तीजको नजिकिँदै गर्दा दर खाने कार्यक्रहरु चलिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भड्किलो र खर्चिलो तीजे कार्यक्रममा रोक लगाएको छ । नेपाली मौलिक संस्कृतिमा कुसंस्कार प्रवेश गरेकाले तीज भड्किलो भएको वरिष्ठ लोकगायिका,समाजसेवी, साहित्यकार तथा संगीत प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हरिदेवी कोइरालाको ठहर छ । कोइराला तीजको मौलिकता हराएकोमा चिन्तित छन् । आउँदो पुस्ताले तीज के हो भन्ने नै नबुझ्ने उनको तर्क छ ।
तीज त आइसक्यो त !
तीज त वर्षेनी आउने चाड हो । समय अनुसार यो पनि परिवर्तित भइराखेको पाइएको छ । तीज भनेको महिलाको चाड हो । पर्व भएको हुनाले यसमा धेरै कुराहरु जोडिएको हुन्छ । धार्मिक, सामाजिक, पारिवारिक, सांगीतिक पक्ष, नृत्य पक्ष सबै जोडिएको हुन्छ ।
परापूर्वकालदेखि नेपाली दिदीबहिनीहरुले मनाउँदै आएकोमा अहिले धेरै नै दिदी बहिनीहरुको यो साझा बनेको हुँदा यसको महिमा बढिरहेको छ । सबैले मनाउनु यस्को राम्रो पक्ष हो । अब विशेष गरेर यसमा हाम्रो मौलिक पर्व भएकाले पर्व गीत गाइन्छ । पर्व गीतको आफ्नै विशेषता हुन्छ । यो पर्वको वरपरमात्रै गाइन्छ अघिपछि गाइदैन् । जसरी हामीले दशैँमा मानुश्री गाइन्छ, तिहारमा भैली देउसी गाइन्छ त्यस्तै तिजमा पनि आफ्नो मौलिक भाका सिमित समयमा मात्रै गाइन्छ । महिलाले त्यो वर्षभरका घटनाक्रमहरु आफ्ना मनमा गुम्सिएका भावनाहरु, आफुलाई मन नपरेका कुराहरु नतमस्त भएर पर्वको छेको पारेर हरेक पिडा, हासो पोख्ने चलन हुन्छ ।
पहिलाका तीजगीतमा कथा, पीर, वेदना, भावना पोखिन्थ्यो । अहिले नाच्ने र रमाइलो गर्ने र विवादमा आउने गीतमात्रै देखिन्छ नि ?
अहिले आउने अधिकांश तीजगीत भनिएकाहरु तीजगीतको परिभाषा भित्र पर्दैनन् । तीजगीतको परिभाषा भनेको अघि भनेझैँ मनका वेदना, भावना, कथा, व्यथा, पीडा, हाँसो, रोदन नै हुन् । तीजको सन्दर्भमा गाइएको गीत भन्नुपर्ने हुन्छ किनभने त्यहाँ तीजको मर्मपनि हुँदैन । लय र भाव हुँदैन । यस्ता गीतलाई तीजगीत भनेर हामीले परिभाषित ग¥याँैभने तीजको विशेषता हराउन पनि सक्छ । त्यस्ता गीतलाई गीतको सन्दर्भमा गाइने गीत भन्नुपर्छ जस्तो लाग्छ,। यसलाई परिवर्तन गर्न मिल्दैन्, यसको आफ्नै धार्मिक, सामाजिक महत्व भएको हुनाले अरु गीतजस्तो बिगार्न, परिवर्तन गर्न हुँदैन । अरु गीत त जहिले गाए पनि हुन्छ । तीजको मौलिक लय, भाषा र विषयवस्तु आइदियो भने मौलिक संस्कृतिको मूल्य मान्यता रहन सक्छ र संस्कृतिको पनि संरक्षण हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।
पुराना भाका, शब्द हराउँदै गएको हो ? आधुनिक गीतले प्रभाव पारेकै हो ?
