शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सडकले उज्यालिएको मुस्ताङ

सडकले उज्यालिएको मुस्ताङ


  • तारानाथ आचार्य
  • भाद्र १ २०८२, आइतबार

स्थानीय तह गठन पूर्व मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकामा पर्ने घारा गाउँ पुग्न निकै कठिन थियो । कृषिमा निर्भर घारा गाउँका स्थानीय सदरमुकाम जोमसोम र जिल्ला बाहिरका गाउँ, शहर पुग्न हुनेखानेले घोडाको सहायता लिन्थे । सामान्य परिवारका लागि पैदल यात्राको विकल्प थिएन् । दुर्गम गाउँहरु मात्र होईन सुगम गाउँमा पुग्न पनि पैदल यात्राकै भर थियो । घारामा अहिले सडक पुगेको छ । घुम्न जानेहरु गाउँसम्मै आफ्नै साधनमा पुग्न सक्छन् । स्थानीयले उत्पादन गरेका कृषिउपज बोकेर बजार लैजानु पर्दैन । गाउँमै पुगेका गाडीले उनीहरुका समान बजारसम्म पुर्याउँछन् ।

विकासको पहिलो सर्त सडक नै नपुगेकाले विद्युत, टेलिफोन, खानेपानी जस्ता समस्याहरुको चेपुवामा थिए मुस्ताङका गाउँहरु । कालिगण्की करिडोरले मुस्ताङलाई फेरो हालेपछि अहिले गाउँ गाउँमा सडक पुगेको छ । करिडोर आधार बनाएर गाउँ गाउँमा सडक सञ्जाल बिस्तारका लागि २०७२ सालमा गठन भएका स्थानीय सरकार कोसेढुंगा सावित भए । हिजोका दुर्गम गाउँहरु अहिले सुगम बनेका छन् । ‘यहाँका नागरिक हरेक क्षेत्रमा च्यालेञ्जिङ सामना गरेरै निर्वाह गर्दै आएका थिए, अहिले हामी केही गर्ने प्रयास गरेका छौं’ लोघेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट भन्छन्, ‘हामी भएका संरचनाको स्तरोन्नती गर्ने, नभएका बनाउने र आम्दानी बढाउने अभियानमा छौं ।’

स्थानीय तह गठन पछि मुस्ताङका पाँचवटै स्थानीय तहमा विकासको लहर नै चलेको छ । यहाँ देशकै प्रमुख आयस्रोत कृषि र पर्यटन क्षेत्रको विकास दिन दुई गुणा र रात चौगुणाले विकास भैरहेको छ । गाउँमा सडक पुगेपछि विद्युत विस्तारको लहर चल्यो । टेलिकमका टावरहरु विस्तार गर्न स्थानीय सरकारले नै पहलकदमी लिए । कृषिको बजारीकरण र पर्यटनमैत्री वातावरण बनाउन यहाँका स्थानीय सरकार कम्मर कसेर लागेका छन् ।

यहाँका अधिकांश नागरिकको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । मुस्ताङमा स्याउ फल्छ । आलु, फापर र सिमी मुस्ताङका ब्राण्ड बनेका कृषि उपज हुन् । यहाँका किसानले उत्पादन गरेका कृषि उपजलाई अहिले बजारको समस्या छैन । ‘स्थानीय तहले यहाँका उत्पादनलाई प्रबद्र्दन गर्नेगरी कृषि महोत्सव, मेला जस्ता प्रचार प्रसारका कामहरु गरेका छन्, किसानले फलाउँछन्, स्थानीय सरकारले प्रचार गर्छ, पर्यटक र व्यवसायीले किनेर लैजान्छन्’ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने, ‘प्रचार प्रसारले मुस्ताङका उत्पादन बजारीकरणमा समस्या छैन ।’

भ्रमणको उत्तम समय नभए पनि यतिबेला मुस्ताङका होटलहरू भरिभराउ छन् । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण व्यवसायीलाई भ्याई–नभ्याई भएको छ । मुस्ताङ घुम्नको लागि उपयुक्त मानिने असोजदेखि मंसिर सम्ममा यहाँका प्राकृतिक तथा धार्मिक सम्पदा घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । त्यो बाहेक बिदाको समय पारेर मुस्ताङको प्रकृति, पुराना गाउँसँग रमाउनेहरु त्यहाँ पुग्छन् । लालचन भन्छन्, ‘हिजो मुस्ताङका मान्छे हिउँदमा २० प्रतिशत मात्रै गाउँ बस्थे, ८० प्रतिशत जिल्ला बाहिर जाडो छल्न जान्थे, अहिले उल्टो भएको छ । हिउँदमा ८० प्रतिशत गाउँमा हुन्छन् ।’ लालचनले भने जस्तै मुस्ताङबासी जाडो छल्न बेसी नझर्नुको कारण पर्यटन हो । बाह्रै महिना खचाखच पर्यटक हुँदा होटल व्यवसायी, कृषि उपज बिक्री गर्नेहरु ग्राहक कुरेर बस्न थालेका हुन् ।

