बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पामे फिल्म फेस्टिभलमा शुरु

पामे फिल्म फेस्टिभलमा शुरु


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

पोखरा/फिल्म लेखक तथा निर्देशक मोहन राई २० वर्षकै उमेरमा फिचर फिल्म निर्देशन गर्न चाहन्थे । यसका लागि १८ बर्ष उमेर नपुग्दै उनी झापाबाट काठमाडौं हानिए । काठमाडौं उनले सोचे जस्तो सजिलो थिएन । काठमाडौं गएको झण्डै २० वर्षपछि मात्र फिचर फिल्म निर्देशन गर्न सके ।
देशका कुनाकाप्चाबाट विभिन्न सपना बोकेर काठमाडौं हानिएका आफु जस्तै आम युवाको हविगत उनले पहिलो फिचर फिल्म ‘महानगर’मा उतार्ने प्रयास गरेका छन् । जुन फिल्म पोखरामा सोमबार शुरु भएको पाँचौ ‘पामे फिल्म फेस्टिभल’मा नेपाल प्रिमियर गरियो ।
यसअघि यो फिल्म पहिलो पटक सन् २०२१ जनवरीमा ‘कलकत्ता इन्टरनेशनल फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर गरिएको थियो । त्यसपछि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल र स्पेनमा एसियन फिल्म फेस्टिभलमा पनि महानगर प्रदर्शन गरिएको निर्देशक राइले बताए ।
महानगर फिल्म बनाउनुअघि राइले तेस्रो लिङ्गीका कथा भन्ने ‘अन्जली’, माओवादी द्धन्द्धकालमा आधारित ‘सखी’ लगायत डकुमेन्ट्री बनाएका थिए । पहिलो फिल्म बनाउँदा भने शहर पसेका गाउँले युवा–युवतीका कथा देखाउन चाहेको उनले बताए ।
‘फिल्म महानगरमा मैले सपना बोकेर शहर पसेका गाउँले युवाहरुको वास्तविक कथा भन्न खोजेको छु,’ निर्देशक राइले भने, ‘गाउँका आम युवाले शहरमा भोग्नुपर्ने दुख र संघर्षका कथा फिल्ममा उतारेको छु ।’
उनले बनाएको फिल्म महानगरमा मुख्य भूमिकामा कर्मा शाक्य र मेनुका प्रधान छन् । उनीहरुको सपना र कथा–व्यथा आ–आफ्नै छन् । फिल्ममा ट्रेकिङ गाइड आशिषको भूमिका कर्माले निभाएका छन् भने कवि बन्ने सपना देखेकी खुशीको भूमिका मेनुकाले ।
उनीहरु नितान्त छुट्टा–छुट्टै पृष्ठभूमी फरक भए यी दुई पात्रवीच भएको भेटघाट, संघर्ष र अन्तरसंवादमा ७० मिनेट लामो फिल्म घुमेको छ । फिल्मको सरसर्ती कथा यस्तो छ ।
अस्पतालको क्यान्टिनमा काम गर्ने बालकको तरकारी काट्दा चक्कुले हात काट्छ । गाउँबाट शहर पसेर मजदुरी गरेका बालक घरको यादले मध्यरात सिँढीमा टोलाउँछन् । चक्कुले काटेको हातमा ह्याण्डिप्लाष्ट टाँसेर खुशी र आशिषले संझाउँछन् । कानुनमा बाल मजदुर राख्न बर्जित गरिएपनि महानगरका अस्पतालहरुमा यस्तो दृश्य देखिनु सामान्य ठानिन्छ ।
त्यही रात काठमाडौं महानगरका मन्दिर घुम्दै गर्दा खुशीले भन्छिन्, ‘शासकहरु धेरै पापी भएर होला, उनीहरुले धेरै मन्दिर बनाए, मलाई लाग्छ उनीहरु आप्mनो पाप बिसाउन चाहन्थे ।’
आशिष भन्छ– ‘ताजमहल र ताजमहल बनाउने हात मध्ये एउटा रोज्नुपर्दा म ति सुन्दर हातहरु रोज्छु ।’
त्यही बेला एउटा पागल जस्तै पात्र क्रान्तिको आह्वान गर्दै सुतेका महानगरबासीलाई उठ भन्दै कुर्लन्छ । यहाँ भएका सबै क्रान्तिहरु संझौतामा टुङ्ग्याएर धोका भयो भन्छ । तर उसका पछि लाग्ने कोही छैन । सिवाय केही सडक कुकुरहरु ।
खुशी र आषिशको यो जोडी गफिदै महानगर छेउको डाँडामा पुग्छन् । जहाँबाट महानगर झिलिमिली देखिन्छ । त्यही बेला उनीहरुका अगाडी अर्को पात्र आइपुग्छ । उ जाँडले मातेको हुन्छ ।