त्यो प्रभाव त परेकै छ नि । अब अहिलेको लय,भाकाका कारण अबको १० वर्षपछिको पुस्ताले तीजको लय कस्तो थियो भनेर खोज्नुपर्ने हुन्छ । इतिहास खोज्नुपर्ने हुन्थ्यो । उनीहरुलाई थाहै छैन् । थाह छ त जे गाए पनि तीजको लय हुन्छ भन्ने मात्रै । तीजको गीत भनिदिएपछि तीजगीत हँुदो रहेछ भन्ने परिरहेको छ । तीजगीत भनेर लेखिएको हुन्छ त्यहाँ भाका पनि छैन्, विषयवस्तु पनि छैन्, त्यो नृत्य पनि छैन् । पुरै अत्याधुनिक हँुदै गएपछि भोलिको पुस्तालाई तीज भनेर कसरी चिनाउन सकिन्छ ? यो त संस्कृतिमा विकृति हुँदै लोप हुने अवस्थाको पूर्वसन्ध्या हो ।
तपाईँहरुले पहिला ती कसरी मनाउनुहुन्थ्यो ?
पहिला त तीज सामान्य पर्वको रुपमा थियो । हामीले थाहा पाउँदा तीजमा धार्मिक आस्था बोकेर व्रत बस्ने । अघिल्लो रातमा शक्ति दिने खानेकुरा खान्थे । आफ्नो गच्छे अनुसारको खान्थे, भोलिपल्ट आफ्नो मनमा भएका सबै वेदनाहरु सामाजिक ठाउँमा,चौरहरुमा, चौताराहरुमा गीतहरु गाउँथे । सबै दाजुभाई दिदी बहिनीहरुले हेर्थे । निकै सद्भाव थियो । माइतीमा पुग्दा छुट्टै रमाइलो हुन्थ्यो । आफ्नो गच्छे अनुसार नयाँ रातो कपडा किनेर लाउँथे । एकदमै सामान्य थियो, अहिलेको जस्तो थिएन् । विशेषगरी माइतीमा चेली जाने आमा, आफन्त र पुराना साथी संगिनीलाई भेट्ने गरिन्थ्यो । यहि नै ठूलो थियो । २ दिन भएपनि आफ्नो माइत गएर दुःख सुख् पोख्ने हुन्थ्यो । मेरा हजुरआमा, आमाहरुले सामान्य तरिकाले मनाएको म सम्झन्छु । एक जोडा नयाँ कपडा लगाउनुहुन्थ्यो । अहिले त दिनकै नयाँ कपडा लगाउने भएका छन् । खानापनि चिल्लो र पिरो खाने प्रचलन बढेको छ । पहिले र अहिलेमा धेरै फरक देखिन्छ ।
दरलाई कसरी बुझ्ने ?
पहिला तीजमा दरखाने दिनमा बिहानको खानामा मासु हुन्थ्यो । हुनेखानेले मासु खान्थे । तर, रातको समयमा दर भनेर जुन खाइन्छ नि, त्यो भोलिपल्ट चोखो बसेर, ब्रत बस्दा बलियो हुनलाई वा आफु दरिलो हुनलाई विशेष गरेर दूधको परिकार खान्थे । अब खिर, दूध, दही, घिउ फलफूल, टुसा, तामा, त्यो बेलामा हुने कुरिलो, घिरम्लो एकदमै शुद्ध तरिकाले खाने गरिन्थ्यो । त्यो रात माछा मासुको परिकार छुने पनि थिएन । शुद्ध खाना खाएर दही, केरालगायत चिजहरु खाने अनि राति गीत गाएर मनाउने चलन थियो । अझ केराको पातमा खाने चलन थियो । त्यो निकै मीठो हुन्थ्यो । त्यो स्वाद अहिले कहाँ पाइन्छ ? दर भन्ने बित्तिकै अहिले पनि त्यो राति खाएकोलाई नै सम्झन्छु । दर भनेकै त्यहि राति खाने हो ।
