पोखरा/ २०५० सालको सेरोफेरो । पोखराको मालेपाटनस्थित बाराही स्कूलको कक्षा कोठामा गुन्गुनाउँदै गरेको एउटा किशोर अनि डेक्स ठटाएर साथ दिँदै गरेको साथी ।
अहिले कता होलान् ,के गर्दै होलान् र कस्ता भए होलान् ? यी हुन्– विवेक श्रेष्ठ र सुनिल थापा । उमेरले चालीस कटाए । अहिले पनि उस्तै गरी गुन्गुनाउँछन्,टेबुल ठोक्छन् र जीवनलाई उत्सवमय बनाउन तल्लीन छन् !
चर्चित ‘हङकङ–पोखरा’ गीतका गायक र संगीतकार अहिले पनि उही पुरानो कन्दरा ब्याण्डको तारसँगै जोडिएका छन् ।
२०५० को दशकमा जन्मिएको पोखरेली ब्याण्डको हो–कन्दरा । लोकगीतमा आधुनिक बाजाहरु ‘फ्जूजन’ गरी उनीहरुले २०५३ सालतिर ‘चञ्चले कान्छी’ नामक एल्बम बजारमा ल्याए । लाहुरेको सहर पोखराले मात्र नभएर देश–विदेशमा चञ्चले कान्छीलाई रुचाइयो । कन्दरा स्थापित भयो ।
‘रहरले गाएको हो त्यो बेला, गीत चल्यो, हामीजस्ता फुच्चेहरु एकाएक स्टार भइयो, उमेर पनि त्यस्तै थियो,आफैंलाई केही गरेछु भन्ने लाग्थ्यो,’विवेकले ती दिन सम्झँदै भने,‘सफलताले हामीलाई गीत–संगीतकै बाटोमा डोहो¥यायो ।’
कन्दराले २०५३ सालमा हङकङ पोखरा एल्बम पस्क्यो । हङकङसँग पोखरेलीको पुरानो साइनो । गीतका गेडागेडामा यहाँका तरुना तन्देरीले आफ्नो कथा भेटे ।
निर्मोहीलाई सम्झिए । देश–देशावरको भ्रणण गरे । तर, सेलिब्रेटी हुन सजिलो ! व्यवस्थापन चाहिँ साह्रै कठीन । कन्दराका खम्बा अर्थात् विवेक स्वयं विदेश भासिए । कर्मले उनलाई हङकङ पु¥यायो । व्यक्तिगत जीवनको आरोह–अवरोहलाई छाड्ने हो भने, उनी मनमा गीतको माया बोकेर भौंतारिरहे ।
४० कटेका विवेकलाई जीवनका भोगाइले निखार्दै लग्यो । संगीतकै केही गरौं न भन्ने भावना फेरि बल्झेर आयो । जीवनमा के गरियो त भन्ने विषयय मनमा गढ्न थाल्यो । कन्दरा किशोरवयको जोसमा जन्मिएको कन्दराले नेपाली गीत–संगीत र मनोरञ्जन उद्योगलाई के दियो भन्नेबारे यसो गम खाँदा ‘केही त गरिएको रैछ’ भन्ने भयो रे । अनि सुस्ताएको ब्याण्डलाई पुनर्जीवन दिने निर्णय भयो । संगीतमै जमेका सुनिल तयार भइहाले ।
‘हामीले चञ्चले कान्छी गाउँदादेखि नै मौलिकतालाई अंगालेका रहेछौं,पहाडी भाकाको मीठासलाई आफ्नै शब्दमा उनेर मौलितकता वा फरकपनको बाटोमा हिँडेका रैछौं भन्ने महसुस भयो,’विवेक व्याख्यात्मक बने,‘मान्छेको भावनालाई रैथाने शैलीमा सुनाइएको रैछ ।’
