त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन् भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो कि,
धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरु
‘साला पहाडमा क्या है !’
– डा. मीनबहादुर विष्ट
‘गरिमा’–२०३९
हामी कहाँ थियौं ?
४० को दशक सुरुवातीमा प्रकाशित यो कविताका हरफ यस्तो जवर्जस्त छ, जसले अहिलेसम्म नेपाली समाजको मनोदशालाई डो¥याइ रहेको छ । पछिल्लो पुस्तामा देखिने चरम निराशा, आक्रोशले भनिरहेको छ– ‘नेपालमा के छ र ?’ देशमा विकासको गति तीव्र हैन । तर सुस्त पनि छैन । आफ्नै गतिमा अघि बढिरहेको छ । पहाडले घेरेको भौगोलिक बनावटले विकासको लहर र मापन अन्ततः बाटो बाहेक अर्को केही देखिन्न । त्यसबाहेक जनताका आधाभूत शिक्षा, स्वास्थ्य सेवा,खानेपानीको व्यवस्था र सरकारले सेवाग्रहीलाई दिने सेवा,सुविधामा सहज पहुँच हो । त्यससँगै बाँच्नका लागि सहज रोजगारी ।
अहिले पहाडका गाउँगाउँमा उद्योग, कलकारखाना स्थापना गरिदिएर रोजगारी दिलाउनु पर्छ भन्ने मानसिकता एकथरीको देखिन्छ । जुन कल्पना र आशा बेअर्थ हो । कारण पहाडमा ठूला कलकारखाना, उद्योग खोल्ने सम्भावना देखिन्न । त्यसको मूल कारण हो–उद्योग कलकारखाना निर्माण र उत्पादनमा लागत बढी लाग्नु । जसबाट उत्पादन हुने बस्तुले बजार मूल्यमा प्रतिस्पर्धा गर्नै सक्दैन । त्यसको विकल्प पहाडमा स्थानीय उत्पादनलाई लघुउद्यमको विकल्प खडा गरेर सहरमा बजारीकण उत्तम उपाय हो ।
विकास गाउँमा कसरी पु¥याउने ? त्यसको सैद्धान्तिक अवधारणा र आधार अन्ततः राजनीतिक दलहरूले नै पेश गर्ने हुन् । जनताबाट निर्वाचित भएर जानेहरूले नै कार्यपालिका सञ्चालन गर्ने हुन् । एउटा राजनीतिक दल र नेताको नियत सफा हुने हो भने विकास सम्भव हुन्छ भन्ने आम मान्यता हो । यद्यपि, उत्पीडित समूहहरुसम्म पूर्ण नागरिक अधिकारहरुको विस्तार हुन तथा त्यहाँ प्रवेश गर्न आवश्यक राजनीतिक संस्थाहरु स्थापना हुन कयौं शताब्दी लागेका इतिहासहरु छन् । हामीले नेपाललाई हे¥यौं भने सम्वत् ००७ साल वरपरबाट उठेको संविधान सभाको चुनावका लागि मात्रै ६ दशक निरन्तर संघर्ष र विद्रोह गर्नुप¥यो । संविधान सभाबाट बनेको संघीय लोकतन्त्रको मूल आधारहरु भनेको जनताद्वारा जनताले नै शासन गर्नुपर्ने हो । दोस्रो हो– विकासका तथ्याङ्कका तथ्यहरुबाट । त्यसका लागि तथ्याङ्कको आँकडा जरूरी हुन्छ नै । यद्यपि, तथ्याङ्को आधारले मात्रै विकास र गरिबी सक्किएको प्रष्ट हुन सक्दैन ।
सामान्यतः हामीले दक्षिण छिमेकी राष्ट्र भारतलाई हे¥यौं भने एउटा दृष्य देखिन्छ । अङ्ग्रेजले सन् १९४७ अगस्ट १५ मा भारत छोडेपछि भारत अझैसम्म सम्पूर्ण रुपले छ्याङ्ग स्वतन्त्र बनेको देखिन्न । अध्याँरो र उज्यालो (गरीब र धनी) बीचको गहिरो खाडल कायमै छ । सन् २००८ मा लेखक अरविन्द अडिगाले ‘दी ह्वाइट टाइगर’ उपन्यासमा एउटा बलराम भन्ने मुख्य पात्रलाई भारतको सचित्रलाई गजबले उजागर गरेका छन् ।