तर, अहिले एक महिना अघिबाटै दर खाने भनिन्छ, त्यो दर होइन् । तिजको सन्दर्भमा एउटा अग्रिम मिलन वा अग्रिम खुसियालीको भोजभतेर मात्रै हो । यो त भेटघाटको खाजा सम्मेलन हो । त्यसरी भनिदियो भने अझ हामीले दर भनेर पहिला भन्नुभन्दा दर नभनेर समयले परिस्थितिले चेलीहरु निकै टाढा छन् । दाजुभाइले वा कुनै संघसंस्थाले खुवाउनु नराम्रो होइन् । यसलाई तीज मिलनको कार्यक्रम, वा त्यस्तो खालको भनिदियो भने अझ राम्रो हुने थियो । जसले गर्दा तीजको भाषा र अर्थ बुझिन्थ्यो । पहिला नै दर भनेपछि भोलिका छोराछोरीहरुले दर खाने कुन होला भन्ने नै छुट्याउन सक्दैनन् । दर भनेको एक महिना अघिदेखि खाने रहेछ भन्ने उनीहरुले बुझिरहेका छन् ।
जसले पनि तीज विशेष कार्यक्रम गर्छन् उनीहरुले आफ्नो व्यानरमा दर खाने भन्दा पनि शुभकामना आदानप्रदान, भेला, भोज जस्ता शब्द राखिदिए भने राम्रो हुनेथियो । दर त माइति घरमा राति शुद्ध, सात्विक खाना खानुलाई भनिन्छ, जति बेलापनि खानेलाई भनिँदैन् । दर भनेर तीजको अघिल्लो विहानलाई समेत भनिँदैन् खासमा यो राती खाने नै हो । तीजको रौनक भनेकै त्यही हो । अहिले महिलाहरुलाई मनोरञ्जन अलिकति फराकिलो क्षेत्र दिइएको छ । तिजकै अवसरमा सहयोग गर्ने सामाजिक कार्य गर्नेपनि गरिरहनुभएको छ, त्यो नराम्रो होइन् । तर, त्यहाँपनि शुद्ध शास्त्रीक खाना भइदिएको भए अझ राम्रो हुनेथियो । तीजले आम महिलालाई एकता बनाएको छ । सबै जातजातलिाई पनि जोेडेको छ । यस्को महिमा बढ्दै जाँदा, यसको मौलिकता, विशेषता, यसले बोकेको अर्थलाई भने विगारिरहेको छ । हामी नाच्दैगर्दा हाम्रा छोराछारीले तीजको गीत भनेर बुझून्, लय भनेर बुझून्। दर भनेर बुझून्, तीजको महिमा, महत्व बुझून् । र, यसरी पछिल्लो पिडिलाईँ बुझाउँदै जानु नै संस्कृति हो ।
भनेपछि अहिले हुने भनेको तीजपार्टी हो ?
तपाईँले भनेजस्तै मेरो भावनापनि त्यही हो । तीजको गीत भनेर मान्छे आकर्षित हुँदैनन् र यसमा हामी मुख्य कलाकारहरुले बुझ्न पर्छ भन्ने लाग्छ । हामीले तीजकै मौलिकतामा तीजकै भाकामा गीत गाउन प्रयास गरौँ । त्यही संस्कृति हस्तान्तरण गराँै भन्ने मेरो मान्यता हो । बिडम्बना यस्मा अनुगमन गर्ने, अनुसन्धान गर्ने कुनै परिपाटी नै नहुदाँ कुन भाका कस्तो हो ? कुन समयमा गाइने हो ? कुन पर्वमा गाइने हो भन्ने कुरामा हामी सबै जिम्मेवारी छौँ । यसलाई नियममा ल्याउने र अनुगमन गर्ने कोही नभएकाले समस्या भएको छ । यसलाई अब सञ्चार माध्यमले चासो दिएर, संस्कृतिलाई बचाउनुपर्छ भनेर त्यस्तै खाल्को गीतहरुलाई उठान गरिदिने किसिमको परिपाटीको खाँचो छ । हाम्रो यो संस्कृतिको मूल्यलाई धमिल्याउनु हुँदैन । अहिलेको संस्कृतिले गर्दा यो चिन्तनको विषय बनेको छ । तीजको बहानामा विकृति भित्रिदै गयो । अबको १० वर्षपछिको तिज कस्तो हुन्छ भनेर मैले भनिरहेकै हुन्छु । एक जनाले बोलेर र गरेर मात्रै केही पनि हुँदैन रहेछ । यसका लागि सबैले सोचिदियो भने राम्रो हुन्छ ।
गीत प्रतियोगिता र महोत्सवलाई कसरी हेर्ने ?
