जलवायु परिवर्तनको मुद्दा अब बन्द कोठाभित्र हुने गफमा सीमित रहेन । आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्न थालेपछि यो अहिले आम सरोकारको विषयमा रुपान्तरित भएको छ । जलवायु परिवर्तनले हाम्रोजस्तो हिमाली राष्ट्रमा प्रत्यक्ष असर गरेको छ । बढ्दो तापमान, बेमौषमी वर्षा, अतिवृष्टि, अनावृष्टि जस्ता समस्याले हामीलाई पिरोल्न थालेको छ । पानीका मुहानहरु सुक्नेदेखि हिमाली जिल्लामा लामखुट्टे देखिनेसम्मका घटनाहरुको पछाडि जलवायु परिवर्तन नै कारक रहेको बुढाबुढीले पनि महसुस गरेका छन् । जलवायु परिवर्तन निम्त्याउने कारक हामी हेनौँ । विकसित राष्ट्रहरुबाट कार्वन उत्सर्जन गरेका कारण नै हाम्रा हिमालहरु प्रभावित बनेका हुन् । शक्ति राष्ट्रहरुले गरेका यी गलत क्रियाकलापको क्षतिपूर्तिको सहमति पनि नबनेको हैन । तर, पछिल्लो समय अमेरिकाले यो सहमतिबाट हात झिकेको छ । अन्य शक्ति राष्ट्रले पनि प्रतिवद्धता अनुसार सहयो गरेका छैनन् । हाम्रो देशको हकमा विदेशबाट जलवायु परिवर्तनको नाममा आएको पैसाको पनि खासै सदुपयोग चाहिँ हुन सकेको थिएन । यो कुनै गैरसरकारी संस्थाको ‘कर्मकाण्डी’ विषयको रुपमा मात्र सीमित थियो । तर, जब समस्या झन बढ्दै गयो, तब यसको निदानका निम्ति हामी जाग्नुपर्ने देखियो । कम्तिमा क्षति न्यूनीकरणका निम्ति काम गर्नुपर्ने आवश्यकता अहिले टड्कारो बनेको छ । असरबाट जोगिन र जोखिम न्यूनीकरण गर्न हाम्रा आनीबानीदेखि व्यवहार बदल्नुपर्ने भएको छ । विकासे परियोजनाहरुबाट नै वातावरण नबिग्रने सुनिश्चितताका निम्ति पनि हामीले नै तदारुकता देखाउने बेला आइसकेको छ । हामीले निर्माण गरेका भौतिक संरचनाहरु वातावरण मैत्री हुन सकेनन् भने भविष्यमा त्यसले नै विपत्ति निम्त्याउँछ । यो विषयप्रति पालिकाहरुले खासै ध्यान दिएको देखिँदैन । जथाभावि खनिएका बाटाहरुले पानीको मुहान सुकाउनेदेखि पहिलो निम्त्याएको घटनाबाट पाठ सिक्नुपर्छ । यस्ता विषयलाई जलवायु परिवर्तनसँग जोडेर फुत्कने यत्न गरिनुहुँदैन । जलवायु परिवर्तनको असर न्यूनीकरणको निम्ति अन्तर्राष्ट्रिय मञ्चमा गएर बोल्ने र सहयोगको वातावरण निर्माण गर्नु छ छँदैछ, हामी आफैंले पनि सक्दो यत्न चाहिँ गर्नैपर्ने भएको छ ।