२०७० को दशक अघिसम्म पदयात्रा र धार्मिक यात्रामा आउने पर्यटक मात्रै देखिने मुस्ताङमा अहिले त्यहाँको प्राकृतिक सौन्दर्यता हेर्न आउनेको संख्या ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको तथ्यांक मात्रै हेर्दा मुस्ताङ घुम्नका लागि ७ लाख पाँच हजार पर्यटक पुगेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले बताए ।

व्यवसायीका अनुसार, पछिल्लो समय बाह्यभन्दा कयौं गुणा आन्तरिक पर्यटकको संख्या बढेको छ । २०७२ सालभन्दा पहिलासम्म मुस्ताङ जिल्लाभित्र सवारीमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको हो । २०७२ पहिलासम्म देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने पर्यटकले मुस्ताङको घाँसादेखि अनिवार्य मुस्ताङका यातायात व्यवसायीका सवारी साधनको प्रयोग गर्नुपर्ने व्यवस्था थियो । एकाध मुस्ताङ बाहिरका सावारी साधनले प्रवेश पाउने गरेको भएपनि अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण मुस्ताङ बाहिरका सवारी निकै कम मात्रामा भित्रिने गरेका थिए । म्याग्दीको सिमानासँग जोडिएको घाँसादेखि चीनको सिमानासँग जोडिएको लोमान्थाङसम्म रहेका मुख्य बजारमा मुस्ताङका व्यवसायीले होटल तथा लजको व्यवसाय गर्दै आएका छन् । जिल्लाका मुख्य बजारमा २५५ भन्दा धेरै होटल रहेको मुस्ताङ उद्योग बाणिज्य संघको तथ्यांकमा छ ।

मुस्ताङ पुग्ने आन्तरिक पर्यटका कारण यहाँको अन्य व्यवसायमा समेत फाइदा पुगेको स्थानीय बताउँछन् । स्थानीय उत्पादन स्याउ, फापरको पिठो, आलु लगायतका उत्पादनको बिक्री वितरण बढेको छ । पर्यटकका लागि यहाँका स्थानीय तहले वातावरण बनाउने गरेका छन् । आन्तरिक र भारतीय पर्यटकका लागि सडक सञ्जाल सहज बनाउने र तेस्रो मुलुकबाट ट्रेकिङमा आउने पर्यटकका लागि पदमार्ग बनाउने काममा पाँचवटै पालिकाले योजनाबद्द काम गरिरहेको लालचन बताउँछन् । मुस्ताङको जनसंख्या ११ हजारको हाराहारीमा छ । सोही हाराहारीमा बाहिरका मानिसहरुले काम पाउनेगरी होटल व्यवसायको क्षेत्रमा रोजगारी सिर्जना भएको उनले बताए । स्थानीय तहले फोहोर व्यवस्थापन, सडक व्यवस्थापन, खानेपानी तथा आवास क्षेत्रको विकासका लागि सहयोग गर्दा पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलव्धी हात पारेको उनको दाबी छ ।

जलवायु सम्मेलन, संस्कृतिको संरक्षण
मुस्ताङ थकाली संस्कृतिले सजिएको जिल्ला हो । हिमालपारीका कला र संस्कृतिको संरक्षण यहाँका स्थानीय तहको चुनौती र अवसरको क्षेत्र पनि हो । मुस्ताङ आउने पर्यटकलाई यहाँका किसानले आफ्ना उत्पादन जसरी बिक्री गरिरहेका छन् सोही परिणाममा कला र संस्कृतिको प्रदर्शनबाट पनि आम्दानी गर्न सकिने लोघेकरका अध्यक्ष विष्ट बताउँछन् । यहाँका स्थानीय तहले कला संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि आ–आफ्नै तरिकाले योजना बनाएका छन् । सुन्दा अचम्म लाग्नेखालका कतिपय संस्कृतिहरु अझै पनि ओझेलमा रहेको यहाँका जनप्रतिनिधिहरुको बुझाई छ ।

मुस्ताङको विकास र प्रचार जुन गतिमा भैरहेको छ सोही गतिमा यहाँको जलवायुको संरक्षण आवश्यक छ । हिमाली जिल्ला भएकाले मुस्ताङको प्रमुख आकर्षण हिमाल जोगाउनु यहाँका स्थानीय तहका लागि चुनौतीको विषय हो । यहाँका पालिका एक्लैले आँटेर जलवायु परिवर्तनलाई रोक्न सम्भव छैन । तर पहलकदमी भने यहाँका स्थानीयले नै लिनुपर्छ । घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्षमै देशका ७५३ स्थानीय तहका प्रमुखहरु सहभागि हुनेगरी जलवायु सम्मेलन गर्दै छ । सम्मेलनले मुस्ताङमा जलवायु परिवर्तनका कारण परिरहेको असर कम गर्न थोरै भएपनि सहयोग गर्ने लालचन बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->