नेपालमा २०१५ सालयता २०५८, २०५१, २०५६, २०७४ र २०७९ मा समेत गरी छवटा संसदीय निर्वाचन भए । व्यवस्थापिकाको समेत भूमिका निर्वाह गर्ने गरी २०६४ र २०७० सालमा संविधानसभा निर्वाचन भए । यस अर्थमा २१ फागुनमा मुलुकमा नवौँपटक संसदीय निर्वाचन हुँदै छ ।
नेपालको निर्वाचन इतिहासमा बहालवाला प्रधानमन्त्री एकपटक मात्र पराजित भएका छन् । यो लेख प्रधानमन्त्री आफैँ पराजित भएको चुनावमा केन्द्रित छ । ३० वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएर २०४६ सालको जनआन्दोलनले मुलुकमा प्रजातन्त्र स्थापना गरेपछिको कुरा हो ।
नेपालको संसदीय इतिहासमा दोस्रो चुनाव हुँदै थियो । त्यतिबेला काठमाडौं क्षेत्र नं १ राष्ट्रिय र अन्तर्राष्ट्रिय जनताका लागि सर्वाधिक चासो र चर्चाको विषय बनेको थियो । त्यो क्षेत्रमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी प्रतिस्पर्धी थिए ।
भट्टराई नेपाली कांग्रेसका कार्यवाहक सभापति मात्र नभएर पहिलो जननिर्वाचित संसदका सभामुख पनि बनिसकेका थिए । उनी निष्ठा, आदर्श र नैतिकताको पर्यायका रूपमा मात्र चिनिदैनथे, सिद्धान्तअनुरुप जीवन यापन गर्ने सन्त नेता पनि थिए ।
अर्कोतर्फ, नेकपा एमाले महासचिव भण्डारी कुशल वक्ता र जनतामाझ लोकप्रिय नेता थिए । संसदमा दुवैको प्रतिनिधित्व जरुरी थियो । तर, दुवै एउटै क्षेत्रमा उम्मेदवार भएपछि जितहार त हुने नै भयो ।
कांग्रेसीको त कुरै छोडौँ, आमजनताले समेत त्यो निर्वाचनमा प्रधानमन्त्री भट्टराईले हार्ने कल्पनासमेत गरेका थिएनन् । तर, एमाले महासचिव भण्डारी (२७३७२) सँग प्रधानमन्त्री भट्टराई (२६६२१) ७५१ मतको अन्तरमा पराजित भए ।
प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आमचुनावमा जनताले कांग्रेसलाई स्पष्ट बहुमत दिए । त्यस चुनावमा कांग्रेसले कुल २०५ सिटमध्ये ११४ सिटमा जित हासिल गरेको थियो । कार्यवाहक सभापति तथा प्रधानमन्त्री भट्टराईको पराजयले सरकार बनाउन स्पष्ट बहुमत पाउँदासमेत कांग्रेसजनका लागि पूरै चुनाव खल्लो बन्न पुग्यो ।
निष्ठा, आदर्श र सिद्वान्तको राजनीतिमा सिंगो जीवन अर्पेका सन्त नेता भट्टराईकै नेतृत्वमा प्रजातान्त्रिक संविधान बनाएर शान्तिपूर्ण रूपमा आमनिर्वाचन सम्पन्न भएको थियो ।
त्यो चुनावमा भट्टराईले गृहमन्त्री योगप्रसाद उपाध्यायलाई संयोजक र अधिवक्ता श्रीहरि अर्याललाई सहसंयोजक राखेर चुनाव परिचालन कमिटी बनाएका थिए । संयोगले त्यसबीच भट्टराईका दाजु गोपालप्रसाद र सहसंयोजक अर्यालका पिताको निधन भयो ।
संयोजक उपाध्याय भए पनि चुनाव परिचालन र रिपोर्टिङको सबै काम अर्यालकै जिम्मामा थियो । अर्यालले बाबुको काजकिरियामा बस्नुपर्ने भएपछि भट्टराईले अधिवक्ता राधेश्याम अधिकारीसँग भने, ‘मलाई नेपालभरि घुम्नुपर्छ । त्यसैले श्रीहरिजीले गरेको काम अब तपाईं हेर्नुस् ।’
