदैनथे। बुटवलबाट पिठ्यूँमा भारी बोकेर बागलुङको ढोरपाटनसम्म हिँडेका मान्छेहरूलाई मैले भोगें,’ खत्री भन्छिन्, ‘एउटै भारी बोकेर ठाउँमा लैजान एक हप्ताभन्दा बढी लाग्थ्यो। डोको बोकेर हिँड्दै जाने जहाँ पुग्दा रात पर्छ त्यहीं बस्ने गर्थे। ठाँटी भएको ठाउँमा पुगे त्यही ठाँटीमा नत्र यसो रुखमुनि भारी बिसाउने, त्यही भारीको छेउमा निदाएर बिहानै ३बजे फेरि भारी बोकेर हिँड्थे।’

लक्ष्मीका अनुसार त्यो बेलामा पूर्वका जिल्लाहरूबाट भारी बोकेर आउने भरियाहरू बढी हुन्थे । चिनी, चियापत्ति, नुन, तेल लगायतका सबै सामानहरू बोकेका हुन्थे । जब वर्षा हुन्थ्यो बाटो चिप्लो हुन्थ्यो । तर, उनीहरू झनै हौसिन्थे । किनकि वर्षा हुँदा खोला बढ्थे, खोला बढेपछि उनीहरूको पारिश्रमिक पनि बढ्ने रहेछ । जिल्लाका सबैभन्दा प्रमुख व्यापारिक नाकाका रूपमा रहेको कार्कीनेटा दैनिक सयौँको संख्यामा मानिसहरू हिँड्ने गरेको उनको सम्झनामा छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको पुरानो घर नै हालको पर्वत सदरमुकाम कुश्मा बजार रहेको ठाउँमा हो । त्यो बेलाको अवस्थाका जानकार उनलाई बाटो पार गर्न नसक्दाको अवस्थाबारे धेरै सम्झना आउँछ ।
‘हामीले पढ्दै आएका हौं कि मानवीय सभ्यताहरू नदी छेउछाउबाट सुरु भएका छन् । विस्तारै मान्छेहरू छिरलिएर बस्न थाले । सडक र अरू सुविधा थिएनन् । पश्चिमसम्म पुग्नका लागि पर्वत सबैभन्दा बढी प्रयोग हुने एउटा नाका हो । कोही गुल्मीबाट पनि जान्थे । पोखरा–बागलुङ सडक हुनु अगाडि कुश्मा यति व्यस्त थियो की हजारौं खच्चरहरू एकै दिनमा हिँडिरहेका हुन्थे,’ त्यो बेलाको अवस्थाबारे सम्झँदै उनले भने,‘सडक पार गर्न नै पाइन्थेन । मान्छेले पनि खच्चडहरू जस्तै सकी नसकी भारी बोकेर हिँडेको देखिन्थ्यो ।’

बाटोभरि थामिनसक्नु खच्चडको भिड छिचोल्दै आफू स्कुलसम्म पुगेकोसम्झना जोशीलाई ताजै छ । ‘घर नजिकैको स्कुल पुग्न पनि छिटै निस्किनुपथ्र्यो । अहिले काठमाडौँ गाडीका कारण बाटो काट्न मुस्किल भए भन्दा बढी कुश्माको बाटो काट्न मुस्किल थियो । खच्चडको लाइनबीचमा पसे कुल्चिने खतरा !’ उनी सम्झन्छन् ।

तर, विकासको क्रमसँगै विगतहरू इतिहास बन्ने निश्चित भएको नेता जोशी बताउँछन् । उनका अनुसार पहिलो पटक पोखरा– बागलुङ सडक बनेपछि भने सवारी साधनमा ओसारपसार र यात्रा हुन थाल्यो । नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्न थाले ।

कार्कीनेटाको चहलपहल बिस्तारै कम हुँदै जान थाल्यो । विकासको क्रमसँगै गाउँ गाउँमा सडकहरू खनिन थाले । सडकका कारण बजार बन्न थाल्यो र मानिसहरू गाउँ छाडेर बजारमा सर्न थाले । जसका कारण ऐतिहासिक नाका र पुराना बजारहरूको मुहार अहिले देख्न पाइँदैन ।

‘व्यापारका लागि बजार झरेकाहरूलाई पनि अब गाउँमा जाने वातावरण बनाउनुपर्छ । गाउँका सभ्यता र परम्पराहरू हराउँदै गएकाले हाम्रा संस्कार र संस्कृतिहरू नै लोप हुने खतरामा छन् । बजारलाई विकेन्द्रित गरिएमा सुनसान बनेका गाउँहरू हराभरा हुन्छन् । विकेन्द्रीकरण त संघीयताको आधार नै हो ।’