विदेशिएर गइन् उनी.. ’को मेलोडी, तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’ गीतले बोकेको मौलिक गुरुङ संस्कृति,हङकङ पोखरामा प्रयुक्त अमिलो अंगुर, फाप्रेको डंगुरजस्ता बिम्बहरु हेर्दा र सुन्दा विवेक सही लाग्छन् ।
अहिले. विवेक नेपाल फर्केका छन् । केही गरौं भन्ने भावना दह्रो भएर आएको छ । यही उपक्रममा उनले शुक्रबार साँझ २० वर्षपछि गृहनगरी पोखराको मैदानमा सांगीतिक प्रस्तुति दिएका छन् । पहिला घरदेश अनि परदेश भन्ने सन्देशसहितको कन्सर्टमा उनले चलेका र नयाँ गरी करिब २ दर्जन गीत गाए ,
गीत–संगीतको बजारसँगै चुनौती पनि बढेको छ । हिजोजस्तो जे गाइदिए पनि चल्छ भन्ने मान्यताहरु भत्केका छन् । भाइरल हुने रोग एकातिर छ भने अर्कोतिर उत्कृष्ट मौलिक सिर्जनाहरुको खडेरी छ । ठूला कन्सर्टहरु गर्न सजिलो छैन । दर्शकले अन्तर्राष्ट्रियस्तरको साउण्ड सिस्टम र लाइट खोज्न थालेका छन् ।
‘ब्रायन एडम्स,अरिजित सिंहका कन्सर्टमा झुम्ने श्रोताहरुले हामीमा पनि परिमार्जन खोजेका छन्, हामीले झुक्एिर ‘जी’बाट सुरु गर्नुपर्ने गीत ‘बी’ माइनरबाट सुरु गर्नासाथ बिग्रियो भन्ने पुस्ता तयार भइसकेको छ,हामीले आजको प्रस्तुतिमार्फत् त्यो पुस्तालाई पनि जोड्ने प्रयत्न गरिएको छ ।’
कन्दराका पुराना गीत चलेकै छन् । कन्दरा स्टेजमा झुल्किनु र हङकङ पोखरा.. गीत नगाउनु ! यो हुनै सक्दैन । रैथाने भाका पस्कने लक्ष्य ब्याण्डको ज्यामिङबाट हुने कन्सर्टमा विवेकले चलेका आफ्ना सवैजसो गीत सुनाए । त्यसो त, पछिल्लो समय कन्दराले सिर्जनालाई पनि उत्तिकै जोड दिएको छ । त्यो उपक्रममा उनले हालै एक टेकमा गाइएको ‘विचरा म’ पनि सुनाए । पहिला घरदेश र त्यसपछि परदेश.. । स्पष्ट छ–कन्दरा लामो यात्रामा निस्कने तरखरमा छ ।
‘चुनौती छ, गीत–संगीतमै केही गरौं भनेर म नेपाल आएको छु । मेरी श्रीमती यो पागलपनलाई हेरिरहेकी छन् । नढाँटी भनौं–उनी मेरो यो अभियानलाई नजिकबाट नियाल्दै छन् र असफल होला अनि पोकोपुन्तुरो बोकेर उतै ( विदेश) जाने दिन आउला भन्ने सोच्दैछन् ।’
किन त ?
संगीत उद्योगको अवस्था र छोरीको भविष्य !
विवेक भावुक सुनिए । उनलाई असफल हुने छुट छैन । र, विवेकले त्यसो गर्ने छैनन् । कम्तिमा शुक्रबारको कन्सर्टले उनीमा आत्मविश्वास भरिएको छ । संगीतमै होमिएको जीवन उत्सवमय बन्ने गोरेटो कोरिएको छ ।
….जिन्दगी यो उत्सव हो
वरदान ईश्वरको
सृष्टिका सृजना आफ्नै
बुझौं न मूल्य यस्को…
युद्धले होइन बुद्धले, भोलिको दिन हाँक्नु छ
सन्ततिको शान्तिले, अनन्त सम्मान बाच्ँनु छ…।





