कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आजको विश्वव्यापी शैक्षिक, आर्थिक, राजनैतिक, र प्रशासनिक लगाएतका अन्य परिवेशमा अत्यन्त तीव्र गतिमा प्रवेश गरेको एक प्रभावशाली प्रविधि र छरितो मानविय खोज तथा अनुसन्धानको सटिक माध्यम हो । यसले मानव जीवनका हरेक पक्षमा प्रभाव पारिरहेको छ र विद्यार्थीको जीवन त अझ बढी त्यसकारण कक्षाकोठाका गतिविधिहरू पनि यसबाट अछुतो रहन सकेका छैनन् । एआईको प्रयोगले शिक्षण–सिकाइ प्रक्रियालाई सहज, आकर्षक र पहुँचयोग्य बनाएको देखिन्छ भने अर्कोतर्फ यसले विद्यार्थीको बौद्धिक स्वतन्त्रता, सिर्जनशीलता, नैतिकता र सामाजिक सम्बन्धमा गहिरो प्रश्नहरू पनि उठाएको पनि छ । यस अर्थमा विद्यार्थी जीवन र कक्षाकोठा गतिविधिमा एआईको प्रयोगले पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरूलाई आलोचनात्मक दृष्टिले विस्तृत रूपमा विश्लेषणात्मक तरिकाबाट हेरिने प्रयास गरिएको छ ।
एआईको विकाससँगै विद्यार्थीहरूको दैनिक अध्ययन शैलीमा आमूल परिवर्तन आएको पक्कै हो र छ । हरेक विद्यार्थी यो वा त्यो माध्यमबाट एआईसँग जोडिएको देखिन्छ । चाहे साने बच्चा होस् वा ठुला कक्षामा अध्ययन गर्ने नै किन नहुन वा अन्य क्षेत्रमा काम गर्ने सानादेखि ठुला कर्मचारी र हाकिमसम्म । पहिले विद्यार्थीहरू पुस्तकालयमा घण्टौँ बिताएर सन्दर्भ पुस्तक खोज्थे र खोजियो, शिक्षकसँग प्रश्न सोध्थे र सोधियो पनि । आफ्नै नोट्सका आधारमा उत्तर तयार गर्थे र गरियो पनि । अहिले भने एआई उपकरणहरूको सहायताले केही सेकेन्डमै उत्तर प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको छ । र, हो । यसले समय बचत गराएको छ र जटिल विषयवस्तुलाई सरल भाषामा बुझ्न मद्दत गरेको छ । र, हो । तर यसै प्रक्रियाले विद्यार्थीहरूलाई तुरुन्तै उत्तर पाउने बानीमा अभ्यस्त बनाइरहेको छ । जसले दीर्घकालीन सोच्ने क्षमता, धैर्य र अनुसन्धानात्मक अभ्यासलाई कमजोर बनाउने खतरा पनि बोकेको छ । जसले सहि समयमा सहि निर्णय लिन सक्ने क्षमता र सोच्न सक्ने क्षमतालाई अत्यन्त न्युन पारेको छ । साथै, विद्यार्थीकालमै एआईको प्रयोगका कारण विभिन्न अनकन्डिस्नल अवस्थाहरुमा निर्णयात्मक क्षमतामा ह्रास र गलत निर्णय गर्ने वा हुने वा सो प्रकारका घटनाले विविध सामाजिक असुरक्षा र विकृतिहरु देखा पर्ने सम्भावना रहन्छन् ।
विद्यार्थी जीवनमा एआईको प्रयोगले व्यक्तिगत सिकाईलाई केन्द्रमा राखेको छ । प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सिकाई गति फरक–फरक हुने भएकाले एआईले अनुकूल सामग्री प्रदान गर्न सक्छ । यसले कमजोर विद्यार्थीलाई थप अभ्यास र सक्षम विद्यार्थीलाई उन्नत सामग्री उपलब्ध गराएर सिकाई अन्तर घटाउन सहयोग पु¥याएको छ । तर, हरेक प्रश्नको उत्तर विद्यार्थीको स्तर मुल्याङ्कनमा एआई चुकेको छ । तर आलोचनात्मक रूपमा हेर्दा यस्तो अनुकूल प्रणालीले विद्यार्थीलाई प्रविधिमा अत्यधिक निर्भर बनाइरहेको छ । विद्यार्थीले आफैं समस्या समाधान गर्ने प्रयास गर्नुको सट्टा एआईमा भर पर्न थालेमा आत्मनिर्भरता र आत्मविश्वास कमजोर हुन सक्छ । जसले विषयवस्तुलाई निरपेक्ष बनाई दिन्छ ।
