हिन्दु धर्मावलम्बीहरुले अनिवार्य रुपमा अबलम्वन गर्नु पर्ने संस्कार मृत्यु संस्कार हो । यहिं संस्कारमा मानवीय मुल्यसंग खेल्ने परम्परा हाम्रो समाजमा छ । हुनतः मानिसले जन्मदेखि मृत्युसम्म संघर्ष गरिरहन्छ । जीवनभर दुख गर्नु, आफ्नो, आफ्ना र देशका लागि पसिना बगाउनु उसको धर्म र सामाजिक उत्तरदायित्व हो । सरल रुपमा बुझौं मृत्यु असामयिक हुन्छ । अप्रत्याशित घटनाले परिवारजनमा गहिरो चोट पु¥याएको हुन्छ । यहिं चोट र दुखका बिच शोकसन्तप्त परिवारजनमा सहानुभूति प्रदान गर्ने, उनीहरुलाई यथोचित मात्रामा सहयोग गर्ने र मृतात्माको चिरशान्तिको कामनासहित बैकुण्ठ लोक प्राप्तिको लागि भगवानसंग प्रार्थना गर्नु सबैको कर्तव्य ठर्हछ ।
इहलोक र परलोकमा विश्वास गर्ने हामी हिन्दु धर्मावलम्बीहरुले मृतकको मरणोप्रान्त कल्याणको कामना गरि अन्त्येष्टि कर्म गर्छौं । धार्मिक मान्यता अनुसार अन्त्येष्टि संस्कार सावधानीपूर्वक गर्नुपर्ने मानिन्छ । तर, हाम्रो परिवर्तित समाज र मानवीय व्यवहारले मृत्यु संस्कारलाई त्यति सहज बनाएको देखिदैन । ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने उक्तिलाई आज नेपाली समाजले पचाउन सकेको छैन । भनौं या आंशिक रूपमा पछ्याएको छ । मलामीहरु सिधैं घाटमा पुग्छन् फ्रुटी बिस्कुटसित सहकार्य गर्छन् । जन्ती जानेहरू भोजमा सहभागी हुन्छन् फर्किन्छन् । के मलामी र जन्तीको धर्म यहि हो ? आखिर हाम्रो अनुशासन खोई ? यहाँ जन्ममा रमाउन सक्ने आफन्तहरु मृत्युमा सहानुभूति देखाउन डराउदै छन् । विवाह, व्रतबन्धलाई सर्वोपरि महिमाको रुपमा व्याख्या गर्नेहरू मृत्युुमा भाग्नु जायज छैन । मानिसलाई सहकार्य दुखमा चाहिने हो, सुखमा त ऊ स्वयंले बन्दोबस्त गर्छ । त्यसैले अबको हाम्रो समाज सुख र खुशीका लागि नभएर दुख, पीडा र आपत–विपतका लागि तयार बनोस् । सहयोग नियोजित कार्यक्रमलाई होइन अप्रत्याशित घटनालाई प्रदान गरौं ।
म डेढ वर्षको अन्तरालमा ९ पटक मलामी भएर उपस्थिति जनाए । कति जानै पर्ने ठाउँ छुटे गणना छैन । नमिठो अनुभव भन्नू पर्छ । मानिसले मौकामा चौका छोप्ने प्रवृत्ती आज पनि त्याग्न सकेको छैन । दुख लाग्छ समाज रुपान्तरण भएन भन्नेहरुलाई देख्दा समाज त रुपान्तरण गर्ने हो । परिवर्तन गर्न पहिले आफू लाग्नु पर्छ । जुन समाजका मानिसको सोच परिवर्तन हुँदैन त्यो समाज कसरी रुपान्तरण हुन्छ ? यहाँ मान्छे जलाउनकै लागि दाउरा बेचेर हातमुख जोड्नेहरुले आफू पनि एक दिन जल्नुपर्छ भन्ने सोच्दैन । शुभकार्यमा राफरवाफ देखाउनेहरुले मृत्युमा सहानुभूति प्रकट गर्न हिच्किचाउछन् । विकृति यहीँबाट सुरु हुन्छ । शव भनेपछि गाडीले बोक्न नमान्ने । घाटमा कहिँ बस्ती नभएर सङ्कट कहि बाक्लो बस्ती भएर सङ्कट मसान घाट भनौं या नदि तटमा व्यापार गर्नेहरू आफू पनि एक दिन मर्नु पर्छ सोच्न छोडेकै हुन् । एकाधिकार बजार स्थापना गरेर अधिक मुल्यदरमा लुटको धन्दा आजभोलि घाटमा चलेको छ । सदरमुकामदेखि आधा घण्टाको दुरिको बजारमा मुल्य आकाश पाताल फरक छ । नमिठो लाग्ला । म आफैंले घाटमा गरेका २÷४ वटा कारोबारले मानवीयता हराएको महशुस गरेको छु । फाइदा कमाउनैका लागि मृत्युुलाई कारक मान्नु गलत होला । विपत्तिमा सहयोगी बन्नु महान धर्म हो भन्थ्ये होइन रहेछ । यहाँ दैनिक जसो ठगीका धन्दाहरु यत्रतत्र सर्वत्र देखिन्छन् । हुन त व्यापार गर्नेहरुले ग्राहक खोज्छन् स्वभाविक होला । परन्तु दुखमा ठगेको धनले सुख र खुशी अवश्य नदेला ।
