शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुर्झाउँदै पहाडहरु !

मुर्झाउँदै पहाडहरु !


  • प्रा. डा. इश्वरीप्रसाद कडरिया
  • भाद्र ३ २०८२, मंगलबार

पृष्ठभूमि
नेपालको अर्थतन्त्रलाई गतिशील बनाइ दिगो आर्थिक वृद्धि हासिल गर्न देशको कृषि र पर्यटन क्षेत्रको रुपान्तरण अनिवार्य छ । कृषि क्षेत्र ग्रामीण पर्यटनको महत्वपूर्ण कडी हो । हाम्रो मध्यपहाड बाह्रैमास बस्न सकिने शीतल मौसम तथा सम्भावनाले भरिपूर्ण भूगोल हो । कृषिका लागि मात्र नभइ पर्यटनका लागि पनि यो भूगोल महत्वपूर्ण छ । अनुकुल मौसम नजिकबाट हिमशृंखलाको दृश्यावलोकन,सलक्क मिलेका पहाड,बाली झुलेका फाँटहरु,नागबेली नदीहरु,आकर्षक झरना,वनपर्यावरण, वन्यजन्तु र साँस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण पहाडी क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य हो । मध्य पहाडको तल्लो भेगमा न्यानो हल्का गरम र माथिल्लो भेगमा चिसो समशीतोष्ण हावापानी हुने तथा गर्मीमा न्यानो र जाडोमा शीतल हुने भएकाले मानव बसोबास र कृषि उत्पादनका लागि अत्यन्त राम्रो मानिन्छ । भौगोलिक आधारमा नेपाललाई उच्च हिमाल (२४%), उच्च पहाड (१९%), मध्य पहाड ( २९%), चुरे ( १२%) र तराइ (१६%) गरी ५ क्षेत्रमा विभाजन गरिएको छ ।

देशको क्षेत्रफलमा आधा हिस्सा ओगटेको पहाड कुनै समय गुल्जार रहेको थियो तर अहिले खाली हुँदै गएको छ । कृषि र पर्यटनको सम्भावना प्रचुर भए पनि पर्याप्त यातायात, शिक्षा, स्वास्थ्यलगायत सुविधा पुग्न नसक्दा पहाडबाट बसाइँ सर्ने क्रम भने बढ्दो छ । पहिले युवाहरुले आफ्नो भविष्य÷सपना जग्गा जमिन, पूँजी र कृषिमा भविष्य देख्थे तर आजकलका युवाको सपना शिक्षा र सीपमा केन्द्रीत छ । युवाहरुमा ज्ञान र सीप भयो भने जीविकोपार्जन र गुणस्तरीय जीवन सहजै जिउन सकिन्छ भन्ने विश्वास छ र जमिन र कृषिको मोह घट्दै गएको छ ।

गाउँमा हुर्केर जमिन खोस्रेर पढेको बढेको बुबा पुस्ता पेशा व्यवसायसँगै गुणस्तरीय जीवनयापनको लागि सहरमा रमाउँछ तर आफू जन्मे–हुर्केको थातथलोको माया मार्न सक्दैन । सहरमा हुर्केका छोराछोरी पुस्ताबाट आफ्नो बुबाआमा जन्मेहुर्केको पहाडमा कृषि पर्यटनको सम्भावना उजागर गर्न सकियो भने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र हुन सक्छ ।

पुरानै थातथलोमा आमाबुबासँगै रहेर नयाँ उत्पादन प्रणालीमा जोड्न सकियो भने पहाडलाई गुल्जार बनाउन सकिन्छ । यसका लागि बजारको माग अनुसार उच्च मूल्यका बाली उत्पादन,बजारसम्मको पहुँच,कृषि उद्यमशिलाता,कृषि पर्यटन, कृषि व्यापार, प्रविधि व्यापार, कृषिमा एआई र डिजिटल प्रविधिको प्रयोग चाहिँ अपरिहार्य छ । यस आलेख खुम्चँदै गएको पहाडको जनसंख्या, बाँझिदै गएको जमिनलाई पुनः कृषि पर्यटनमार्फत् पुनर्जीवन दिने विषयमा केन्द्रित छ ।