कक्षाकोठा गतिविधिमा एआईको प्रयोगले शिक्षण विधिमा पनि परिवर्तन ल्याएको छ, यो सत्य हो । शिक्षकहरू अब केवल ज्ञान दिने स्रोत मात्र नभई मार्गदर्शकको भूमिकामा देखिन थालेका छन् । एआईले पाठयोजना बनाउन, मूल्यांकन गर्न, गृहकार्य जाँच्न र विद्यार्थीको प्रगति विश्लेषण गर्न सहयोग पु¥याएको छ । यसले शिक्षकको कार्यभार घटाएर उनीहरूलाई विद्यार्थीसँग अन्तरक्रिया गर्न थप समय दिएको छ तर पनि शिक्षाको गुणस्तर भने बढेको छैन् । एआईको उचित प्रयोग गर्ने र भाषागत रुपमा अब्बलता प्राप्त गरेकाहरुले मात्र एआईको सहि सदुपयोग गरि उच्चतम् ज्ञान प्राप्त गरेका छन् भने अरुले कपि गरि गलत फाइदा उठाएका छन् वा ठगेका छन् । तर अर्कोतर्फ शिक्षकको व्यावसायिक निर्णय क्षमतामा एआईको हस्तक्षेपले शिक्षण पेशाको मानवीय पक्ष कमजोर बनाउने जोखिम पनि देखिन्छ । शिक्षण केवल तथ्य र उत्तर दिने प्रक्रिया होइन यसमा भावना, नैतिक मूल्य र प्रेरणाको ठूलो भूमिका हुन्छ, जुन एआईले पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन । यदि सक्छ भने विकसित मुलुकहरुमा शिक्षकको ठाँउमा रोबोटको प्रयोग गर्दा भईहाल्छ नि ।
विद्यार्थीहरूको लेखन क्षमता एआईको प्रयोगबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र मानिन्छ । निबन्ध, रिपोर्ट, गृहकार्य र परियोजना कार्यहरू एआईमार्फत सजिलै तयार गर्न सकिने भएकाले विद्यार्थीहरू आफ्नै विचार विकास नगरी तयार सामग्री प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले शैक्षिक बेइमानी, नक्कल र मौलिकताको ह्रास जस्ता गम्भीर समस्याहरू निम्त्याएको छ । आलोचनात्मक दृष्टिले हेर्दा यदि एआईलाई सहायक उपकरणको रूपमा नभई विकल्पको रूपमा प्रयोग गरियो भने विद्यार्थीहरूको बौद्धिक विकासमा दीर्घकालीन नकारात्मक प्रभाव पर्न सक्छ । जसले कमजोर विद्यार्थी अझ कमजोर हुने र दीर्घकालीन रुपमा नै उसको जीवनमा सीप तथा अन्य क्षमताको विकास नहुने खतरा बढेर जान्छ । जसले नाकि व्यक्तिको समग्र राष्ट्र, सामाजिक, आर्थिक, राजनीतिक लगायतका क्षेत्रमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको हुन्छ ।
एआईको प्रयोगले विद्यार्थीको आलोचनात्मक सोच क्षमतामा द्विविधापूर्ण प्रभाव पारेको छ र हुन्छ । एकातिर, एआईले विभिन्न दृष्टिकोण प्रस्तुत गरेर विषयवस्तु गहिरो रूपमा बुझ्न सहयोग गर्न सक्छ तर त्यसका लागि विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास हुनु पहिलो आवश्यक र जरुरी तत्व हो । अर्कोतर्फ तयार परिएका उत्तरहरूमा निर्भर हुँदा विद्यार्थीले प्रश्न उठाउने, विश्लेषण गर्ने र तर्क गर्ने अभ्यास कम गर्न सक्छन् । आलोचनात्मक सोच विकास शिक्षाको मुख्य उद्देश्य भए पनि एआईको अत्यधिक प्रयोगले यो उद्देश्य कमजोर पार्ने सम्भावना रहेको हुन्छ । जसले तर्क शक्ति विकासमा ह्रास ल्याउँदछ र गलत निर्णय गर्न सक्ने सम्भावाना रहन्छ ।
विद्यार्थी जीवनमा सामाजिक सम्बन्ध र भावनात्मक विकास पनि एआईको प्रभावबाट प्रभावित भएको छ । अनलाइन प्लेटफर्म, च्याटबोट र भर्चुअल सहायकहरूको प्रयोगले विद्यार्थीलाई एक्लोपनबाट केही हदसम्म राहत दिएको देखिए पनि प्रत्यक्ष सामाजिक अन्तरक्रिया घटाएको छ, जसले सामाजिक र सांस्कृतिक धरोहरमा ह्रास ल्याएको पक्का हो । सहपाठीसँग छलफल, समूह कार्य र कक्षाकोठा संवाद घट्दा सामाजिक सीप, सहकार्यको भावना र सहानुभूति विकासमा नकारात्मक असर पर्न सक्छ । आलोचनात्मक रूपमा हेर्दा, शिक्षा केवल बौद्धिक विकासमा सीमित नभई सामाजिक र भावनात्मक विकाससँग पनि गहिरो सम्बध भएकाले एआईले यस पक्षलाई कमजोर बनाउनु गम्भीर चिन्ताको विषय हो ।