वरिष्ठ अधविक्ता एवं पूर्वसांसद अधिकारीले लेखकलाई सुनाए, ‘मैले तत्काल पत्रकार किशोर नेपाललाई भनेँ– तपाईं आफ्नो टिम लिएर घुम्नुस् । कुन बुथमा किसुनजीको के अवस्था छ, रिपोर्टिङ गरिदिनुस् ।’
भट्टराईको निर्वाचन क्षेत्र घुमेपछि नेपालले रिपोर्ट गरे, ‘३० हजार मत नल्याउँदासम्म किसुनजीले जित्ने सुनिश्चित हुँदैन । हामीले जति बुझ्दा पनि उहाँको मत २४/२५ हजारभन्दा माथि जान सकिरहेको छैन । किसुनजी एकदमै धरमरमा हुनुहुन्छ । हार्न सक्नुहुन्छ ।’
२५ वैशाख २०४८ को बिहान अधिकारी सरासर बालुवाटार गए । प्रधानमन्त्री भट्टराई बेडरुममै गृहमन्त्रीसँग कुरा गर्दै थिए । अधिकारीले रिपोर्टिङ सुनाए, ‘किसुनजी, हाम्रो भोट ३० हजार नभईकन जित सुनिश्चित हुँदैन । अहिलेसम्म जति गर्दा पनि २५ हजार भन्दा माथि गइरहेको छैन । थप मिहिनेत गर्नुपर्छ भन्ने रिपोर्ट मैले पाएको छु ।’
अधिकारीको कुरा सकिन नपाउँदै गृहमन्त्रीले भने, ‘हेर्नुस् किसुनजी, ४० हजार मत मेरो खल्तीमा छ । अब त्यसमाथिको भोटका लागि मात्र उहाँहरूको प्रयत्न सुरु हुन्छ ।’
गृहमन्त्रीको कुरा सुनेर प्रधामनन्त्री भट्टराई मज्जाले हाँसे । अधिकारीले लेखकलाई सुनाए, ‘के बुझेर हाँस्नुभयो, थाहा भएन । वाह ४० हजार भोट भन्नुभयो ।’
त्यसपछि योगप्रसादजीले भन्न थाल्नुभयो, ‘अरे किसुनजी, जब भगवान् देता है तो छप्पर फाड्के देता है । तपाईंलाई अहिले हराउने को छ ?’
निर्वाचन परिचालन समितिका संयोजक स्वयम् गृहमन्त्री बोलिसकेपछि अधिकारी मौन भए । मनमनै लाग्यो– सामान्य साथी गुहारेको त हो नि मैले । गृहमन्त्री बलियो सूचना भएर त बोले होलान् नि ।
तैपनि मन चिसै थियो, एक कप चिया खाएर उनी बाहिरिए ।
चुनावी अभियान जारी रहँदा एमाले नेताहरूले काठमाडौं– १ मा प्रधानमन्त्री भट्टराईविरुद्व महासचिव भण्डारीको उम्मेदवारी फिर्ता गर्ने र त्यसका लागि कांग्रेसले सुनसरीमा एमाले अध्यक्ष मनमोहन अधिकारीलाई छोडिदिनुपर्ने प्रस्ताव ल्याएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भनेका छन्, ‘त्यो प्रस्ताव हामीले अन्तरिम सरकारका मन्त्री मथुराप्रसाद श्रेष्ठको घरमा मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, म र प्रकाश काफ्ले भएर राखेका थियौँ ।’
यस सन्दर्भमा अन्तरिम सरकारका मन्त्री झलनाथ खनालले भनेका छन्, ‘किसुनजीले चुनाव हार्ने सम्भावना देखियो । मैले इलामबाट फोन गरेर तपाईंले कुनै हालतमा हार्नु हुँदैन । तपाईंले हार्नुभयो भने लोकतान्त्रिक यात्रा विचलित हुन्छ । बेलैमा मिलाउनुस् भनेको थिएँ ।’
भट्टराई गृहमन्त्रीको रिपोर्टमा ढुक्क थिए । मतदानको अघिल्लो दिन अर्थात् २८ वैशाखको बिहानै वालुवाटार पुगेका राधेश्याम अधिकारीले प्रधानमन्त्री भट्टराईलाई सोधेका थिए, ‘किसुनजी, जितेर प्रधानमन्त्री हुनुभयो भने भविष्यमा के–के गर्नुहुन्छ ?’
