सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्वकप आयोजकले के पाउँछ ?

विश्वकप आयोजकले के पाउँछ ?

विश्वकप आयोजना गर्नुलाई सफ्ट पावरको प्रदर्शनको रुपमा पनि हेर्ने गरिन्छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७९, आइतबार

विश्वकप फुटबल कतारमा सुरु भएको छ । लोकप्रिय खेलमा पर्ने फुटबलको विश्व प्रतिस्पर्धा हरेक ४ वर्षमा हुन्छ । विश्वकप आयोजना गर्नको लागि देशहरुबीच ठूलै युद्ध हुन्छ । आखिर के पाउँछन् त विश्वकप आयोजकले ?]

कतारले पनि ठूलो रस्साकस्सी र विभिन्न विवादका बीच यस वर्षको विश्वकप आयोजना गर्न लागेको हो । यो प्रतियोगिताको लागि विश्वका मुलुकहरु किन मरिहत्ते गर्छन् त ? फुटबल विश्वकप खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिता हो । यो प्रतियोगिता ओलम्पिकभन्दा पनि अगाडि छ । कतारमा हुन गइरहेको विश्वकप पनि पाँच अर्बभन्दा धेरै मानिसले हेर्न सक्ने अपेक्षा छ ।

टिकट र विभिन्न सामग्रीको बिक्रीदेखि कर्पोरेट स्पोन्सरसिप, पुरस्करको रकम र पर्यटनबाट पनि विश्वकपमा ठूलो रकम आम्दानी यो प्रतियोगितामा हुन्छ । यद्यपि आयोजक मुलुकको लागि भने आर्थिक हिसाबमा केही पनि फाइदा हुँदैन । आयोजक मुलुकले तयारी, पूर्वाधार विकास, होटल निर्माणलगायतका क्षेत्रमा अर्बौं डलर लगानी गरेको हुन्छ । यो लगानीमध्ये अधिकांश लगानी उक्त मुलुकले प्राप्त गर्न सक्दैन । पाए पनि नगदको रुपमा भने उक्त लगानी उठ्दैन । विश्वकप प्रतियोगिता फिफाको लागि धेरै पैसा आम्दानी हुने प्रतियोगिता हो ।

यद्यपि यो प्रतियोगितामा आम्दानी भएको रकम फिफा आफैंले राख्छ । सन् २०१८ मा टीभी राइट्सबाट ४ अर्ब ६० करोड डलर आम्दानी भएको थियो भने टिकट बिक्रीबाट करिब एक अर्ब डलर आम्दानी भएको थियो । फिफाले आयोजकलाई प्रतियोगिता सञ्चालनको खर्च भने दिन्छ । सोही खर्चअन्तर्गत कतारले यसपटक एक अर्ब ७० करोड डलर पाएको छ । जसमध्ये उपाधि जित्ने टोलीहरुको पुरस्कारको लागि ४४ करोड डलर खर्च हुनेछ । कतारले यो विश्वकपको लागि दुई खर्ब डलरभन्दा धेरै रकम खर्च गरेको अनुमान छ । विश्वकपका लागि उसले स्टेडियम, होटल, मनोरञ्जन क्षेत्र सडक तथा रेल सञ्जाल लगायतका संरचनामा उल्लेख्य रकम खर्च गरेको थियो ।

यो प्रतियोगिताको लागि १० लाखभन्दा भेरै विदेशी पर्यटक कतार आउने अपेक्षा गरिएको छ । एक महिना लामो प्रतियोगितामा कतारको पर्यटन क्षेत्रमा उल्लेख्य वृद्धि हुनेछ भने होटल, रेष्टुरेन्टजस्ता व्यवसायको आम्दानी पनि बढ्नेछ । यद्यपि धेरै मानिसको भिड थेग्न होटल तथा रेष्टुरेन्टको क्षमता बढाउनुपर्ने हुन्छ । जसको निर्माण खर्च छोटो अवधिमा हुने आम्दानीको भन्दा धेरै हुन पुग्छ । त्यसो भए छोटो अवधिको लागि कसले फाइदा उठाउलान् ? वल्र्ड इकोनोमिक रिपोर्ट्सका अनुसार यस्ता प्रतियोगिता हुँदा होटल तथा अन्य पर्यटकीय क्षेत्रको आम्दानी बढ्ने तर सोही अनुसार सेवामा काम गर्ने कर्मचारीको तलब भने बढ्दैन । यसको अर्थ जोसँग पैसा छ, उनीहरुले पैसा कमाउँछन् र जोसँग छैन उनीहरुले कमाउन सक्दैनन् ।

त्यसका साथै विश्वकप हेर्न आउने दर्शकले किन्ने विभिन्न सामग्रीबाट प्राप्त हुने रकम पनि फिफाको मातहतमा हुन्छ । फिफाको प्रायोजक ब्राण्डहरुको बिक्रीको पैसा भने बिडिङ प्रोसेसमा समेटिन्छ । सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकपमा जर्मनीमा यस्ता सामग्रीको व्यापारबाट २७ करोड २० लाख डलर आम्दानी भएको थियो । यसरी हेर्दा आयोजक मुलुकलाई खासै केही फाइदा हुने देखिँदैन । तर, केही कुराहरु पैसाभन्दा पनि महत्वपूर्ण हुने गर्छ । विश्वकप आयोजना गर्नुलाई सफ्ट पावरको प्रदर्शनको रुपमा पनि हेर्ने गरिन्छ । यो प्रतियोगिता आयोजना गर्नुले मुलुकको लागि विश्वको ढोका पनि खोल्नेछ । त्यस्तै विश्वकप आयोजनाको लागि बनाइएका नयाँ पूर्वाधारबाट पनि मुलुकले नयाँ व्यवसाय सुरु गर्न सक्छ । दीर्घकालीन रुपमा हेर्ने हो भने आयोजनाको लागि गरिएको खर्च राम्रोसँग व्यवस्थापन गर्न सकिएको अवस्थामा मुलुकको अर्थतन्त्र विस्तारको मौका पनि सिर्जना हुनेछ । नयाँ सडक र यातायातका परियोजनाले लामो समयसम्म आर्थिक फाइदा दिन सक्छ ।

ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न किसिमको सामाजिक विभाजनलाई जोड्ने काम पनि गर्छ । सन् २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरिया साझा झण्डामा स्टेडियम प्रवेश गरेका थिए। यस्ता प्रगियोगिताले मुलुकमा बालबालिकाहरुमा खेलप्रतिको रुचि पनि बढाउँछ । जुन, स्वास्थ्य स्याहारदेखि धेरै कुराको लागि राम्रो हुन्छ । आयोजक मुलुकका लागि पैसा कमाउनुभन्दा पनि विश्वकप प्रतिष्ठा, सम्मान र प्रचारको माध्यम हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->