पहाड रित्तिनुका कारणहरु
कुनै समय देशको अधिकांश जनसंख्यालाई थेगेको पहाडबाट २००७ सालको प्रजातन्त्रको आगमनसँगै मानिसहरु तराइ झार्न सुरु गरे । खाद्य संकट टार्न भन्दै अमेरिकी सहयोगमा ‘दुन भ्याली’ परियोजना संचालन भएपछि मधेश झर्ने क्रम झन बढ्यो । चितवन बसाइँ सर्ने उपक्रम कालान्तरमा सुदूरपश्चिमसम्म पनि पुग्यो । भौतिक पूर्वाधारको अभाव, जनसंख्या वृद्धि,पूर्वदेखि पश्चिमसम्म खानेपानी र सिंचाइको समस्या, पूँजी,प्रविधिको र श्रमको अभावले गर्दा पहाड थप जनसंख्या थेग्न नसक्ने अवस्थामा पुग्यो । तराइमा सिंचाइ र कृषि सामग्रीको प्रयोग बढ्यो र उत्पादनमा केही सुधार भयो र तराइ बसाइसराइँमा वृद्धि भयो (श्रोतः बदलिँदो नेपाली समाज, चैतन्य मिश्र ) । २०१५ सालदेखि २०३० सम्म अमेरिकी सरकारको सहयोगमा औलो उन्मूलन कार्यक्रम एवं तराइमा विभिन्न बिकास परियोजना सुरु भयो त्यसपछि पहाडबाट बसाइसराइँ तीव्र हुन थाल्यो । २०१८ सालमा पहाडको जनसंख्या ६७ प्रतिशत र तराइको जनसंख्या ३३ प्रतिशत थियो भने २०७८ मा पहाडको जनसंख्या ४० प्रतिशत र तराइको जनसंख्या ५४ प्रतिशत तथा हिमाली क्षेत्रमा जम्मा ६ प्रतिशत जनसंख्या रहेको थियो । यसले पहाडबाट जनसंख्या घट्दै गएको देखिन्छ । पहाडबाट बसाइँसराइ बढ्नुका कारणहरु निम्न रहेका छन् ।

परम्परागत कृषि र जीवन निर्वाहमा कठिनाइ : द्रूत गतिमा भएको विज्ञान प्रविधिको विकाससँगै पहाडमा पूर्वाधारको विकास नहुँदा सिँचाइ र ढुवानीको कठिनाइ एवं कृषि प्रविधि र सामग्रीको अभावले उत्पादकत्व ह्रास हुँदै गएको अवस्था छ । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण नहुनु, परम्परागत खेती प्रणालीका कारण उत्पादन न्यून हुनुका साथै पछिल्लो समय देखिएका बाँदर आतंक, जलवायु परिवर्तन तथा माटोको उर्वराशक्ति क्षीण हुने समस्याले निम्त्याएका चुनौतीले पनि पहाडहरु खाली हुन थालेका हुन् ।

विकासको निरन्तर प्रयासका बावजुद पनि मुलुकमा उच्च गरिबी, उच्च आर्थिक असमानता र बढ्दो बेरोजगारी दर घटेन । पहाडमा उद्योग, व्यापार÷व्यवसाय नहुँदा बेरोजगारी दर उच्च रह्यो । उनीहरु अवसरको खोजीमै थिए । विदेशी सेना–प्रहरीमा भर्ती हुने अवसरसँगै पहाडबाट तल झर्ने उपक्रमलाई वैदेशिक रोजगारीले भरथेग ग¥यो । खाडी राष्ट्रहरू, जापान,दक्षिण कोरिया,मलेसियालगायत मुलुकहरु वैदेशिक रोजगारीको लागि खुलेपछि युवाहरु त्यतै लागे । पहाड युवाविहीन बन्यो ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी अभाव : स्वास्थ, शिक्षा, सञ्चार,बिजुली र वित्तीय संस्थाको कमजोर पहुँचले पनि बसाइँसराइलाई बढावा दियो । छरिएर रहेका बस्तीका कारणले पनि सरकारले सडक,खानेपानी‚बिजुली‚ स्वास्थ्य‚ शिक्षालगायतको सुविधा पु¥याउन सकेको छैन र बसाइँसराइ निरन्तर चलिरहेको छ ।