एक त ग्राहकले बोलकबोल गरेर पसल रोज्न नपाइने नियम हाम्रो घाटामा छ । अर्कोतर्फ धेरै पसलहरुका अगाडि उनिहरुले एकाधिकार बजार चलाएका छन् । पहिलो कुरा त घाटमा उधारो चल्दैन । पेट्रोल भनेर बेचिने तेलमा कैफियत हुन्छ । दुखमा परेकाहरुको मनोभावना विपरीत पेट्रोल, तेल, अगरबत्ती, लाइटर, चिनी लगायत अनावश्यक सामाग्री घाटसम्म पु¥याएर फिर्ता नगर्ने प्रवृत्तिले एकोहोरो लुटको धन्दा सावित गरेको छ । भने अत्यावश्यक फलफूल, फ्रुटी, बिस्कुट, मिश्री र पानी जस्ता उपभोग्य वस्तुमा अधिकतम मूल्य निर्धारण गरेर गैह्र जिम्मेवार कार्य गरिदै आएको पाइन्छ ।
सामान्य जीवन व्यतीत गर्ने जनताले महङ्गो दरमा दाउरा किनेर दाहसंस्कार गर्न नसक्ने अवस्था आउँदैछ । अहिलेको समयमा गाउँगाउँमा ग्यासको प्रयोग बढ्दो छ । घर वरपरका रुख बिरुवा फडानी गर्ने नीतिले दाउराको मूल्य न्यून छ । आजभोलि दाउराको प्रयोगमा कसैले रुचि देखाउदैनन् । परन्तु घाटामा तिनै दाउराको दर भाउ उच्च छ । यसर्थ विद्यमान समयमा देखिएको यो समस्या समाधान गर्न स्थानीय सरकारले शव दाहका लागि स्थान बनाएर मात्रै हुँदैन । घाटामा सहुलियत पसल खुल्नु पर्ने अनिवार्यता महशुस हुन्छ ।
परापुर्व कालदेखि चलिआएको यो संस्कारमा अहिले केही परिवर्तनका रुप देखिन थालेका छन् । संस्कारहरु आफैमा समय र परिस्थितिअनुसार अत्यन्त कठोर, बोझिला, खर्चिला र प्रतिकूल बन्दै गइरहेका छन् । संस्कार र संस्कृति समयानुकूल परिवर्तनशिल र परिष्करण योग्य हुन्छन् । तसर्थ असहज संस्कारलाई सरल र कम खर्चिलो हुने गरी परिष्करण गर्नु आजको आवश्यकता हो । हामी आफैंले मृत्यु संस्कारलाई मर्यादित र सरल बनाउनु लाग्नु पर्छ । धार्मिक विकृति रोक्न सचेत वर्ग लाग्नै पर्छ । जातिय विभेद (छुवाछूत)देखि दुर्वल मानिएका विषयलाई सुधार गर्नु अत्यावश्यक छ ।
मृत्युुकै कारण दुखमा परेका मानिसलाई धार्मिक विधि मान्यता र सामाजिक प्रचलनले थप दुख दिएको छ । मृत्युको दुःखद् क्षणदेखि घाट हुँदै तेह्रौं दिनसम्मका काम, खर्च, दैनिकी र जिम्मेवारीले क्रियापुत्रीलाई नै आक्रान्त तुल्याएको बुझ्न सकिन्छ । मृत्यु वरणसङ्गसङ्गै गर्नु पर्ने दानपुण्य, शैया, घाट खर्च, मलामीको पारिश्रमिक, बाह्रौं दिनको भोज, यातायात र भेटीको शुल्क सहित अन्य खर्चले मानिसलाई आर्थिक रुपमा कमजोर बनाएको छ ।
यसर्थ मृत्युु संस्कारसङ्ग जोडिएका केही यस्ता विकृतिलाई परिवर्तन गरि सरल र कम खर्चिलो बनाउनु सबैको कर्तव्य हुन्छ । मृत्यु संस्कारमा खर्च कटौतीलाई प्राथमिकता दिनुपर्छ । जसको लागि भेट्न पुग्ने आफन्त इष्टमित्रहरुले मृत्युमा सक्दो आर्थिक सहयोग गरौं । रोगदेखि शोकसम्म समसाथ प्रदान गरौं । बाह्रौं दिनको भोजभतेरलाई निरुत्साहित गरी सभ्य समाजको परिचय स्थापित गरौं । भन्ने अभियान चलाउनु आवश्यक छ ।
आफ्नै संस्कार, संस्कृती र परम्परा पनि मानिस अनुकूल छैनन् भन्ने तथ्य हाम्रो समाजमा छ । सामाजिक रुपमा रहेका संस्कार जन्य अन्धविश्वास, विकृति र लौकिक विधानले मानिसलाई दैनन्दिन पीडा दिँदै छन् । यसको ज्वलन्त उदाहरण मानवीय स्वभाव र आडम्बरीपन हुन् । मानिसले एकअर्काको अस्तित्व स्थापित नगर्नु, रहनसहन र परम्परा जन्य विधिलाई परिष्करण गर्न नजान्नु पनि प्रमुख छन् । मातापिताको मृत्युुमा छोराछोरीले उनीहरुको आत्मा शान्ति एवं बैकुण्ठ लोक प्राप्तिको कामना गरि शोक गर्नु, किरियामा बस्नु, शुद्धतामा रहनु आदि क्रियाकलाप सामान्य हुन् । यद्यपि आधुनिकताको प्रभावले केही संस्कार, विधि विधान र कर्ममा परिष्करण आए पनि किरियामा बस्नेहरुलाई यिनै नियमले जटिलता थपेको छ । तसर्थ यी नीति नियमलाई देश काल परिस्थिति अनुरुप सरल र सहज बनाउनु आवश्यक छ ।




