बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हङकङ पोखरा, निर्मोही आफ्नो को छ र !

हङकङ पोखरा, निर्मोही आफ्नो को छ र !


  • ढाेरपाटन संवाददाता
  • बैशाख १३ २०८३, आइतबार

 

पोखरा /  ‘हिउँ त होइन, फाप्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा, निर्मोही आफ्नो को छ र !
हङकङ पोखरा निर्मोही आफ्नो को छ र !’

यो गीत नसुन्ने हामीमध्ये प्रायः कमै छौं होला । शनिबार यही गीतका गायक तथा कलाकार विवेक श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको दोस्रो साहित्य पर्व २०८३ मा झुल्किए । कार्यक्रमको अन्तिम सेसनमा उनले आफ्नो कथा सुनाउने पालो थियो, जसको सहजकर्ता थिए पत्रकार अमृत सुवेदी । मञ्चमा उनको गीत सुन्न लालायित हुने धेरै हुन्छन् । तर शनिबार साहित्यिक कार्यक्रम भएकाले उनले आफ्नो कलाकारिता, वैदेशिक रोजगार र हालको संगीत क्षेत्रको विषयमा आफ्नो विचार व्यक्त गरे ।

‘तपाईंलाई संगीतमा संगतको कति महत्वपूर्ण भूमिका हुन्छ जस्तो लाग्छ त ?’ कलाकार श्रेष्ठलाई सहजकर्ता सुवेदीले गरेको पहिलो प्रश्न थियो यो । श्रेष्ठले सहजै उत्तर दिए, ‘यो त शरीर र आत्माको सम्बन्ध कति महत्वपूर्ण छ र आत्माविनाको शरीर कस्तो हुन्छ भने जस्तै हो ।’ श्रेष्ठलाई लाग्छ, संगतले नै संगीत सिर्जना गर्न सहज वातावरण निर्माण गर्छ । आफूहरुको दशकमा एकदमै राम्रो संगत भएको ठाउँ मान्छन् श्रेष्ठ पोखरालाई । त्यसैले पोखराले दिएका ती कालजयी सिर्जना संगतकै कारणले आजसम्म सुन्न पाएको उनको अनुभव छ । तर आजभोलिको पुस्ताले संगतलाई भुल्दै गएकोमा उनलाई दुःख लाग्छ ।

आफू पोखरा र स्याङ्जाको वरिपरि हुर्किएकाले त्यहीँको संगत भएको र गीतमा त्यही संगतको झल्को आउने श्रेष्ठ बताउँछन् । संगतको परम्परालाई जोगाउनुपर्नेमा उनको जोड थियो । ‘म जहाँ हुर्किएँ, त्यहाँको मैले संगत गरेको छु, त्यहाँको प्रकृतिसँग जोडिएको हुँ, त्यसैले मैले गाएका गीतका शब्दमा प्रकृतिको संगत छ,’ उनी भन्छन् ।  ९० को दशक पोखरालाई ब्यान्डहरुको सहरको रुपमा लिइन्थ्यो । पोखराका लोकपपका गीत र त्यतिबेलाको ब्यान्डका गीतहरु देशभरि चर्चा कमाउने गर्थे, पछि हराउँदै जान थाले ।

श्रेष्ठको पालाभन्दा अगाडिसम्मका धेरै कलाकारले सीमित बाजा बजाएर गीत गाउने गर्थे । श्रेष्ठकै पुस्ताबाट पोखरामा पश्चिमा बाजाहरु भित्रिएका हुन् । विदेशी बाजाहरु भित्राएर गीत बनाउन थालेपछि यिनीहरुले हाम्रो संस्कार बिगारे, ट्यापे, लगायतका तुच्छ शब्दको प्रयोग गर्दै गाली गर्ने गरेको गायक श्रेष्ठलाई अझै याद छ । ‘त्यति बेला हामीले के ग¥यौं भने, पाश्चात्य बाजामा मादल बजाउन सकिन्छ, गितारसँग सारंगी बजाउन सकिन्छ, भन्ने ल्यायौं ।’ तर अहिलेको पुस्ताले बचाउनुको सट्टा बढी पश्चिमीकरण गरिरहेको श्रेष्ठको गुनासो छ । नेपाली गीतलाई अंग्रेजी गीत गाए जस्तो गर्न नहुने र नेपाली गीतलाई नेपाली गीत जस्तै गाउनुपर्नेमा उनले जोड दिए । आफूहरुको विरासतलाई नयाँ पुस्ताले जोगाउन नसकेको उनको गुनासो छ ।

नयाँ पुस्तालाई प्रविधिसँग मात्रै जोडेर नहुने श्रेष्ठको बुझाइ छ । एआईको जमानामा रहिरहँदा नयाँ पुस्ता कँही कतै छुटेको पो हो कि भन्ने सहकर्ता सुवेदीको प्रश्नको जवाफ दिँदै श्रेष्ठले भने, ‘नयाँ पुस्तालाई प्रविधिसँग जोडेर मात्रै हुँदैन, यसले गर्दा नेपालीपन हराउँछ र नेपालीपन हरायो भने नेपाली गीत रहँदैन ।’ गीत सुनेर मात्रै होइन, त्यो गीतको शब्दको मर्म नबुझेसम्म गीत लामो समयसम्म नरहने श्रेष्ठको बुझाइ छ । त्यसका लागि नेपालीपनको पहिचान नयाँ पुस्तालाई गराउनुपर्नेमा उनी जोड दिन्छन् । कलालाई व्यापारको रुपमा नलिन समेत उनले नयाँ तथा पुराना पुस्तालाई अनुरोध गर्छन् । ‘हामी भक्तराज आचार्य, नारायण गोपाल लगायत पुराना पुस्ताको गीत अहिलेसम्म किन सुन्छौँ त, किनकि उहाँहरुले आफ्नो कला, गीतबाट यति कमाउँछु, जीविकोपार्जन गर्छु भन्ने सोचले कहिल्यै गीत गाउनुभएन, उहाँहरुको लागि संगीत, कला कुनै व्यवसाय थिएन ।’ अहिलेको पुस्ताले एआईको गीत सुन्छन् भन्दैमा त्यही अनुसारको गीत गाउन आफूलाई नैतिकताले नदिने गायक श्रेष्ठले बताए ।

गायक श्रेष्ठको चर्चित गीतमध्येको एक हङकङ पोखरा पनि हो । यो गीत जीवन्त हुनुको संयोजन के थियो त भन्ने सेसनका सहजकर्ता सुवेदीको प्रश्नको जवाफ दिँदै श्रेष्ठ भन्छन्, ’गीत बिगार्यो भनेर गाली खाइरहेको अवस्थामा सरुभक्त सरले हाम्रो अन्य गीत सुनिरहनु भएको रहेछ, हामीले पनि एउटा गीत दिनुस् भन्ने आँट ग¥यौं, हामीलाई उहाँले आफ्नै घरमा बोलाएर गीतहरु दिनुभयो, सबै मिलाएर हेर्दा हिउँ त होइन भन्ने गीत सजिलो लाग्यो, यसलाई कम्पोज गर्न सकिन्छ होला भन्ने लागेर लियौँ ।’ गीतमा भएको ‘विदेसिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा’ भन्ने शब्दको मर्म आफू विदेश गएपछि विदेसिएको नेपालीलाई देखेपछि मात्रै बुझेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->