माओवादी द्वन्द र प्राकृतिक विपत्ति : २०५२ सालदेखि २०६२ सालसम्म जारी माओवादी विद्रोहका कारण ठूलो संख्यामा मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए । एकपटक सहर झरेका मानिसहरु सहरमै स्थापित भए । माओवादीको सशत्र विद्रोहको केन्द्र रहेको मध्यपहाडी क्षेत्रमा फरक विचार राख्नेहरु टिक्न सकेनन् ।

विकासको नाममा मापदण्डविनै जथाभावी खनिएका सडकले निम्त्याएको भू–क्षयले पनि केही मान्छेलाई थातथलो छाड्न बाध्य बनायो । त्यस्तै,प्राकृतिक विपत्ति, बाढी पहिरो, हावाहुरी, असिना, हिमपात, जलवायु परिवर्तनको जोखिमले मानववीयसँगै खानेपानी, कृषि पशुबस्तुमा ठूलो आर्थिक क्षति हुँदा पनि मान्छे विरक्तिए ।

पानीको अभाव : पानी पनि पहाड रित्तिनुको कारण हुन सक्छ भन्दा धेरेलाई पत्यार नलाग्न सक्छ तर पहाडका अधिकांश भूभाग खाली हुनुमा पानी प्रमुख रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । गाउँतिर पानीका मुलहरु सुक्न थालेका छन् । बर्खामा धेरै पानी पर्ने र हिउँदमा बढी सुख्खा हुँदाको विपत्तिले बसाइँसराइलाई बढावा दिइरहेको छ ।

पहाड : कृषि पर्यटनको अवसर
नेपालमा ग्रामीण पर्यटनको सुत्रधार लमजुङमा जन्मेका योजनाविद डा. हर्क गुरुङलाई जान्छ । बेलायतबाट भूगोल विषयमा विद्यावारिधि गरेका डा. गुरुङ २०४३ सालको चुनाबमा लमजुङका गाउँमा भोट माग्दै गर्दा ग्रामीण कृषि पर्यटन नै लमजुङ विकासको आधार हो भन्थे । हिमाल, पहाड,तराइ,हरियो जंगल,खोला नाला, झरना, भीरपाखा, बेंसी, फाँट पर्यटकका आकर्षणका केन्द्र हुन भन्थे । आँगनमा बसेर कफी,चिया, लोकल रक्सीमा रमाउँदै हिमालको आनन्द लिने कुरा गर्थे । देशमा रहेका प्राकृतिक सम्पदा सदुपयोग गर्न सकियो भने विदेशी मुद्रा कमाउन सकिने सुनाउँथे । ग्रामीण क्षेत्रमा रहेका प्रकृति र संस्कृतिको प्याकेज बनाएर संसारभर पु¥याउने सपना देखाउँथे । पहाडका भीरपाखा, डाँडाकाँडा हेरेर, आफ्नै घरको भान्सामा पाकेको खानेकुरा पस्केर हजाराँै रुपैयाँ कमाउन सकिन्छ भन्थे डा. गुरुङ । (श्रोत– घलेगाउँ ः प्रेरणा, संघर्ष,र सिर्जना, प्रकाशक– पर्यटन व्यवस्थापन समिति घलेगाउँ लमजुङ ) पहाडमा हुने वनकुखुरा, कालिज, थार, झारल, घोरल, अलि माथि हिमालमा हिउँचितुवा हेरेर पर्यटक रमाउँछन् । नेपालको ग्रामीण परिवेश धान कुट्ने ढिकी, जाँतो, अर्गानिक खानेकुरा र आफनो कोठा, खोपीमा सुत्ने र परिवारसँगै भान्सामा खाना खान पाउँदा पर्यटक रमाउँछन्, यही त हो– ग्रामीण पर्यटन । ग्रामीण पर्यटनमा कृषि कर्म र कृषि प्रणाली जस्तै ःगोरुले खेत जोतेको, दाइँ हालेको, खेत रोपेको, कोदो रोपेको, भीरमा मह काढेको, खोलामा माछा मारेको जस्ता गतिविधिले ग्रामीण कृषि पर्यटनलाई बढाउँछ ।