हँसिलो मुद्रामा रहेका भट्टराईले अधिकारीलाई बेडरुममै लिएर गए । तकिया देखाउँदै भने, ‘हेर्नुस्, यो तकियामुनि नेपालका सबै समस्या थिचेर म सुत्छु । तपाईंलाई थाहा छ ? अनि मात्र मलाई पूरा निद्रा लाग्छ । नेपालमा यति धेरै समस्या छन् कि तपाईं कल्पनासमेत गर्न सक्नु हुन्न । तर, मेरो लक्ष्यचाहिँ देशका ७५ वटै जिल्लामा सडक र बत्ती पुर्याउने छ । त्यति काम सरकारको हो । बाँकी जनता आफैँले गर्छन् ।’
अन्तिम परिणाम घोषणा भएपछि सहसंयोजक अधिकारी निराश मुद्रामा बालुवाटारतिर लागे । चुनावमा खटिएका कार्यकर्ताको मनोबल बढाउँदै भट्टराईले भनेका थिए– केही छैन, चुनावमा हारजित त हुन्छ ।
२९ वैशाख २०४८ अर्थात् चुनाव हुने दिन । सदाझैँ चुनाव परिचालन कमिटीका सहसंयोजक अधिकारीले भनेका थिए, ‘किसुनजी, मत हालेपछि तपाईंले सबै बुथमा पुगेर मतदातालाई हात हल्लाइदिनुभयो भने पनि राम्रो सन्देश जान्छ । भेट्नै पाएनौँ भन्ने धेरैको गुनासो छ ।’
प्रधानमन्त्रीले भने, ‘होइन राधेश्यामजी, तपाईं जानुस् । बरु मतदान गरेपछि म तपाईंलाई चाबहिलसम्म लगेर छोडिदिन्छु । जानू । इट डज नट लुक नाइस (म गएको राम्रो देखिन्न म जान्नँ) ।’
प्रधानमन्त्रीकै मोटरमा अधिकारी मिनभवनसम्म पुगे । त्यहीँ भट्टराईले मत खसाले । मतदातातिर फर्किएर भी–सेपमा औँला देखाए । बीबीसीका पत्रकार मार्कटलीलाई अन्तर्वार्ता दिँदै भने, ‘हामी थम्पिङ मेजोरिटी ल्याएर जित्छौँ ।’ अनि रत्नराज्य स्कुल बानेश्वर, मित्रपार्कहुँदै चाबहिल पुगेपछि भट्टराई बालुवाटारतिर लागे ।
मतदान अवधिमा कांग्रेसी उत्साहित थिए । चुनाव सकियो, गाउँबाट काउन्टिङ सुरु हुँदा प्रधानमन्त्री हारिरहेका थिए । कांग्रेसीहरूचाहिँ बानेश्वरको गणना त सुरु होस्, जितिहाल्नुहुन्छ नि भन्दै ढुक्क थिए ।
गणना अन्तिमतिर आइपुग्दा प्रधानमन्त्री भट्टराईले हार्ने करिबकरिब निश्चित भइसकेको थियो । गणनास्थल राष्ट्रिय सभागृह पुगेका कांग्रेसी सबै निराश देखिए । भट्टराईलाई जिताउन हर तरहले सक्रिय हुनेमध्येका एक भरतशमशेर राणा पनि त्यहीँ थिए ।
२०१५ सालको संसदमा विपक्षी दलका नेता राणाले २०१७ सालको ‘कू’पछि आफ्नो दल राष्ट्रिय गोर्खा परिषद्लाई कांग्रेसमा विलय गराएका थिए । पञ्चायती व्यवस्थाविरुद्व (२०१८ र २०२९) मा भएको सशस्त्र क्रान्तिमा हतियार किन्नेदेखि कमान्ड सञ्चालनको भूमिका उनले निर्वाह गरेका थिए ।

