बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संगीतसँगै व्यवसायमा रम्दै कृष्ण भण्डारी

संगीतसँगै व्यवसायमा रम्दै कृष्ण भण्डारी

‘दोहोरीमा मौलिकता कम, बुस्ट बढी’


  • सन्तोष बस्याल
  • भाद्र ४ २०७९, शनिबार

एउटा शिक्षक २० औं वर्षको अध्ययनपछि बल्ल शिक्षण पेशामा लाग्छ भने गायकले साधना गर्न किन पर्दैन ? क्षणिक स्वार्थले संगीतमा आउनेको भविष्य हुँदैन ।

पोखरा दोस्रो ठूलो सांगीतिक सहर । संगीतलाई नै मूख्य पेशा बनाएर यहाँ निरन्तर कर्म गर्नेहरुको कमी छैन । गाउँबाट केही गर्छु भन्ने उद्धेश्य राखेर सहर पस्नेका लागि पोखरा राम्रो गन्तव्यका रुपमा सावित भएको छ । बाहिरी जिल्लाका धेरै कलाकार पोखराबाटै स्थापित भएका उदाहरण पनि नभएका होइनन् । लोकदोहोरी होस् या आधुनिक पप । पोखरा अब्बल छ ।पोखराको लोकगीतले विश्वबजारमा स्थान पाएको आभाष हुन्छ । यहाँको माटोमा नै सुरको सुगन्ध भेट्न सकिन्छ ।

कृष्ण भण्डारी एक यस्तै सुरका साधक हुन् । उसो त उनलाई नयाँ पुस्ताले त्यति चिन्दैनन् । तर, ०५९÷६० सालदेखि नै उनी संगीतमा संघर्षरत छन् । २०६० सालमा चापाकोट ७ नौबिसे सिद्धबराह माविबाट एसएलसी उत्तीर्ण गरेपछि उनी पृथ्वीनारायण क्याम्पस भर्ना भए । संगीतप्रतिको लगाव बढ्दै गयो ।

साबिकको भदौरे तमागी ५ कास्की हालको पोखरा महानगरपालिका २३ मा जन्मेका भण्डारी सानैमा चकचके स्वभावका थिए । बुबा हिमलाल भण्डारी र आमा भीमकुमारी भण्डारीको कान्छा सुपुत्रको रुपमा ०४३ साल मंसिर ४ गते जन्मेका भण्डारी सानैदेखि गीतसंगीतमा रुचि राख्थे । विद्यालयमा हुने शुक्रबाररे अतिरिक्त कार्यक्रममा उनको सांगीतिक प्रस्तुति हुनेगथ्र्यो । २०६० सालमा नै उनले दोहोरी प्रतियोगितामा भाग लिएका थिए ।

तत्कालीन समयमा रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रबाट लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले देउराली कार्यक्रम आउँथ्यो । कार्यक्रम सुनेर लोकदोहोरी क्षेत्रमा लाग्ने धेरै कलाकार छन् । भण्डारीसमेत सोही कार्यक्रम सुनेर गीतसंगीतमा प्रवेश गरे । गीत सुनेर सिक्ने वातावरण उनलाई मिल्यो ।
औपचारिक सांगीतिक यात्रा
२०६० सालमा एसएलसी उतिर्ण गरेपश्चात ०६१ सालमा भण्डारी पृथ्वीनारायण क्याम्पस भर्ना भए । ०६१ सालबाट नै दोहोरी गाएर उनको औपचारिक सांगीतिक यात्रा शुरुवात भयो । ०६३÷०६४ सालमा ‘अन्तिम चिठी लेख्न नपरोस्, तिम्रो सिउँदो अर्कैले भरेको सपनामा पनि देख्न नपरोस्’ लोकदोहोरी गीत भण्डारीले आफ्नै सिर्जनामा रेकर्ड गराए । उनलाई आवाजमा भने राजु परियार र विष्णु माझीले साथ दिएका थिए । त्यतिबेला क्यासेटको जमना थियो । कृष्ण देवकोटाको ‘माछापुच्छ«े म्युजिक सेन्टर’ ले बजारीकरणको जिम्मा लिएको थियो । गीतले सामान्य सफलता कमाएको भण्डारी बताउँछन् ।
काठमाडौंको नयाँबजारमा एउटा स्टुडियो थियो । डीबी गुरुङ रेकर्डिस्ट थिए । गुरुङले आफूलाई लोकदोहोरीको सबिन राइको संज्ञा दिँदा भण्डारी खुशीले गदगद हुन्थे ।

भण्डारीले २०६६ /०६७ मा ‘को नै छ र अरु, भेट्न आऊ न एकचोटी मुख हेर्छु नबोलौंला बरु’ गीत सार्वजनिक गरे । आफ्नै सिर्जनामा उनले उक्त गीत सार्वजनिक गरेका हुन् । जसमा आवाजमा रामजी खाँडको समेत सहयोग भण्डारीलाई मिल्यो ।
कृष्ण भण्डारीले एक दर्जन भन्दा बढी गीत रेकर्ड गराएका छन् । ०६३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रको दोहोरी कार्यक्रममा १६ जिल्लाका ३२ जनाले सहभागीता जनाउँदा प्रथम भएका भण्डारीको बिचमा गीतसंगीतको यात्रा रोकियो । कारण थियो, उनको पढाइ । अध्ययन अध्यापनमा लाग्दा सांगीतिक क्षेत्रलाई अगाडि बढाउन भण्डारीलाई समस्या भयो । समय व्यवस्थापन गर्न उनले भ्याएनन् ।