डा. गुरुङको परिकल्पना अनुसार अहिले लमजुङ जिल्लाको घलेगाउँ सार्क क्षेत्र कै नमूना ग्रामीण पर्यटकीय गाउँले परिचित छ । घलेगाउँले सामुदायिक पर्यटनमार्फत् संस्कृति र प्रकृतिलाई बेचेर समृद्ध र सुखी गाउँ घोषणा भइसकेको छ । घलेगाउँ अहिले पर्यटनको केन्द्रमा छ । दिनहँु हुलकाहुल पर्यटक आउँछन् । त्यहाँ बास नपाउँदा छिमेकी गाउँ पुग्छन् । पर्यटकले गाउँमा पुर्खाको ज्ञान–सीप हेर्छन् । ढुंगाले छाएका घर,पानीघट्ट, पानीको र वनको परम्परागत व्यवस्थापन, भेडीगोठ, स्थानीय संस्कृति, झ्याल ढोकामा कुँदिएका कला, सांस्कृतिक सम्पदा भेषभुषा, चाडबाड मनाउने चलन हेरेर रमाउँछन् । उनीहरुले बास,गास र मनोरञ्जनमा गर्ने खर्च स्थानीयको आम्दानी बनेको छ । घरमै रोजगारी मिलेको छ ।

कृषिप्रधान देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषिको योगदान २४.७ प्रतिशत छ । कृषि उत्पादनको आन्तरिक खपत र निर्यातको बजार सम्भावना प्रचुर भएको मुलुक आज युवाशक्ति विदेश पलायन गराएर विप्रेषणले चल्नुपरेको छ । तर, कृषिको व्यावसायिक उत्पादन,बजारीकरण र त्यसमा प्रयोग हुने नेपाली श्रमको सही अध्ययन तथा विश्लेषण हुन सकेको छैन । कृषिको पर्यटकीय विविधीकरण गर्दै केही व्यवस्थापकीय सुधारबाट समृद्धिको यात्रा सम्भव छ । त्यसकारण कृषि र पर्यटनलाई जोड्नुपर्ने आवश्यकता छ ।

कृषि–पर्यटनले स्थानीय रूपमै रोजगारी सिर्जना गर्छ । स्थानीय स्रोतसाधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्छ । विकासले गति लिएपछि युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोकिन्छ । कृषि क्षेत्रको नयाँ उत्पादनले पर्यटकलाई आकर्षित गर्नसक्छ । कृषि–पर्यटनमा केही मौलिक उत्पादनले पर्यटकको मन लोभ्याउँछ ।

स्थानीय खोलाको ट्राउट माछा, भेडीगोठ, चिया बगान, अलैंची फार्म, खुर्पानीको जुस, ऐसेलु, काफल, लालीगुरासको जुस, कोदो, फापर, चिसो पानीमा फलेको स्थानीय धानको भात आदि पर्यटक लोभ्याउने जिनिस हुन् । पाकेको र काँचो केरा र बुङ्गोबाट अनेकौं परिकार बन्छ भने यसको थामबाट निस्कने रेसाबाट हस्तकलाका सामान बनाउन सकिन्छ । आलु प्रायः तरकारी वा अचारको रुपमा प्रयोग हुन्छ । तर, आलुबाट दर्जनौँ परिकार बन्छन् । भैंसीको मासु पनि त्यस्तै हो । यस्तो रैथाने सीम गाउँमै छ । यस्ता स्थानीय ज्ञान र संस्कृतिमार्फत कृषि पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ । पर्यटन व्यवसाय भनेको मान्छेका पाँचवटा ज्ञानेन्द्रीयको आकर्षण हो । आँखा, कान, जिब्रो, छाला र नाकमार्फत् पर्यटकको मन लोभ्याउनु पर्दछ ।

कृषि पर्यटनका लागि नेपालको पहिचान झल्कने मौलिक परम्परालाई पनि प्रयोग गर्नुपर्ने हुन्छ । मौलिक संस्कृति, जैविक विविधता र स्वादिलो रैथाने खानाले बाह्य पर्यटक आकर्षित गरिनुपर्छ । फरक गर्न खोज्नेलाई माउन्टेनीयरिङ, रक क्लाइम्बिङको,जलयात्रा, जंगल डुलाउने, हनी हन्टिङ, माछा मार्नेलगायतका गतिविधिमा सामेल गराउनु पर्छ । पुर्खाले गरेका पौरखको गाथा सुनाएर÷देखाएर पनि पर्यटकलाई भुलाउन सकिन्छ । यी कामले संस्कृति र कृषि पर्यटन जोडिन पुग्छन् । यद्यपि,यसबारे विस्तृत अध्ययन जरुरी छ ।

