हरितालिका तीज आउन अझै करिब २ हप्ता बाँकी छ तर तीजको रौनकले सहरलाई छोपिसकेको छ । होटल, पार्टी प्यालेसलगायतका स्थानमा तीज विशेष कार्यक्रमहरु भइरहेका छन् । तीज भड्किलो भयो भन्ने गुनासाहरु यत्रतत्र सुनिएका छन् तर त्यस्ता गतिविधिहरुमा कमी आउने छाँट देखिँदैन । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना नै जारी गरेर भड्किलो तबरले तीज नमाउन खबरदारी गरेको छ तर त्यतातर्फ कसैको ध्यान छैन । प्रशासनले ‘कर्मकाण्डी’ सूचना जारी गरेको र त्यसलाई नमान्दा पनि कारवाही हुँदैन भन्ने मानसिकताले काम गरेको छ ।
तीज खासमा नारीका निम्ति शिवजीको उपासना र पतिको दीर्घायूको कामना गर्ने दिनमात्र नभएर स्वतन्त्रताको पर्व पनि हो । नारीहरु यो पर्वको छेकोमा माइती जान्छन्, मनको बह कहन्छन्, साथीसंगीसँग बसेर मनोरञ्जनात्मक क्रियाकलाप गर्छन् । यसलाई अन्यथा मान्नुपर्ने कारण पनि छैन । हिजोका दिन सम्झने हो भने त यो पर्व साँच्चिकै महिला मुक्तिकै निम्ति थियो भन्न कर लाग्छ । महिलाका निम्ति पुरुषवादी समाजले निर्माण गरेका पर्खालहरु यति अग्ला थिए कि, नारीहरु खुलेर आफ्ना कुरा राख्न सक्दैनथे । महिला हिंसा पनि अचाक्ली नै थियो । त्यो अवस्थामा वर्षको एक दिन भए पनि रमाउने अवसर तीजले नै प्रदान गथ्र्यो । अहिले परिस्थिति बदलिएको छ । महिलाहरुको परनिर्भरता घट्दो छ । संविधान र कानूनले पनि महिलालाई अधिकार प्रदान गरेकै छ । उच्च र मध्यमवर्गीय महिलाहरुलाई खुसी साँट्नको लागि तीज नै कुर्नुपर्ने अवस्था पनि छैन । तर, तीज साँच्चिकै भड्किलो चाहिँ बनेको छ । गहना प्रदर्शन, हप्तौँ अगाडिदेखि भोज–भतेरका कारण यसको सांस्कृतिक/धार्मिक पक्ष गौण बन्न पुगेको छ । यसो हुनुलाई राम्रो मान्न सकिँदैन । हुनेखानेले तीजको छेकोमा देखाउने आडम्बरले हुँदा खानेहरुलाई गिज्याएको छ । विकृति जन्माएको छ । यस्ता प्रवृत्तिमा लगाम लगाउनै पर्छ । स्वतन्त्रता र स्वच्छन्दताको लक्ष्मणरेखा कोरिनैपर्छ । हिन्दु नारीहरुले शौभाग्यका सामग्रीहरु प्रयोग गर्ने र त्यसको बिक्री बितरणमा मुस्लिम महिलाहरुको संलग्नता रहनुले तीजलाई सामाजिक सद्भावको पर्व पनि भन्न सकिन्छ । तीजलाई सांस्कृतिक सद्भावको पर्वको रुपमा मनाउँदा नै यसको महत्व रहन्छ । भड्किलो र तामझामपूर्ण व्यवहारले समाजलाई गलत दिशामा लैजान्छ । स्वतन्त्रता खोज्ने नारीहरुले यो तथ्यलाई मनन गरुन् । तीजलाई भड्किलो नबनाऊन् ।