पुराना बजार र नाकाहरू नयाँ सडकपछि सुनसान बनेकाले सरकारले अब गाउँलाई पनि बजार जस्तै सुविधायुक्त बनाउन लाग्नुपर्ने नेता जोशीको भनाइछ । ‘व्यापारका लागि बजार झरेकाहरूलाई पनि अब गाउँमा जाने वातावरण बनाउनुपर्छ । गाउँका सभ्यता र परम्पराहरू हराउँदै गएकाले हाम्रा संस्कार र संस्कृतिहरू नै लोप हुने खतरामा छन्,’ जोशी भन्छन्, ‘बजारलाई विकेन्द्रित गरिएमा सुनसान बनेका गाउँहरू हराभरा हुन्छन् । बाँझा छाडिएका जग्गाहरूमा खेती हुन्छ । बजारले नै सबै थोक दिँदैन । विकेन्द्रीकरण त संघीयताको आधार नै हो ।’

कार्कीनेटा र कुश्मा जस्तै झनै बढी चलेको नाका र बजार भनेको अहिलेको महाशिला गाउँपालिका५ लुखुँको लुँखुदेउराली बजार हो । त्यो बेलामा देउराली बजारको नामले चिनिने लुँखुबाट दक्षिण पर्वतका सबै क्षेत्र सहित स्याङ्जाको केही भाग समेत लाभान्वित थियो ।

महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैंका अनुसार अहिलेको बुटवललाई त्यतीबेला बट्यौली भनिन्थ्यो जहाँ पुगेर सामानहरू ल्याउन ९÷१० दिन लाग्थ्यो । यताबाट जानेहरूले घ्यू र मह लिएर जान्थे । पैसा खासै नहुने त्यो बेलामा बट्यौली पुगेपछि घ्यू र महसँग आफूलाई आवश्यक पर्ने वस्तु विनिमय गरिन्थ्यो ।
मोटरबाटो समेत देख्न नपाइएको त्यो बेलामा सूचना प्रविधिको विकास त परैको कुरा ! गाउँबाट बटौली (बुटवल) हिँडेका मान्छे बाटैमा बिरामी परेमा वा समस्या भएमा कुनै खबर पनि हुँदैनथ्यो । तर, ढुक्कको कुरा त यो थियो कि बाटोमा सयौं जना भारी बोकेर हिँडिरहेका भेटिन्थे ।

२०४६ को परिवर्तनपछि जब सिद्धार्थ राजमार्ग बन्यो त्यसपछि भने अवस्था केही सजिलो भयो । सावरीबाट सामग्री ओसार्ने सुविधा भित्रिएपछि स्याङ्जाको अर्जुनचौपारी व्यापारिक केन्द्र बन्यो, बुटवल जानुपर्ने बाध्यता हट्यो । बुटवलको व्यापार अर्जुनचौपारीमा सरेपछि ५० वर्ष अगाडिको बाध्यता हट्यो ।

प्रवक्ता उचैंले आफूसमेत दुई पटकसम्म नुन बोक्नका लागि बुबाको साथमा स्याङ्जा गएको संस्मरण सुनाउँछन् । ‘महाशिलाबाट मेरो बुबा सँगसँगै म पनि हिँडेर अर्जुनचौपारी पुगेको छु । करिब ४९ साल तिरको कुरा हो। बुबासँगै गएर फर्किने बेलामा एक पाथी नुन बोकेर फर्केको छु,’ भन्छन्, ‘कटुसघारीको वनमा भात पकाएर खाइयो । बिहान गएर बेलुका फर्किने अवस्था थियो । त्यो बेलामा पनि बाटैभरि भरियाहरू हिँडिरहेको देख्थें । हाम्रो गाउँमा लाहुरेहरू धेरै थिए । लाहुरेको भरिया बन्नेहरुको मज्जा नै बेग्लै थियो रे । लाहुरेले अलि धेरै पैसा दिन्थे भारी बोकिदिएको ।’