महँगा कृषि उत्पादनसँगै पर्यटन
पहाडी क्षेत्रमा हावापानी कहिल्यै विषम नहुने, वर्षभरि नै खेती गर्न सकिन्छ । नेपालका धेरै मध्यपहाडी जिल्लामा उत्पादन हुने कृषि उपजले स्थानीय माग पूरा गरेको छ र निर्यातमा पनि बृद्धि हुदै गएको छ । पछिल्लो १० वर्षमा कफी, चिया, अलैंची, अदुवा, बेसार, विभिन्न प्रकारका जूस, मह, सुगन्धित तेल, जडिबुटीको निर्यात उल्लेख्य बृद्धि भएको छ ।

पहाडी क्षेत्रमा ढकमक्क फुलेको फूल, फल लागेको फलफूल बगैँचा पर्यटक लोभ्याउने महत्वपूर्ण साधन हुन् । भिरालो परेका गरामा आकर्षण ढङ्गले लगाइएका फलफूल खेती ग्रामीण पर्यटनको आकर्षण हुन सक्छ । सुन्तला पाक्ने बेला मध्यपहाडी भागका सुन्तला बगैँचा कम्ता राम्रा देखिँदैनन् ! केरा, किबी, ड्रागन फल, अङ्गुर बगैँचा पनि सुन्दर देखिन्छ । उच्च पहाडी भागमा स्याउ पाक्ने बेलाको बगैँचा त्यस्तै लोभलाग्दो हुन्छ । हालै बिस्तार गरिएको उच्च घनत्वको स्याउबारी पनि स्याउ पाक्ने बेला गजबकै देखिन्छ । पाहुनाले आफै फलफूल टिपेर खान पाउने हुँदा यो कृषि पर्यटनको राम्रो माध्यम हुन सक्छ । हालै स्ट्रवेरी खेतीमा यस खालको सम्भावनालाई युवाले सुरुवात गरेका पनि छन् । नुवाकोट, ललितपुर, कास्कीमा केटाकेटीसहित परिवार घुम्न जाने र आफै स्ट्रवेरी टिपेर खाने कृषि पर्यटन फस्टाएको छ ।

नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ जुन पहाडमा प्रसस्तै उत्पादन हुन्छ अझ गण्डकी प्रदेश त सुन्तलाको राजधानी नै भने पनि हुन्छ तर अहिले बिस्तारै उत्पादन कम हुदै गएको छ । खालि रहेको पहाडमा सुन्तला खेती बिस्तार गर्न सके सुन्तलाबाट पहाडको अर्थतन्त्र बढाउँन सकिन्छ र थप रोजगारी सिर्जना गर्न सकिन्छ । सुन्तला, जुनारसँग सम्बन्धित उद्योगहरु जस्तै जुस, वाइन बनाइ विदेशसमेत निर्यात गर्न सकिन्छ । पहाडको बेंसी र टारहरुमा मौसम,अम्बासँगै आँप लिची किबी, एभोकाडोलगायत फलफूलको माग पछिल्लो समय स्वदेशमै बढिरहेको छ । निर्यातको पछिल्लो तथ्यांक अनुसार ओखर, दालचिनी, केशर, अलैची चिराइतो लगायत उच्च मूल्यका मसलाका साथै बेसार र अदुवा नेपालको धेरै पहाडी क्षेत्रमा पाइन्छ । नगदे बालीका रूपमा परिचित खुर्सानी, तरकारीदेखि हरेक प्रकारका फलफूल पनि पहाडमै हुन्छन् ।

विविध प्रकारको धरातल, माटो र मौसमका कारण पहाड विभिन्न किसिमका खाद्यान्न, तरकारी, फलफूल र जडीबुटी खेती तथा पशुपन्छी पालनका लागि उपयुक्त भए पनि केही वर्षदेखि खेतीयोग्य भूमि बाँझो हुने र अन्य देशबाट आयातित वस्तुमा निर्भर हुने क्रम बढ्दो छ । कृषि व्यवसायमा धेरै दुःख गर्नुपर्ने, राज्यको सहयोग नाम मात्रको हुने र उत्पादन, बजार र मूल्यमा हुने उतारचढावले कृषिमा गरेको लगानी नउठ्ने अवस्थाले युवाहरू कृषि पेसा गर्नुको सट्टा वैदेशिक रोजगारमा जान बाध्य भएका हुन् ।

