लोक संगीतको क्षेत्रमा चर्चित नाम हो– शिव हमाल । दोहोरी गायनबाट माथि उठेका शिवका थुप्रै गीत चर्चामा छन् । गायक रामजी खाँणसँग सहयात्रा गरेका शिवको सिर्जनालाई उत्तिकै मन पराइएको छ । औपचारिक रुपमा संगीत यात्रामा लागेको १२ वर्ष पुग्यो । यो समयमा उनले हिट गीत नेपाली लोकदोहोरी मन पराउने श्रोता दर्शकलाई पस्केका छन् । गीत संगीतको सिर्जनामा ठ्याक्कै एक चक्र लगाएका शिव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव हुन् ।
संस्थागत हिसाबले होस् या कलाकारिताका माध्यम विकृतिका विरुद्ध खरो उत्रने शिवको आफ्नै अन्दाज छ । उनलाई पुरानालाई सम्मानसहित नयाँलाई प्रोत्साहन गर्न राम्रैसँग आउँछ । स्याङजा स्थायी घर भएका शिव गाउँमा छँदादेखि नै गाउने गर्थे । सुरुमा उनले गाउने मात्रै गरेपछिमात्रै सिर्जनामा लागेका हुन् । बाल्यकालदेखि नै मिलनसार स्वभावका शिव अन्याय अत्याचारको विरुद्धमा त्यति बेलादेखि नै लागेका हुन्, जतिबेला उनी बुझ्ने भए ।
स्याङजा जिल्लाको ज्याग्दीखोलामा जन्मिएका शिवको बाल्यकाल संगीतमय रहयो । माथिपट्टि मगर बस्ती, तल ब्राह्मण र बीचमा उनको समुदाय थियो । माथि गए रोधी सुन्न,े तल भजन सुन्न पाइने ! त्यसैले उनलाई गीतसंगीतमा भिजायो । उसो त स्याङ्जा जिल्ला लोकदोहोरी क्षेत्रका लागि उर्भरभूमि हो । थुप्रै कलाकारहरु स्याङ्जाका छन् । लोकदोहोरीमा पहिलादेखि नै स्याङ्जाका कलाकारहरुको बाहुल्यता बढी हो । यसै भीडमा एउटा नाम थपिन आया,े शिव हमाल ।
तत्कालीन समयमा रेडियो नेपालमार्फत् उनका मामा राजेन्द्र लम्साल क्षेत्रीका गीतहरु खुब बज्ने गर्थे । रेडियो सुन्न रुचाउने शिवलाई मामाका गीत सुनेर प्रेरणा मिल्यो । कलाकार बन्न पुगे ।
बुबा बमबहादुर हमाल र आमा मिठु हमालको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिएका शिवका तीन भाइहरु छन् । कलाकारितामा उनीमात्रै छन् । माइलो भाइ कोरिया, साइलो इण्डिया आर्मी हुन् भने कान्छो भाइ दुबईमा छन् ।
बाल्यावस्थादेखि नै सिर्जना गर्नमा खप्पिस शिवले गाउँमा छँदा आमा समूहका कार्यक्रममा आमाहरुका लागि गीतसमेत लेखिदिएको सम्झन्छन् । दोहोरीमा उनको सानैदेखिको झुकाव थियो । बाल्यकालदेखि नै उनी दोहोरी गायनमा लागेका थिए । जिल्लामा आयोजना हुने दोहोरीसम्बन्धी प्रतियोगितामा भाग नलिएको सायदै होला । उ बेला नै स्याङजामा दोहोरीगीतमा छाप छोडेका कलाकार हुन्, शिव । साथीहरुको प्रोत्साहनले उनलाई कलाकार बनायो । भन्छन्, ‘दोहोरीगीत र कलाकारिताप्रतिको मोहले आज मलाई यो ठाँउमा ल्याएको छ ।’
लोकसंगीतको उर्भर भूमिको रुपमा रहेको स्याङ्जा जिल्लाले धेरै कलाकारलाई जन्माएको छ । जतिपनि सबल र सफल कलाकारहरु छन् स्याङ्जाकै छन् । सावित्री शाह, राजेन्द्र लम्साल, पुरुषोत्तम न्यौपाने, भगवान भण्डारी, विष्णु माझी, रामजी खाँण, खुमन अधिकारी, पशुपति शर्मा, रमेश बिजी, एकनारायण भण्डारी, सिर्जना विरही, शर्मिला गुरुङ, राजु गुरुङलगायतका धेरै कलाकारको जन्मथलो स्याङ्जा हो । नयाँ प्रतिभाहरुको आगमनसमेत स्याङ्जामा बढ्दो छ । शिवलाई स्याङ्जाको प्रत्येक गाउँमा कोही एउटा राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकार छ जस्तो लाग्छ ।
