बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देशको भू–राजनीतिक जटिलताप्रति गम्भीर बनौं

देशको भू–राजनीतिक जटिलताप्रति गम्भीर बनौं


  • Dhorpatan News
  • भाद्र १३ २०८१, बिहिबार

दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेको सानो हिमाली गणराज्य नेपालमा छिमेकीको चासो अस्वभाविक हैन । अझ, नेपालमा त छिमेकीबाहेकका छिमेकीहरुले पनि उत्तिकै चासो व्यक्त गर्छन् । नेपालको भू–राजनीतिक संवेदनशीलता यसको कारक हो । सायद, यसैलाई दृष्टिगत गर्दै पृथ्वीनारायण शाहले नेपाललाई   दुई ढुंगाबीचको तरुल’को रुपमा अथ्र्याएका थिए । भारत र चीन उदाउँदा शक्ति राष्ट्र हुन् । यी दुई देशको बीचमा नेपाल छ र नेपाल हुने गतिविधिहरुले दुबै छिमेकीलाई असर पु¥याउँछ । नेपाल र भारतबीच खुला र चीनसँग बन्द सीमा नाका हाम्रो विशेषता हो । यो विशेषतालाई नेपालले विभिन्न कालखण्डमा उपयोग गर्दै आएको छ । भारत–नेपाल–भोट व्यापार त्यसको दृष्टान्त हो । तर, यो सुविधाले सधै ँ लाभमात्र दिएको छैन, हानी पनि भएको छ । शक्तिराष्ट्रहरुबीच उत्पन्न हुने कटुताको कालो छायाँ सबैभन्दा पहिला नेपालमै पर्ने गरेको छ । अझ तिब्बती शरणार्थीको नेपाल बसाइँ,चीनमाथि अमेरिका र भारतको चासोका कारण पनि नेपालको मधेश र हिमाली क्षेत्र बढी तरंगित हुने गरेको छ । शक्तिराष्ट्रहरुले आफ्ना प्रतिस्पर्धीहरुको क्षमता आँकलन गर्नकै लागि पनि नेपाली भूमि प्रयोग गर्न खोजिरहेका हुन्छन् ।

उनीहरुको आँखाबाट हेर्दा त्यो अन्यथा हैन । तर, नेपालको हकमा भने त्यसले ठूलो अर्थ राख्छ । पछिल्लो समय मित्रराष्ट्र भारतले नेपालको अति संवेदनशील क्षेत्र उपल्लो मुस्ताबमा बौद्ध शिक्षाको लागि कलेज खोल्न लागेको समाचार सार्वजनिक भएको छ । कतिसम्म भने मुस्ताबका जनप्रतिनिधिहरुले नै बौद्ध कलेज खोल्न भारतीय दूतावाससमक्ष प्रस्ताव पेश गरेको पनि खुलेको छ । समाचारको नेपाल सरकारले खण्डन गरेको छ र यो प्रस्ताव कसरी भारतसामु पुग्यो भन्ने विषयमा छानविन गर्ने जनाएको छ । अपितु, यो प्रकरणले विदेशीको चासो नेपालप्रति कति रहेछ भन्ने छर्लङ्ग भएको छ । उपल्लो मुस्ताब चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको क्षेत्र हो । कुनै समय खम्पा भनिने तिब्बतीहरुले चीनविरुद्ध मोर्चा कसेको यो क्षेत्रमा स्वभाविक रुपले चीनको सुरक्षा चासो बढी छ । त्यसो त, चीन नेपालबाट चीन विरोधी गतिविधि नहोस् भन्ने चाहन्छ र यहाँ भएका तिब्बती सरणार्थीहरुमाथि निगरानी बढाइरहन्छ । भारत र अमेरिकालगायतका पश्चिमा देशहरु भने तिब्बतीप्रति सद्भाव राख्छन् ।

तिब्बती शरणार्थीहरुको मानव अधिकारको पक्षमा उभिन्छन् । अहिले भारतले उपल्लो मुस्ताबमा बनाउने भनिएको कलेज तिब्बती विद्यार्थीकै लागि हो । बौद्ध शिक्षाको विस्तारलाई नराम्रो नमान्ने हो भने पनि, त्यहाँ हुने भारतीय लगानी र उपस्थितिलाई उसले सहज लिँदैन । भारत स्वयंले पनि नेपालको परराष्ट्र नीति विपरीतका गतिविधि नगर्ला भन्ने ठाउँ रहँदैन । नेपालले चीन, भारत, अमेरिकासहितका पश्चिमा देशहरुबाट सहयोग लिइरहेको छ । यो हाम्रो अधिकार हो तर चिनियाँ वा भारतीय नाका नजिकैको संवेदनशील ठाउँमा प्रतिस्पर्धीहरुको गतिविधि बढाउने सहयोगबारे भने गम्भीर हुनुपर्छ । सम्भावित कटुताको आँकलन गरिनुपर्छ । चीनले आफ्नो सिमाना नजिक र भारतले पनि उसको सिमाना नजिक अर्को देशले गर्ने गतिविधि नरुचाएको तथ्यलाई हामीले बिर्सन मिल्दैन । हात्तीहरु प्रेमालाप गरुन् कि झगडा ! मिचिने भनेको भुँइको घाँस नै हो । घाँस जोगाउन हात्ती पस्ने बाटो बन्द गरिनुपर्छ । तारबार लगाउनुपर्छ । कुटनीतिक भाषामा भन्दा सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै भारत र चीनलाई उनीहरुकै ठाउँमा सीमित गरिनुपर्छ । नेपाली भूमिलाई एक–अर्काविरुद्ध प्रयोग गर्न दिनुहुँदैन । कुटनीतिलाई खेलाँची सम्झन हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->