पशुबाट हुने उत्पादन मासु, ढुध घ्यू, मही दही छुर्पी, चिज उच्च मूल्यमा बिक्री हुने भएकोले पहाड पशुपालनको ठूलो सम्भावना भएको ठाउँ हो । पहाड प्राय ः भिरालो हुने भएकोले पशुपालनलाई उपयुक्त मानिन्छ । विगतमा पहाडमा पशुहरुलाई डुलाएर पाल्ने चलन थियो जसलाई गोठ राख्ने भनिन्छ, गाईगोठ, भेडीगोठ, भैंसीगोठ पहाडका आर्थिक गतिविधि र जीविकोपार्जनका प्रमुख स्रोत हुन् । पशुहरुलाई जाडो महिनामा पहाडको तल्लो भेगमा ल्याउने र गमी महिनामा पहाडको माथिल्लो भेगमा लैजाने गरिन्छ । पहाडमा घास प्रसस्त हुने र बाँदरको समस्या नहुने भएकोले खाली रहेको बाँझो जमिनमा ठूला पशु फारम स्थापना गरी पशुपालनमार्फत् पनि पहाडलाई पुनर्जीवन दिन सकिन्छ । घुमन्ते परम्परागत पशुपालनलाई खर्क पर्यटनमा रुपान्तरण गरी मनग्य आम्दानी गर्न सकिन्छ ।

पहाड पुनर्जीवन सूत्र : थातथलो फर्काउने अभियान
ग्रामीण क्षेत्र सडक, सञ्चार, प्रविधि तथा लगानीको हिसाबले आन्तरिक र विश्व बजारसँग जोडिएको छ । परम्परागत कृषि, बजारमा आधारित नाफा र सहजताका साथ कृषि र पर्यटन व्यवसाय रूपान्तरणको चरणमा छ । कृषि पर्यटन रूपान्तरणको प्रक्रियाले नयाँ लगानी र उद्यमशीलताको अवसर सिर्जना गरेको छ । कम लगानी र आकर्षक आम्दानी हुने कृषि पर्यटनमार्फत् रित्तिँदै गएको पहाडमा नयाँ अवसरका ढोकाहरु खुल्दै गएका छन् । कम उत्पादन र आम्दानी नहुने भनेर हिजो पहाड छाडेका युवाहरु वैदेशिक रोजगारीबाट राम्रो आम्दानी गरी आफू जन्मे हुर्केको थातथलोमा नयाँ व्यवसायमा लगानी गर्न सक्ने वा पर्यटक बनेर पैसा खर्च गर्न सक्ने हैसियतमा पुगिसकेका छन् ।

नेपालमा हालैका वर्षहरुमा पूर्वाधार विकासमा राम्रो लगानी गरेको छ र पहाडका गाउँ गाउँमासमेत बाटो, बिजुली, खानेपानी, संचार, शिक्षा स्वास्थको राम्रो पहुँच पुगेको छ तथापि त्यस्ता पूर्वाधारहरु गुणस्तरीय नभएको भनेर आलोचना हुने गरेको छ ।

नेपालको मध्यपहाडलाई केन्द्रित गरी थुप्रै रुपान्तकारी परियोजनाहरु जस्तैः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, अरुण, बुढीगण्डकी, पश्चिम सेती, तमोर जलशाय जस्ता हाइड्रोपावर जस्ता परियोजनाहरुले पूर्णता पाउने हो भने नेपालको मध्यपहाडको आर्थिक, सामाजिक स्थितिमा आमुल परिवर्तन हुने निश्चित छ । सबैभन्दा महत्वपूर्ण त राष्ट्रिय गौरवको रुपमा रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग नै हो जसले ठूला सहरको मानव बस्ती विकास हुने चाप घटाई अर्थतन्त्र चलायमान बनाउन मद्दत गरेको छ । मध्यपहाडबाट १० सहरहरूमा बसाइँसराइको दबाबको परिणामस्वरूप अनियन्त्रित सहरीकरणलाई रोक्न नयाँ सहर विकास परियोजना सुरु गरिएको छ । यी सहरहरुलाई आधुनिक बनाउँदै हिजो पहाडबाट सहर पसेका र विदेशिएका जनसंख्यालाई नयाँ अवसरका साथ पहाड फर्काउन सकिन्छ । पहाडलाई गुल्जार बनाउने हो भने ठूला पूर्वाधार केन्द्रित आर्थिक सामाजिक गतिविधिमा सरकार र निजी क्षेत्रले लगानी गरी आफ्नो जन्मेको भूमि छाडेका मानिसहरुलाई कृषि र पर्यटनमा आकर्षित गरी थातथलो फर्काउने अभियान संचालन गर्नुपर्दछ ।