कथा अनुसार पुरानो भारत पौराणिक कालमा सम्पन्न सफा थियो । आ–आफ्नै पेशा, व्यवसाय थिए । बिहारमा जन्मेको बलराम विद्यालयमा सरदर विद्यार्थीभन्दा तेजिला थिए । अहिलेसम्म त बिहारको नाम लिनासाथ नाक खुम्च्याउने समाजले बिहारमा जन्मेका बलरामलाई पनि त्यही रुपले हेथ्र्यो ।
एक निरीक्षकले अन्य विद्यार्थी भन्दा बलराम पृथक भएकाले जङ्गलमा विरलै पाइने ‘सेतो बाघ’ भनेर विशेषण दिए । बलराम दिल्लीमा गएर संघर्ष गरेपछि सफल हुँदै जान्छन् र उनले बल्ल भारत बुझ्छन् । बलरामले बुझेको भारत ‘अँध्यारो भारत र उज्यालो भारत’ अर्थात भारत दुईवटा छ । एउटा ‘गरिबी र अर्को धनी’ । बलराम अँध्यारो भारतबाट गएकाले प्रगति गर्दै जाँदा ‘सेतो बाघ’ बन्यो । बलरामका ‘सेतो बाघ’को विशेषण पुष्टि गर्न जसरी संघर्ष गर्दै थियो, त्यो बेला उज्यालो भारतमा हुर्केका युवा पंक्ति रङ्गीन टेलिभिजन अगाडि बसेर क्रिकेट र स्याम्पुको विज्ञापन हेर्दै बसिरहेका हुन्थे । ती भारतीय युवाहरुसँग लेखक निक्कै रिसाएका देखिन्छन् ।
यतिखेर नेपाली समाजले भोगेको र देखेको पनि लगभग यस्तै दुईवटा नेपाल नै हो । हिजोको दिनमा राजनीतिक दलहरुले बाँडेको सपना । ती सपना पूरा हुन सकेका छैनन् । रोजगारीका लागि विदेश गएका युवा जुन देश पुगेको छ, त्यही देशसँग आफ्नो नेपाललाई तुलना गर्छ । अनि हाम्रो देश यस्तो किन भएन भनि प्रश्न गरिरहेको छ । स्वभाविक रुपमा नेपालमा संघर्ष गर्ने युवाभन्दा विदेश गएका युवाले काम गरेबापत् पारिश्रमिक बढी पाउँछन् । त्यहीसँग तुलना गरेर राजनीतिक नेताका कारण मुलुक विकास भएन र रोजगारी पाइएन भनेर सामाजिक संजालमा गुनासो पोख्छन् । एकथरी मध्यमवर्गका युवा पुस्ता त्यही गुनासोलाई समाएर नकरात्मक भाष्य खडा गर्दै नेपालमा के छ र ? भन्नेमा अन्य युवाको दिमागमा नकरात्मकता भर्ने काम गरिरहेको छ ।
विकासको ग्राफ
आधुनिक नेपालले कहिलेदेखि विकासको पाइला चाल्यो ? भन्ने ग्राफ केलाउँदा टोनी हागनको (नेपालको चिनारी, सन् १९६१ र २०७८) अनुभव हेर्न सकिन्छ– ‘सन् १९५० मा नेपालीहरुको औषत आयुदर २६ वर्ष मात्रै थियो । सन् १९९६ मा त्यो बढेर ५७ वर्ष पुगेको थियो । शिशु मृत्युदर सन् १९५० प्रतिहजार जन्ममा २०० हुने अनुमान गरिएको थियो, तर यो सङ्ख्या सन् १९९६ सम्ममा घटेर प्रतिहजार ८६ भएको छ ।’
हालको तथ्याङ्कहरु हेर्दा औसत आयु अनुसार ७१.३ वर्ष मा पुगेको छ । २०७८ को जनगणनाको आधारमा पुरुषको औषत आयु ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष देखिन्छ । यही तथ्यहरुले नेपालमा केही पनि भएको छैन भन्ने गलत दाबीहरुलाई सिधै खण्डन गर्दछ ।
विकासको मूल आधार सडक हो । हागन आफ्नो अनुभवमा लेख्छन्– ‘सन् १९५२ मा नेपालमा जम्माजम्मी ६०० किलोमिटर पक्की मोटरबाटो भएकोमा सन् १९९३ मा त्यो बढेर ९५३४ किलोमिटरसम्म पुग्यो । सन् १९५० मा नेपालमा जम्मा ६२८० किलोवाट बिजुली उत्पादन हुन्थ्यो भने सन् १९९७ मा ३००,००० किलोवाट भन्दा बढी विद्युत् ऊर्जाको माग आपूर्ति गर्न सक्षम विद्युत् प्रणाली देशमा खडा भइसकेको थियो ।’