ति युवक कतारबाट फर्केर साथीहरुलाई भोज खुवाउँदा मातेका रहेछन् । साथीहरु जाँडको नशामा झगडा गर्न थालेपछि उसले रक्सीका सबै बोतल एउटा बोरामा राखेर डाँडातिर उक्लेका रहेछन् । उसले खुशी र आशिषको जोडीलाई निशुल्क बियर दिन्छन्, र बियरको मजा लिन र झगडा नगर्न आग्रह गर्छन् ।
खुशीले जीवनमा पहिलो पटक बियर खान्छिन् । बियरको नशामा खुशी र आशिषले महानगरलाई माझी औंला देखाउँछन् । खुशी गाउँबाट कवि बन्न काठमाडौं महानगर छिरेकी हुन्छे । आशिष दार्जलिङमा आमा–बुबा गुमाएपछि ट्रेकिङ गाइड बनेर काठमाडौं आएका हुन्छन् ।
बियरको नशा लागेपछि खुशी अझ खुल्छिन्, हाँस्छिन् र मनको बह पोख्छिन् । बियरले लठ्ठिएर खुशी निदाएपछि आशिषले उनको डायरी भेट्छन्, जहाँ खुशीले रचेका कविताहरु छन् ।
एकै रात यतिका दृश्य देखेका र भोगेका खुशी र आशिषको जोडीको भेटघाट भने अघिल्लो दिन मात्र भएको हुन्छ । जुन दिन महानगरको विच सडकमा अचानक एउटा दुर्घटना घट्छ । बाइक चढेका अपरिचित युवक घाइते हुन्छन् । घाइते युवकलाई उनकै बाइकमा राखेर आशिष र खुशी अस्पताल पुग्छन् ।
अस्पतालमा घाइते युवकको उपचारका क्रममा पनि उनीहरुको राम्ररी चिनाजानी हुँदैन । उनीहरुले घाइते युवकका आफन्तलाई खबर गर्छन् । घाइतेका परिवार अस्पताल आएपछि भोलिपल्ट अस्पताल आउन परिवारले आशिषलाई आग्रह गर्छन् र मोटरसाइकल लैजान भन्छन् । आशिष र खुशी त्यही मोटरसाइकल चढेर अस्पतालबाट निस्कन्छन् । विचमा एउटा घटना घट्छ, जसका कारण उनीहरु डाँडामा रात विताउन पुग्छन् ।
चलचित्र ‘महानगर’मा देखिएका यस्ता दृश्य गाउँबाट विभिन्न सपना पुरा गर्न शहर पुगेका आम युवाले भोग्नुपर्ने समस्या रहेका निर्देशक राइले बताए । ७० मिनेट लामो फिल्म महानगर बनाउँदा १ करोड बढी खर्च भएको उनले बताए ।
२० देशका ९४ वटा फिल्म
पोखराका फिल्ममा रुची राख्ने युवाहरु विदेशका फिल्म फेस्टिभलमा भाग लिन जाँदा सोचे, नेपालमा पनि यस्तै फेस्टिभल गर्न पाए हुन्थ्यो । उनीहरु काठमाडौंमा जम्मा भएर फिल्म फेस्टिभल आयोजना गर्ने बारे निरन्तर छलफल गर्न थाले ।
काठमाडौंमा पर्वतीय फिल्म फेस्टिभल यसअघि नै भइरहेको थियो । उनीहरु काठमाडौं बाहिर जान चाहे । छलफलमा पोखराका युवाहरु धेरै भएकाले पोखरामै फिल्म फेस्टिभल आयोजना गर्ने निर्णय गर्न सकेको फेस्टिभल संयोजक प्रविण कार्की ‘टक्की’ले बताए ।
‘पोखरा फिल्म सिटीका रुपमा स्थापित गर्न पनि सहयोग पुगोस् भनेर पोखरामा फिल्म फेस्टिभल आयोजना गरेका हौं,’ उनले भने, ‘भविश्यमा अवश्य पोखरा फिल्मको हब बन्नेछ ।’
यसरी २०१४ देखि शुरु भएको पामे फिल्म फेस्टिभलको पाँचौ संस्करण सामेबारदेखि शुरु भएको छ । ५ दिनसम्म चल्ने फेस्टिभलमा २० देशका ९४ वटा फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिने फेस्टिभल संयोजक प्रविणले जानकारी दिए ।
फेस्टिभलमा फिल्म प्रदर्शनीका साथै मास्टर क्लास, वर्कसप, ल्याब, फोटो प्रदर्शनी, चित्रकला लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।
फेस्टिभलमा प्रदर्शन गरिएका फिल्मवीच प्रतिस्पर्धा गराई सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट फिल्म, क्रिटिक्स् र अडियन्स च्वाइस अवार्डसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->