गण्डकी प्रदेशमा डेंगीको प्रकोप बढ्दो क्रममा रहेको स्वाथ्य कार्यालयको प्रतिवेदनले पुष्टि गरेको छ । डेंगीकै कारण पोखरामा मात्र तीनजनाले ज्यान गुमाएका छन् । विरामीको संख्या दैनिक उकालो लागिरहेको छ । ५ हजारभन्दा बढी नागरिक डेंगीको संक्रमणमा रहँदा कास्कीमा यसको जोखिम झन बढी देखिएको छ । सहरी क्षेत्र असुरक्षित बनेको छ । डेंगी लागेपछि त्यसले शरीरलाई यति दुखाउँछ कि त्यसको बयान पीडितले मात्र गर्नसक्छन् । डेंगी संक्रमण भएपछि उच्च ज्वरो आउने, जीउ, जोर्नी र हाड दुख्ने,आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिँजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने हुन्छ ।
एडिज प्रजातिको लामखुट्टे डेंगीको कारक हो । यो लामखुट्टे पानी जम्ने ठाउँमा बस्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे बढी सक्रिय हुन्छ । पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खाली ड्रम, फूलदानी, गमला, पानी ट्यांकीलगायतका भाडामा फुल पार्छ । डेंगी संक्रमणबाट जोखिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेका टोकाइबाट जोगिनु नै हो । झुल लगाएर सुत्ने, लामखुट्टे भगाउने धूप वा अन्य रसायन प्रयोग गर्नेजस्ता कामको अलावा मुख्य चाहिँ लामखुट्टेको बृद्धि रोक्नु नै हो । यसका लागि नागरिक सचेतता महत्ववपूर्ण हुन्छ । घर वरपर सफा राख्ने हो भने लामखुट्टे नै आउँदैन । लामखुट्टे फैलिएन भने संक्रमण नै हुँदैन । अतः बढ्दो डेंगी संक्रमणबाट बच्न तथा संक्रणम फैलन नदिन लामखुट्टेका बासस्थान नष्ट गर्ने अभियान संचालन गरिनुपर्छ । यो कार्य सरकार वा पालिकाले मात्र गर्न सक्दैन । नागरिक समाज स्वयं सचेत भइ अभियान संचालन गरिनुपर्छ । वातावरण स्वच्छ राख्नसके डेंगीमात्र हैन,हैन अन्य प्रकोप पनि न्यूनीकरण हुन्छ भन्ने बुझ्नुपर्छ ।