पछिल्लो आँकडा हे¥यौं भने देशभर सडकको सञ्जाल २०८१ सम्मको तथ्याङ्क अनुसार देशभरको कुल सडक दूरी ३६,१३२ किलोमिटर पुगेको छ । जसमा कालोपत्रे, ग्राभेल र माटोको सडकहरू समावेश गरिएका छन् । तथ्याङ्क अनुसार १९,१६३ किलोमिटर बाटो कालोपत्रे गरिएको छ । त्यस्तै ग्राभेल ८,२०४ किलोमिटर र कच्ची बाटो ८,७६५ किलोमिटर रहेको छ । यी सूचकहरुले मुलुकमा केही पनि भएका छैनन् भनेर निराशा प्रकट गरिरहनुपर्ने अवस्था छैन ।
उज्योलोकै कुरा गर्ने हो भने नेपाल विद्युत् प्राधिकरण, सन् २०२३ को रिपोर्ट अनुसार ३,५०० मेघावाट उल्लेख गरिएको छ । अहिले सरदर ३,४२२ मेघावाट उत्पादन भइरहेको तथ्याङ्क छ । जसमा जलविद्युत ३,२५६, सौर्य १०६, थर्मल ५३ र अन्य ६ मेघावाट उत्पादन भइरहेको छ ।
अर्को अचम्मलाग्दो तथ्य त झन् सञ्चारमा अर्थात टेलिफोन सेवाग्राहीको तथ्याङ्क नेपालको जनसंख्याभन्दा बढी छ । नेपाल दूरसञ्चार प्राधिकरणले तथ्याङ्क अनुसार करिब ३ करोड ९९ लाख ६५ हजार ६४३ जनाले टेलिफोन सेवा लिइरहेका छन् । एउटै व्यक्तिको नाममा ल्यान्डलाइन, मोवाइलका २÷३ वटा सिम कार्ड तथा विदेशी नागरिकले समेत प्रयोग गरेकाले यो तथ्याङ्क निस्किएको हो । यी अनेकन तथ्यहरूले विकासका गति क्रमिक रुपले अघि बढिरहेको छ । समाज सुधार भइरहेको छ ।
गण्डकी प्रदेशको उज्वल भविष्य
विकास निर्माणको रेखाङ्कन कार्यमा पनि कतिपय स्वार्थ समूह वा राजनीतिक दृष्टिकोणले अनियमितता भएका छन् । जसको उदाहारण मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा प्रष्ट देख्न सकिन्छ । पुननिर्माण विज्ञ डा. चन्द्रबहादुर श्रेष्ठ (नवयुग पत्रिका, २०८० चैत) अङ्कमा लेखेका छन्– ‘सबै भन्दा ठूलो रेखाङ्कनको राजनीतिकरण खुर्कोट–पोखरा खण्डमा भयो । सन् २०११ को विस्तृत प्रोजेक्ट रिर्पोटमा उल्लेख भएबमोजिम खुर्कोटबाट सिधै काठमाडौं नल्याइकन बोहोरा दोभान, पाँचखाल, त्रिशूली, गोरखा पालुङटार हुँदै पोखरा लग्ने निर्णयले ४० किलोमिटर लम्बाई बढ्नुका साथै यस रेखाङ्नमा बुढीगण्डकी जस्ता आयोजनाहरु पर्न गए । यो गर्नका लागि केको बाध्यता आइप¥यो भन्ने प्रश्न अनुत्तरित छ । अझै भन्ने हो भने त खुर्कोटबाट पोखरासम्मको ३५० किलोमिटर सडकमा करिब २१ अर्ब रुपैयाँ अनावश्यक खर्च गरेर राष्ट्रिय ढुकुटीको दोहोलो काढ्ने काम भयो । यस खण्डमा प्रतिदिन अबको केही पछिका वर्षसम्म पनि प्रतिदिन १०० भन्दा कम नै गाडी चल्नेछन् । पश्चिमतर्फ मध्यपहाडी लोकमार्ग रुकुमकोटबाट लुकुम खोलाको किनारकिनारै नगएर मुसिकोटतिर किन चढ्यो होला भन्ने कौतूहल लाग्नु स्वभाविकै छ । काठमाडौं बाइपास गर्ने निर्णय किन मुसिकोटमा लागू भएन ? यस्तै तर्कहरु दैलेखमासमेत लागू हुन्छन् । सुदूरपश्चिममा गएर स्यालेबाट सिधै भारतीय सीमा रुपालसम्म जान सक्ने सम्भावना छँदै छ ।’