राजनीतिमा सक्रियता
तत्कालिन नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुको सांस्कृतिक विभागबाट राजनीति क्षेत्रमा पाइला टेकेका भण्डारीले पृथ्वीनारायण क्याम्पसको सांस्कृतिक समितिमा रहेरसमेत काम गरे । जसमा होम बहादुर नेपाली,मनकुमार श्रेष्ठ लगायतको सक्रियता थियो । जनसांस्कृतिक महासंघ कास्कीका अध्यक्षको भूमिका निभाए । उनी जनसंगीत मञ्चका केन्द्रीय सदस्य समेत हुन् । तत्कालीन समयमा कास्कीमा चार वटा निवार्चन क्षेत्र थियो । क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनमा सबै भन्दा बढी मत ल्याएर ‘म्यान अफ दि इलेक्सन’ को रुपमा निर्वाचित भएका थिए, भण्डारी । हिमाल कलेज पोखराका फाउण्डर भण्डारी पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्सको एमडीआरटी एचीभर, सिनीयर एजेन्सी मेनेजरका रुपमा कार्यरत छन् । उनी लाइन्स डिपार्टमेन्ट अफिसर हुन् । पोखराका राम्रा ट्रेनरका रुपमासमेत भण्डारी स्थापित भइसकेका छन् । आफैले सिर्जना गरेका गीतहरुमध्ये लोकदोहोरी गायक राजन कार्कीसँग सहकार्य गरेको ‘रमाइलो राम्दीमा तिमी आऊ है, म आउन पाउँदिन’,‘रातो सारी ढल्कायौ तीजमा साउनमा हरियो पहिरन, हेरेर फसायौ सानु मन लाग्छ तिम्रै छेउ भइरहन ’,‘माछीलाई खुलीको लेउ प्यारो, मलाई भने सानोको छेउ प्यारो (सालैजो )’ गीतले उनको पहिचान बढायो ।

गीतसंगीतमै लागेर भविष्य बनाउँछु भन्ने सोचमा भण्डारी छैनन् । आर्थिक आम्दानीका लागि उनले व्यवसायसँगै जागिरको बाटोलाई अंगालिसकेका छन् । यति भनिरहँदा गीतसंगीत रेकर्ड नगर्ने भने होइन । सिर्जनाको संग्रहका लागि भए पनि उनी रेकर्डिङलाई सँगै लैजाने योजनामा छन् ।
लोकगीतमा मौलिकता हराएको छ
कृष्ण भण्डारी लोकगीतमा मौलिकता हराएको बताउँछन् । अहिलेका गीतहरु लोकगीत नभएर मोर्डनगीत भएको उनको तर्क छ । अंग्रेजी शब्द मिसाएर सार्वजनिक गरिएका गीतलाई पूर्णतया लोकगीत भन्न नमिल्ने उनको बुझाइ छ । पछिल्लो समय केही कलाकारका कारण लोकदोहोरी गीतको पहिचान हराउँदै गएको महसुस भण्डारीले गरेका छन् । भल्गर शब्दको प्रयोगले सिङ्गो दोहोरी क्षेत्र नै बदनाम हुनुपरेको भण्डारी बताउँछन् ।

संगीतमा अस्वस्थ प्रतिस्पर्धा

भण्डारी सांगीतिक क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भएको पाउँछन् । युट्युब ट्रेण्डिङमा पर्नका लागि लाखाँै खर्च गरेर भिडियो बनाउने र फेरि लाखौँ खर्च गरेर बुस्ट गर्ने सिस्टमले संगीत बजारलाई बिगारेको उनी बताउँछन् । पैसा हुनेहरुका लागि चर्चा कमाउन हालको समयमा सजिलो भएको उनको बुझाइ छ । कलाको सही मूल्याङ्कन हुन नसक्दा सांगीतिक क्षेत्रमा धमिरा लागेको भण्डारी पाउँछन् ।

साधकको कोही बाधक हुँदैन

भण्डारीले संगीतको साधकको कोही बाधक नहुने बताएका छन् । सफल वा असफल हुने आफ्नो हातमा रहेको नयाँलाई उनको सुझाव छ । संगीतमा अध्ययन गरेर आउन भण्डारीले आग्रह गरेका छन् । एउटा शिक्षक २० औं वर्षको अध्ययनपछि शिक्षण पेशामा लाग्छ भने गायकले समेत अध्ययन गर्नुपर्ने आवश्यता रहेको उनको भनाई छ । क्षणिक स्वार्थले संगीतमा आउनेको भविष्य नभएको भण्डारी बताउँछन् ।

पोखरा संस्कृतिको राजधानी हो । यसमा कसैको दुईमत छैन । पश्चिमाञ्चल विकास क्षेत्र लोकदोहोरी क्षेत्रको आधारस्थल हो । गण्डकी प्रदेशको राजधानी पोखरा भएकाले यहाँ थुप्रै जिल्लाको कलाकर्मीहरु संघर्षशील छन् । प्रस्तुतिका हिसाबमा महोत्सवमा आफूलाई सबल बनाएका र पोखरामै बसेर संगीतकर्म गरिरहेका कलाकारहरु राजधानीका कलाकारको नजरमा समेत पर्ने गरेका छन् । पोखरालाई नै कर्मथलो बनाएर काम गरेता पनि मोफसलमा छु भन्ने अवस्था नरहेको उनी बताउँछन् । दोहोरी साँझ कलाकारका लागि जिउने आधार भएको उनको तर्क छ ।

भण्डारी पोखराको सांगीतिक क्षेत्रको सुधारका लागि काठमाडौं कै क्वालिटी दिने खालको रेकर्डिङ स्टुडियोको आवश्यकता रहेको औंल्याउँछन् । उनका अनुसार पोखरामा राम्रा बाद्यवादकको अभाव छ । भएका बाद्यवादकहरुले पनि आफूलाई निखार्न सके पोखराको सांगीतिक क्षेत्रले गति पाउने विश्वास उनको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->