कक्षाकोठामा मूल्यांकन प्रणालीमा एआईको प्रयोगले पारदर्शिता र निष्पक्षता बढाएको दाबी गरिन्छ, के यो सत्य हो त ? स्वचालित परीक्षण, डेटा विश्लेषण र प्रगतिका प्रतिवेदनहरूले विद्यार्थीको वास्तविक अवस्थालाई देखाउन सहयोग गरेको त पक्का होला तर वास्तविकतामा त्यो होइन । एआईको प्रयोगले परिवर्तन आएको हो । गुणात्मक परिर्वतनको मुल्याङ्कन विधि हामीले गर्न नसकेको हो र त्यो विधि विकासमा हामी पछि परेको हो । तर एआई प्रणालीहरू पनि मानवले बनाएका एल्गोरिदममा आधारित हुने भएकाले पूर्वाग्रहको सम्भावना रहन्छ, यो सत्य हो । यदि डेटा नै त्रुटिपूर्ण वा पक्षपाती भएमा मूल्यांकन पनि अन्यायपूर्ण हुन सक्छन । यसले विद्यार्थीको आत्मसम्मान र भविष्यका अवसरमा प्रत्यक्ष असर पार्न सक्छ ।
एआईको प्रयोगले शैक्षिक समानतामा पनि मिश्रित प्रभाव पारेको छ । विकसित क्षेत्रका विद्यार्थीहरूले उन्नत एआई उपकरणहरू सजिलै प्रयोग गर्न सक्छन् भने विकासोन्मुख वा ग्रामीण क्षेत्रका विद्यार्थीहरू प्रविधि पहुँचको अभावमा पछाडि पर्न सक्छन् । यहिं हाम्रो देशको समस्या हो । जसका कारण प्रविधि, शिक्षा र सिकाईबीच गुणात्मक अन्तर देखा परेको हो । यसले डिजिटल विभाजनलाई अझ गहिरो बनाउने खतरा बोकेको छ । आलोचनात्मक दृष्टिले हेर्दा यदि एआईलाई समान पहुँच र समावेशी नीतिबिना प्रयोग गरियो भने यसले शिक्षामा असमानता बढाउन सक्छ । शिक्षामा विभेदकारी नीति स्पष्ट देखिनेछ भने शिक्षाकै कारण भोली जेन अल्फाले अर्को शैक्षिक राजनैतिक क्रान्ति गर्ने पक्का छ ।
विद्यार्थीहरूको नैतिक विकासमा एआईको भूमिका पनि विवादास्पद छ । सही र गलतको भिन्नता बुझ्ने, जिम्मेवारी वहन गर्ने र इमानदारी अभ्यास गर्ने मूल्यहरू शिक्षाका मूल आधार हुन् । तर एआईमार्फत सजिलै उत्तर प्राप्त गर्न सकिने हुँदा विद्यार्थीहरू छोटो बाटो रोज्न प्रेरित हुन सक्छन् । यसले नैतिक मूल्य कमजोर पार्ने जोखिम बढाएको छ । आलोचनात्मक रूपमा हेर्दा, एआईको प्रयोगसँगै नैतिक शिक्षालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता देखिन्छ । नैतिक शिक्षा परम्परामा आधारित होइन् साइबर अपराध, एआईमा आधारित, आधुनिक संसारमा घटेका र तिनले ल्याएका विकृतीमा आधारित समस्या र समाधानका उपायहरुलाई आधार बनाएर नैतिक शिक्षा दिने खालका सामाग्री तयार पार्न जरुरी छ र प्राथमिक तहबाट नै लागु गर्न जरुरी छ, यो मेरो अनुभव ।
कक्षाकोठामा एआईको प्रयोगले शिक्षक–विद्यार्थी सम्बन्धमा पनि परिवर्तन ल्याएको छ । प्रविधि केन्द्रित कक्षामा मानवीय संवाद कम हुन सक्छ, जसले विश्वास, प्रेरणा र भावनात्मक समर्थनमा असर पार्न सक्छ । शिक्षामा प्रेरणादायी शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले एआईले यो सम्बन्धलाई प्रतिस्थापन गर्नु उपयुक्त हुँदैन । बरु एआईलाई सहायकको रूपमा प्रयोग गरी शिक्षक–विद्यार्थी सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा प्रयोग गर्नुपर्छ । त्यो कसरी सम्भव छ भन्दा शिक्षक समयनुकुल र पाठ योजनानुकुलन बनेर प्रस्तुतीकरण वा शिक्षण सिकाईका लागि तयार हुनुपर्ने र विद्यार्थीहरुको आवश्यकताको महसुस गरेर मात्र एआईको प्रयोग गर्ने तरिका अपनाउनु पर्ने हो कि ?