अर्जुनचौपारी नजिक भएका कारण अलिकति पैसा भएका मान्छेहरू पनि सामान खरिदका लागि जान थाले, उनीहरूले गाउँमै व्यापार गर्न थाले । बटौली र स्याङ्जा जानुपर्ने बाध्यता हट्दै गयो । व्यापारीहरूको आर्थिक स्तर माथि हुँदै गयो गाउँलेहरूलाई पनि सजिलो भयो ।
अर्जुनचौपारीबाट र बुटवलबाट आएका सबै सामान दक्षिणको प्रवेशद्वारको रूपमा चिनिने लुँखुको देउराली बजारमा सामान जम्मा हुन्थ्यो । त्यो बेलामा देउरालीमा करिब ५०, ६० ओटा पसलहरू थिए, जहाँ आवश्यक सबै थोक पाइन्थ्यो ।
त्यसपछि भने विस्तारै जिल्लाको मुहार फेरिँदै जान थाल्यो । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत् आदिको सुविधा बढ्दै गयो । सुविधा बढेर त केही भएको थिएन । तर, जब यातायातको सुविधाका लागि जिल्ला हुँदै क्षेत्र, गाउँ र टोलसम्म नै सडक बने तब सवारी चल्ने सडकहरू नै पैदल यात्रीलाई सजिला हुन थाले ।

नेता अर्जुनप्रसाद जोशीले भनेजस्तै नदीको छेउमा मानव सभ्यता र सडकका छेउमा व्यापार सभ्यता सुरु भयो । पुराना बजार र नाका कतिपयलाई नयाँ सडकहरूले छोए त कतिपय भने छलिए । नयाँ मोटर बाटाहरू खनिए पनि जहाँ जहाँ पुराना बजारहरूलाई छोएर गएको छ त्यो ठाउँमा भने परम्परागत बजारको ठाउँमा झनै विकसित र आधुनिक बजार स्थापित भएका छन् । तर, जुन नाका र बजारमा सडकले छुन सकेन ती बजारहरू विस्थापित भएका छन् । केही मात्रामा अवशेष मात्र देख्न सकिने महाशिलाका प्रवक्ता उचैको भनाइछ ।

‘गाउँमा रहेका साना साना पसल गर्दा गर्दै व्यापारीहरुले व्यापार गर्न सिके । तरिका जानेपछि उनीहरूलाई गाउँमा बस्न किन लाग्थ्यो र ? आफूमा भएको सप्लाई ठूला सहरमा लगाउन सके आम्दानी पनि ठुलै हुने भयो,’ उनले भने, ‘बटुवाका कारण चिया खाजा पसल सबै राम्रोसँग चलेका भए पनि तिनै विस्तारै भरिया र बटुवाहरू पनि हराउन थाले ।’
अहिले टोल टोलमा सवारी पुगेका छन् । मार्केटिङका गाडीहरू होम डेलिभरी गर्दै घर घरमा सामानहरू बोकेर पुग्ने गरेको उचैं सुनाउँछन् । भन्छन्, ‘गाउँमा भएका बजार जोखिममा त थिए नै अब बजारको प्रतिस्पर्धाको कारण तिनीहरू नचल्ने अवस्थामा पुगेका छन् ।’
तत्कालीन समयका धेरै बजारहरू लोपोन्मुख रहेका र तीमध्ये पनि घण्टेदेउराली र लुँखुदेउरालीका बजारको सभ्यता नै लोप हुने अवस्थामा पुगेको उचै बताउँछन् । कार्कीनेटा बजार हुँदै सडक सुविधा पुगेका कारण त्यहाँको बजार बाँचिरहेको भए पनि घण्टे र लुँखुका बजारको भने अवशेष मात्र बाँकी रहेको उनको भनाइछ । मोटरबाटोले नयाँ बजार केन्द्रहरू स्थापित भए भने नाकाका बजारहरु विस्थापित हुँदै गए ।
वर्षौँ पहिलेका त्यस्ता व्यापारिक केन्द्रहरूलाई किनमेलको बजारका रूपमा स्थापित गर्न नसके पनि पर्यटकीय बजारको रूपमा विकास गरेर स्थानीय नागरिकको जीवनस्तरलाई माथि उठाउने प्रयास सफल हुन सक्ने जीवन विक्रम बताउँछन् ।
पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले घण्टे र लुंखुजस्तै देशका अन्य जिल्लामा रहेका त्यस्ता परम्परागत र मौलिक बजारको संरक्षण गरी पर्यटकीय बजारमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका थिए ।परम्परागत बजारहरूलाई पुनस्थापना गर्न सम्व छैन । किनकि खुला बजार र यातायातको सुविधाका कारण हराउँदै गएका व्यापारिक नाकाको बारेमा त माथि नै चर्चा भयो । अब भने तीनै तहका सरकारहरुले पूर्व सचिव थापाको सुझाव जस्तै गरी मौलिक, परम्परागत, सांस्कृतिक र ऐतिहासिक बजारहरूलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापना गरेर तिनीहरूको प्रचारप्रसार कुनै कसर बाँकी राख्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->