राणाले अधिकारीसँग भने, ‘किसुनजी, हार्ने हुनुभयो । बमसम पड्काएर भए पनि भाँडभैलो पार्नुपर्छ ।’ राणाको कुरा सुनेर अधिकारी तर्सिए । उनले भने, ‘म यो पक्षमा छैन । हामी देशभर जितिरहेका छौँ । राम्रो रिजल्ट आइरहेको छ ।’ त्यसपछि राणा मतगणनास्थल राष्ट्रिय सभागृहबाट बाहिरिए ।
नित्य गीता पाठ गर्ने भट्टराई ‘कर्म गर फलको आस नगर’ भन्ने त्यसको सारसँग प्रशिक्षित थिए । चुनाव हार्नु उनका लागि नयाँ घटना थिएन । त्यसअघि २०१५ सालमा पनि उनी पराजित भएका थिए ।
अन्तिम परिणाम घोषणा भएपछि सहसंयोजक अधिकारी निराश मुद्रामा बालुवाटारतिर लागे । चुनावमा खटिएका कार्यकर्ताको मनोबल बढाउँदै भट्टराईले भनेका थिए, ‘केही छैन, चुनावमा हारजित त हुन्छ ।’ त्यो बेला ४० हजार मत मेरो ब्रिफकेसमा छ भन्ने गृहमन्त्री सानो मुख लगाएर छेउमा बसिरहेका थिए ।
प्रधानमन्त्री आफैँ पराजित भएको घटना सबैका लागि अप्रत्याशित थियो । तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लेखकलाई सुनाए, ‘गणनामा म आफैँ रातभरि गएर बसेको पनि थिएँ । किसुनजीको हारले मलाई पनि ‘सक’ भयो । देशकै प्रधानमन्त्री हारेपछि सक हुनु स्वाभाविकै हो । पछि म उहाँलाई भेट्न गएँ । आफू हारेको कुरालाई एकदमै सहज रूपमा लिनुभयो । ‘मैले हारेँ सूर्यप्रसादजी, केही छैन’ भन्नुभयो । भित्र त पोलेको थियो होला नि । बाहिर देखाउन मिलेन । ‘चुनाव हो, हारजित हुन्छ, के फरक पर्यो र ?’ भन्नुभयो । प्रधानमन्त्री नै हार्ने चुनाव कति निष्पक्ष भएछ भन्नुभयो । भट्टराई हारेपछि चुनाव मोनिटरिङमा खटिएका एक सीडीओ हार्ट ट्याक भएर मरे ।’
यो पराजयबाट भट्टराईभन्दा उनका कार्यकर्ता र शुभचिन्तक बढी दु:खी भए । तीमध्येका एक पूर्वमन्त्री राजेन्द्र खरेलले लेखकलाई सुनाए, ‘कल्पनै थिएन, किसुनजीले हार्नुहुन्छ भन्ने । जुन दिन हार्नुभयो, जीवनमा पहिलोपटक त्यति धेरै रोएँ ।’
भट्टराईको पराजयबारे बीबीसीका पत्रकार मार्कटलीले लेखेका थिए, ‘मलाई राम्ररी थाहा छ । एक पत्रकारका रूपमा मैले पक्ष र विपक्षमा भेदभाव गर्नु हुँदैन । तर म यो स्वीकार नगरी बस्न सक्दिनँ कि कृष्णप्रसाद भट्टराईको पराजयले मलाई उदास बनाएको छ । मेरो नजरमा उनी दक्षिण एसियाका एक असाधारण नेता हुन् ।’ शिलापत्र





