बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोदोलाई उपेक्षा होइन, प्राथमिकता देऊ

कोदोलाई उपेक्षा होइन, प्राथमिकता देऊ


  • Dhorpatan News
  • साउन १५ २०८२, बिहिबार

स्याङजाको फेदीखोला गाउँपालिकाले विद्यालयहरुमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरु दिवा खाजाको रुपमा प्रयोग गर्न अनिवार्य गरेको छ । कोदोको ढिँडो, मःम, तावा रोटी, पुवा, सेलरोटी चिउरा, हलुवा, सूप आदि बनाएर खुवाउन नीतिगत नै निर्णय पालिकाले गरेको हो । साथै पालिकाभित्रका सबै सार्वजनिक निकायमा कोदोबाट बनेका परिकारलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ । गाउँपालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोलामा कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षक समावेश गरी पढाउँदै आएको छ ।

नेपालको कृषि इतिहासमा कोदोले एउटा विशेष स्थान ओगटेको छ । विशेष गरी पहाडी र हिमाली बासिन्दाको जीविकोपार्जन र पोषणमा योगदान पु¥याउँदै आएको यो बाली उपेक्षामा परेको बेला फेदीखोलाको प्रयास सराहनीय छ । यद्यपी कार्यान्वयन पक्ष हेर्न भने बाँकी छ । खाद्य सुरक्षा, जलवायु, सहनशीलता र पोषणको दृष्ट्रिकोणले अत्यन्तै उपयोगी कोदो खेती गर्ने जमीन बाँझिदै गएको छ, किसानको रुची घट्दै गएको छ र सरकारीस्तरबाट समेत यसले महत्व पाउन सकेको छैन । कोदो जलवायु परिवर्तन प्रतिरोधी बाली हो । यसबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ ।

नेपालको तराईदेखि ३ हजार मिटरको उचाइसम्म उत्पादन हुने कोदो पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण छ । यसलाई गरीवको खाना र भिटामिन पनि भनिन्छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनीज, भिटामिन बि, टिप्टोफेन, फाइबर, एन्टीअक्सिडेन्टलगायत पोषक तत्व पाइन्छ । बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगायत बिरामीका लागि उपयोगी हुन्छ । मकैमा भन्दा ३५ गुणा र गहँुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । यसैगरी चामलमा भन्दा २.३ गुणा, मकैमा भन्दा ३.७ गुणा र गहुँमा भन्दा १.५ गुणा बढी फलाम तत्व पाइन्छ । मुटुरोग लाग्न नदिने, बालबालिकाको हाड र दाँतको विकासमा सघाउँने, नराम्रो कोलेस्ट्रोल घटाउँने, शरीरको विषाक्तता बाहिर निकाल्ने कोदोको फाइदा हुन् । यसैगरी पाचनतन्त्रलाई तन्दुरुस्त राख्ने, रगतको कमी हुन नदिने, कब्जियत हुन नपाउने, मधुमेहबाट जोगाउँने, स्तन क्यान्सर हुन नदिने, तौल नियन्त्रित राख्ने, रक्तचाप घटाउने, मृगौला र कलेजोको रोग लाग्न नदिने, रोगप्रतिरोधी क्षमता बढाउँने पनि कोदोको सेवनबाट हुने फाइदा हुन् । त्यस्तै कुपोषणबाट बचाउने, पित्त थैलीमा पत्थरी हुन नदिने, छाला चम्किलो बनाइराख्ने, आमाको दूध बढाउँनेजस्ता फाइदा यसका छन् ।

भाते बानीको संस्कृति हुर्केको हाम्रो समाजमा कोदोलाई सामाजिक प्रतिष्ठासँग पनि जोडेर भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ । तर, हालका दिनहरुमा यस सम्बन्धि जनचेतना अभिवृद्धि, कोदो भन्दा अरु खाद्यान्न महंगो तथा स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकोले यसको महत्व तथा उपयोगिता दिन प्रति दिन बढ्दै गएको छ । बढ्दो शहरीकरण र जीवनशैली परिवर्तनसंगै अव कोदोलाई अव ‘सस्तो, स्वस्थ र स्मार्ट’ खाना भनि पुनर्भाषित गर्नुपर्छ । सरकारले उत्पादन बढाउने योजना, नीति र कार्यक्रम ल्याउनु पर्छ । अनुसन्धान निकायले प्रविधिको विस्तार, स्थानीय तहले ‘एक गाउँ, एक परम्परागत बाली’ अभियान थालेर कोदो खेतीको विकासमा योगदान दिनुपर्छ । विद्यालयहरुमा स्थानीय अन्न समेटिएको पोषणयुक्त खाजा कार्यक्रममार्फत बालबालिकालाई कोदोप्रति रुची र गर्वको विकास गराउने कुरामा सरकार अग्रसर हुनुपर्छ । कोदो केवल अन्नमात्र होइन, यो हाम्रो पहिचान हो, परम्परा हो, संभावना पनि हो । यसैले अव कोदोलाई उपेक्षाबाट निकालेर प्राथमिकताको सूचीमा राख्न ढिलाई नगरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->