कम लगानी र छोटो समयमा धेरैलाई रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र कृषि हो । कृषि क्षेत्रको विकास र विस्तारबाट कृषि उपजको आयात घटाउन सकिने र कृषि वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगहरू स्थापना गर्ने आधारसमेत तयार हुन सक्छ । पहाडमा जैविक, भौगोलिक एवं जलवायु विविधता छ, जुन नयाँ पुस्ताका युवाले यसभित्र अवसर खोज्नु पर्दछ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न चक्लाबन्दीमा आधारित ठूलो स्केलका कृषि, पशुपन्छीपालन तथा जडीबुटी खेतीका व्यावसायिक फार्महरू स्थापनाकालागि बाधक रहेको भूमिको हदबन्दी हटाउनै पर्छ । कृषि उद्यमशिलतामा प्रेरित गर्ने नीति अंगिकार गरिनुपर्छ ।

नयाँ पर्यटकीय आकर्षण थप गर्न प्रदेश सरकार, पालिका तथा निजी क्षेत्रबीच हातेमालो हुनैपर्छ । नयाँ पदमार्ग, सिकार क्षेत्र, साहसिक पर्यटन, जलयात्रा, रैथाने कृषिका विविध आयाममार्फत् कृषि र पर्यटनलाई आय आर्जनको माध्यम बनाउने हो भने पहाडबाट विस्थापित भएको जनसंख्यालाई फर्काउने सकिन्छ । पहाड पुनर्जीवित हुन्छ ।

पर्यटनलाई कृषि उत्पादनसँग जोड्न नसकिए विदेशबाट आउने पर्यटकले विदेशबाटै आयात गरिएका वस्तु उपभोग गर्ने र पर्यटनको कमाइको ठूलो अंश विदेशतिरै जाने अवस्था रहन्छ । कृषि क्षेत्रमा समग्र भूउपयोगको अवधारणा सोही अनुसार बालीवस्तुको व्यावसायिक उत्पादनले दिगो चक्रीय ग्रामीण अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने उदाहरण गण्डकी र कोशी प्रदेशका पहाडी स्थानीय तहको ग्रामीण अर्थतन्त्रले देखाएको छ ।

सुन्दर पर्यावरण, अनुकुल हावापानि, प्रकृति र संस्कृतिले धनि पहाडलाई अब तुलनात्मक लाभका क्षेत्रहरु पहिचाहन गरी कृषिका आकर्षक ठूला फार्म र पर्यटकीय स्थलमा रुपान्तरण गर्ने योजना छिटोभन्दा छिटो ल्याउनु पर्दछ । ग्रामिण पर्यटन, होमस्टे बिकास गरि पहाडको आम्दानि बढाउँन सकिन्छ र पहाडको बसाइँसराइ रोक्न सकिन्छ । पहाड कृषि पर्यटनसँगै संस्कृति र परम्परामा पनि धनी भएकोले हिजो विभिन्न बाध्यतामा पहाड छाडेकाहरु पनि अहिले राम्रो पूर्वाधार निर्माण भएको,सूचना,संचारमार्फत् विश्वव्यापी बजारको पहुँच भएको र आर्थिक अवसर बढेको खुसीले आफ्नो थातथलो फर्कने छन् र पहाड पुनः गुल्जार हुनेछ ।
(लमजुङ स्थायी घर भएका कडरिया कृषि तथा वन विज्ञान विश्वविश्वविद्यालयका पशु प्रजनन तथा बायोटेक्नोलोजी विषयका प्राध्यापक हुन् । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->