प्रतियोगिता एक किसिमको संरक्षणका लागि भन्दा पनि यसले राम्रो परम्परागत गीतहरुलाई बढी प्राथमिकता दिएर जाने हो भने राम्रो हो । अझ प्रतियोगिता भन्दा स्वतन्त्र रुपले छोडिदिएर सबैलाई भाग लिने किसिमको बनायो भने थप मौलिकता आउने थियो । प्रतियोगितामा नियममा बाँधिनुपर्ने हुन्छ त्यो भन्दा स्वतन्त्र रुपले दिदी बहिनीहरुको गायन सम्मेलन भनिदिएर वहाँहरुको पुराना जे गाउन त्यो समेट्यो भने अझ राम्रो हुन्छ । त्यसले गर्दा अझ वृद्धादेखि बालिकासम्मको सहभागिता हुन्छ । अझ बूढापाकालाई बोलाएर हजुरहरुको पालाको गीत ल्याउनुस् भन्ने र बच्चाहरुलाई त्यो सिको गरेर गाउन प्रयास गर भन्नेर जाने हो भने यसको महत्व हुने थियो र हामी पनि जाऔँ न र गीत गाऔँ भन्ने हुन्थ्यो । प्रतियोगिता त अलिकति बाँधिदो रहेछ । मैले कति पटक राम्राराम्रा गाउने दिदी बहिनीहरु पनि जान हिच्किचाएको देखेँ । उनीहरुले हामीले जान्दैनौँ । ताल मिल्दैन् भन्छन्, मज्जाले तपाईँहरु आफ्नो तरिकाले आनन्दले गाउनुस् भन्यो भने यति राम्रा राम्रा गीतहरु आउछ । तीजको मौलिकतालाई कुनै पनि चिजले नछुइ संरक्षण हुनुपर्छ ।
नेपाली महिलाहरुलाई तीजको केही सन्देश छ र ?
तीज पनि एउटा पर्व हो । तीजको महिमा, मूल्य मान्यतामा रहेर आफूले सकेको र गक्ष अनुसार छोटो मिठो तरिकाले मनाऔँ । छोराछोरीलाई अहिलेका नयाँ भन्दापनि मौलिक भाका र लय सिकाऔँ । मैले २०४४ साल देखि तीजको पाटोलाई पनि लोकगीतको विषयबस्तु बनाउँदै २५० भन्दा बढी छन्द लयमा धेरै विषयवस्तुका गीतहरु खाएको छु । हिजोका लयलाई जस्ताकोतस्तै हुनेगरी गाएको छु । सयौँ वर्ष पहिलेको हम्काइलो पनि गाएको छु र महिला चेतना र जागरणका कुराहरु पनि समेटेर गायकी छु ।
अहिलेपनि २ गीत रेकर्ड गरेकी छु ‘भुइँमा झर कृष्णजी’ कृष्णजीलाई एउटा पात्र बनाएर बढी सासुले भाडा माझ्ने, बुहारी चाहिँ कौसीमा बस्ने, यो घरमा लक्षिन छैन् भन्ने कुरा समेटिएको छ भने अर्कोमा परदेशीको छोराछोरीको घरमा भएका बूढाबूढीलाई यस्तो पीडा छ भन्ने कुरा छ र मैले यसरी वर्षेनी निरन्तर रुपमा गीतहरु गाएकी छु । मेरा गीतहरुमा मौलिकता भेटिन्छन् । ती गीतले पनि पुराना भाका सिक्न सकिन्छ र तडकभडक नगरि साधारण तरिकाले स्वस्थ्य तरिकाले तीजको वास्तविकता के हो बुझेर तिज मनाउनुहुन अनुरोध गर्दछु ।





