रंगमञ्चलाई चलायमान बनाउन नियमित गतिविधि नै हो । गतिविधि नै नभए यहाँ किन आउने भन्ने हुन्छ । थिएटर बनेपछि यो अभिनय भनेको पढ्नपर्ने सिक्न पर्ने कुरा रहेछ भन्ने देखिएको छ । अब पोखरामा भएका कलाकारले राष्ट्रियस्तरमा अब काम गर्न सक्ने भइसकेका छन् ।
नेपाली नाट्याकासमा पोखराले प्रभावशाली उपस्थित जनाएपनि व्यावसायिक रुपमा नाटक घर एउटामात्रै छ । जुन, पोखरामा रंगकर्मीलाई व्यावसायिक हिसाबले अघि बढाउनका २०७३ सालमा मात्रै स्थापना भएको हो । जसको नाम हो, पोखरा थियटर । २०७४ साल फागुनमा पहिलो पटक शिरुमारानी नामक नाटक मञ्चनसँगै थियटर औपचारिक रुपमा सञ्चालनमा आयो । थियटरले सुस्त भएको पोखराको नाटकलाई फेरि लयमा ल्याउने प्रयत्न गर्दागर्दै फेरि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको लकडाउन चापमा प¥यो । सञ्चालनमा आएको २ वर्ष पुग नपुग हुँदै कोरोनाका कारण सबै क्षेत्र ठप्प बने । अहिले महामारी केही मत्थर भएको मौकामा थियटर फेरि उठ्ने तर्खरमा छ । रंगमञ्चलाई कोरोना प्रभाव र आगामी यात्राबारे थिएटरका संस्थापक अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तन कार्कीसँग ढोरपाटनकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश :
कोरोना महामारीले रंगमञ्चमा कस्तो प्रभाव पा¥यो ?
कोरोनाले अलिअलि हिँड्न लागेको अवस्थामा दुर्घटना गराइदियो । सानै बच्चाको कल्पना गरौं न – जन्मन्छ, हुर्कन्छ र विस्तारै स्कुल जाने उमेरको हुन्छ तब दर्घटनामा पर्छ । अहिले त्यस्तै अवस्थामा पुगेका छौं । फेरि हामीलाई ०७४ पूर्व नै फर्काएको जस्तो महसुस भएको छ ।
महामारीका कारण संघर्षको यो चरणमा नाट्यकर्मी साथीहरु पनि सबै पलायन हुने हो कि भन्ने लागेको थियो । वास्तवमा कोभिडकाल हामीलाई अभावमा एउटा संघर्षमा लगेको छ ।
थियटर निमार्ण भएपश्चात कति नाटक मञ्चन भए ?
लगभग ५ दर्जनको आसपास प्रदर्शन भए । एउटा अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना ग¥यौं । राष्ट्रिय नाटक महोत्सव र विद्यालय नाटक महोत्सव पनि ग¥यौं । सुरुमा महानगरस्तरीय गरेका थियौं । अब प्रदेशस्तरमा लागेका छौं, त्यो गरेर ६० वटा जति मञ्चन भयो ।
डेढ वर्ष अघिसम्म नियमित नाटक मञ्चन भइराखेको थियो । यसलाई सांस्कृतिक हबका रुपमा समेत विकास गर्ने इच्छा हो । त्यो अनुसार हरेक शनिबार हामीले सुरसाधना पनि गर्छौं । सिनेमा समीक्षा पनि यहाँ गर्छौं ।
कोरोना महामारी काल कस्तो रह्यो ?
सुरुका ४–५ महिना केही पनि गर्न सक्ने अवस्थामा नै थिएनौं । जतिबेला विश्व नै त्रासमा बसेको थियो । घरमै स्वअध्ययन गर्दै बस्यौं ।
त्यसपछि भने हामीले देशभरका रंगमञ्च कलाकारहरुको भर्चुअल बैठक बस्यौं रंगमञ्चका बारेमा सरकारलाई जानकारी दिने हिसाबले प्रयास ग¥यौं । संगीत तथा नाट्य प्रशिक्षण प्रतिष्ठानमा प्रपोजल नै लगेका थियौं । केही न केहि राहत कार्यक्रम वा देशभरका रंगमञ्चकर्मी बिच छलफल गरौं भनियो । तर, सफल भने हुन सकेन ।
पोखरा थियटरले व्यक्तिगत रुपमा भर्चुअल कार्यक्रमार्फत नै रंगकर्मीलाई एक बनाउने काम गरेको हो । हामीलाई सुरुआतदेखि नै आर्थिक र भौतिक रुपमै अभाव झेल्दै आएका हौं । पहिलो चरणमा त्यति ठूलो केही गर्न सकेनौ । रंगकर्मीलाई जुटाउन बिहानी समयमा अभ्यास गर्न भने थाल्यौं ।
पहिलो र दोस्रो चरणका बीचमा हामीले विद्यालय नाटक महोत्सवको आयोजना ग¥यौं । हामीसँग राहत दिनसक्ने परिस्थितिसमेत थिए । त्यसपछि सबैलाई छलफलमा ल्याएर अहिले एउटा नाटक मञ्चनको तयारी भइरहेको छ । समग्रमा हामी अभावमै गुज्रियौं ।
थियटर भनेको रंगमञ्चका लागि मात्रै त होइन होला !