गण्डकी प्रदेशको एउटा रहरलाग्दो तथ्य के हो भने कुल जनसंख्याको मानव विकास सूचाङ्कमा सात प्रदेशमध्ये दोस्रोमा पर्दछ । संघीय राजधानी केन्द्रिकृत राज्यको मुकाम भएकाले बागमती प्रदेश पहिलो छ । मानव विकास सूचाङ्कको तथ्य अनुसार बागमती ०.६५२ र गण्डकी प्रदेश ०.६४१ देखिएको छ । ठाडो विकासको मोडल हेर्ने हो भने दक्षिणी छिमेकी भारतको नाका त्रिवेणीदेखि उत्तरी छिमेकी चीनको कोरोला नाकासम्म बाटो लगभग खुलिसकेको छ । हालको कालीगण्डकी करिडोरको कुल लम्बाइ ४३५ किलोमिटर छ । यो करिडोरले नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म जोड्छ । त्रिवेणी नाका खुल्नासाथ त्रिदेशीय व्यापारिक नाका बन्ने निश्चित देखिन्छ ।
कालिगण्डकी करिडोरलाई दुई खण्डमा विभाजन गरिएको छ । जसअनुसार गैंडाकोटदेखि मालढुङ्गासम्म करिब २४५ किलोमिटर र मालढुङ्गादेखि कोरलासम्म करिब १९० किलोमिटर बाटोको सञ्जाल जोडिएको छ । यो नेपालको उत्तर–दक्षिण जोड्ने एउटा महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो । हामीले गण्डकी प्रदेशको विकास नियाल्यौंै भने अर्को गर्व गर्नलायक भनेको मध्यपहाडी लोकमार्गको कुल १७७६ मध्ये ३१५ किलोमिटर यही पर्छ । त्यसमध्ये बागलुङमा मात्रै लोकमार्गको १४२ किलोमिटर खण्ड पर्छ । जसले बागमती, लुम्बिनीदेखि कर्णाली प्रदेशसम्मको यात्रालाई सहज बनाएको छ । यसको फाइदा सबैभन्दा बढी गण्डकी प्रदेशले नै लिइरहेको छ ।
आशा जगाएका सूचाङ्कहरु
विकास गाउँ छिर्ने तर गाउँ रित्तिने ‘ट्रेन्ड’ले भने पक्कै पनि निराशा जगाउन सक्छ । गाउँ रित्तिदै जाँदा जग्गा जमिन बाँझो बस्ने । रित्तिन बाँकी गाउँ बृद्धाश्रम जस्तो बन्ने । छोराले पठाएको रेमिट्यान्सको भरमा सदरमुकाम बसेर नेताहरुले देश बिगारे भन्ने तर्क गर्नु नै अहिलेको सबैभन्दा डरलाग्दो नकरात्मक लत हो ।
सुशासनमा देखिएका कमी–कमजोरीहरुलाई पर राखेर हेर्ने हो भने सडक, विद्युत्, सञ्चारका सञ्जाल, प्रशासनिक सेवा केन्द्रहरुको पायक पर्ने ठाउँमै पुगेका छन् । सहरमा कोठा भाडामा लिएर बस्ने, प्रशासनिक कागजात बनाउन जन्मथलो पुग्दा गाउँलाई सराप्ने बानी सबैले त्याग्न जरुरी छ ।
लोकरिझ्याइँमा रमेका केही दलले पुरानो सबै खराब भन्ने भाष्य डर लाग्दो अवस्था हो । त्यसो हो भने के हाम्रा पुर्खाले गरेका सबै प्रयत्न, संघर्ष, बलिदान बेअर्थका हुन् त ? हिजो व्यवस्था बदल्न अघिल्लो पुस्ताले गरेको संघर्षलाई गलत सिद्ध गर्न फेरि सामन्ती प्रथा नै ठीक थियो भन्नु कदापि सही हुन् सक्दैन । खुसी एकैचोटी प्राप्त हुँदैन । स–साना कुराबाट प्राप्त गर्ने हो । जसका लागि मुलुकमा आशा जगाएका सूचाङ्कलाई सकारात्मक सन्देशका रूपमा प्रवाह गर्नु सबैको मुख्य दायित्व हो ।
(पत्रकार मगरको अंश पुस्तक प्रकाशित छ । सं.)





