बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाँदर धपाऊ

बाँदर धपाऊ


  • Dhorpatan News
  • बैशाख २३ २०८२, मंगलबार

बूढापाका भन्थे,‘कुप्रोलाई उठी सुख न बसी सुख !’ विज्ञान र प्रविधिले कुप्रोलाई सुविधा दिएको छ बरु यो उखान किसानको हकमा चाहिँ ठ्याक्कै लागु भएको छ । उनीहरु खेती नगरौँ त कसरी नगरौँ, गरौँ त किन गरौँ भन्नेमा पुगेका छन् । कारण हो– बाँदरले लगाएको बाली नष्ट गरिदिनु ।

हो,पछिल्लो समय पहाडका गाउँगाउँमा बाँदर आतंक मच्चिएको छ । कुनैबेला बाँदर गाउँ पस्न धकाउँथे । कथंकदाचित गाउँ पसे पनि मानिस, कुकुरको आवाज सुन्नासाथ सुइँकुच्चा ठोक्थे । बाँदर हेर्न जंगल नै जानुपथ्र्यो । बाँदर जंगलमै रमाउँथे । तर, समय त्यस्तो रहेन । बाँदर गाउँ पस्न थाले । कुकरको भुकाई र मान्छेको हप्काई उनीहरुले पचाए । कतिसम्म भने बालबालिका र निम्छरामाथि जाइलाग्न थाले । बाँदरले लगाएको बाली सखाप बनाउने बाँदरलाई धपाउन किसानहरुले अनेकौं जुक्ति लगाए । तर, उनीहरुको जुक्ति कमै काम लाग्ने गरेको छ । बाँदरले गाउँमा डेरा जमाएका छन् । अन्नपात सखाप पारेका छन् । बाँदर आतंकले अति भएपछि धेरै ठाउँका गाउँलेहरुले बाँदर धपाउने मान्छे नै राखे । उनीहरुले स्थानीय पालिका र सरकार गुहारे । स्थानीय चुनावको बेला बाँदर धपाउने प्रतिवद्धता व्यक्त गर्नेलाई भोट हाले । बाँदरदेखि आजित भएका गाउँलेको माग केही जनप्रतिनिधिहरुले सुने पनि बाँदर आतंक अन्त्य भएको छैन । हेर्दा र सुन्दा सामान्य लाग्ने यो विषय किसानको हकमा भने अत्यन्त महत्वपूर्ण रहेको छ ।

धार्मिक ग्रन्थहरुले अन्नलाई ब्रह्मसँग तुलना गरेका छन् । अन्नबिना जीवन सम्भव छैन । अन्न उब्जाउनु किसानको धर्म हो । उनीहरु बढो मेहनतले अन्न लगाउँछन् । त्यही अन्न भित्र्याउन नपाउँदाको पीडा शब्दमा अटाउँदैन । फल लाग्न थालेदेखि नै बाँदरले अन्न सखाप पारिदिँदा किसानको मन मात्रै रुँदैन, राष्ट्रिय अर्थतन्त्रमा ठूलो क्षति पुग्छ । अतः बाँदरको व्यवस्थापनप्रति सरकारको ध्यान जानैपर्छ ।
बाँदर गाउँ पस्नुको दोष मान्छेलाई नै जान्छ । बाँदरको बासस्थान मास्ने मान्छे नै हुन् । जंगलमा कन्दमुल पाइन छाडेपछि, नदीका किनारहरुमा रहेका ठूला रुख अनि बासस्थान मासिएपछि बाँदर गाउँ पसेका हुन् । बन विकास अनि नदी किनारामा बस्ती बिस्तार तथा जलविद्युत परियोजनाहरु निर्माण हुँदा बाँदर खाना र बास दुबै नाश भयो । अर्कोतर्फ जलवायु परिवर्तनका कारण बाँदरको परम्परागत बासस्थान मानिने नदी किनार तथा गहिरा क्षेत्रहरुमा बढी गर्मी हुन थाल्यो । जसले गर्दा बाँदर खाना पाइने चिसो ठाउँतिर बसाइँ सर्न बाध्य भए । त्यो बाध्यता मानिसको लागि भने महंगो पर्न गयो । हो, बाँदरले पनि बाँच्न पाउनुपर्छ । बन, बासस्थान र खाद्यान्न माँसिदा बाँदर मात्रै हैन, हात्ती, चितुवाजस्ता वन्यजन्तु पनि गाउँ पस्न थालेको तथ्यलाई अब बिर्सनु हुँदैन । वन्यजन्तुको संरक्षणको लागि जंंगलको जगेर्ना गर्ने, उनीहरुको बासस्थानको संरक्षण गर्नेतर्फ अल्प र दीर्घकालीन योजनासहित काम गर्नुपर्छ । तर, अल्पकालीन रुपले भने किसानको मर्कामाथि विशेष ध्यान दिनुपर्छ । बाँदर धपाउन नयाँ प्रविधिको प्रयोग गर्ने, किसानले लगाएका अन्नबाली बचाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनैपर्छ । त्यसो गर्दामात्र बसाइँसराइ रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->