इक्ज्याक्टली ! हामीले एउटा वातावरण तयार गर्ने हो । यहाँबाट सय जना कलाकार उत्पादन भए । तर, त्यसलाई जोगाइ राख्न पनि हम्मेहम्मे पर्दछ । सय जनामा १० जनाले मात्रै इनिसेसन लिएर काम गर्ने हो भने अर्को नयाँ कार्यको थलानी हुन्छ ।
रंगकर्मीहरु पनि रचनात्मक जन्मनु प¥यो । उनीहरु थियटरको मात्रै भर पर्ने होइन कि आफूहरुले पनि निर्देशन गरेरै ल्याउन सकोस् । हिजो पोखरामा नाटक घर थिएन । आज नाटक घर छ । यहाँ नाटक मात्रै देखाउने होइन ।
विभिन्न समीक्षा, छलफल तथा अभ्यास समेत गर्न सक्छौं । यो नाटकका लागिमात्रै होइन भन्ने सबैले बुझ्न पनि जरुरी छ । रंगमञ्च बाहेक वाङ्मयका काम गर्नेपनि हो ।
आफैं रंगकर्मी भएका नाताले थियटर हुनु र नहुनमा के अन्तर पाउनु भयो ?
धेरै अन्तर छ । किनकी पहिला हामी सडकमा नाटक देखाउन बाध्य थियौं । अब सडकमा जान पर्दैन । हामीले एउटा मञ्च पाएका छौं । अब व्यवसायिकतातर्फ अघि बढ्न सक्छौं ।
थिएटर बनेपछि चाहिँ यो अभिनय भनेको पढ्नपर्ने सिक्न पर्ने कुरा रहेछ भन्ने देखिएको छ । अब पोखरामा भएका कलाकारले राष्ट्रिय स्तरमा अब काम गर्न सक्ने भइसकेका छन् । काम गर्नलाई सहज भएको छ । हिजोका जस्ता कुनै ठाउँमा गएर ठाउँ बनाउन पर्नेजस्तो बाध्यता बाट मुक्त भएका छौं । अर्कातिर यहाँबाट पनि केही गर्न सकिन्छ भन्ने कुराको विकास भएको छ ।
पोखरा र समग्र गण्डकी प्रदेशमा रंगमञ्चको अवस्था कस्तो छ ? अबको आवश्यकता के ?
अब पोखराको कुरा गर्दा नाटक घर निमार्ण भएको छ । जहाँ नियमितजसो नाटक भएकै थियो । यो बन्नुअघि नाट्यकर्म थियो । तर, रंगमञ्च भने थिएन । गण्डकी प्रदेशमा चाहिँ एकदुई जिल्लामा नाटक घर बन्ने तयारीमा जुटेको छ त्यो बाहेक छैन ।
अब गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान र पोखरा थियटर मिलेर प्रदेशका अन्य जिल्लामा नाटक लैजाने कुरा भएको छ । पोखरामा छ यो बाहेक अन्य जिल्लामा पनि पु¥याउने मेरो पनि उदेश्य हो । अबको आवश्यकता भनेकै रंगमञ्चलाई हरेक समुदायमा पु¥याउनु नै हो । मुग्लिनबाहेक यता नाटकको चाप न्यून छ ।
रंगमञ्चलाई चलायमान बनाउन के गर्न पर्छ ?
रंगमञ्चलाई चलायमान बनाउन नियमित गतिविधि नै हो । गतिविधि नै नभए यहाँ किन आउने भन्ने हुन्छ । त्यसैलेपनि दैनिक गतिविधि हुन आवश्यक छ । अबको सन्दर्भमा पोखरा थियटरले मात्रै गर्नपर्छ भन्ने छैन । पोखरामा लोकप्रियता छ तर यसलाई चलायमान बनाउन आवश्यक छ ।
राज्यको सहयोग कस्तो छ ?
राज्यको सहयोग सन्तुष्टि गर्न लायक छैन । तर, गण्डकी प्रदेशले केहि कार्यक्रमहरु गर्दा सहयोग त पाएका छौं । देश अनुसारको भेष भनेजस्तै हो । फेरि हामीमा पनि सबै राज्यले नै गरिदिए हुन्थ्यो भनेजस्तो हुन्छ । तर, मैले त्यो सोचिनँ आफ्नै लगानीमा अगाडि बढाएँ ।
अहिले प्रदेश र महानगर दुबैले एकेडेमी समेत बनाएको छ । त्यो भनेको राम्रो पक्ष हो । गण्डकी प्रदेशले बनाएको नाट्य विद्याको प्राज्ञपनि नियुक्ति छैन त्यो हिसाबले त्यहाँ चुकेको छ । महानगरमा त म कतिपटक गएपनि कहिले काहीं त माग्न गए जस्तै हुने । मेरो चासो के हो भने स्मार्ट सिटीमा रंगमञ्च हुनुपर्दछ भन्ने नै हो ।
फिल्मी क्षेत्र र रंगमञ्चमा के फरक छ ?
यो मिडियमको कुरा हुन्छ । रंगमञ्चमा भनेको प्रत्यक्ष मिडियम हो । त्यो (फिल्मी) एउटा क्यामेरा मिडियम हो । पहिला रंगमञ्बाट सिनेमामा जाने चलन थियो । अहिले क्यामेराबाट रंगमञ्चमा आउनेको संख्या बढेको छ । हामीले यहाँ धेरै कुराको एक्सप्लोर गर्न सक्छौ र सिनेमा भन्दा सानो बजेटमा बनाउन सक्छौँ । मिडियमगत कुरामा फरक भएपनि कलागत दृष्टिकोणमा चाहि एकै हुन् ।
अन्त्यमा दर्शकलाई के भन्न चाहानुहुन्छ ?
लामो समय पछि हामी कर्ममा फर्किएका छौँ । हामी फर्किनु भनेको दर्शक फर्किनु हो । अब कोभिडको बेलामा दर्शकले पनि धेरै मानसिक र शारीरिक रुपकम सफर गरिरहनु भएको छ त्यो हिसाबले पनि अब मनोरञ्जनका लागि आउनुहोला !





