पोखरा/हरेक सफल खेलाडीको अन्तिम यात्रा भनेको ओलम्पिकमा पुग्ने नै हुन्छ । खेलाडीको मात्र होइन, प्रशिक्षक, व्यवस्थापक वा खेल प्रतिनिधिको सपना पनि त्यही हो । २०७८ सालमा जापानले ओलम्पिकको आयोजना गरेको थियो । कोभिड–१९ को काल थियो । परीक्षणपछि मात्र खेलमा सहभागिता सुनिश्चित हुन्थ्यो । एथेलेक्टिसकी प्रशिक्षक इन्द्रा मल्ल भने कोभिडबाट जोगिएकी थिइन् । प्रशिक्षकको रुपमा जापान जाने सूचीमा नाम पनि थियो । जापान जाने उपक्रममा उनले पनि कोभिड परीक्षण गरिन् । आफू स्वस्थ भएकोमा ढुक्क रहेकी उनी त्यतिबेला छाँगाबाट खसेजस्तै भइन्, जतिबेला उनको रिपोर्ट पोजेटिभ देखियो । उनले पुनः स्वाब परीक्षण गराइन् । रिपोर्ट सोचेजस्तै आयो तर ओलम्पिक कमिटीलाई त्यो मान्य भएन । पछि थाहा भयो– उड्नु एक दिनअघि नै उनको नाम काटेर अर्कै पुरुषको नाम राखिएको रहेछ । षड्यन्त्र भएको रहेछ तर बहाना कोरोनालाई बनाइएको रहेछ ! मन कति दुख्यो, त्यो उनलाई नै थाहा छ । खेलकुदमा हुने चलखेलको पीडा उनी यदाकदा सुनाउँछिन् तर पीडा नै भए पनि उनको खेलप्रति अगाध मोह छ । त्यही मोहले तानिएर उनी हरेक दिन पोखरा रंगशाला धाउँछिन् । साना नानीबाबुलाई सिकाउँछिन् ।
४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी इन्द्रा खेलकुदमा स्वर्णिम अक्षरले नाम लेखाउने सीमित महिलामध्येकी एक हुन् । एक्लो वृहस्पति हुन् ।
इन्द्राको बुबा स्वर्गिय टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे । उनी बक्सिङका नामुद खेलाडी थिए । बुबामात्र होइन, मामा यामबहादुर शाही पनि बक्सिङका खेलाडी थिए । बुबा र मामाको प्रेरणामा इन्द्रा खेलकुदमा होमिइन् । क्याम्पस जीवनमा एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिस सबै खेलिन् । तर, विशेष रुची भने एथ्लेटिक्समै थियो । एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा पहिलो हुन्थिन । पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन् ।
उनले खेलकुदकै लागि कहिले पढाइ त्यागिन् त कहिले स्थायी जागिर ।
२०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो । तर, उनी दोधारमा परिनन्,खेलकुद नै रोजिन् ।
खेलकुदमा लागेर षडयन्त्रको सिकार भएपनि उनले कर्मका कारण नाम, दामसँगै इज्जत पाएकी छन् ।
उनले दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्डहरु पनि कायम गरेकी छन् । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पीयनसीपमा पनि प्रथम स्थान हासिल गरेकी छन् । ३० औं राष्ट्रिय च्याम्पीयनसीपमा हाल्फ म्याराथनमा रजन पदक, १० किलोमिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोश्रो र तेश्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पीयनसीपमा गोल्ड मेडल जितेकी छन् । २६ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण, २८ औं राष्ट्रिय खेलकुदको १० किलोमिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन् ।
त्यसबाहेक उनले भारतमा भएको आठौं एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको १० किलोमिटर वाल्किङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पीयनसीपको पाँच किलोमिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेण्ड वल्र्ड जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा २३ औं स्थान र सिंगापुरमै भएको दोश्रो एयिसन जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन् । त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी इन्द्राले द हिमालयन माउन्टेन बाइक च्याम्पीयनसीपमा पनि पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराइन् । त्यतिमात्र होइन, उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडी पनि हुन् । उनको खेलप्रतिको योगदानकै कारण उनलाई नेपाल खेलकदु पत्रकार मञ्च गण्डकीले लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गर्न लागेको छ ।





