
पोखरा/नेपालले विश्वकप २०–२० क्रिकेटको पहिलो खेलमा क्रिकेटको जननी इङ्ल्याण्डसँग सानदार प्रदर्शन गरेको छ । खेलमा जीतको अर्थ हुने भए पनि मुम्बइको वानखेडे रंगशालामा नेपालको प्रदर्शनीले विश्व क्रिकेटको ध्यान खिचेको छ । अझ,भनौं नेपालले आफ्नो पक्षको खेल सानो त्रुटिका कारण इङ्ल्याण्डलाई सुम्पे पनि बलियो भएको सन्देश प्रवाह गरेको छ ।
भयो कस्तो भने, अन्तिम ओभरमा नेपाललाई १० रन चाहिएको थियो । तर, नेपालले ५ रनभन्दा बढी बटुल्न सकेन र ४ रनले पछि प¥यो । इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पच्छ्याउँदाको जोश अन्तिमसम्म कायम राख्न नसक्नु नै नेपालका लागि दुर्भाग्य बन्यो ।
आइतबारको खेलमा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हालेपछि नेपालले जीतको बाटो समाएको थियो ।
तेस्रो विकेटका लागि कप्तान पौडेल र ऐरीले ८२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । टी–२० आइ क्रिकेटमा २ हजार रन पूरा गरेका अलराउण्डर दीपेन्द्र ४४ रन बनाउँदा साम कुरनको बलमा क्याच आउट भए । यसअघि चाहिँ नेपाल एक समय ५.२ ओभरमा २–४२ को अवस्थामा थियो । तर, अन्तिममा चुक्दा नेपाल हारबाट उम्कन सकेन ।
मुम्बइको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो ।समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार इटालीसँग खेल्नेछ ।