एआईको प्रयोगले विद्यार्थीहरूको भविष्यको करियर दृष्टिकोणमा पनि प्रभाव पारेको छ । प्रविधिमैत्री सीप विकास गर्न सहयोग पु¥याए पनि अत्यधिक स्वचालनले केही परम्परागत सीपहरू ओझेलमा पार्न सक्छ । विद्यार्थीहरू समस्या समाधान, सिर्जनशीलता र मानव केन्द्रित सीपभन्दा प्रविधिमा मात्र निर्भर हुन थालेमा भविष्यको श्रम बजारमा चुनौती सामना गर्न सक्छन् । आलोचनात्मक रूपमा हेर्दा, शिक्षा प्रणालीले एआईसँग सहअस्तित्वमा काम गर्न सक्ने सन्तुलित सीप विकासमा ध्यान दिनुपर्छ ।
एआईको प्रयोगले कक्षाकोठा व्यवस्थापनमा पनि सुविधा ल्याएको छ । उपस्थिती, व्यवहार विश्लेषण र सिकाई प्रगति ट्र्याक गर्न सजिलो भएको छ । तर अत्यधिक निगरानीले विद्यार्थीहरूको स्वतन्त्रता र गोपनीयतामा प्रश्न उठाएको छ । विद्यार्थीलाई सधैं निगरानीमा राख्दा उनीहरूमा डर र दबाबको भावना उत्पन्न हुन सक्छ, जसले सिकाई वातावरणलाई नकारात्मक बनाउँछ । विद्यार्थी जीवनमा एआईको प्रभाव दीर्घकालीन रूपमा विचार गर्दा, यसले ज्ञान प्राप्तिको स्वरूप नै परिवर्तन गरिरहेको देखिन्छ । ज्ञान अब केवल सम्झनु पर्ने वस्तु नभई प्रयोग र विश्लेषण गर्नुपर्ने साधन बनेको छ । तर यदि एआईले सोच्ने काम नै गरिदियो भने विद्यार्थीहरू ज्ञान प्रयोगकर्ता मात्र नभई उपभोक्ता बन्ने खतरा हुन्छ । आलोचनात्मक दृष्टिले हेर्दा शिक्षा प्रणालीले एआईलाई सोचको विकल्प होइन, सोचको सहायक बनाउने नीति अवलम्बन गर्नुपर्छ ।
विद्यार्थी जीवन र कक्षाकोठा गतिविधिमा एआईको प्रयोग न त पूर्ण रूपमा सकारात्मक छ न त पूर्ण रूपमा नकारात्मक । यसको प्रभाव प्रयोगको तरिका, नीति, शिक्षकको भूमिका र विद्यार्थीको सचेतनामा निर्भर गर्दछ । यदि एआईलाई जिम्मेवार, नैतिक र सन्तुलित रूपमा प्रयोग गरियो भने यसले शिक्षालाई समावेशी, प्रभावकारी र भविष्य उन्मुख बनाउन सक्छ । तर यदि आलोचनात्मक चेतना बिना प्रयोग गरियो भने यसले विद्यार्थीको बौद्धिक स्वतन्त्रता, सिर्जनशीलता, नैतिकता र सामाजिक विकासमा गम्भीर नकारात्मक असर पार्न सक्छ । त्यसैले शिक्षा क्षेत्रमा एआईको प्रयोग गर्दा मानव केन्द्रित दृष्टिकोण, नैतिक मूल्य र आलोचनात्मक सोचलाई केन्द्रमा राख्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
जय शिक्षा । जय शिक्षक ।।




