बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रविले रोज्नुपर्ने बाटो

रविले रोज्नुपर्ने बाटो


  • Dhorpatan News
  • कार्तिक ६ २०८१, मंगलबार

संस्कृतमा एउटा श्लोक छ । श्लोकमा भनिएको छ–
अपूज्या यत्र पूज्यन्ते
पूज्यानामवमानता ।
त्रीणि तत्र प्रवर्तन्ते
दुर्भिक्षं मरणम भयम् ।
यसको अर्थ हुन्छ,‘जहाँ अपूज्य व्यक्ति पुजिन्छन् र पूज्य व्यक्तिहरुको अपमान हुन्छ, त्यहाँ अनिकाल, मृत्यु र डर यी ३ कुरा उत्पन्न हुन्छन् । नेपालको सन्दर्भमा अहिले पनि सदियौं अघि लेखिएको स्लोक असान्दर्भिक बनेको छैन । किनकि, यहाँ जसलाई पुजिएको छ÷ जोबाट बढी आशा गरिएको छ, उनीहरु नै कालान्तरमा पतित् बनेका छन् । उनीहरुबाटै विश्वासघात भएको छ । र, उनीहरुकै कारण समस्याहरु सृजना भएका छन् । नेपालको राजनीतिमा त झन यो प्रष्टैसँग देखिन थालेको छ ।

पृथ्वीनारायण शाहको पालादेखिको नेपाली इतिहास हेर्दा यहाँ थोरै मात्रले आफूलाई पूज्य बनाउने ल्याकतमा उभ्याएका छन् । राणा शासनको समग्र कालखण्डमा सुधारका कार्यक्रमले तत्कालीन शासकबाट आलोचित बने पनि देव समसेरले त्यो ल्याकत राखिदिए । सती प्रथा उन्मूलन अनि त्रिचन्द्र कलेजको स्थापनाबाट चन्द्र समसेरले आफूसँग अलिकति पुज्नैपर्ने गुण रहेको प्रमाणित गरेकै हुन् । राजाहरु सबैलाई देवता नै मानिए पनि तीमध्ये केही मात्र अहिले पनि पूजनीय भइरहेका छन् । समकालीन नेपाली राजनीतिमा जनता आफैले भोट दिएर पूज्य बनाएकाहरुमध्ये केहीले मात्र आफू सही भएको प्रमाणित गरेका छन् । ती पनि लामो कालखण्ड सत्तामा बस्न नपाएका र बस्ने अवसर नै नपाएका छन् । उदाहरणको लागि प्रधानमन्त्रीको रुपमा विपी कोइराला र मनोमोहन अधिकारी लामो समय सत्तामा बस्न पाएनन् । अपजसबाट मुक्त नभए पनि सादगीका कारण कृष्णप्रसाद भट्टराई र सुशील कोइराला जनताको आँखाबाट गिरेनन् । मदन भण्डारीजस्ता लोकप्रिय नेता चाहिँ सत्ताको परीक्षणमा नै परेनन् । यसबाहेक जनताको तर्फबाट सर्वोच्च पदमा पुगेकाहरुले कार्यकाल औषत नै रह्यो ।

सरकारी स्रोत, साधन र शक्ति उपयोगमा अब्बल सावित भए पनि पूज्य हुन उनीहरु असमर्थ भए÷ बनाइए । इतिहासले सबैलाई पूज्य बनाउँदैन । जनताबाट अनुमोदित हुनुपर्ने ठाउँमा त्यस्तो अवसर पटक–पटक दोहोरिँदैन । जनताको आँखाबाट गिरेपछि पुनः त्यो ठाउँमा पुग्न असाध्यै गाह्रो हुन्छ र धेरै हदसम्म असम्भव नै हुन्छ । सम्भव त, त्यतिबेला हुन्छ, जब ऊप्रति आम नागरिकको भरोसा रहन्छ । सत्तामा हुँदा त्यो व्यक्तिले जनतालाई डर, भोक र रोगबाट मुक्त गरेको हुन्छ । सत्ता बाहिर रहँदा पनि उसले निष्ठालाई बिर्सेको हुँदैन । जनतालाई ढाँटेको हुँदैन । जनतालाई आश्वस्त पार्न नसक्ने शासकले आफूलाई जति राम्रो सम्झे पनि त्यो पटक–पटक जनअनुमोदित हुन सक्दैन । भला, शक्तिको अगाडि आलोचनाका स्वरहरु सुनिँदैनन् । सत्तामा हुनेहरुले आलोचनाबाट सिक्नुपर्छ । आलोचनाबाट सिक्नेहरु पूज्य हुने बाटोमा लाग्छन् तर आलोचनालाई निषेध गर्नेहरु कालान्तरमा सबैभन्दा अलोकप्रिय हुन्छन् । नीति स्लोकमा भनिएका यी विषयलाई बुझ्ने र समयमै आफूलाई पूज्य बनाउने काम चाहिँ सत्ताधारी नेताबाटै हुनुपर्छ । पार्टीभित्र र बाहिरबाट अनि जनस्तरबाटै आलोचनाका स्वरहरु चर्को हुँदै जाँदा त्यसमा षड्यन्त्र मात्रै देख्नुलाई दृष्टिदोष मान्न सकिन्छ । आफू पूज्य बन्न समयले प्रदान गरेको अवसरको हातबाट फुत्काउनेलाई हुस्सु पनि भन्न सकिन्छ ।

अहिले आफूलाई वैकल्पिक शक्तिको रुपमा चिनाउँदै आएका, जनताले आशाको दृष्टिले हेरेका तर सत्ताबाट हठात बाहिरिएका अनि सहकारी ठगी काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आफूलाई त्यही कित्तामा उभ्याउने छाँट देखाएका छन् । आरोपबाट डामिएका उनले उन्मुक्ति खोज्न भीडलाई उक्साएका छन् । सिंगो पार्टी पंक्तिलाई सडकमा उतारेका छन् र सहकारी पीडितहरुको पीडालाई अन्देखा गरेका छन् । रवि लोकप्रिय छन् । संचारकर्मीको रुपमा उनले गरेका केही कृत्यहरु स्तूत्य पनि थिए÷छन् । तर,राजनीतिक दल खोलेर सत्ताको रस्वास्वादन गरिसकेका उनले आफू दिनहुँ परीक्षणको कसीमा घोटिनुपर्छ भन्ने तथ्यलाई भने ख्याल गरेका छैनन् । लोकरिझ्याइँवाद सधैँ चल्दैन । अर्काको आलोचना गरेर वा अर्काको कमजोरी देखाएरमात्र आफू सज्जन बनिँदैन । व्यक्ति स्वयं जबसम्म सत्यको नजिक हुन सक्दैन,ऊ जुनसुकै बेला पनि अपमानित हुनसक्छ । जनताबाट त्यक्त बन्नसक्छ । राज्यले षड्यन्त्र गर्न खोजे प्रतिवाद गर्नुपर्छ,त्यो उनको अधिकार पनि हो तर त्यो सभ्य र कानूनसम्मत हुनुपर्छ । यो कुरा बुझ्दा नै रविको कल्याण हुन्छ । आगे त व्यक्तिको रुपमा अवसर गुमाएको प्रतिफल रविले नै भोग्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->