कखरा स्याङ्जा घरनजिकै चक्रकलामा पढे । सिर्जना बोर्डिङ स्कुलमा स्कुल लाइफ उनको रमाइलै बित्यो । जनप्रिय मावि चिम्दीबासबाट कक्षा ८ पास गरेका शिवले एसएलसी राममन्दिर उच्च माविबाट पास गरे । एसएलसी पास गरिसकेपश्चात शिव काठमाडौं हाँकिए ।
काठमाडौंमा अध्ययनसँगसँगै कलाकारितालाई अगाडी बढाउने सोच उनमा आयो । शिवले एकडेढ वर्षको संघर्ष पश्चात काठमाडौंको सालीभेना दोहोरी साँझमा दोहोरी गायकको रुपमा जागिर खाए । यो २०६१ सालको कुरा हो । २०६२ र ०६३ मा निरन्तर दोहोरी गीत प्रतियोगितामा भाग लिए । प्रतियोगिताको पहिलो वर्ष कुनै उपाधि हात परेन । अर्को वर्ष भने प्रथम बने । २०६३ सालको अन्तिममा सहयात्री रामजी खाँणसहित ‘ सम्झनामा आँशु झरेको…..’ लोकदोहोरी गीत रेकर्ड भयो । त्यति बेलादेखि नै शिव औपचारिक रुपमा सिर्जनामा लागे । उनको सिर्जनालाई रुचाउन थालियो । लगतै २०६४ मा ‘मन परेको फूल खसेको…..’, २०६५ मा ‘देउरालीको भट्टी पसल….’, २०६६ मा ‘पछ्यौरी लेऊ बैना…’, ०६७ मा ‘रक्षा गर हरि…’,०६८ मा ‘पा¥यौ मलाई रुन मायालु…’ लगायतका हिट गीतहरु दिए । यस्तै, ०६९ मा ‘कसलाई सोध्ने होला….’, ०७० मा ‘एकतर्फी मायाले…’,०७१ मा मौलिक झयाउरे ‘आकाशै माथि झहाजै चढ्यो….’ लगायतका गीतसमेत आए । ०७२,०७३ र ०७४ मा शिवका सिर्जना त्यति चलेन । २०७५ को अन्त्यमा भने ‘लालुमै…’ ले राम्रै सफलता पायो । शिव भन्छन्, ‘मेरा गीत संगीतले ठ्याक्कै एक चक्र पूरा गरेको छ ।’
कतिपय सँगै काम गरेका उनका सहकर्मी विदेश पलायन भए । शिवलाई विदेश जान मन लागेन् । उनी संघर्ष गरे सफलता अवश्य मिल्ने स्वभावका थिए । कामको तारिफ राम्रो आएपछि हरकोही खुशी हुन्छ । उनी पनि आफ्नो कामबाट सन्तुष्ट थिए । गीतहरु एकपछि अर्को निरन्तर चल्न थालेपछि नचिन्नेले पनि चिन्न थाले । शिवका सिर्जनालाई पत्याउन थालियो । सिर्जनाबाटै दुईपैसा कमाउने वातावरण समेत बन्यो । यसअघि सिर्जना गरेर कमाउने वातावरण नेपालमा कमै थियो । हमाल त्यो समयका थिए । जतिबेला सिर्जनाले समेत मूल्य पाउन थालेको थियो ।
परिवारको चाहना छोरो पढेर स्थायी आयआर्जनमा लागोस् । कलाकारितामा लागेको त्यति मन नपराउने । तर, शिवको मनले कहाँ मान्थ्यो र ? उनी परिवारको कुरै नसुनी निरन्तर गीतसंगीतकै क्षेत्रमा लागिरहे । आज सफलतापश्चात परिवारको सर्पोट राम्रै पाएका छन् । शिवलाई नचिन्ने कोही छैन । अनुजदेखि अग्रजसम्मका कलाकारको उनी प्रिय छन् । संस्था भनेपछि मरिमेटर लाग्ने स्वभाव उनको छ । यसअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौं उपत्यका समन्वय समितिको अध्यक्ष रहेर सफल कार्यकाल पूरा गरेका शिव गीतसंगीतमा पछिल्लो समय आएको विकृतिप्रति चिन्तित देखिन्छन ।
भन्छन्, ‘गीत संगीत संगत हो । राम्रो संगतले सफलता मिल्छ । क्षणिक खुशीका लागि गीत रेकर्ड गर्नेहरुको अहिले विगविगी छ ।’





